सगरमाथा र अन्य हिमाल व्यवस्थापनको नयाँ नियम, कार्यान्वयन हुनेमा आशङ्का
सगरमाथा र अन्य हिमाल आरोहण सुरक्षित बनाउनका लागि पर्यटन मन्त्रालयको एक समितिले दिएको सुझाव स्वागतयोग्य भएको एक पर्वतारोहण मामिलाका जानकार एवं व्यवसायी आङ छिरिङ शेर्पाले बताएका छन्।
तर नेपालकै छ हजार ५०० मिटरभन्दा अग्ला हिमाल चढेका आरोहीलाई मात्र सगरमाथा चढ्न अनुमति दिइने र सम्पर्क अधिकृतका समूहहरू खटाउने जस्ता नियम कार्यान्वयन र अनुगमन हुनेमा शेर्पाले आशङ्का व्यक्त गरेका छन्।
विश्व पर्वतारोहण महासङ्घ यूआईएएका मानार्थ सदस्य पनि रहेका शेर्पाले बीबीसी न्यूज नेपालीसँग भने, “नीतिनियमहरू बन्छन् तर हाम्रो कार्यान्वयन पक्ष फितलो छ। कार्यान्वयन र अनुगमन पक्ष हाम्रो तगडा हुनुपर्छ।”
सगरमाथा र अन्य हिमाल आरोहणलाई लिएर उब्जिएका प्रश्न’bout एक महिनाको अध्ययनपछि पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय संयोजक रहेको समितिले बुधवार सुझावसहित आफ्नो प्रतिवेदन पर्यटनमन्त्रीलाई बुझाएको हो।त्यसलगत्तै मन्त्री योगेश भट्टराईले समितिका सुझावहरूलाई नियमकानुन बनाएर तत्कालै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।
समितिको सिफारिस सार्वजनिक भएलगत्तै अमेरिकी पर्वतारोही एलन अर्नेटले ट्वीटरमा सन्देश लेख्दै सुझाइएका नयाँ नियमहरू अर्को वसन्त ऋतुबाट कार्यान्वयनमा आउन सक्ने सम्भावना औँल्याएका छन्।
नयाँ नियममा के छ?
गएको वसन्त ऋतुमा आरोहीहरूको “भिडभाडका कारण” सगरमाथामा केही आरोहीको ज्यान गएको भनी समाचार सार्वजनिक भएपछि पर्वतारोहण’bout अध्ययन गर्न पर्यटन मन्त्रालयको त्यो समिति बनाएको थियो।
त्यो समितिले सगरमाथा आरोहणसम्बन्धी नियममा कडाइ गर्नुपर्ने सुझाव दिएको छ। जसअनुसार स्वस्थ, तन्दुरुस्त एवम् अनुभवी आरोहीलाई मात्र सगरमाथा चढ्न अनुमति दिनु पर्ने सुझाव दिइएको छ।
त्यो समितिले नेपालकै छ हजार पाँच सय मिटरभन्दा अग्लो शिखर चढेका आरोहीलाई मात्र आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको लागि अनुमति दिन सिफारिस गरेको छ।
त्यसको मतलब सगरमाथा, अन्नपूर्ण वा धौलागिरी आरोहण गर्न चाहने पर्वतारोहीले “नेपालकै कुनै छ हजार पाँच सय मिटरभन्दा अग्लो हिमाल चढेको अनुभव बटुलेको हुनुपर्ने” सुझाव दिइएको छ।
सहसचिव घनश्याम उपाध्याय संयोजक रहेको समितिले अबदेखि अनुभवी आरोहण व्यवस्थापन कम्पनीलाई मात्र आरोहण व्यवस्थापनको जिम्मा दिनुपर्ने सुझाव दिइएको छ।
पर्वतारोहण अनुगमन तथा व्यवस्थापनका लागि हिमाली क्षेत्रमा भविष्यमा एकजना मात्र सम्पर्क अधिकृतको सट्टा “तालिमप्राप्त सेना, प्रहरी र अनुभवी शेर्पा आरोही संलग्न टोलीहरू समूह समूहमा” खटिनुपर्ने सुझाव दिइको छ।
आर्थिक हैसियत कस्तो हुनुपर्छ?
साथै सगरमाथा र अन्य ठूला हिमाल आरोहण व्यवस्थापन गर्न चाहने कम्पनीले पर्याप्त आर्थिक स्रोत भएको सुनिश्चित गर्नु पर्ने मापदण्ड लागु गर्ने सुझाव दिइएको छ।
उपाध्यायले भने, “सस्तोमा सगरमाथा चढ्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि आरोहीहरूसँग पर्याप्त आर्थिक स्रोत हुनुपर्ने सुझाव दिएका छौँ।”
“जस्तै सगरमाथाका लागि नेपालको एजेन्सीमा कम्तीमा ३५ हजार अमेरिकी डलर रकम आएको प्रमाण पेस गर्नुपर्नेछ।”
‘ट्राफिक जाम’ ’bout के भन्छ प्रतिवेदन?
गएको मे महिनाको तेस्रो र चौथो साता सगरमाथामा आरोहीहरूको ‘ट्राफिक जाम’ भएको र त्यसै कारण केही आरोहीको ज्यान गएको भन्ने विवरण सञ्चारमाध्यममा प्रकाशित भएको थियो। तर उपाध्याय संयोजक रहेको समितिले “ट्राफिक जामका कारण कुनै आरोहीको मृत्यु नभएको” निष्कर्ष निकालेको छ।
उनले भने, “बरु फणी नाम गरेको समुद्री आँधी र त्यसपछिको प्रतिकूल मौसमपछि उत्पन्न आकस्मिक अवस्था, लेक लाग्ने र अन्य समस्याका कारण आरोहीको ज्यान गएको पाइएको छ।”
उनको समितिले भविष्यमा यस्ता दुर्घटना हुन नदिन आधार शिविरमा तालिम प्राप्त सम्पर्क अधिकृतहरूको समूह खटिनु पर्ने र राहत तथा उद्धारको राम्रो प्रबन्ध मिलाउनका लागि पूर्वतयारीहरू सबल बनाइनु पर्ने सुझाव दिएको छ।
सुझाव दिन गठिन समितिमा सदस्य एवं पर्यटन विभागको होटल तथा पर्वतारोहण शाखाकी प्रमुख मिरा आचार्यले सिफारिस गरिएका नियम पर्वतारोहण नियमावली र ऐनमा समेटिएपछि मात्र कार्यान्वयनमा आउने बताइन्।
उनले बीबीसीसँग भनिन्, “हाम्रो सिफारिस अन्तिम होइन। हामीले दिएका बाहेक थप सुझावहरू पनि आउन सक्छन्। मेरो विचारमा यी सुझाव समेटेर नयाँ नियम बनेपछि हाम्रो पर्वतारोहण क्षेत्रमा देखिएका सबै विकृति र समस्या कम हुन्छन् र यो उदाहरणीय बन्न सक्छ।”
गत वसन्त ऋतुमा ४४ टोलीका ६४४ आरोही सगरमाथाको शिखरमा पुगेका थिए।ती मध्ये ३७७ जना नेपाली आरोही र शेर्पा सहयोगी थिए। ती नेपालीमध्ये आठ महिला थिए।
बीबीसी नेपाली सेवा
साउन २०७६