• मुस्ताङको मुक्तिनाथ – हिन्दू र बौद्धको साझा तीर्थस्थल

    मुस्ताङको मुक्तिनाथ – हिन्दू र बौद्धको साझा तीर्थस्थल

    मुस्ताङ, मुक्तिनाथ । हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण वर्षेनी ठूलो संख्यामा दर्शनार्थी यस मन्दिरमा आउने गरेका छन् ।

    मुक्तिनाथका स्थानीय समाजसेवी एवम् जनप्रिय युवा क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार विशेषगरी चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिकमा यहाँ अत्यधिक दर्शनार्थी आउने गरेका छन् । दर्शन गर्न आउने पर्यटकमध्ये नेपाली र भारतीय नागरिक रहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट सोही मार्गबाट हुँदै मनाङ जाने पर्यटक यही मुक्तिनाथ भएर जाने भएका कारण पनि यो स्थल पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

    समुद्र सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा अवस्थित यस मन्दिरलाई हिन्दूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा ,जसको अर्थ हुन्छ ‘सय पानी’का रुपमा लिने गर्दछन् । यो तीर्थस्थल शालिग्राम भगवानका लागि प्रसिद्ध रहेको छ ।

    शालिग्राम एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा श्रद्धापूर्वक पूजाआजा गरिन्छ । यो यही मुक्ति क्षेत्रस्थित कालीगण्डकी नदीमा पाइन्छ । मुक्तिनाथ अवस्थित क्षेत्रलाई मुक्तिक्षेत्रको नामले चिनिने मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्ण सुवेदीले जानकारी दिनुभयो ।

    “यो यस्तो क्षेत्र हो यहाँ दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास छ,” उहाँले भन्नुभयो, “मुक्तिनाथको दर्शन गर्न अत्यन्त कठिनताका बाबजुद पनि हजारौँ दर्शनार्थी यहाँ आउने गरेका छन् ।” मुक्तिनाथ क्षेत्रमा पाइने शालिग्राम शिलालाई भगवानका रुपमा पूजा गरिन्छ । शालिग्रामको उत्पत्ति प्रागऐतिहासिक कालमा पाइने किराको जीवाष्मबाट भएको मानिन्छ, जुन मुख्यतः टेथिस सागरमा पाइन्थ्यो ।

    पौराणिक मान्यताअनुसार शालिग्राम शिलामा भगवान् विष्णुको निवास हुन्छ । यस सम्बन्धमा विभिन्न किंवदन्ती रहेका छन् । एक किंवदन्तीअनुसार भगवान् शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न नसकेका अवस्थामा भगवान् विष्णुले उनको मद्दत गरेका थिए ।

    जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतित्व बचाउँदासम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । उक्त अवस्थामा भगवान् विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतित्वलाई नष्ट गरे भने वृन्दालाई उक्त कुरा जानकारी हुँदासम्म शिवले जालन्धरको बध गरिसकेका थिए । आफ्नो सतित्व नष्ट गरेको आक्रोशमा वृन्दाले भगवान् विष्णुलाई शिला, रूख, झारपात र घाँस भएर जीवन व्यतित गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । त्यही श्रापका कारण विष्णुले शिला शालिग्राम, पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको किंवदन्ती छ ।

    यसै स्थानमा भगवान् विष्णु शालिग्राम शिलामा निवास गर्ने विश्वासका आधारमा मुक्ति क्षेत्रलाई अत्यन्त पवित्र क्षेत्रका रुपमा लिने गरिएको छ । यस क्षेत्रलाई बौद्ध धर्मावलम्बीले पनि अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेको अर्का स्थानीयवासी दीनेशकुमार थकालीले बताउनुभयो।

    “मुक्तिनाथको दर्शनका लागि वर्षेनी ठूलो संख्यामा बौद्ध धर्मावलम्बी यहाँ आउने गरेका छन्,” उहाँले भन्नुभयो, “मुक्तिनाथकै बाटो भएर महान् बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारप्रसार गर्न तिब्बत गएका कारण यस क्षेत्रलाई बौद्ध मार्गीले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेका छन् ।” मुक्तिनाथको पूजा गराउन मन्दिरको भित्र बौद्ध धर्म गुरु आनी रहन्छन् भने बाहिर ब्राह्मण पूजारीले पूजा गराउने गर्दछन् ।

    मुक्तिनाथ मन्दिरको महिमा र गरिमा देश विदेशमा बढ्दै गएको बताउँदै उहाँले शनिबार हुन लागेको भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ दर्शन भ्रमण यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो । यसअघि पनि भारतीय दर्शनार्थीको चाप बढ्ने गरेको मुक्तिनाथमा प्रधानमन्त्री मोदीको भ्रमणसँगै आगामी दिनमा अझै दर्शनार्थीको संख्या बढ्ने र यसको अन्तर्राष्ट्रिय रुपमा सबैको चासो र चर्चा रहने उहाँको भनाइ छ ।

    स्रोत :  रासस , वैशाख २८ , २०७५

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन