• ‘नेवानिले प्रभावकारी योजना ल्याउनुका साथै नया गन्तव्यको खोजी गर्नुपर्छ’

    ‘नेवानिले प्रभावकारी योजना ल्याउनुका साथै नया गन्तव्यको खोजी गर्नुपर्छ’

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रको पहिचान र गौरवसँग जोडिएको ध्वजाबाहकको कुशल व्यवस्थापनका साथ अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको कार्यलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।    

    निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सार्थक तुल्याउन नेपाल एयरलाइन्सको महत्वपूर्ण भूमिका रहने भन्दै सम्पूर्ण जहाजलाई पूर्ण क्षमताका साथ उडाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुयभो ।    

    “निगमलाई काम गर्न पूर्ण अधिकार छ, जहाज बढाउनुस्, गन्तव्य बढाउनुस् तर बिनायोजना जहाज थुपारेर ‘ग्राउण्डेड’ भइरहने अवस्था आउनु राम्रो होइन । म व्यवस्थापनलाई आग्रह गर्छु, निगम सुधार्ने उचित उपाय ल्याउनुस् अनि कस्तो कदम चाल्नुपर्छ त्यो सरकारले निर्णय गर्छ, ऋण तिर्नेमात्र होइन कमाउने उपायसहितको योजना र गन्तव्यको खोजी गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।    

    “व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन सञ्चालनको सुव्यवस्थाविनै पैसा दिन मिल्छ भन्नेमा मलाई विश्वास छैन ,”  उहाँले भन्नुभयो,    

    प्रधानमन्त्रीले अन्य निजी वायु सेवा प्रदायक कम्पनी नाफामा रहने तर निगम चाहिँ सधैँ घाटामै रहिरहनुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्दै आर्थिक अवस्था सुधार्न सरकारले आवश्यक परे हस्तक्षेप गरेर भएपनि निगमको साख जोगाउने विश्वास दिलाउनुभयो ।    

    आर्थिकरूपमा कमजोर बनेको निगमले सञ्चित पूँजी वृद्धिका लागि सरकारसँग रु २० अर्ब माग गरेको छ । निगमले अहिले रु ३७ अर्ब घाटामा रहेको जनाएको छ । भएका जहाज पनि सञ्चालन नभइरहेको अवस्थामा निगमका कर्मचारी सङ्गठनका प्रतिनिधिले भने आगामी पाँच वर्षमा २५ वटा जहाज खरीदका लागि सरकारसमक्ष आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले निगमको प्रभावकारी व्यवस्थापन नभएसम्म जहाज मात्र किनेर थन्क्याउने पक्षमा सरकार बिलकुल नभएको प्रष्ट पार्नुभयो ।    

    “निगममा रु ३७ अर्ब घाटा के कारणले, कसरी हुनपुग्यो, गम्भीर समीक्षा हुन जरुरी छ, कतै निगमकै कमजोरीका कारण यो अवस्था आएको हो कि ? अहिलेको सरकार चर्चापरिचर्चाबाट प्रेरित हुँदैन, जहाज किनेर त्यसै लडाउन ? मैदानभरि जहाज छन् तर आकासमा उड्दैनन् यस्तो अवस्था सधैँ रहिरहनु उचित हुन्न”, उहाँले भन्नुभयो ।    

    गम्भीर चुनौतीको सङ्घारमा रहेको निगमलाई सफल बनाउन सरकारको पनि दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ‘निगमलाई सहयोग गर्ने मात्र नभई काँधै थाप्छ, यो आफ्नै वायु सेवा निगम हो, तर, उपयुक्त ढङ्गले सञ्चालन हुनुपर्छ’ भन्नुभयो ।    

    उहाँले वाइडबडी जहाज लामा गन्तव्यमा उड्न नसक्नु तथा गन्तव्य विस्तारको प्रभावकारी योजना अभावले निगम आर्थिक सङ्कटमा पर्न गएको उल्लेख गर्दै लामा गन्तव्यमा उडानका लागि पहल थाल्न आग्रह गर्नुभयो ।    

    निगमलाई सुधार्नु निकै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले थप्नुभयो– “निगमको ६१ वर्षको उपलव्धि ३७ अर्ब ऋण छ, यो क्षेत्र ‘दान, पुण्य, समाज सेवाको’ क्षेत्र मात्र होइन, यो त व्यापार व्यवसाय पनि हो, निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो वायु सेवा निगम होइन, यसले आफूलाई टिकाउन र भविष्यलाई सुदृढ तुल्याउन व्यापार बढाउन जरुरी छ ।”   

    पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भ्रमण वर्षको सन्दर्भमा निमगको सञ्चालन क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गन्तव्य विस्तार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ काम अघि बढाइने जानकारी दिनुभयो ।    

    निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनेकन चुनौतीका बीच पनि निगमलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनीको रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।    

    निगमका जहाज पूर्णरूपमा सञ्चालन तथा लामा गन्तव्यमा उडान विस्तार गर्न नसकिएकै कारण अपेक्षित नाफा आर्जन गर्न नसकेको भन्दै उहाँले वाइडबडी जहाजबाट भदौ पहिलो साता जापानको ओसाका तथा क्रमशः चीनको ग्वोञ्जाओ र साउदी अरेबियाको रियाद गन्तव्यमा उडान विस्तारका लागि प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो । निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्दले निगमको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा नयाँ गन्तव्य विस्तारका लागि धमाधम काम भइरहेको उल्लेख गर्नुभयो ।    

    निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगी र निगम कर्मचारी सङ्घका अध्यक्ष तारिणिराज दाहालले निगम सुधारका लागि जहाजको सङ्ख्या वृद्धि र गन्तव्य विस्तारमा जोड दिनुभयो ।    

    निगमको सात अर्ब आम्दानी, यात्रु ६३ प्रतिशतले बढे    

    निगमको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय उडानबाट निगमले चालू आवको चैतसम्ममा रु सात अर्ब ५४ करोड १० लाख ३८ हजार सञ्चालन नाफा कमाएको छ । निगमले गत आवको सोही अवधिमा रु तीन अर्ब ८४ करोड ७१ लाख १५ हजार आम्दानी गरेको थियो । यात्रु सङ्ख्याको आँकडा हेर्दा गत वर्ष २०७४ साउनदेखि २०७५ जेठसम्म तीन लाख ४८ हजार ५२८ यात्रुले निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेका छन् । यस वर्ष सोही अवधिमा पाँच लाख ६९ हजार ३४ यात्रुले यात्रा गरका छन् । यो आँकडा अघिल्लो वर्षको तुलनामा ६३.५ प्रतिशतले बढी हो ।    

    सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवामा निगम पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७३ यात्रुलाई सेवा पु¥याई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत पु¥याउन सफल भएको छ ।    

    निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रियतर्फ छ देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ दुई एम–६०, चार वाई–१२ र तीन डिएचसी–६ गरी जम्मा नौ जहाजमार्फत २२ विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको छ । निगमले नेपाल आउने ३० विदेशी वायु सेवा प्रदायक कम्पनीलाई भूमिस्थ प्रबन्ध सेवा प्रदान गर्दै आएको छ ।  रासस 

    असार १६ , २०७६   

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन