• सौराहालाई हनिमुन सिटी बनाउन जोड , २४ घण्टा खुला गर्दा समस्या

    सौराहालाई हनिमुन सिटी बनाउन जोड , २४ घण्टा खुला  गर्दा समस्या

    ट्राभल बिज न्यूज अनलाइन ——

    काठमाडौँ – नेपाली  कांग्रेसका  सांसद धनराज गुरुङले प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा  पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।

    सांसद गुरुङको कथन छ –  ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनशिप बनाइदिउँ । १ हजार जोडी अट्ने शिप बनाइदिउँ । हनिमुन शिपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ,’ /

    उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके २ खर्ब राजश्व उठ्ने , घरेलु मदिराको ब्रान्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैरकानुनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताए ।

    यसैबीच  काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा रात्रिकालीन सेवा खुला गर्ने निर्णय गरिएसँगै देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि चौबिसै घण्टा खुला गर्ने विषयमा विविध धारणा  देखिएको छ / कतिपय  व्यवसायी तथा चरा संरक्षणविज्ञले रात्रिकालीन पर्यटन सेवाले वन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणमा प्रतिकूल  असर पर्ने बताउँछन् । काठमाडौँ र पोखराको तुलनामा सौराहाको पर्यटनको अवस्था फरक भएकाले जङ्गल सफारी र जैविक विविधता अवलोकन गर्न आउने पर्यटकले शान्त वातावरणमा बस्न रुचाउने देखिएको  छ । 

    गोरखापत्र समाचारदाता बसन्त पराजुली अनुसार , जङ्गल सफारीमा निर्भर रहेको सौराहाको पर्यटनलाई चौबिसै घण्टा खुला गर्दा पर्यटन क्षेत्रमै असर पर्ने ,जैविक विविधिताका दृष्टिले पनि यहाँ आउने पर्यटकले शान्त वातावरण खोज्ने हुँदा  अहिले नै ध्वनि प्रदूषणका कारण आक्रान्त सौराहा २४  घण्टा खुला गर्दा गन्तव्यप्रतिको महत्व घट्दै जाने कतिपय व्यवसायीहरुको धारणा छ /

    सौराहाका पुराना होटल व्यवसायी रामकुमार आर्याल सौराहामा कुनै हालतमा रात्रिकालीन खुला गर्न नहुने तर्क गर्नुहुन्छ । सौराहाका नयाँ पुस्ताका व्यवसायीहरू भने सौराहामा पनि रात्रिकालीन सेवा सुरु हुनुपर्ने धारणा राख्छन् । रेस्टुरेन्ट  व्यवसायी सङ्घ सौराहाका (रेवान) पूर्वअध्यक्ष राजन भट्ट काठमाडौँ र पोखरामा जसरी सौराहामा पनि रात्रिकालीन सेवा पाइन्छ भनेर सन्देश दिन ढिला भइसकेको बताउनुहुन्छ ।

    “हामी पूर्वपश्चिम राजमार्गकै समिपमा छौँ । कमसेकम राति जति बेला आउँदा पनि सौराहा खुलै हुन्छ भन्ने हो भने त सौराहा ताकेर आउने पर्यटक अझै बढ्ने छन्,” उहाँको तर्क छ । वन्यजन्तुका गतिविधिलाई असर नपर्ने गरी र रात्रिकालीन म्युजिक बजाउन नपाउने गरी कडा मापदण्ड बनाएर पनि रातिमा सौराहा जागा राख्नुपर्ने उहाँको तर्क छ  ।

    विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार हो सौराहा । निकुञ्जमा ६४ किसिमका स्तनधारी  जनावर, छ सय प्रजातिका चरा, ५९ किसिमका उभयचर तथा सरिसृप, १२० प्रजातिका माछा, ५० किसिमका घाँस, १६ किसिमका सुनगाभा, ७३ किसिमका उन्यु,  सयभन्दा बढी प्रकारका वनस्पति रहेको तथ्य भेटिन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी वन्यजन्तुको बढी सक्रियता रहने रात्रिकालीन अवस्थामा पर्यटक गतिविधि रोक्नुपर्ने बताउनुहुन्छ ।

    “वन्यजन्तुको मुमेन्ट गर्ने भनेकै रातिमा हो । यो बेला कुनै पनि गतिविधि गर्नु सुरक्षाका दृष्टिले पनि राम्रो मानिँदैन,” उहाँले भन्नुभयो । बाघ, भालु जस्ता हिंस्रक जनावरहरू रहेको निकुञ्जमा दिउँसै त सुरक्षा अपनाएर हिँडडुल गर्नुपर्ने उहाँको भनाइ छ । वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछाने पनि रात्रिकालीन पर्यटन सौराहाका लागि उपयोगी नहुने बताउनुहुन्छ ।  

    जेठ २०८१

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन