• पर्यटन क्षेत्रको विकास विस्तारका लागि समितिद्वारा सुझाव पेश

    पर्यटन क्षेत्रको विकास विस्तारका लागि समितिद्वारा सुझाव पेश

    पर्यटन क्षेत्रलाई विद्युत्, पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायत १८ बुँदे सुझाव सरकारलाई दिइएको छ।

    कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका साथ सरकारले गठन गरेको विशेष समितिले केही नीतिगत, प्रक्रियागत संरचनागत विषयमा समेत सुधार गर्नुपर्ने सुझाव दिएको छ।

    नेपालको समृद्धिको प्रमुख आधारका रुपमा रहेको र कूल गार्हस्थ्य उत्पादनमा विशेष भूमिका प्रदान गर्ने क्षेत्र भएकाले पनि तत्काल सुधारको प्रक्रिया सुरु गर्नुपर्ने समितिको भनाइ छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई बुझाइएको एक अध्ययन प्रतिवेदनमा विदेशी मुद्राको चापसमेत परेका सन्दर्भमा विशेष प्राथमिकता दिएर यस क्षेत्रलाई अगाडि बढाइए एकाध वर्षमा नै उल्लेख्य प्रतिफल हासिल गर्न सकिने उल्लेख छ।

    सामान्यता एक पर्यटक बराबर नौ जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाउने र नेपालको आम प्रवृत्ति नै ‘अथिति देवो भवः’ अर्थात् पाहुना भनेका भगवान् जस्तै हुन् भन्ने भएकाले पनि समृद्ध नेपालको आधारशिला हुने तथ्यलाई मनन् गरिएको छ।

    राष्ट्रिय पर्यटन पुनरुत्थान समिति मातहतको प्राविधिक समितिले दिएको सुझावमा पर्यटन उद्योग पूर्णरुपमा पहिलेकै अवस्थामा नआउँदासम्म पुनःकर्जा दिने मौद्रिक नीति आवश्यक रहेकामा जोड दिएको छ।

    नेपालको कूल जनसङ्ख्याको ७० प्रतिशत बढीले कोरोनाविरुद्धको खोप लगाइसकेकाले विश्वस्वास्थ्य सङ्गठनको ‘रेड जोन’ बाट शीघ्र हटाउन विशेष पहल जरुरी रहेको प्राविधिक समितिको सुझाव छ।

    नेपाल सरकारले घोषणा गरेबमोजिम सरकारी कर्मचारीका लागि दुई दिनको सार्वजनिक बिदाको नीतिले आन्तरिक पर्यटनको प्रवर्द्धनमा खास भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा दुईदिने बिदा कार्यान्वयनमा आउनेछ।

    त्यसबाट आन्तरिक पर्यटन थप विस्तार भई अर्थतन्त्र चलायनमान हुने समितिको ठहर छ। कास्कीका पर्यटन व्यवसायीले त सरकारको उक्त घोषणाको मुक्तकण्ठले प्रशंसा गर्दै स्वागतसमेत गरिसकेका छन्।

    तर बैंकिङ सेवामा छुट वा वैकल्पिक व्यवस्था हुनसक्ने देखिन्छ। पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि दुर्गम क्षेत्र वा नयाँ गन्तव्यमा निश्चित समयका लागि नवपर्यटनसम्बन्धी सेवा र सुविधाका लागि कर छुटको नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेछ।

    ‘एक गाउँ हेर्नैपर्ने ठाँउका’ रुपमा विकास गरेर ७५३ वटै स्थानीय तहलाई पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्नुपर्ने देखिन्छ। त्यसबाट काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, बाँके, जनकपुर, अन्नपूर्ण सर्किट र सोलुखुम्बु तथा रसुवामा मात्रै केन्द्रित रहेको पर्यटन क्षेत्र देशभर नै विस्तार हुने प्राविधिक समितिका संयोजक राजाराम गिरीले जानकारी दिए।

    सरकारले तोकेको मापदण्ड पूरा गर्ने मानिसका लागि दीर्घकालीन बसाइको प्रावधान स्थापना गर्न आवश्यक रहेको सुझाव समितिको छ। स्वदेशी र विदेशी पर्यटकबीचको असमानता हटाउने गरी सबै पर्यटन गतिविधिमा लागू हुने नीति परिमार्जन गरी एकद्वार प्रवेश नीति लागू गर्नु आवश्यक छ। प्रतिबन्धित क्षेत्रमा पदयात्रा अनुमति, आन्तरिक उडान र राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रमा एउटै शुल्क लागू गर्नुपर्ने प्राविधिक समितिले सुझाव दिएको संयोजक गिरीले जानकारी दिए।

    नेपालमा हवाई सेवाको सुदृढीकरण र प्रवर्द्धनका लागि हवाई सेवा सम्झौताको समीक्षा गर्न आवश्यक छ। त्यसमा पारस्परिक अन्तर्राष्ट्रिय आधार र सहरदेखि सहरसम्मको उडान व्यवस्थित गर्नु आवश्यक छ। पोखरा, नेपालगन्ज, विराटनगरलाई केन्द्र बनाएर अन्तर सहरमा हुने उडानले आन्तरिक पर्यटनको विस्तार हुने देखिन्छ।

    पर्यटन क्षेत्रका सरोकारवालाबाट कम्तीमा पाँच जना व्यक्ति छनोट गरी नेपाल पर्यटन बोर्डलाई पुनःसंरचना गर्न आवश्यक छ। विद्यमान संरचनाअनुसार बोर्डले निजी क्षेत्रको खास प्रतिनिधित्व हुन नसकेका विषयलाई समयानुकूल सम्बोधन गर्नुपर्ने समितिले विशेष प्राथमिकताका साथ सुझाव दिएको छ।

    आन्तरिक र विदेशी पर्यटकबीचको असमानता हटाउन आन्तरिक पर्यटकलाई पनि हरियो प्लेटका सवारी साधन प्रयोग गर्न दिनुपर्ने, मनोरञ्जन, चलचित्र छायाङ्कन, ड्रोनको प्रयोग, बैठक प्रोत्साहन, स्म्मेलन र प्रदर्शनी जस्ता माइस पर्यटनका लागि पर्यटन नीतिलाई सरलीकृत र अनुमगन गर्नुपर्नेछ।

    विद्यमान नागरिक उड्डयन ऐनमा समयानुकूल र आवश्यकताअनुसार परिमार्जन गर्न आवश्यक देखिएको छ। नेपालको मौसम पूर्वानुमान सेवा महत्वपूर्ण बिन्दु जस्तै थोरङला, चोला र अन्य महत्वपूर्ण स्थानका पदयात्रा मार्ग पहुँचयोग्य बनाइनुपर्छ। त्यसो भएको खण्डमा हिमालमा मौसमसम्बन्धी दुर्घटना र ज्यान गुमाउनेको सङ्ख्या कम जान्छ।

    अध्यागमन विभागको शुल्क माथिल्लो मुस्ताङ र माथिल्लो डोल्पाका लागि उच्च छ। कूल १० दिनका लागि ५०० अमेरिकन डलर लाग्छ। यसलाई सबै पर्यटकका लागि प्रतिदिन २५ अमेरिकन डलरमा घटाउनुपर्छ।

    पुराना र अव्यावहारिक अनिवार्य इजाजत पेस गर्नुपर्ने प्रावधानमा हेरफेर गर्नुपर्ने सुझाव दिएको समितिले नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्सिज एसोसियसन अफ नेपालले संयुक्त रुपमा सञ्चालन गरेको टिम्सलाई नेपालभर व्यवस्थित र नियमित गर्न अनुगमन र विस्तार आवश्यक छ। टिम्सको अनलाइन वितरणलाई भरपर्दो बनाउन आवश्यक छ।

    समान स्तर र सुविधा भएका केही होटलका लागि दर भने भिन्न हुने गरेको अवस्थालाई ध्यान दिइ सरकारले राजस्व आर्जनमा वृद्धि गर्न र आतिथ्यताको गुणस्तर सुधार गर्ने होटलको सेवा गुणस्तर वा वर्गीकरणका आधारमा दर निर्धारण गर्नुपर्छ। ती होटलले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्नेछ।

    अध्यागमन विभागसँग समन्वय गर्दै बायोमेट्रिक परीक्षण प्रणाली, अनलाइन  प्रवेशाज्ञा र ई पेमेन्ट व्यवहारमा ल्याउनुपर्ने र कर्मचारीलाई ग्राहक हेरचाहमा उच्चस्तरको तालिम दिइनुपर्ने र उपयुक्त पोसाक कोड र व्यवहारको पालना गर्नुपर्नेमा जोड दिइएको छ।

    विद्युतीय कारोबारले सहज रुपमा पर्यटक आवागमनलाई थप सहज बन्ने र त्यसले नेपालको समृद्धिको आधारसमेत तयार पार्ने समितिको सुझाव रहेको संयोजक गिरीको भनाइ छ। – रासस

    बैशाख १८ ,२०७९

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन