• पोखरा महानगरको पर्यटन पुनरुत्थान गर्न रणनीतिक योजना तय

    पोखरा महानगरको पर्यटन पुनरुत्थान गर्न रणनीतिक योजना तय

    पोखरा (रासस)- पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तरराष्ट्रिय बजारसम्म प्रवद्र्धन गर्ने उद्देश्य राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पर्यटकीय नगरी पोखरा क्षेत्र भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश दिने गरी आन्तरिक तथा बाह्य बजारमा यसको पर्यटनलाई ब्रान्डिङ गर्ने उल्लेख गरिएको छ ।

    स्थानीय अर्थतन्त्रमा कोभिड सिर्जित महामारीका कारण परेको प्रतिकूल असरका सम्बन्धमा गरिएको प्रारम्भिक अध्ययनबाट पोखराको प्रमुख आर्थिक संवाहक पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुने र अन्य व्यावसायिक क्षेत्रमा व्यापक सङ्कुचन आउन सक्ने आकलन गरेर रणनीतिक योजना बनाइएको पोखरा महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले जानकारी दिए ।

    उनका अनुसार नवीनतम सामान्यावस्थामा यहाँका समग्र पर्यटकीय उपजलाई विकास, विस्तार तथा विविधीकरण गर्नका लागि तत्काल आवश्यक रणनीतिक कार्यक्रम तय गर्न महानगरको पर्यटन पुनरुत्थान रणनीतिक योजना २०७८ प्रस्ताव गरिएको छ । पर्यटन उद्योगलाई चलायमान बनाउन विभिन्न तहका सरकारबाट चाल्नुपर्ने उपयुक्त नीतिगत विषयमा सुझाव प्रस्तुत गर्दै यसलाई पर्यटकीय केन्द्रका रूपमा दिगो विकास एवं व्यवस्थापन गर्ने विषयलाई समेटिएको छ ।

    योजनामा सुरक्षित पर्यटकीय सेवा, गुणस्तरीय सुविधा एवं क्षमता अभिवृद्धि’bout आवश्यक रणनीतिक कार्यक्रम तथा योजनामा प्रभाव पार्ने तत्त्व पर्यटन पुनरुत्थान र प्रवद्र्धनसँग सम्बन्धित रहेकाले यहाँक पर्यटकीय आकर्षणयुक्त ताल, नदी, खोला, गुफा, वन, वातावरण र धार्मिक एवम् सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

    योजना तयार गर्ने क्रममा स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन विकाससँग सम्बन्धित प्रचलित नेपाल कानुन, ऐन, नियमावली, नीतिनियम तथा राज्यका सम्बन्धित निकायबाट जारी गरिएका मार्गनिर्देशिका र रणनीति अनुसरण गरिएको हुंँदा योजना कार्यान्वयनका क्रममा पनि यथोचित ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

    नेपालको चालु आवधिक विकास योजना, गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना, नेपालको राष्ट्रिय पर्यटन रणनीति, पर्यटन नीति, प्राकृतिक एवम् सांस्कृतिक स्रोतसम्पदाको संरक्षण तथा विकाससम्बन्धी नीतिनियम, ग्रामीण एवं सामुदायिक कृषि पर्यटन विकाससँग सम्बन्धित निर्देशिकालाई समेत ध्यानमा राखेर योजना बनाइएको लामिछानेले जानकारी दिए । समावेशी र उत्थानशील आर्थिक वृद्धिका लागि महानगरको अनौपचारिक क्षेत्र र घरपरिवारलाई समेत समेटेर समग्र अर्थतन्त्रमा महामारीले पारेको असर’bout सूक्ष्म जानकारी हासिल गर्न २०७७ असोज—कात्तिकमा बृहत् प्रभाव मूल्याङ्कनका लागि स्थलगत अध्ययन गरिएको थियो ।

    अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा परिमार्जन गरिएको समावेशी स्थानीय आर्थिक विकास रणनीतिक योजनाको मस्यौदामाथि २०७७ फागुनमा कार्यशाला आयोजना गरेर पुनः छलफल गरी महानगरको सहरी योजना आयोगका साथै अन्य सरोकार पक्षबाट पृष्ठपोषणसमेत प्राप्त भएको थियो ।

    पोखरा महानगरपालिकाले ‘समुन्नत पर्यटकीय पोखरा’ नारासहित त्रिवर्षीय आवधिक योजनामा पनि पर्यटनलाई प्राथमिकतामा राखेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । ‘महानगरले नेपालको दीर्घकालीन सोचसँग समायोजन हुने गरी ‘समुन्नत पर्यटकीय पोखरा दूरदृष्टि २१००’ तय गरेको छ । यसमा पर्यटनलाई नै प्राथमिकतामा राखिएको छ’ , महानगर योजना सहजीकरण समितिका संयोजक गुरुङले बताए । महानगरको सो लक्ष्य प्राप्तिका लागि मानव पुँजी निर्माण, ज्ञानमा आधारित अर्थतन्त्र, समावेशी पूर्वाधार, उत्पादकत्व वृद्धि तथा व्यवसायमैत्री वातारण एवं पर्यावरणीय सन्तुलनसहितको विकासको अवधारणा सारिएको उनले बताए ।

    विस्तृत पर्यटन परियोजना तयार गरी यसलाई एसियाकै विशेष पर्यटकीयस्थलका रूपमा विकास गर्ने, घरबस्तीको सौन्दर्य अभिवृद्धि गर्ने, बाटाको दायाँबायाँ बिरुवा रोपण, खोलाका किनारामा बाँस एवं अन्य वृक्षरोपण, सार्वजनिक शौचालय आदिको व्यवस्थापन गर्ने, उद्यम तथा उद्यमशीलता विकासका लागि आवश्यक नीति तथा स्रोतको व्यवस्था गर्न वातावरण निर्माण गरिने, महानगरपालिकाका कला, साहित्य तथा संस्कृतिको प्रवद्र्धन गरेर व्यावसायिक विकासका लागि समूह गठन गरी परिचालन गर्नेलगायत विषय त्यसमा समेटिएको गुरुङले बताए ।

    उनका अनुसार महानगरपालिकालाई पर्यटन केन्द्रका रूपमा विकास गर्न पर्यटन नीति तथा आचारसंहिता तर्जुमा गरी कार्यान्वयन गरिनेमा जोड दिइएको छ । विकासका प्राथमिकताका क्षेत्र तथा नीतिमा साहित्य, कला संस्कृति, पर्यटन प्रवद्र्धन तथा उद्यम विकासलाई राखिएको छ । पोखरालाई ज्ञान, विज्ञान, ध्यान, संस्कृति, मनोरञ्जनसहितको आधुनिक पर्यटनको गन्तव्यस्थलका रूपमा विकास गरेर विश्व मानचित्रमा पर्यटन केन्द्रका रूपमा विकास गर्ने गरी योजना तय गरिएको छ ।

    त्रिवर्षीय योजनामा पर्यटन शक्तिको विकास गर्न र पर्यटन व्यवसायका लागि आवश्यक पर्ने जनशक्तिको नियमित रुपमा सीप, क्षमता तथा दक्षता विकास गर्न संयन्त्र तयार गर्ने, महानगरपालिका र विदेशी तथा स्वदेशी महानगरपालिका तथा नगरपालिकाहरूसँग भागिनी सम्बन्ध स्थापना गर्ने ,पोखरामा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नका लागि विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्ने रणनीति समेटिएका गुरुङले बताए ।

    त्यसैगरी महानगरपालिकामा पर्यटन महाशाखा र पर्यटन परिषद् स्थापना गर्ने, पर्यटन गुरुयोजना तयार गर्ने, पर्यटन व्यवसायीलाई सङ्गठित गरी पर्यटन व्यवसायी, महानगरपालिका, सहकारी र नागरिकका सहभागितामा वित्तीय संस्थाको स्थापना गरी पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने, नयाँनयाँ पर्यटन गन्तव्य र पर्यटन उत्पादनको विकास गर्न सम्भावित सूची तयार गरी विस्तृत परियोजना तयार गर्ने, सङ्घ– प्रदेश– गैसस– निजी क्षेत्र– अन्तरराष्ट्रिय सङ्घ–संस्थासँग साझेदारी गरी सम्भावित पर्यटन गन्तव्य र उत्पादनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचना तयार गर्ने विषयलाई जोड दिइएको छ ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले महानगरको पर्यटन पुनरुत्थान रणनीतिक योजना र त्रिवर्षीय योजनामा पोखराको पर्यटन प्रवद्र्धनका लागि समेटिएका विषय महत्वपूर्ण रहेको जनाउँदै यसको कार्यान्वयनसँगै नतिजाको अपेक्षा पर्यटन व्यवसायीले गरेको बताए । उनले भने, ‘हामीकहाँ कागजमा निकै राम्रा कुरा लेखिन्छन् तर व्यवहारमा देखिँदैन । महानगरको पर्यटन पुनरुत्थान रणनीतिक योजना पनि योजनामा मात्र सीमत नहोस् भन्न चाहन्छौँ ।’

    उनका अनुसार नेपालको पोखरालाई औपचारिक रुपमा नै पर्यटक राजधानी घोषणा गरेर नीति तथा कार्यक्रम तर्जुमा गरी सङ्घीय सरकारले निर्णय गरोस् भन्ने पोखरेली व्यवसायीको इच्छा रहेको पनि बताए । गण्डकी प्रदेशको राजधानी पोखरा विश्वभरका पर्यटकको आकर्षक गन्तव्यका रुपमा स्थापित भएकाले पनि प्रदेश र महानगरले यसको विकासका लागि पर्यटनमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्नेमा उनले जोड दिए । उनले आफैँमा सुन्दर शहर पोखराको पूर्वाधार विकास र व्यवस्थापन मात्र गर्न सके पनि पर्यटकको आगमन र बसाइ बढाउन सकिने धारणा राखे ।

    महानगरभित्र दिगो पर्यटन विकास गर्ने लक्ष्यसहितको एकीकृत विकास अवधारणानुसार सहरी सुविधाको गुणस्तर बढाएर लैजानुपर्ने, स्वच्छ एवम् सफा राख्न दीर्घकालीन फोहर व्यवस्थापन प्रणाली चुस्तदुरुस्त बनाउनुपर्ने, प्रमुख गन्तव्यस्थल सूचीकृत गर्दै प्रवद्र्धनका लागि नगर पथप्रदर्शकलाई तालिम दिनुपर्ने,े प्रभावकारी सेवा प्रवाहका लागि प्रविधिमैत्री विकासको ढाँचाबाट अघि बढ्नुपर्ने उनको सुझाव छ । सँगसँगै महानगरभित्र एउटा पर्यटन विषय हेर्ने सहायता कक्ष पनि आवश्यक रहेको उनको भनाइ छ । महानगरले पर्यटन प्रवद्र्धनका लागि ल्याएका कार्यक्रममा परिषद् सहकार्य गरेर अघि बढ्न तयार रहेको जनाउँदै उनले ‘फुट ट्रयाक’, ‘साइकल ट्रयाक’, ढल निकास, फोहोरमैला व्यवस्थापन, ‘लेक टु लेक कनेक्ट’, ‘चिल्डे«न पार्क’, सार्वजनिक शौचालय जस्ता कुरालाई भने तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो । पोखरामा ‘माइस टुरिज्म’ मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स एण्ड एक्जिबिजन बढाउन पनि महानगरको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

    गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष उदय सुवेदीले महानगरले पर्यटन विकासको योजना बनाउँदा ग्रामीण पर्यटनलाई पनि जोड्नुपर्ने बताए । पोखराको प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै डाँडाकाँडामा दृश्यावलोकनस्तम्भ राख्नुभन्दा अन्य कुराले सजाउन सके पर्यटक आकर्षण गर्न सकिने जनाउँदै उनले ग्रामीण उत्पादनलाई बजारीकरण व्यवस्थासँगै ‘भिलेज टु भिलेज कनेक्टिभिटी’मा जोड दिएर स्वस्थ र उत्कृष्ट बासस्थानको सहर बनाउन सकिने बताए ।

    कोभिड–१९ महामारी र यसको प्रभाव विषयमा गरिएको महानगरको प्रारम्भिक अध्ययनानुसार लकडाउनका समयमा पोखराको पर्यटन उद्योगले मासिक करिब रु पाँच अर्बका दरले नोक्सान बेहोरेको अनुमान छ । पोखरा क्षेत्रमा २३ तारेस्तरका र ६५० पर्यटकीय होटल, ८० पर्यटकस्तरीय रेस्टुरेन्ट र अन्य आतिथ्य सेवाका व्यवसायमार्फत स्तरीय आवास, मनोरञ्जन तथा खानाको सुविधा उपलब्ध छ । पर्यटन प्रवद्र्धन गर्न सन् २०२२ मा ‘पोखरा पर्यटन वर्ष’ का रूपमा मनाउने कार्यक्रम पनि तय भएको छ ।

    पोखरा भौगोगिक तथा प्राकृतिक रूपमा मात्र नभएर जैविक विविधतामा पनि उत्तिकै धनी छ । प्राकृतिक रूपमा बनेका गुफा, ताल, नदी, खोला र खोल्सीले भरिएको पोखराका नौ ताल तथा जलाधार क्षेत्र रामसार क्षेत्रमा सूचीकृत छन् । पोखरा उपत्यकाका गुफा, ताल, नदीसँगै रहेका सिमसार एवं जलाधार क्षेत्रका प्राकृतिक वनजङ्गल जैविक विविधताले भरिपूर्ण छन् । यसको उचित व्यवस्थापन गर्न सकेमा वन, वनस्पति, पुतली, चरा, वन्यजन्तुको अवलोकन एवं अध्ययन–अनुसन्धान जस्ता पर्यापर्यटनका गतिविधि सञ्चालन गर्न सकिने प्रचूर सम्भावना छ । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको तथ्याङ्कले पोखरा उपत्यकामा रहेका ताल, सिमसार र जलाधार क्षेत्रमा १७ प्रजातिका माछा, १४ प्रजातिका सरिसृप, ९० प्रजातिका चरा, १४ प्रजातिका बसाइँ सरेर आउने चरा, ३४ प्रजातिका स्तनधारी जनावर र १४९ प्रजातिका वोटवृक्ष पाइने देखाएको छ ।

    पोखराकाको रुपान्तरणकारी परियोजनाका रुपमा विशेष गरी नौ क्षेत्रलाई अगाडि बढाइएको छ । लेकसाइड वाटरफ्रन्ट विकास, रत्नमन्दिर बगँैंचा, फेवाताल संगीत फोहरा, फेवाताल वरिपरि पैदल मार्ग फेवा फेरो र सराङकोट डाँडामा पर्यटकीय संरचना, सेती खोँचमा आकाशे पैदलमार्ग स्काई वाक, अन्नपूर्ण प्राकृतिक सङ्ग्रहालयमा जीवित पुतली प्रदर्शनी कक्ष थप गरी स्तरोन्नति गर्ने, ढुङ्गेसाँघु डाँडामा नाटक प्रदर्शनी, वेगनास तालमा वन्यजन्तु तथा अवलोकनका लागि पर्यावरणीय प्रदर्शन भवनलगायत छन् ।

    माघ २०७८

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन