• ‘पाटा आई डी’ कार्यक्रम:पाटा नेपालद्वारा विभिन्न व्यक्तित्व सम्मानित

    सेप्टेम्बर 27, 2022
    ‘पाटा आई डी’ कार्यक्रम:पाटा नेपालद्वारा विभिन्न व्यक्तित्व सम्मानित

    ट्राभल बिज न्यूज —

    काठमाडौं – प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले यसवर्ष देखि पाटा आइडी ( Inauguration Day) कार्यक्रम मनाउने क्रम शुरु गरेको छ /

    प्रत्येक वर्ष विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्ने संस्थाको औपचारिक स्थापना दिवस ( सेप्टेम्बर २६, १९७५) लाई एक उत्सवको रुपमा मनाउने क्रममा पाटा आइडी नामक नया कार्यक्रम शुरु गरिएको हो / पाटा नेपालले यो कार्यक्रम बार्षिक कार्यक्रमको रुपमा मनाउने निर्णय गरेको छ /

    विश्व पर्यटन दिवस २०२२ को मूल नारा “रिथिङ्किङ टुरिजम“ लाई आत्मसात् गर्दै संस्थाको ४७ औँ बार्षिकोत्सव मनाउन आयोजित पाटा आईडी कार्यक्रम एक संजाल बिस्तार, नेटवर्किंग, अन्तरक्रिया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कार र मनोरंजन कार्यक्रमको रुपमा सोमबार सम्पन्न भयो /

    पाटा आईडी र विश्व पर्यटन दिवस समारोहको औपचारिक कार्यक्रममा, पाटा नेपाल च्याप्टरले आगामी वर्ष २०२३ जुन ६ देखि ९ सम्म आयोजना गर्ने चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो सार्वजनिक गरेको थियो ।

    पाटा नेपाल च्याप्टरले सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट का तीन संस्करणहरू आयोजना गरेको थियो, जुन विश्वव्यापी महामारीपश्चात पछिल्लो समयमा आयोजना हुनसकेको छैन ।

    नेपालको पर्यटन व्यवसाय तथा गन्तब्य प्रवर्द्धनका लागि प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा विश्वव्यापी क्रेताहरू, हिमालयन बिक्रेताहरू, ट्राभल ब्लगरहरू, प्रभावकारहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू, ट्राभल उद्योग व्यवसायीहरू र विश्वका विभिन्न राष्ट्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहदै आएको छ / मार्ट ब्यापार आदान–प्रदान ,सम्बन्ध संञ्जाल विस्तार, ज्ञान तथा सिप आदान–प्रदान गर्ने एक मञ्चका साथै लोकप्रिय बी–टु–बी कार्यक्रम हो ।

    पाटा आइडी कार्यक्रम मनाउने क्रममा आयोजित समारोहमा पाटाले पर्यटनसंग सम्बन्धित व्यक्तित्व र संस्थाहरूलाई सम्मान गरेको छ ।

    पाटा नेपाल च्याप्टरका संस्थापक कोषाध्यक्ष तथा अग्रज पर्यटन व्यवसायी ज्योति लाल खन्नाले संस्थालाई प्रदान गर्नु भएको अमूल्य योगदान र नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि ४५ वर्षभन्दा बढी समय सम्म निर्वाह गर्नु भएको उल्लेखनीय भूमिकाको उच्च सम्मान र कदर स्वरुप स्व. खन्नालाई ‘पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड २०२२’ प्रदान गरिएको छ ।

    यस्तै पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीलाई नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन, दिगो विकास र पुनरुत्थानमा योगदानको कदर स्वरुप ’पाटा पर्सनालिटी अफ द इयर २०२१’ प्रदान गरिएको छ भने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतलाई ‘पाटा टुरिजम ट्रेलब्लेजर अवार्ड २०२२ ‘बाट सम्मानित गरिएको छ।

    पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा प्रशंसा गर्दै ग्लोबल कलेज इन्टरनेशनल लाई ‘वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२ ‘अवार्ड प्रदान गरेको छ ।

    कार्यक्रमका प्रमुख वक्ता दीपकराज जोशीले नेपालको सन्दर्भमा “पर्यटनमा पुनर्विचार” सम्बन्धी आफ्नो धारणा राख्दै नेपाली पर्यटनको सम्भावनालाई थप उजागर गर्न तथा पर्यटनबाट अधिकतम लाभ लिन परम्परागत स्रोतबजार कायम गर्दै एशियाक्षेत्र बाट माग बढाउनुपर्ने, डिजिटल क्षमता र सेवाहरू अभिबृद्धी गर्नुपर्ने, गुणस्तरीय लगानीलाई प्रोत्साहन गर्दै पर्यटकीय स्थलहरूको विविधीकरण गर्नुपर्ने, पर्यटन उत्पादन-गन्तब्यहरूको प्रभावकारी व्यवस्थापन र सेवा मानकीकरण गरिनुपर्ने, दक्ष जनशक्ति मानव संसाधन विकासमा जोड दिनुपर्ने, पर्यटकहरूको संख्या भन्दापनि गुणस्तर एवं विशेष स्रोतबजार लक्षित मार्केटिङ रणनीतिहरू अवलम्बन गर्नुपर्ने र स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन साझेदारी र सहयोगलाई बढावा दिनुपर्ने जस्ता सात प्रमुख बिषयमा काम गर्नुपर्ने आवश्यकता औल्याउनु भयो /

    कार्यक्रममा विशिष्ट अतिथि वक्ता रवीन्द्रराज पाण्डेले पाटासँगको आफ्नो संलग्नता र पाटा नेपाल च्याप्टरले सन् १९८० र ९० को दशकमा नेपाली पर्यटन क्षेत्रको प्रवर्धन र विकासका लागि गरेका अग्रगामी पहलका अनुभव उल्लेख गर्दै पाटा नेपाल च्याप्टरद्वारा हाल भैरेहेका प्रवर्द्धनात्मक प्रयास , पहल र संस्थाको औपचारिक स्थापना दिवश समारोहलाई हरेक वर्ष पाटा आईडी का रूपमा मनाउने अवधारणाको सराहना गर्नुभयो ।

    पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आफ्नो स्वागत मन्तव्यमा पर्यटन उद्योगको दिगो विकास र पुनरुत्थानका लागि स्वास्थ्य सुरक्षा, पर्यटकहरुको सुरक्षा, गन्तब्य तथा पर्यटन उपजहरुको सरसफाइ र सेवाको मापदण्ड स्तरोन्नतिमा सबै निजी तथा सरकारी सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    ११ असोज २०७९
    तस्विर : पाटा नेपाल

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन