पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ब्यापक भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष
ट्राभल बिज न्यूज —–
राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा विमानस्थल निर्माण र संचालनमा भएको भ्रष्टाचार र आर्थिक अनियमितता छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिद्वारा गठित संसदीय उपसमितिले दुवै विमानस्थलमा निर्माण कार्य शुरु भए देखि नै अनियमितता भएको निष्कर्ष निकालेको छ ।
संसदीय उपसमितिका संयोजक एवं राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा ११ सांसदको टोलीले स्थलगत अध्ययन र सम्बन्धित सबैसंग विस्तृत जानकारी लिए पछि विमानस्थल निर्माणमा ब्यापक भ्रस्टाचार भएको निष्कर्ष निकालेको हो /
विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संसदीय समितिमा उजुरी परेपछि छानबिनका लागि संसदीय समिति गठन गरी सार्वजनिक लेखा समितिले अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना, लागत,ठेक्का, निर्माण हुँदै हाल सम्मको समग्र अवस्थालाई अध्ययन छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न उपसमितिलाई कार्यादेश दिएको थियो ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा र भैरहवा विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न असार १३ मा दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो । दुबै उपसमितिलाई अधिकतम महिना दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आर्थिक वर्ष २०७४/७५ बाट सुरु गरी २०७७/७८ मा सम्पन्न गर्ने सुरु लागत रु २२ अर्ब तोकिएकोमा दुई वर्ष ढिलो गरी आब २०७९/८० मा आयोजना सम्पन्न गर्ने तालिका तोकियो र त्यसमा २५ अर्ब ३४ करोड रुपैयाँ खर्च लागत देखाइयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाखमा शिलान्यास गरेको विमानस्थलको उद्घाटन ०७९ पुस १७ मा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।
आयोजना सम्पन्न भएपछि विमानस्थल क्षेत्र बाहिर उत्तरतर्फ ४ किलो मिटर पर मणिपाल, सेती नदी र काहुँखोलादेखि ५ सय हेक्टर जग्गा वर्षातको समयमा पानी बग्ने, भित्री सडक र पृथ्वी राजमार्गको नाला र सिंचाइको नहर बगेर आउने पानी विमानस्थल क्षेत्रमा पस्न गई विमानस्थल सञ्चालनमा समस्या भएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
चीन सरकारको २२ अर्ब ऋण लगानीमा निर्माण भएको र विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको देखाइएको ३ हजार ८ सय ९९ रोपनी जग्गामा फैलिएको पोखरा विमानस्थलबाट डेढ वर्षमा दुईतर्फी १४ वटा चार्टर उडान बाहेक कुनै पनि अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुन सकेको छैन ।
महालेखाले विमानस्थल विभिन्न देश र वायुसेवा कम्पनीसँग समन्वय गरेर सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिए पनि कुनै ठोस अग्रसरता चालिएको छैन / भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रस्टाचार बारे संसदीय समितिले छानविन जारी राखेको छ /
उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् ।
महालेखाको ६१औं वार्षिक प्रतिवेदन अनुसार पोखरा विमानस्थल रु २५ अर्ब ३४ करोड र गौतम बुद्ध विमानस्थल ३५ अर्ब ६६ करोडमा निर्माण सम्पन्न भएका हुन् । पोखरा विमानस्थल दुई वर्षमा सक्ने गरी २२ अर्ब र गौतम बुद्ध ३ वर्षमा सक्ने गरी ३० अर्ब ९१ करोड लागतमा बनाइने टुंगो लागेकोमा पोखरा विमानस्थल बनाउन पूर्वनिर्धारित भन्दा थप २ वर्ष र गौतम बुद्ध थप ४ वर्ष अवधि थपेर लागत बढाइएको थियो ।पोखरा विमानस्थल चीन सरकारको २२ अर्ब ऋण र गौतम बुद्ध विमानस्थल एशियाली विकास बैंक सहितको रु ७ अर्ब ऋण तथा बाँकी नेपाल सरकारकै आर्थिक दायित्वमा बनाइएको हो ।
असार २५, २०८१