• ‘च्याम्पियन ट्री’ पहिचानबाट वानस्पत्य पर्यटनमा सहयोग

    ‘च्याम्पियन ट्री’ पहिचानबाट वानस्पत्य पर्यटनमा सहयोग

    अर्जुन बिष्ट —

    के तपाईंको घरको प्रांगण, बगैंचा वा खेतवारीमा कुनै पनि प्रजातिका बढी उमेरका रुखहरु छन् ? छिमेक वा आफ्नो वडामा, अझै पूर्व मेचीदेखि पश्चिम महाकालीतिरको झनै जंगलको भित्री भागहरुको अवलोकन गर्नु भएको छ भने स्थानीय क्षेत्रको हावापानी अनुसार अनेक जात, जाति वा प्रजातिका रुखहरु देख्दा मन आल्हादित हुन्छ नै ।  नेपालमा प्राचीन कालदेखि नै रुखको महत्व बुझी विभिन्न जात वा प्रजातिका रुखहरु लगाइएको पाइन्छ । विभिन्न ऋषिमुनिहरु ठूलठूला रुखका मुनि तपस्या गरेर बस्दथे । अझै नेपालमा राणाकालमा राणाहरुले शोखका कारण भनौं वा रुखको महत्व बुझी विभिन्न प्रजातिका रुखका विरुवाहरु बेलायत ( यूरोप) वा अमेरिका बाट झिकाई आआफ्ना दरवारहरुमा रोपेको तपाई हामीलाई जानकारी भएकै कुरा हो । हाम्रो देशका सडक किनार, मठ मन्दिरको प्रांगण वा गोडेटो वा घोडेटो बाटोहरुमा चौतारा बनाई  विभिन्न प्रजातिका रुखहरु लगाउने प्रचलन धेरै अघि देखिको हो ।  तिनका आआफ्नै महत्व छन् /

    यौटा रुखको मूल्य :

    मिचिगन स्टेट विश्वविद्यालयको अद्यावधिक अभिलेख अनुसार कलकत्ता विश्वविद्यालयका प्राध्यापक टी.एम, दासले रुखको महत्वका वारेमा लेखेका छन् – एउटा ५० वर्ष उमेरको रुखले ३१,२५० डलर बराबरको अक्सिजन उत्सर्जन गर्दछ । यसैगरी ६२,००० डलर बराबरको वायु प्रदूषण नियन्त्रण गर्दछ । ३१,२५० डलर बराबरको भूक्षय नियन्त्रण र माटोको उर्वराशक्ति बृद्धिमा सहयोग पुर्याउंछ । यस्तै ३७,५०० डलर बराबरको पानी शुद्धिकरण,  ३१,२५० डलर बराबरको पशुहरुलाई आश्रयस्थलको रुपमा सहयोग पुग्छ । यस आंकडाले ती रुख वा वृक्षहरुबाट प्राप्त हुने फलफूल, काठपात वापत तिनले दिने सौन्दर्यको मूल्य यसमा समावेश गरिएको छैन ।

    त्यसैगरी वन तथा जलाधार संरक्षणको माध्यमबाट कृषियोग्य भूमिको संरक्षण र उत्पादकत्वमा बृद्धि, पानी मुहान, वन्यजन्तु र जैविक विविधताको संरक्षण, जलवायु शुद्धिकरण जस्ता मानव स्वास्थ्य रक्षा एवं प्रकृति संरक्षण र वातावरणीय स्वच्छता कायम राख्ने कार्यमा ठूलो टेवा पुगेको हुन्छ । अझ रुखहरुले विशेषगरी अक्सिजन उत्सर्जन गर्ने हुंदा मानव स्वास्थ्यका लागि त रुखहरु झन महत्वपूर्ण मानिन्छ ।

    महत्वपूर्ण प्राकृतिक सम्पदा :

    नेपालको कूल क्षेत्रफलको करिव ४४.७४ प्रतिशत भूभाग वन जंगलले ढाकेको छ । कृषि लगायत पर्यटन, वातावरण, जैविक विविधता एवं भौगोलिक विकास संरचनाको मेरुदण्डको रुपमा रहेको वन क्षेत्रबाटै मुलुकवासीहरुका अधिकांश दैनिक कृषि आवश्यकताका काठ, इन्धन ७० प्रतिशत, पशु आहार ४० प्रतिशत, जडीवुटी लगायतका काष्ठ एवं गैरकाष्ठ वन पैदावारको आपूर्ति हुंदै आएको छ । 

    वन एक नवीकरणीय प्राकृतिक स्रोत भएकोले यसको समुचित व्यवस्थापनका माध्यमबाट वस्तु र सेवा उपलव्ध गराउंदै  समृद्धिको आधार वनाउनका लागि राष्ट्रिय योजना आयोगले १५ औं योजनामा समृद्धिका लागि वन कार्यक्रम रुपान्तरणकारी योजनामा समेत समावेश गरेको छ । 

    “च्याम्पियन ट्रि” के हो ?

    रुखको वास्तविक नामको पहिचान, यसको जाति वा प्रजाति, यसको धार्मिक महत्व, यसको वास्तविक र अनुमानित उमेर वारे “च्याम्पियन ट्रि” मा पहिचान हुने गर्दछ । यो कार्यबाट यस्ता रुखको संरक्षण तथा सम्बद्र्धनका लागि मार्ग प्रशस्त गर्दछ भने संरक्षणका लागि अवसरहरु समेत प्राप्त हुन्छन् । यस्ता अप्राप्य रुखहरु राष्ट्रको वन तथा वृक्ष सम्पदामा गणना गर्दा राष्ट्रको महत्व समेत प्रतिष्ठापित हुन जान्छ । यस्ता कामहरुले वृक्षहरुको विस्तृत विवरण समेटिदै जानुका साथै लोपोन्मुख अवस्थामा रहेका रुख तथा प्राकृतिक वन, वन जंगल, बाणिज्य महत्वले वृक्षरोपण गरिएका सामुदायिक वन जंगलहरुको महत्व समेत उजागर हुन जान्छ ।

    विश्वमा  च्याम्पियन ट्रि पहिचान सुरुवात:

    विश्वका विभिन्न मुलुकहरुमा ५००० वर्षभन्दा माथिका रुखहरु रहेको भनाइहरु पढन पाइन्छ । हरेक देशले आआफ्ना मुलुकमा भएका वनसम्पदाको विकास एवं संरक्षणका लागि वन मन्त्रालय तथा त्यससंग आवद्ध संस्थाहरु स्थापना गरिएको पाइन्छ । च्याम्पियन ट्रि पहिचान गर्ने कार्यको थालनी विश्वमा सर्वप्रथम सन् १९४६ देखि अमेरिकाले प्रारम्भ गरेको हो । दक्षिण अफ्रिकाले सरकारीस्तरबाटै सन् १९८२ मा अग्ला रुखहरुको राष्ट्रिय दर्ता कार्य अगाडि बढाएपछि सन् २००३ देखिमात्र निजी रुखहरुको वर्गीकरण र तिनका समूहहरु वर्गीकरण गरी च्याम्पियन ट्रि तोकिएका थिए । अहिले त त्यहांको सरकारले सर्वसाधारण व्यक्तिले पनि च्याम्पियन ट्रि पत्ता लगाई सरकारी निकायमा पेश गरेको खण्डमा प्राप्त विवरणहरुको अध्ययन गरी वर्षको एक पटक च्याम्पियन ट्रि घोषणा गर्ने कार्यक्रम नै अघि सारेको हुंदा दक्षिण अफ्रिकामा हाल यस्ता रुखहरुको संरक्षण तथा सम्बद्र्धन हुनमा सहयोग मिलेको छ । विश्वमा बेलायत, न्यूजिल्याण्ड, अमेरिका, आयरल्याण्ड, दक्षिण अफ्रिका र क्यानडा (ब्रिटिश कोलम्बिया ) च्याम्पियन ट्रि  पहिचान गर्ने राष्ट्रमा अग्रणी मानिन्छन् । 

    च्याम्पियन ट्रि मापनका आधारहरु:

    कसरी रुखहरु च्याम्पियन ट्रि का लागि योग्य हुन सक्नेछन् भनी विभिन्न मुलुकले यसका लागि आआफ्नै मापदण्डहरु बनाएका छन् । रुखको ऐतिहासिक महत्व, वर्ष, आकर्षण र त्यसको लम्बाई नै हुन् । यस्तो रुख वास्तवमा अरु रुखको तुलनामा अग्ला र हेर्दा नै प्रभाव देखिने खालका हुन्छन् । यस रुख पहिल्याउने अन्य कसिहरुमा मुख्य रुपमा यसको आकर्षण, उचाई र उमेर पत्ता लगाउनु नै हो ।
     रुखको लम्बाई र आकार नै मोटामोटी रुपमा निर्णायक आधार मानिन्छ जसमा कूल लम्बाई, रुखले जमिन ओगटेको वर्ग मिटर र फैलिएको हांगाविंगाले ढाकेको क्षेत्र नै मापनको आधारस्तम्भ हो । यी तीन मध्ये करिव दुई आधार पनि कहिले कांही च्याम्पियन ट्रि पहिचानका लागि निर्णायक हुन सक्छन् । विश्वका विभिन्न मुलुकमा यससंग आवद्ध विशेषज्ञहरुले च्याम्पियन ट्रि घोषणा गर्ने आधार मोटामोटी रुपमा यिनै आधारहरुलाई अंगीकार गरेका छन् । रुखको बानस्पतिक, ऐतिहासिक र धार्मिक  महत्व, अग्लो र मोटो रुख, रुखको फेदको मोटाई, हांगाहरु चारैदिशातिर फैलावट एवं रुखको जरा जमिनमा ४।५ फिटसम्मको वा सो भन्दा भित्र गएको मापदण्ड मानिएका छन् ।

    नेपालमा च्याम्पियन ट्रि पहिचान सक्रियता :

    जैविक विविधताले भरिपूर्ण ललितपुर जिल्ला पर्यटकीय गन्तव्यस्थल मात्र नभएर महत्वपूर्ण धार्मिक महत्व बोकेको क्षेत्रको रुपमा  विश्वमै आफ्नो पहिचान कायम राख्न सफल भएको छ । विश्व सम्पदा सूचीमा परेको ललितपुर जिल्लाका कतिपय मठमन्दिरहरुको प्रांगणमा धेरैवर्ष पुराना रुखहरु विद्यमान रहेका छन् ।

    झण्डै ५ वर्ष अघि काठमाडौंमा स्थापित नेपालका प्रथम बनस्पतिविद प्रयागराज पाण्डे प्रतिष्ठान वर्षैभरि वनस्पति वारे चर्चा परिचर्चाहरु गरिरहने बौद्धिक बनस्पतिविद एवं समाजशास्त्रीहरु सम्मिलित एक बृहत थलो हो । नियमित रुपमा मासिक बैठक गरी ६५ औं मासिक बैठक सम्पन्न गरिसकेको यस संस्थाले दुई वर्ष कोरोना कहरका कारण आफ्ना नियमित कार्यक्रमहरु जूम मिटिंगबाट जोडिएर भए पनि वनस्पतिका क्षेत्रमा विभिन्न सिर्जनशील कामहरु गरी आम मानिसमा वनस्पतिको महत्व विस्तार गर्न सहयोग पुर्याएको छ । 

    नेपालको परिप्रेक्ष्यमा च्याम्पियन ट्रि पहिचान गर्ने योजनासहित काम गर्न अहिलेसम्म कोही पनि अग्रसर नभएको अवस्थामा सो प्रतिष्ठानका प्रथम अध्यक्ष एवं वनस्पतिविद् मधुसुदन बिष्टको सक्रियतामा चारवर्ष अघि ललितपुरको कृषि अनुसन्धान परिषद्को भवनदेखि दक्षिण धापाखेल क्षेत्रसम्मको मूल सडकका रुखहरुको गणना एवं तिनको वैज्ञानिक नामाकरण गर्ने कार्य सम्पन्न गरिएबाट प्रतिष्ठानलाई नयां र थप उर्जा प्राप्त भयो । सन् २०२१ मा प्रतिष्ठानका नव निर्वाचित वर्तमान अध्यक्ष पुष्पमान अमात्यले आफ्नो चारवुंदे कार्यक्रममै ललितपुर नगरपालिका क्षेत्रका कूल २९ वडामा रहेका विभिन्न रुखहरुको अध्ययन गरी  “च्याम्पियन ट्रि” पहिचान गर्ने कार्यक्रम प्राथमिकतासाथ ल्याउनु भएपछि यो कामले पूर्णता पाएको हो । श्री अमात्य ललितपुरको कुमारी पाटीस्थित कान्तिपुर भ्याली कलेजका संस्थापन प्रिन्सिपल समेत हुनुहुन्छ । यो कलेजले बनस्पति विषयमा स्नातक तहको पढाई सञ्चालन गर्दै बनस्पति क्षेत्रका लागि आवश्यक पर्ने जनशक्तिहरु परिपूर्ति गर्दै आएको छ । साथै अमात्य ललितपुर महानगरपालिकाका बनस्पति सल्लाहकार समेत हुनुहुन्छ । 

    “च्याम्पियन ट्रि” अध्ययन टोली:

    लामो समयसम्म नेपालको बनस्पति क्षेत्रमा कार्यरत पुष्पमान अमात्य र हरिकृष्ण सैंजू यस अध्ययन टोलीमा क्रमशः संयोजक र सदस्यका रुपमा संलग्न हुनुहुन्थ्यो । उहांहरु बनस्पति विभागका हस्तिहरुका रुपमा समेत परिचित हुनुहुन्छ । ललितपुर महानगरपालिकाले सहयोगमा यो कार्य सम्भव भएको हो । अनुसन्धान टोलीले ललितपुर महानगरपालिकाको २९ वटै वडा कार्यालयको स्थलगत अध्ययन गरी स्थानीय वडा अध्यक्ष तथा सदस्य एवं जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेपछि मात्र जनप्रतिनिधिहरुको रोहवरमै स्थानीय रुखहरुको अध्ययन सम्पन्न गरिएको थियो । उनीहरुको विचार तथा धारणाहरुलाई प्रतिवेदनमा समेटने प्रयास गरिएको छ । 

    कार्यक्रमले संगेटेका क्षेत्र:

    ललितपुर क्षेत्र वृहत मल्लकालीन संस्कृति र ईतिहास बोकेको एक प्राचीन नगरीको रुपमा परिचित छ । ललितपुर महानगरपालिकाको कूल २९ वटा वडाका विभिन्न मठमन्दिरका प्रांगणहरुमा प्राचिनकालदेखि नै धार्मिक महत्वका विभिन्न रुखहरु रहेका छन् । तिनका साथै ललितपुर क्षेत्रमा राणाकालीन विभिन्न दरवारका प्रांगणमा रहेका विभिन्न प्रजातिका रुखहरु समेत विद्यमान छन् । यी दरवारहरु विस्तार विस्तार बिक्री हुने क्रम बढेपछि यी क्षेत्रमा भएका धेरै वर्ष पुराना रुखहरु समेत विनास भएका छन् । 

    यसदेखि बाहेक प्राप्त सूचनाका आधारमा व्यक्ति विशेषका घरहरुमा रहेका विभिन्न रुखहरु समेत अध्ययनका क्षेत्रमा परेका थिए ।   “च्याम्पियन ट्रि” पहिचान गर्ने कार्य प्रथम चरणमा पूरा भई यसको प्रतिवेदन ललितपुर महानगरपालिकामा हालै बुझाईएको छ ।

    अध्ययनको निष्कर्ष:

    ललितपुर महानगरपालिकाको कूल २९ वटा वडामध्ये २७ वटा वडामा च्याम्पियन ट्रि पहिचान भएको छ । वडा नं १ र १७ मा च्याम्पियन ट्रि परेनन् । अध्ययन टोलीले स्थलगत अध्ययनका क्रममा च्याम्पियन टि पहिचान भएका रुखहरु ज्यादै अमूल्य, लोपोन्मुख, लुकेको खजानाको रुपमा विद्यमान रहेको अवस्थामा पाइएको प्रतिवेदनमा उल्लेख छ । ललितपुर महानगरपालिकाको हरित सम्पदा संरक्षणमा प्रतिवेदनले कोशे ढुंगाको रुपमा काम गर्ने उल्लेख गरिएको छ । यो कार्यलाई देशभरका अन्य महानगरपालिका, नगरपालिका, गाउंहरुमा विस्तार, स्थानीय वासिन्दा एवं युवा पुस्ताहरुलाई उनीहरुका पुर्खाको युगौदेखि हरित प्रकृतिमाथिको  क्षेत्रमा भएका माया, ममता उजाजर एवं दीक्षित गर्नुका साथै च्याम्पियन ट्रि संरक्षणका दिशामा उत्प्रेरण गर्न सहयोग मिल्ने प्रतिवेदनमा उल्लेख छ ।

    देशको हरित सम्पदा सम्बन्धी ज्ञान एवं वनस्पति सम्पदाको विकासका लागि प्रस्तुत अध्ययन प्रतिवेदन हाते कितावको रुपमा सहयोगी हुनुका साथै वनस्पति क्षेत्रमा औषधीय, सौन्दर्यमय र धार्मिक महत्वको वृक्षको अनुसन्धानका लागि सहयोगसिद्ध हुने अपेक्षा गरिएको छ । प्रतिवेदनले अध्ययनका क्रममा कतिपय यस्ता च्याम्पियन ट्रि भएका क्षेत्रहरुलाई  पार्क क्षेत्रको रुपमा विकसित गर्न सकिने समेत औल्याएको छ । यी क्षेत्रहरुमा पाटन दरवारको भण्डारखाल क्षेत्र, मंगल बजार, ललितपुरको सुनाकोठीको बालकुमारी पार्क, ललितपुरकै यू एन पार्क परेका छन् ।

    नेपालमा बायो—टूरिजम ( बानस्पतिक पर्यटन ) प्रवर्धनका दिशामा यसलाई परिचालन गर्न सकिएको खण्डमा ललितपुरमा पर्यटन विकासका लागि थप बल पुग्न सक्ने पंक्तिकारको धारणा छ । पर्यटकहरुलाई यस्ता अमूल्य बानस्पतिक सम्पदा अवलोकन गराउन एक नयां पदमार्गको विकास गरी कार्यान्वयन गर्न सकिने अवसर सिर्जना भएको छ । यसलाई नेपालको पर्यटन इतिहासको क्रममा  “नयां पर्यटन उत्पादन” को रुपमा समेत अंगीकार गर्न सकिने छ ।

    च्याम्पियन ट्रि को सूचीमा पर्न सफल रुखहरु:

    ललितपुर महानगरपालिका क्षेत्रको विभिन्न मन्दिरको प्रांगण, सडक किनारा वा चोकहरु, व्यक्तिगत घरको प्रांगणमा रहेका यस्ता रुखहरुको धार्मिक महत्व, यिनीहरुको बुढ्यौली उमेर, रुखको जातका आधारमा च्याम्पियन ट्रि मा समावेश गरिएका छन् । च्याम्पियन ट्रि को श्रेणीमा पर्ने रुखहरु कम्तिमा ८० वर्षदेखि ५०० वर्षसम्मका रुखहरु भएको अनुमान गरिएको छ ।  ललितपुरको वडा नं १९ स्थित अग्नीशाला मन्दिर प्रांगणमा रहेको बरुण वृक्ष,  एकान्तकुनाको चोकमै रहेको कपुरको रुख, बगलामुखी मन्दिरको प्रांगणमा रहेको पीपलको रुख, सानेपा चोकमा रहेको खरीको रुख, झंसिखेलको अम्मरकुटी प्रांगण बेजिल होममा रहेको कनकन चम्पा र पुल्चोक श्रीमहल प्रांगणमा रहेको भालुकाठ रुख च्याम्पियन ट्रि को सूचीमा पर्न सफल भएका छन् । मापदण्डभित्र परेका रुखहरुलाई “च्याम्पियन ट्रि” का सूचीमा राखिएका छन् । च्याम्पियन टि को सूचीमा परेका ३० वटा रुखहरुको वैज्ञानिक नाम र नेपाली नाम निम्नानुसार रहेका छन् ।

    S.N.Scientific NameNepali Name
    1.Araucaria bidwilliiMonkey Puzzle
    2.Araucaria columnarisMonkey Puzzle
    3.Bauhinia variegateKoiralo
    4.Borassus sp.Tasingwe/Palm
    5.Bougainvillea spectabilisBhon swan
    6.Callistemon citrinusKalki
    7.Cassia fistulaRajbrikshya
    8.Celtis australisKhari
    9.Choerospondias axillarisLapis
    10.Cinnamomum camphoraKapur
    11.Crateva religiosaVarun Vrikshya
    12.Diploknema butyraceaChuiri
    13.Eucalyptus camaldulensisMasala
    14.Ficus benghalensisBaar
    15.Ficus benjaminaSami
    16.Ficus elasticaRubber plant
    17.Ficus religiosaPeepal
    18.Fraxinus floribundaLakuri
    19.Grevillea robustaKangyo
    20.Ilex excelsaPunwale
    21.Jacaranda mimosaefoliaChakhunba Swan
    22.Juglans regia var. kamaonicaOkhar
    23.Mangifera grandifloraRukh kamal
    24.Mangifera indicaAamp
    25.Metasequa glyptostroboidesChiniya Dhupi
    26.Michelia champacaSun Chump
    27.Michelia figoKan Kan Champa
    28.Podocarpus neriifoliusGunsi
    29.Schima wallichiiChilaune
    30.Talauma hodgsoniiBhalukath
    च्याम्पियन टि को सूचीमा परेका ३० वटा रुखहरुको वैज्ञानिक नाम

    नेपालको इतिहासमै पहिलो पटक च्याम्पियन ट्रि पहिचान गर्ने महत्वका सन्दर्भमा प्रतिष्ठानका वर्तमान अध्यक्ष एवं नेपालमा यस कार्यक्रमका संयोजक पुष्पमान अमात्यको धारणा यस्तो रह्यो – नेपालमा वन विकासका लागि वि सं १९९९ मा काम गर्न सुरु गरेको ७९ वर्ष पुगेको भएपनि वन जंगलको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा यस क्षेत्रमा हामी विश्वमा निकै पछि परेका छौं । अझ राष्ट्रियस्तरको मेगा योजनाका रुपमा एयरपोर्टहरु जहांतंही बनाउने सरकारी योजनाले वन सम्पदामाथि झनै प्रहार हुंदै गएकाले च्याम्पियन ट्रि लोपोन्मुख अवस्थामा रहेका छन् ।

    नेपालमा च्याम्पियन ट्रि पहिचान गर्ने कार्यमा प्रत्यक्ष संलग्नताका सन्दर्भमा प्राप्त अनुभूति वारे जिज्ञासा राख्दा बानस्पतिक सामिप्यता अझै बढ्दै गएको र यस क्षेत्रमा विभिन्न रचनात्मक एवं सिर्जनशील कार्यहरु गर्न आत्मविश्वास बढेको श्री अमात्यले उल्लेख गर्नुभयो । च्याम्पियन ट्रि पहिचान गर्ने कार्य ललितपुर क्षेत्रबाट अव विस्तारित रुपमा देशव्यापी बनाउन के कस्ता कार्ययोजनाहरु छन् भन्ने जिज्ञासाका सन्दर्भमा वनस्पतिविद् श्री अमात्यले नेपालका प्रथम वोटनिष्ट प्रयागराज पाण्डे फाउण्डेशनले देशव्यापी रुपमा यस कार्यक्रमलाई कसरी विस्तार गर्न सकिनेछ भन्ने वारेमा छलफल भइरहेको खुलासा गर्नुभयो ।

    सो अध्ययन टोलीका सदस्य एवं वनस्पतिविद् हरिकृष्ण सैंजु हाम्रो देश नेपालमा पनि रुखको संरक्षण सम्बन्धी कडा कानून कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राख्नुहुन्छ । 
    वनस्पतिविद् मधुसदन बिष्टले नेपालमा पहिलोपटक सम्पन्न च्याम्पियन टि पहिचान गर्ने कार्य नेपालमा वनस्पति क्षेत्रको संरक्षणको दिशामा यौटा कोशेढुंगाको रुपमा इतिहासमा अंकित हुने उल्लेख गर्नुभएको छ ।

    लेखक अर्जुन बिष्ट मिडिया प्वाइन्टका कार्यक्रम निर्देशक तथा वनस्पति विषयमा कलम चलाउनु हुन्छ /

    चैत ९ , २०७८

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन