• कोभिड नेपालः सगरमाथा आधार शिविरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको आशङ्का

    कोभिड नेपालः सगरमाथा आधार शिविरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको आशङ्का

    नवीनसिं खड्का (पर्यावरण संवाददाता, बीबीसी विश्व सेवा )

    सगरमाथाको आधार शिविरमा भएका पर्वतारोही र नेपाल सरकारले खटाएका अधिकारीहरूले कोभिड-१९ को लक्षण भएका आरोहीको सङ्ख्या तथा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको बीबीसीलाई बताएका छन्। उनीहरू सगरमाथा क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण प्रकोपका रूपमा फैलिने त्रासमा देखिन्छन्।

    आधार शिविरमा भएका अधिकारीहरूका अनुसार सगरमाथाबाट उपचारका लागि काठमाण्डू पठाइएका आरोहीमध्ये १७ जनामा कोभिड पुष्टि भएको विवरण प्राप्त भएको छ।

    काठमाण्डूस्थित एउटा निजी अस्पतालकी एक कर्मचारीले सगरमाथा आधार शिविरबाट फर्किएका बिरामीमा कोभिड-१९ देखिएको बीबीसीसँग पुष्टि गरिन्।

    नेपाल सरकारले यो विवरण तयार पार्दासम्म आधार शिविरमा कोभिड देखिएको’bout आफूलाई जानकारी नभएको दाबी गरेको छ। पर्वतारोहण अभियान बन्द गर्न धेरै दबाव पर्न सक्ने डरले अधिकारीहरूले त्यहाँको यथास्थिति’bout सूचना नदिएको हो कि भन्ने आशङ्का उत्पन्न भएको हो।

    नेपाल सरकारका लागि पर्वतारोहणका आउने विदेशी पर्यटकले अनुमति लिँदा बुझाउने शुल्क राजस्व सङ्कलनको एउटा ठूलो स्रोत हो।

    गत वर्ष कोभिड-१९ महामारीका कारण सगरमाथामा पर्वतारोहण भएको थिएन।

    यसपालि सगरमाथा चढ्न नेपाल आएका आरोहीहरूलाई आधार शिविरतिर जानुअघि क्वारन्टीनमा बस्न भनिएको थियो। सगरमाथामा कोभिड नराम्रो फैलिए त्यसले ठूलो क्षति पुर्‍याउने हो कि भन्ने चिन्ता पर्वतारोहीहरूको समुदायमा देखिएको छ।

    केही सातायता नेपालमा कोभिडका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको हो। नेपालको सङ्क्रमण दर उच्चतम भएको तथ्याङ्कहरूले सङ्केत गर्छन्।

    पर्वतारोहण अभियानसँग सम्बन्धित विषय हेर्ने नेपालको पर्यटन विभागसँग सम्पर्क हुन सकेन। तर संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका उपसचिव प्रेम सुवेदीले आधार शिविरमा कोरोनाभाइरस फैलिएको विषयमा मन्त्रालय अनभिज्ञ भएको बीबीसीलाई बताए।

    “अहिलेसम्म पर्यटन मन्त्रालयमा सगरमाथा आधार शिविरका कोभिडको कुनै मामिला’bout जानकारी दिइएको छैन,” उनले भने।

    सगरमाथा आधार शिविरमा मेडिकल क्लिनिक सञ्चालन गर्ने हिमालयन रेस्क्यू असोसीएशनले त्यहाँबाट हेलिकप्टरबाट काठमाण्डू लगिएका केही आरोहीहरूमा कोभिड पुष्टि भएको सूचना आफूले पाएको बीबीसीलाई बताएको छ।

    “हामीले भर्खरै सत्र जनामा सङ्क्रमण पुष्टि भएको सूचना काठमाण्डूबाट पाएका छौँ,” उक्त संस्थाका ल्हाक्पा नुरु शेर्पाले भने।

    “अहिले हामीले पर्वतारोहण टोलीलाई बिरामी परेका आफ्ना सदस्यलाई [काठमाण्डू] पठाउनुअघि हामीलाई भन्न आग्रह गरेका छौँ,” उनले भने, “त्यसो गर्दा हामीलाई के हुँदैछ भन्ने थाहा हुन्छ।”

    आधार शिविरमा अवस्थित क्लिनिकमा कार्यरत डा. प्रकाश खरेलका अनुसार निरन्तर लाग्ने खोकी र ज्वरोजस्ता कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखा पर्ने लक्षण भएका मानिसको सङ्ख्या बढिरहेको छ।

    “लगभग सबै पर्वतारोहीलाई यहाँ खोकी लाग्छ। तर हामीले अरू लक्षण भएका मानिस पनि फेला पारेका छौँ अनि उनीहरूलाई अलग्गै राख्न प्रयास गरेका छौँ,” डा. खरेलले भने।

    काठमाण्डूस्थित सिवेक क्लिनिकले पनि सगरमाथाबाट आफूकहाँ आएका बिरामीमा कोभिड भएको पुष्टि गर्‍यो।

    “हामीकहाँ सगरमाथा क्षेत्रबाट आएका बिरामी थिए जो परीक्षण गर्दा दुई साताअघि हाम्रै अस्पतालमा सङ्क्रित देखिए,” सिवेककी कर्मचारी आस्था पन्तले भनिन्। “तर अहिले हामी कति जना भन्ने वा अन्य सूचना दिन सक्दैनौँ।”

    कोरोनाभाइरस महामारीका कारण पोहोर सगरमाथामा पर्वतारोहण रोकिएको थियो /

    एउटा ठूलो आरोहण टोलीले आफ्ना केही सदस्यमा कोरोनाभाइरस देखिएको तर अहिले उनीहरू निको भइसकेको बतायो। तर उसले आफ्नो टोलीको नाम उल्लेख नगरिदिन आग्रह गरेको छ।

    नर्वेका आरोही एर्लेन्ड नेसले बीबीसीलाई गत महिना आफूलाई काठमाण्डूका दुई अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण भएको देखिएको बताए।

    पहिला उनलाई लेक लागेको भन्ठानिएको थियो। तर हवाई उद्धार गरेर काठमाण्डू लगेपछि कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भयो। कोरोनाभाइरस सङ्क्रमण हुँदा लेक लागेको समस्या भनेर झुक्किने डर पर्वातारोहीहरूको छ।

    “तपाईँ मानिसहरू खोकिरहेको जहाँ पनि सुन्नुहुन्छ,” फुर्टेन्बाक एन्ड्भेन्चर्सका टोली नेता लुकास फुर्टेन्बाकले बीबीसीलाई सगरमाथा आधार शिविरबाट भने। “तर यो पर्वतारोहीहरूलाई यहाँ सामान्यतया लाग्ने खोकी हैन। मानिसहरू पीडित भएको र उनीहरूलाई ज्वरो तथा जीउ दुख्ने लक्षण भएको तपाईँ बुझ्न सक्नुहुन्छ।”

    पर्यटन विभागको वेबसाइटका अनुसार यसपालि एप्रिल २६ सम्म नेपाल सरकारले पर्वतारोहणका लागि ३९४ वटा अनुमति दिएको छ। ती सबै अभियानका लागि सगरमाथा क्षेत्रमा पुग्ने मानिसको सङ्ख्या १,५०० पुग्छ। तीमध्ये अधिकांश सहयोगीहरू हुन्छन्।

    आधार शिविरमा भएका अधिकारीहरूले काठमाण्डूबाट कोभिडको उपचार गरेर वा अनुकूलनका लागि गएर फर्किने आरोहीहरू’bout चिन्ता भएको बताएका छन्।

    “उनीहरू आफू निको भएका हुन सक्छन् तर काठमाण्डूमा अवस्था गम्भीर भएकाले आफूसँग भाइरस ल्याएका हुन सक्छन्,” नेपाली सेनाका एक अधिकारीले भने। “तसर्थ हामीले आरोहीहरूलाई पर्यनुकूलनको चक्रका लागि काठमाण्डू नभएर आधार शिविरभन्दा तल जान सुझाव दिएका छौँ।”

    सगरमाथा आधार शिविरमा भएका पर्वतारोही र अधिकारीहरूले त्यहाँ कोरोनाभाइरस परीक्षण गर्ने सुविधा नहुँदा अप्ठेरो भएको बताएका छन्।

    “हामीले परीक्षणको सुविधा व्यवस्था गरियोस् भनेर सरकारसँग अनुरोध गरेका थियौँ। तर उनीहरूले अनुमति दिएनन्,” डा. खरेलले भने।

    केही ठूला टोलीहरूले आफूसँगै परीक्षणका लागि आवश्यक किट ल्याएको बताएका छन्। त्यसबाट सङ्क्रमणको सङ्केत देखिए सदस्यहरूलाई समयमै अलग्गै राख्न तथा उद्धार गरेर काठमाण्डू पठाउन सजिलो भएको छ।

    हिमालयन रेस्क्यू असोसीएशनका अधिकारीहरूले आफूले सगरमाथा आधार शिविरमा भएका १७ पर्वतारोहीहरूमा सङ्क्रमण पुष्टि भएको प्रतिवेदन भर्खरै पाएको बतायो।

    “पुष्टि भएका सङ्क्रमित र आरोहीको परिचयसम्बन्धी विवरण यसअघि नपाउनु दुःखको कुरा हो,” आधार शिविरमा खटिएका एक सैन्य अधिकृतले बीबीसीलाई भने।

    “त्यसले हामीलाई संसर्गमा आएका मानिसको पहिचान गर्न तथा कोरोनाभाइरस थप फैलिन नदिन काम गर्न सघाउँथ्यो,” उनले भने,”सङ्क्रमण पुष्टि भएकाहरूसँग सम्पर्कमा आएका आरोहीहरूलाई हामी धेरै अघि नै अलग्ग राख्न सक्थ्यौँ ।

    साभार – बीबीसी नेपाली बैशाख २२ , २०७८

    तस्विर – सगरमाथा आधार सिविर / लुकास फ़ुर्तन्बक

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन