• पर्यटन क्षेत्रको विकास विस्तारका लागि समितिद्वारा सुझाव पेश

    पर्यटन क्षेत्रको विकास विस्तारका लागि समितिद्वारा सुझाव पेश

    पर्यटन क्षेत्रलाई विद्युत्, पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायत १८ बुँदे सुझाव सरकारलाई दिइएको छ।

    कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका साथ सरकारले गठन गरेको विशेष समितिले केही नीतिगत, प्रक्रियागत संरचनागत विषयमा समेत सुधार गर्नुपर्ने सुझाव दिएको छ।

    नेपालको समृद्धिको प्रमुख आधारका रुपमा रहेको र कूल गार्हस्थ्य उत्पादनमा विशेष भूमिका प्रदान गर्ने क्षेत्र भएकाले पनि तत्काल सुधारको प्रक्रिया सुरु गर्नुपर्ने समितिको भनाइ छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई बुझाइएको एक अध्ययन प्रतिवेदनमा विदेशी मुद्राको चापसमेत परेका सन्दर्भमा विशेष प्राथमिकता दिएर यस क्षेत्रलाई अगाडि बढाइए एकाध वर्षमा नै उल्लेख्य प्रतिफल हासिल गर्न सकिने उल्लेख छ।

    सामान्यता एक पर्यटक बराबर नौ जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाउने र नेपालको आम प्रवृत्ति नै ‘अथिति देवो भवः’ अर्थात् पाहुना भनेका भगवान् जस्तै हुन् भन्ने भएकाले पनि समृद्ध नेपालको आधारशिला हुने तथ्यलाई मनन् गरिएको छ।

    राष्ट्रिय पर्यटन पुनरुत्थान समिति मातहतको प्राविधिक समितिले दिएको सुझावमा पर्यटन उद्योग पूर्णरुपमा पहिलेकै अवस्थामा नआउँदासम्म पुनःकर्जा दिने मौद्रिक नीति आवश्यक रहेकामा जोड दिएको छ।

    नेपालको कूल जनसङ्ख्याको ७० प्रतिशत बढीले कोरोनाविरुद्धको खोप लगाइसकेकाले विश्वस्वास्थ्य सङ्गठनको ‘रेड जोन’ बाट शीघ्र हटाउन विशेष पहल जरुरी रहेको प्राविधिक समितिको सुझाव छ।

    नेपाल सरकारले घोषणा गरेबमोजिम सरकारी कर्मचारीका लागि दुई दिनको सार्वजनिक बिदाको नीतिले आन्तरिक पर्यटनको प्रवर्द्धनमा खास भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा दुईदिने बिदा कार्यान्वयनमा आउनेछ।

    त्यसबाट आन्तरिक पर्यटन थप विस्तार भई अर्थतन्त्र चलायनमान हुने समितिको ठहर छ। कास्कीका पर्यटन व्यवसायीले त सरकारको उक्त घोषणाको मुक्तकण्ठले प्रशंसा गर्दै स्वागतसमेत गरिसकेका छन्।

    तर बैंकिङ सेवामा छुट वा वैकल्पिक व्यवस्था हुनसक्ने देखिन्छ। पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि दुर्गम क्षेत्र वा नयाँ गन्तव्यमा निश्चित समयका लागि नवपर्यटनसम्बन्धी सेवा र सुविधाका लागि कर छुटको नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेछ।

    ‘एक गाउँ हेर्नैपर्ने ठाँउका’ रुपमा विकास गरेर ७५३ वटै स्थानीय तहलाई पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्नुपर्ने देखिन्छ। त्यसबाट काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, बाँके, जनकपुर, अन्नपूर्ण सर्किट र सोलुखुम्बु तथा रसुवामा मात्रै केन्द्रित रहेको पर्यटन क्षेत्र देशभर नै विस्तार हुने प्राविधिक समितिका संयोजक राजाराम गिरीले जानकारी दिए।

    सरकारले तोकेको मापदण्ड पूरा गर्ने मानिसका लागि दीर्घकालीन बसाइको प्रावधान स्थापना गर्न आवश्यक रहेको सुझाव समितिको छ। स्वदेशी र विदेशी पर्यटकबीचको असमानता हटाउने गरी सबै पर्यटन गतिविधिमा लागू हुने नीति परिमार्जन गरी एकद्वार प्रवेश नीति लागू गर्नु आवश्यक छ। प्रतिबन्धित क्षेत्रमा पदयात्रा अनुमति, आन्तरिक उडान र राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रमा एउटै शुल्क लागू गर्नुपर्ने प्राविधिक समितिले सुझाव दिएको संयोजक गिरीले जानकारी दिए।

    नेपालमा हवाई सेवाको सुदृढीकरण र प्रवर्द्धनका लागि हवाई सेवा सम्झौताको समीक्षा गर्न आवश्यक छ। त्यसमा पारस्परिक अन्तर्राष्ट्रिय आधार र सहरदेखि सहरसम्मको उडान व्यवस्थित गर्नु आवश्यक छ। पोखरा, नेपालगन्ज, विराटनगरलाई केन्द्र बनाएर अन्तर सहरमा हुने उडानले आन्तरिक पर्यटनको विस्तार हुने देखिन्छ।

    पर्यटन क्षेत्रका सरोकारवालाबाट कम्तीमा पाँच जना व्यक्ति छनोट गरी नेपाल पर्यटन बोर्डलाई पुनःसंरचना गर्न आवश्यक छ। विद्यमान संरचनाअनुसार बोर्डले निजी क्षेत्रको खास प्रतिनिधित्व हुन नसकेका विषयलाई समयानुकूल सम्बोधन गर्नुपर्ने समितिले विशेष प्राथमिकताका साथ सुझाव दिएको छ।

    आन्तरिक र विदेशी पर्यटकबीचको असमानता हटाउन आन्तरिक पर्यटकलाई पनि हरियो प्लेटका सवारी साधन प्रयोग गर्न दिनुपर्ने, मनोरञ्जन, चलचित्र छायाङ्कन, ड्रोनको प्रयोग, बैठक प्रोत्साहन, स्म्मेलन र प्रदर्शनी जस्ता माइस पर्यटनका लागि पर्यटन नीतिलाई सरलीकृत र अनुमगन गर्नुपर्नेछ।

    विद्यमान नागरिक उड्डयन ऐनमा समयानुकूल र आवश्यकताअनुसार परिमार्जन गर्न आवश्यक देखिएको छ। नेपालको मौसम पूर्वानुमान सेवा महत्वपूर्ण बिन्दु जस्तै थोरङला, चोला र अन्य महत्वपूर्ण स्थानका पदयात्रा मार्ग पहुँचयोग्य बनाइनुपर्छ। त्यसो भएको खण्डमा हिमालमा मौसमसम्बन्धी दुर्घटना र ज्यान गुमाउनेको सङ्ख्या कम जान्छ।

    अध्यागमन विभागको शुल्क माथिल्लो मुस्ताङ र माथिल्लो डोल्पाका लागि उच्च छ। कूल १० दिनका लागि ५०० अमेरिकन डलर लाग्छ। यसलाई सबै पर्यटकका लागि प्रतिदिन २५ अमेरिकन डलरमा घटाउनुपर्छ।

    पुराना र अव्यावहारिक अनिवार्य इजाजत पेस गर्नुपर्ने प्रावधानमा हेरफेर गर्नुपर्ने सुझाव दिएको समितिले नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्सिज एसोसियसन अफ नेपालले संयुक्त रुपमा सञ्चालन गरेको टिम्सलाई नेपालभर व्यवस्थित र नियमित गर्न अनुगमन र विस्तार आवश्यक छ। टिम्सको अनलाइन वितरणलाई भरपर्दो बनाउन आवश्यक छ।

    समान स्तर र सुविधा भएका केही होटलका लागि दर भने भिन्न हुने गरेको अवस्थालाई ध्यान दिइ सरकारले राजस्व आर्जनमा वृद्धि गर्न र आतिथ्यताको गुणस्तर सुधार गर्ने होटलको सेवा गुणस्तर वा वर्गीकरणका आधारमा दर निर्धारण गर्नुपर्छ। ती होटलले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्नेछ।

    अध्यागमन विभागसँग समन्वय गर्दै बायोमेट्रिक परीक्षण प्रणाली, अनलाइन  प्रवेशाज्ञा र ई पेमेन्ट व्यवहारमा ल्याउनुपर्ने र कर्मचारीलाई ग्राहक हेरचाहमा उच्चस्तरको तालिम दिइनुपर्ने र उपयुक्त पोसाक कोड र व्यवहारको पालना गर्नुपर्नेमा जोड दिइएको छ।

    विद्युतीय कारोबारले सहज रुपमा पर्यटक आवागमनलाई थप सहज बन्ने र त्यसले नेपालको समृद्धिको आधारसमेत तयार पार्ने समितिको सुझाव रहेको संयोजक गिरीको भनाइ छ। – रासस

    बैशाख १८ ,२०७९

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस