• प्राचीन सभ्यता, संस्कृतिको भण्डार नेपालमा आध्यात्मिक पर्यटन

    प्राचीन सभ्यता, संस्कृतिको भण्डार नेपालमा आध्यात्मिक पर्यटन

    शिरीषबल्लभ प्रधान ——

    विश्वव्यापी रूपमा बढ्दो द्वन्द्व, नैराश्य, तनाव, चिन्ता, यान्त्रिकीकरण, मानसिक अशान्तिबाट छुट्कारा पाउन मानिस शान्ति र आनन्दको खोजीमा यताउति भौँतारिइरहेका छन् । यस स्थितिमा योग, प्राणायाम, ध्यानजस्ता पूर्वीय दर्शनमा आधारित समाधानको खोजीमा नेपाल, भारत, भुटान र तिब्बततर्फ आकर्षित हुने यात्रु हिजोआज प्रशस्त देख्न पाइन्छ ।

    अहिले सूचना, प्रविधि तथा ज्ञानविज्ञानको विकासको पृष्ठभूमिलाई ध्यानमा राखी आध्यात्मिक पर्यटनलाई नयाँ ढङ्गले परिभाषित गरी त्यसको उचित बजारीकरण गर्नु आवश्यक देखिन्छ । यतिबेला मानिस केवल तीर्थस्थल घुम्न वा देवीदेवताका मन्दिरमा पूजा र दर्शन गर्नमात्र आउँदैनन् । उनीहरू केही नयाँ कुरा जान्न, सिक्न, प्रयोग गर्न र आध्यात्मिक पद्धतिद्वारा जीवनमा केही सकारात्मक परिवर्तन आओस् भन्ने उद्देश्यले यात्रा गर्छन् ।

    नेपाल बुद्धको जन्मथलोमात्र नभई, प्राचीन सभ्यता, संस्कृति र ज्ञानको अपार भण्डार मानिने वैदिक ग्रन्थको पनि उद्गमस्थल हो । वेद, उपनिषद्, पुराणलगायत कतिपय महŒवपूर्ण आध्यात्मिक ग्रन्थ नेपालमा वा नेपालकै सिमानावरिपरि रचिएका पाइन्छन् । वेदलाई चार भागमा विभाजित गर्नुका साथै महाभारत, श्रीमद्भागवतजस्ता उत्कृष्ट ग्रन्थ रच्ने व्यास ऋषिको नामले प्रसिद्ध व्यासगुफा नेपालमै पर्छ भने रामायणका रचयिता वाल्मीकिको नाममा बनेको वाल्मीकि आश्रम पनि नेपालमै छ । साङ्ख्यशास्त्रका प्रणेता कपिलमुनिका नाममा उहाँका शिष्यले पौराणिककालमा बसाएको सहर कपिलवस्तु नेपालमा पर्छ । त्यस्तै प्युठानमा रहेको स्वर्गद्वारी महाभारतमा युधिष्ठिर आफ्ना भाइका साथमा स्वर्गको यात्रामा जाँदा प्रयोग भएकोे बाटोका रूपमा प्रख्यात छ ।

    सर्वश्रेष्ठ ब्रह्मवेत्ता याज्ञवल्क्य जसले शतपथ ब्राह्मण, याज्ञवल्क्य स्मृति आदिको रचना गर्नुभयो, उहाँ नेपालकै जनकपुरमा जन्मनुभएको हो भने राजर्षि जनक, अष्टावक्रलगायतका विद्वान् तथा मैत्रेय, गार्गी आदि विदूषि पनि यही धर्तीमा जन्मनुभएको हो । यसरी नेपाल ज्ञानको खानी भए पनि प्रचार–प्रसार तथा उचित प्रवद्र्धनको अभावका ज्ञानका तिर्खालुहरूको अध्ययन, अनुसन्धान गन्तव्य बन्न सकेको छैन । पूर्वीय सभ्यता र दर्शन अतिथिमैत्री भएकाले पर्यटन हाम्रो स्वाभाविक र सर्वोत्कृष्ट व्यवसाय बन्न सक्छ । पूर्वीय दर्शनले अतिथिलाई देवतासरह मानेर उनीहरूको सम्मान गर भन्ने सिकाउँछ । वेदमा कतै पाहुनालाई सत्कार गर्न केही पनि नभए बस्नका लागि आसन, खुट्टा धुन र पिउन जल प्रदान गर भनिएको छ । हाम्रो गाउँघरमा यसै परम्पराअन्तर्गत पाहुना आएको खण्डमा दुई हात जोडेर स्वागत गर्दै गुन्द्री बिछ्याइदिने र माटाको घैँटाको एक गिलास चिसो पानी पिउनका निम्ति दिने गरिन्छ, जुन अतिथि सत्कारको सर्वोत्कृष्ट उपाय मानिन्छ ।

    चारैतिर हिमाल, पहाडले घेरिएका कारण हाम्रो देश पर्यटकीय दृष्टिले वरदान साबित भएको छ । हिमालयको काखमा रहेको यो देश र पवित्र देवभूमि वा तपोभूमि पनि मानिन्छ । हिमालय शिवको वासस्थान मानिन्छ । कतिपय तपस्वी, साधु, सन्यासी टाढाटाढाबाट हिमालयको पवित्र र शान्त स्थानमा ध्यान, तपस्या आदि गर्न आउँछन् । हिमालय शान्त र पवित्र हुनुका साथै विश्वको शिर भएकाले पनि शिवको वासस्थान मानिएको हो । अद्वैत वेदान्तका प्रणेता आदि शङ्कराचार्यले शुद्ध चैतन्यलाई नै शिवको संज्ञा दिँदै आत्मषटकमा शिवोहम् अर्थात् म शिव हुँ भन्नुभएको छ । हिमालय पवित्रता र शान्तिको प्रतीकमात्रै नभई, जैविक विविधता तथा प्राकृतिक सम्पदाको केन्द्रबिन्दु पनि भएको कुरा संस्कृतका महाकवि कालीदास रचित कुमारसम्भव काव्यको श्लोकहरू पढ्दा थाहा हुन्छ ।

    हिजोआज आध्यात्मिक पर्यटक योग तथा ध्यानका साथै साहसिक यात्रातर्फ पनि आकर्षित हुन थालेको स्थितिमा त्यसैअनुरूपको पर्यटकीय गन्तव्य तथा वस्तु एवम् सेवाहरू उपलब्ध हुनेगरी विश्वको पर्यटकीय बजारमा प्रचार–प्रसार गर्न सकेमा हामी लाभान्वित हुने थियौँ । नेपाल वेद, उपनिषद्, योग, तन्त्र, बौद्ध तथा हिन्दु दर्शनशास्त्र आदि प्राचीन ज्ञानको खानीका रूपमा चिनिन्छ । यहाँका तलाउ, नदीनाला, वन–जङ्गल, गुफा, पहाड, हिमाल आदि विभिन्न वस्तु धार्मिक तथा साँस्कृतिक महत्वले ओतप्रोत छन् । तर, ती धार्मिक महत्वका स्थान’bout लेखिएका पुस्तिका वा अन्य प्रचार सामग्रीको अभावका कारण ती ओझेलमा परेका छन् । विश्वको सबैभन्दा प्राचीन मानिने संस्कृत भाषा पनि नेपालकै सिमानावरिपरि उद्गम भएको बताइन्छ ।

    हिजोआज, नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि क्याम्पसमा संस्कृत अध्ययन गर्न रूस, अमेरिका, जर्मनी, जापान, कोरिया, चीन आदि देशबाट जिज्ञासु आउने गरेका पाइन्छ । त्यसरी नेपालमा हिन्दु वा बौद्ध दर्शन, संस्कृत भाषा आदि अध्ययन गर्न आउनेका लागि पनि आकर्षक संक्षिप्त तालिमको व्यवस्था गर्न सके पर्यटन प्रवद्र्धनमा केही सहयोग पुग्ने थियो । त्यस्तै हाम्रो पुरात विभागमा करिब दुई लाखजति प्राचीन तथा मध्यकालीन हस्तलिखित ग्रन्थहरू सुरक्षित छन् । तीमध्ये कतिपय संस्कृत भाषामा लेखिएका छन् ।

    त्यसैगरी, प्रथम शताब्दीताका स्वर्णाक्षरमा लेखिएको प्रसिद्ध बौद्ध धर्मग्रन्थ प्रज्ञापरमिता ग्रन्थ काठमाडौँको ठमेलस्थित भगवानबहालमा अझै सुरक्षित छ । तर, प्रचार–प्रसार तथा उचित व्यवस्थापनको अभावमा त्यसबाट उचित लाभ लिन सकिएको छैन । आध्यात्मिक यात्री वा तीर्थयात्रीहरू नयाँ–नयाँ कुरा जान्न, खोज, अनुसन्धान गर्न, केही सिक्न र त्यसबाट जीवनलाई सुखी, स्वस्थ तथा उत्कृष्ट बनाउन चाहन्छन् ।

    पूर्वीय देशका मानिस रोजगारी र अध्ययनका लागि पश्चिमी देशतर्फ आकर्षित भएजस्तै पश्चिमेली पनि योग, ध्यान, पूर्वीय दर्शन आदिका लागि पूर्वतर्फ आकर्षित हुन थालेका छन्. । आयुर्वेद चिकित्सा हाम्रो पूर्वीय दर्शनकै देन हो । अहिले विश्वमा विभिन्न रोगको उपचारका लागि आयुर्वेदतर्फ पनि आकर्षण बढेको छ । तसर्थ, हामीले पूर्वीय दर्शनमा आधारित भई चिकित्सा पर्यटनको पनि प्रर्वद्धन गर्न सक्छौँ । कतिपय हिमाली क्षेत्रमा वा गुफा, पहाड आदि शान्त ठाउँमा योगा रिसोर्ट वा आध्यात्मिक रिसोर्ट पनि खोल्न सकिन्छ । (लेखक पत्रकार हुनुहुन्छ । )

    साउन २०७६

    तस्विर : चन्द्रागिरीमा निर्मित मन्दिर / ट्राभल बिज न्यूज

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन