विभिन्न ३३ प्रतिनिधिमूलक संघ संस्थाद्वारा पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन १० माग अविलम्व पूरा गर्न सरकारसंग आग्रह
ट्राभल बिज न्यूज –
काठमाडौँ – देशको पर्यटन व्यवसायमा सलग्न विभिन्न प्रतिनिधिमूलक ३३ संघ संस्थाका प्रमुखहरुले कोरोना भाइरस संक्रमणका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई नेपाल प्रवेश गर्ने पर्यटकलाई सहज र निर्बाध रुपमा घुम्न दिनुपर्ने , ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा सात दिनसम्म अनिवार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने , अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुबाट भिसाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने सहित १० माग अविलम्व पुरा गर्न सरकारसंग माग गरेका छन् /
ती संस्थाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने , हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने , कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने , नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने , नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न गराउन पाउने ब्यवस्था गर्नुपर्ने , नेपाल–भारत र नेपाल-चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने तथा कम्तिमा ५००० हजार अमेरिकी डलर बराबरको कोरोना बिमा हटाउनुपर्ने माग अघि सरेका छन् /
ती छाता संघ–संस्थाहरुका तर्फबाट आज आयोजित कार्यक्रममा ती संस्थाका प्रमुखहरुले कोभिड–१९ संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको , यस महामारीका कारण पर्यटन ब्यवसायीहरुलाई परेको समस्याहरु बारम्बार नेपाल सरकार र सरकारका विभिन्न निकायहरुमा लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दै आइरहेको स्मरण गराउदै पर्यटन ब्यवसायीहरुलाई परेको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन व्यव सायलाई पुर्नजीवन दिनेतर्फ नेपाल सरकार अझै पनि गम्भिर नबनेको बताएका छन् /
यस्तै ट्रेकिङ्ग एजेन्सिसज एशोसिएशन अफ नेपालका अध्यक्ष खुम बहादुर सुवेदी ,नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाँइ , होटल संघ नेपालका अध्यक्ष सिर्जना राणा , नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामा , हिमालयन उद्वार संघका अध्यक्ष हरि धरेल ,सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोटो नेपाल) का अध्यक्ष मधुसुदन उपाध्याय, नेपाल एशोसिएशन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष अशोक पोख्रेल , नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष गंगा प्रसाद नेपाल, नेपाल टुरिस्ट भेहिकल एसोसिएसनका अध्यक्ष रामहरि तिमिल्सिना, गाउँ पर्यटन प्र वर्धन मन्चका अध्यक्ष ध्रुव सिंखडा , एक्सपीडिशन अपेरेटर्स एशोसिएशन नेपालका अध्यक्ष डम्बर पराजुली, रेस्टुरा एन्ड बार एसोसिसन अफ नेपालका अध्यक्ष अरनिको राजभण्डारी , नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र बहादुर लामा, एयरलाईन्स अपरेटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रामेश्वर थापा ,क्लाइमेट अलायन्स अफ हिमालयन कम्युनिटिजका अध्यक्षआङ छिरिङ शेर्पा तथा टुरिष्ट बस एशोसिएशन अफ नेपालका अध्यक्ष ईश्वर शर्मा लगायतले संयुक्त वक्तव्य जारी गरी धरासायी बनेको पर्यटन उद्योगलाई तत्काल पुनर्जीवन दिन सम्बन्धित सबै गम्भीर हुनु पर्ने आवश्यकता औल्याउनु भएको छ /
यस्तै टान पोखराका अध्यक्ष सुशील पौडेलले उल्लेखित माग तत्काल कार्यान्वयन गरिनु पर्ने तथा गण्डकी प्रदेश सरकारले जारी गरेको “ब्यवसायी जीवन रक्षा कोष ” को उद्देश्यलाई व्यवहारमा परिणत गर्न पर्यटनको अति प्रभावित पदयात्रा व्यबसाय लाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिनु भएको छ /
तस्विर : नेपाल पर्यटन बोर्ड
फागुन १० , २०७७