• गोसाइँकुण्ड पुग्नुको बेग्लै आनन्द !

    गोसाइँकुण्ड पुग्नुको बेग्लै आनन्द !

    निर्मलकुमार आचार्य ——-

    गोसाइँकुण्ड पुग्नुको बेग्लै आनन्द ! दर्शन मात्रैले पनि सारा थकान, ग्लानी, चिन्ता यसरी छुमन्तर हुँदा रहेछन्, जोकोही भावातिरेक हुनु स्वाभाविक हो।

    धार्मिकजनका लागि अपरिहार्य तीर्थस्थल र पर्यटकका छाड्नै नहुने गन्तव्यका रूपमा परिचित गोसाइँकुण्डको विशेषता भन्नु, भावना अनुसार हरेकले सन्तुष्टि पाउनु हो।

    कहिले बादलको घुम्टोमुनि, कहिले कुहिरोको सिरकमा त कहिले सिमसिमे पानीको झल्लरीमा सुशोभित गोसाइँकुण्डको अधिक रमाइलोचाहिँ घमाइलोमै छ।

    लामटाङ हिमालको काखमा चट्टाने पहराबीच छ्याङ हुँदा गोसाइँकुण्डको कञ्चन जल र त्यसमा बेलाबखत लहरिने मन्द तरंगले चौपट्टै भरंगिएको मनलाई पनि उमंगित तुल्याउँछ, अनि तादात्म्यले त्यहाँ शिव दर्शन गराउँछ।

    आखिर भावना न हो। जल, थल, नभ जहाँसुकै कल्पे अनुसार स्वरूप देखिन पुग्छ। ‘छायादर्शन’को त परम्परै छ। चन्द्रमामा इष्टदेव देखिएका कथा पनि छन् भने कुण्डको बीच भागमा रहेको लामो शिलामा श्रद्धालुजनले साक्षात् शिव दर्शनको अनुभूति गर्नु के आश्चर्य ! फर्कनेहरू यसको लामै बयान गरी आफू धन्य भएको बखानिरहेका भेटिन्छन् भने घामको झलकै नपाई कुण्ड नुहाएर फर्कनेहरूले खल्लो मानेको पनि देखिन्छ। बेफ्वाँकमा यस्तो देखें र उस्तो देखें भन्नेको पनि कमी छैन। ‘शिवजीसँगै पार्वती र गणेशको समेत दर्शन भयो’ छाँटिरहेका बखत ‘अनि कुमारचाहिँ देखिएनन् ?’ सोद्धा अकमकिन पुग्दा रहेछन्।

    दामोदर कुण्ड, दूध कुण्डलगायत नेपालमा अनेक कुण्ड छन्। ‘गोसाइँ’ नामधारी कुण्ड रसुवा जिल्लामा मात्रै छ। शब्दकोश अनुसार गोसाइँको अर्थ गोस्वामी, गाईको मालिक, जितेन्द्रीय हुन्छ। गोस्वामीको अपभ्रंश रूप गोसाइँ तथा गुसाइँ हो।

    गाई पाल्ने ठाउँको कुण्ड भएको हुनाले गोसाइँकुण्ड भन्ने गरिएको एकथरी कथन छ भने शिव जितेन्द्रीय भएकाले उनकै नाममा गोसाइँकुण्ड भन्न थालिएको भनाइ पनि छ। गोसाइँ जोगीहरू प्रशस्त आउने भएकाले कुण्डको नाम नै गोसाइँकुण्ड बनेको पनि हुनसक्छ।

    सनातन धर्मावलम्बीमा शैव तथा वैष्णव दुवै सम्प्रदायले गोसाइँ उपाधि अँगालेका छन्। शैवतर्फ एउटा गोसाइँ सम्प्रदाय नै छ। नाथ सम्प्रदायमा पनि गोसाइँ भनिन्छ। वैष्णवतिर मध्वाचार्य, वल्लभाचार्य तथा निम्बार्काचार्यका सम्प्रदायमा आचार्य ‘गोसाइँ’ कहलाउँछन्। अद्वैतवादी शंकराचार्यका उत्तराधिकारीको नाम शैव गोस्वामी थियो। चैतन्य सम्प्रदायका गुरुलाई पनि गोसाइँ भन्छन्। श्रीरामचरितमानसका रचनाकारको नाम गोस्वामी तुलसीदास हो। ‘हनुमान चालीसा’मा हनुमानलाई गोसाइँ भनिएको छ– ‘जै जै जै हनुमान गोसाइँ’। गोस्वामी÷गोसाइँ पद वा उपाधि अथवा ईश्वरसूचक शब्द मात्र होइन, यही थर भएका गृहस्थीसमेत छन्।

    गोसाइँको अर्थ श्रेष्ठ, ईश्वर पनि हुने भएकाले ईश्वरको कुण्ड गोसाइँकुण्ड हुन नसक्ने होइन। पोखरी, तलाउ, कमण्डलु, अग्निकुण्ड, खप्पर, भिक्षापात्र, कचौरा कुण्डका अर्थ भए तापनि ‘कुण्ड’ शिवको एक नाम पनि हो। यस आधारमा गोसाइँकुण्ड भन्नाले ‘ईश्वर शिव’ हुनपुग्छ।

     कस्ता–कस्ता रोग यही जुकालाई रगत चुसाएर निको भएका छन्, देश–विदेशमा यसैका लागि मनग्ये खर्च भइरहेका छन्। यहाँ जुकाले निःशुल्क सेवा दिँदा केको पिरलो मान्नु !, जुकाबाट हत्तु भएकालाई यसरी ठट्टाको मसला पनि जुरेकै छ। धुन्चे छाडेदेखि पछ्याउने जुकाले चन्दनबारीसम्मै मुन्टो बटार्दैन, फर्कंदा पनि उही पिरति कायम रहन्छ।

    गोसाइँकुण्डसित पौराणिक साइनो छ। स्कन्दपुराण, हिमवत्खण्डमा यस कुण्डको वर्णन गरिएको छ। पुराण अनुसार यो कुण्डको उत्पत्ति महादेवबाट भएको हो। देव र दानव मिली मन्दराचल पर्वतलाई मदानी र बासुकि नागलाई नेती बनाएर समुद्र मन्थन गरिँदा त्यहाँबाट १४ रत्न– श्री, विष, रम्भा, वारुणी, अमृत, शङ्ख, ऐरावत, धन्वन्तरि, धेनु, चन्द्रमा, कल्पवृक्ष, मणि, बाज र धनुष निस्किएका थिए। देव र दानवले राम्रा रत्न बाँडेर लिए, कालकूट विष लिन कोही तम्सिएन। दुनियाभरि त्रास फैलियो। ब्रह्माको अनुरोधमा शिवले सो विष कण्ठमा धारण गरे। विषले कण्ठ नीलो भएकाले शिवको एक नाम नीलकण्ठ हुनपुग्यो। हलाहल विषले छटपटाउँदै कुदेका शिवले एउटा पहाडमा त्रिशूलले घोपी पानी निकालेर पीडा  शान्त पारे। त्रिशूलले प्वाल पारेको ठाउँबाट निस्किएको जल जम्मा भई गोसाइँकुण्ड (नीलकण्ठ ह्रद) बन्यो र त्यहाँबाट बग्ने जलप्रवाह त्रिशूली कहलायो।

    गोसाइँकुण्डनजिकै भैरवकुण्ड र सरस्वतीकुण्ड छ। सूर्यकुण्डचाहिँ गोसाइँकुण्डबाट झन्डै डेढ घन्टा पर छ। गोसाइँकुण्डको सेरोफेरोमा नजिक र टाढा गरी साना, ठूला १०८ जति कुण्ड छन्।

    गोसाइँकुण्ड धार्मिक सद्भावको केन्द्र पनि हो। हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गोसाइँकुण्ड धामी–झाँक्रीका लागि सिद्धि प्राप्तिको थलो बनेको छ। गोसाइँकुण्डलाई बोधिसत्व अवलोकितेश्वरका रूपमा पनि पुजिन्छ।

    तामाङ भाषामा गोसाइँकुण्डलाई ‘वे छो’ भन्छन्। वेको अर्थ कुण्ड हो भने छो माने आराम गर्ने हो। यसको आशय भगवान् विश्राम गर्ने कुण्ड हो– रसुवा मावि, धुन्चेका प्रधानाध्यापक टेम्पा रिसाङ घलेबाट प्राप्त थप जानकारी अनुसार तामाङ समुदाय पनि जनैपूर्णिमामा गोसाइँकुण्ड जान्छन्। त्यहाँ स्नान गरी ध्वजापताका झुन्ड्याइन्छ। चतुर्दशीमा रातभरि मन्दिरमा जाग्राम बसी पाठ गर्ने र माने (ॐ मणि पद्मे हुम्) गाउने चलन छ। लामा–झाँक्री गुरुबाट आशिक थापिन्छ।

    निःसन्तानले सन्तान, गरिबले धन, दुःखीले सुखको कामना गर्छन् भने त्यो पूरा भएपछि फेरि गोसाइँकुण्ड जाने प्रचलन छ। २० पटक गोसाइँकुण्ड पुगिसकेका घले भन्छन्–गोसाइँकुण्डमा जे माग्यो, पूरा हुन्छ।

    शिवजीको रिसाहा रूप भैरव हो। भैरव कुण्डमा गोले धामी जाँदैनन्। यसका पछाडि किम्वदन्ती छ– उहिले एउटा गोले धामी आफ्नी पत्नीसहित भैरवकुण्डमा पुगेछ। त्यहाँ खेलिरहेका नाग देखेर लोभिई कुण्डभित्र पसेछ, दुईवटा नाग ल्याएछ पनि, पत्नी डरले थुरथुर हुँदै भागिछे। केही बेरमै ती नागले झाँक्रीलाई कुण्डमै लीन गराइदिएछन्। त्यसैले गोले धामी त्यहाँ जाँदैनन्।

    लौरी बिनाको पारिपट्टि देखिने सरस्वती कुण्ड र नागकुण्ड समेत भनिने भैरव कुण्डमा खासै कोही जाँदैनन्। यार्साका झाँक्रीचाहिँ भैरवकुण्ड पुजेर मात्र गोसाइँकुण्ड पुग्दा रहेछन्।

    गोसाइँकुण्डसम्बद्ध केही ऐतिहासिक पाटा पनि छन्। ‘स्थाननाम कोश’ अनुसार ‘मल्लकालमा नाथ सम्प्रदायका गोसाइँ जोगी महन्तहरू यहाँ प्रशस्त आवतजावत गर्थे। अहिलेसम्म पनि भारतका जोगी–संन्यासीहरूको डफ्फा जनै पूर्णिमाताका गोसाइँकुण्ड यात्रामा आएका देखिँदै छन्। कान्तिपुरका मल्ल राजाहरूले राजगद्दीमा बसेको पहिलो अथवा दोस्रो वर्षमा गोसाइँकुण्ड स्नान गर्ने चलनबारे इतिहासमा उल्लेख गरिएको छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट वि.संं. १८०१ मा नुवाकोट विजय गरिएपछि गोसाइँकुण्डमा स्नान गरेका थिए।’

    सिलु तीर्थ मोल ल्हुय अति पुण्य लाइ

    सिलु तीर्थ वनेयात पासा माला वया

    पासा माले मते प्रभु छिव जिव वने

    निम्हतेपु सिलु वने अति पुण्य लाइ।।

    माथिका पंक्ति नेपाल भाषा (नेवारभाषा) को एक लोकगीतको अंश हो। यो लोकगीतबाट नेवार समुदाय निकै अघिदेखि गोसाइँकुण्डसँग सम्बद्ध रहेको थाहा पाइन्छ। सिलु अर्थात् गोसाइँकुण्ड, भनिन्छ– शिवलुयातीर्थ–शिवलुति हुँदै कालान्तरमा सिलु शब्द बनेको हो। श्रीमान्–श्रीमतीबीच संवादात्मक शैलीको लोकगीत हो यो। यसमा पुण्यप्राप्तिका लागि गोसाइँकुण्ड नुहाउन जान साथीको खोजी गरेको श्रीमान्को भनाइसँगै साथी नखोज तिमी र मसँगै जाऔं भनी श्रीमतीले आग्रह गरेको र पुण्यलाभका लागि दम्पत्ति गोसाइँकुण्ड गएको बयान छ।

    लोकगीतको पूर्णपाठ अनुसार श्रीमानले सँगै जाने भए ज्योतिषीसित परामर्श गर्नुपर्ने स्थिति दर्शाउँदै एक ज्योतिषीले श्रीमान्–श्रीमती सँगै गए छुट्टिनुपर्ने भनेको जनाउँछ। श्रीमतीको आग्रह टार्न नसकी दुवै गोसाइँकुण्ड पुग्छन्। त्यहाँका राजाको कुदृष्टि श्रीमतीमाथि पर्छ र जबर्जस्ती रानी बनाइन्छ। विरक्त श्रीमान् घर फर्किई जोगी बन्छ। केही वर्षपछि रानीले भएभरका जोगी त्यहाँ निम्त्याउन माग गर्छे । आएका जोगीमाझ श्रीमानलाई उसले सजिलै चिन्छे र साध्वीका रूपमा भेट्छे अनि दुवैको पुनः मिलन हुनपुग्छ।

    वि.सं. २०४५ सालताका ‘सिलु’ चलचित्र पनि बनेको छ। नेपाल भाषाको यो पहिलो चलचित्र हो। काठमाडौं उपत्यकाका बासिन्दा र गोसाइँकुण्डबीच प्राचीन सम्बन्ध रहेको अर्को उदाहरण कुम्भेश्वरको मेला हो। ललितपुर, बगलामुखी मन्दिरनजिकै कुम्भेश्वर मन्दिर हातामा अवस्थित कुण्डमा यस दिन गोसाइँकुण्डको जल आउने जनविश्वास छ। कुनै श्रद्धालु गोसाइँकुण्ड जाँदा पवित्र जल ल्याउन भनी लगिएको कुम्भ (घैंटो/अम्खोरा) हराउँदा दिक्क भएको तर त्यही अम्खोरा सोही दिन यहाँ निस्किएको जनश्रुति छ। यहाँ बर्सेनि जनैपूर्णिमामा भव्य मेला लाग्छ। गोसाइँकुण्ड जान नसक्नेहरू यहाँ स्नान गरेर हर्ष मान्छन्। 

    उकालो चढ्न नसक्नेहरू धुन्चे नजिकैको मिनी गोसाइँकुण्डमा नुहाउँछन्। गोसाइँकुण्ड जाने र फर्कनेहरू समेत यहाँ सके नुहाउने, नभए जीउमा जल छर्कंदा रहेछन्।

    काठमाडौंबाट गल्छी, त्रिशुली, वेत्रावती, राम्चे हुँदै धुन्चे (१९५० मिटर) पुगेपछि पैदल हिँड्नुपर्छ। घट्टेखोला (१९६० मि.), खेन्दी (२३०० मि.), देउराली (२६२५ मि.), ढिम्सा (३००७ मि.), सिंहगोम्पा, चन्दनबारी (३३०० मि.), चोलाङपाटी (३५८४ मि.), लौरीविना (३९०० मि.), बुद्ध मन्दिर (४२०० मि.), गणेश मन्दिर (लौरीविनायक) हुँदै गोसाइँकुण्ड (४३८० मि.) पुगिन्छ। कोही काठमाडौं, सुन्दरीजल, चिसापानी, कुटुमसाङ, छहरेपाटी, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जान्छन्। हेलम्बुबाट आवतजावत गर्ने पनि छन् । उही बाटो फर्कन नचाहनेलाई वैकल्पिक मार्ग थप उत्साहको विषय बनेको छ।

    धेरै हिँड्न नचाहनेका लागि धुन्चेकै बाटो श्रेयष्कर छ। साहसी पर्यटन रुचाउनेको चाह सुन्दरीजल वा हेलम्बुको बाटो रोजाइमा पर्दोरहेछ। धुन्चेबाट बिहान सबेरै हिँडी सकेसम्म चोलाङपाटी नभए चन्दनबारी रात बिताई भोलिपल्ट गोसाइँकुण्डको यात्रा तय गर्नु उचित हुने रहेछ। नसक्ने अवस्थामा ठाउँ–ठाउँमा बास बस्दै जानु उत्तम हो। हुन त घोडाको सुविधा पनि छ।

    मेलामा अति भीड हुने, बस्न, खानकै समस्या हुने भएकाले सुप्रबन्धका लागि ठूलै कसरत जरुरी छ। अन्य बेलामा पनि होटल जहाँसुकै नहुनु र भए पनि ताल्चा ठोकिएको स्थिति रहनु सुखद होइन। यही असार अन्तिम साता गरिएको गोसाइँकुण्डको भ्रमणमा देउराली, चोलाङपाटीका होटल बन्दै देखिए। गोसाइँकुण्डमा पनि भएका चार होटल/लजमध्ये एक मात्र खुला थियो। मेला र त्यसपछि केही महिना सबै होटल खुल्ने रहेछन्, अरु बेला पाँचदिनका हिसाबले आ–आफ्नो होटल खोल्ने पालो लगाइएको रहेछ।

    ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ यो उखानले नै कुण्डैपिच्छे पानीको महत्व फरक हुने जनाएको छ। यस अर्थमा कुण्डको सौन्दर्यपान गर्ने र अध्ययन, अनुसन्धान गर्नेलाई यो स्थान स्वर्गतुल्य हो। एकसय प्रजातिभन्दा बढी फूल फुल्ने वनस्पति, पदमचाल, जटामसी जस्ता उम्दा जडीबुटी, चखेवा–चखेवी, खोयाहाँस, कालीजुरे, मुनाल जस्ता पक्षी, चितुवा, मृग, भालु आदि वन्यजन्तु र विश्वमै दुर्लभ मानिने रेडपाण्डा (हाबे्र) ले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित, २०६४ असोज ६ गते रामसारमा सूचीकृत गोसाइँकुण्ड क्षेत्रलाई बढी मनमोहक बनाएका छन्।

    गोसाइँकुण्डको सन्दर्भमा लेक र जुका समेटिएन भने कुरो नितान्त अपुरो हुन पुग्छ। ठूलो कुम्लो बोक्ने, धापिएर जाने र बिरक्तिएर फर्कनेका कथा–व्यथा सुन्नेलाई आग्रहले पनि असर पार्नसक्छ। तर, हलुका झोला बोकी तातो, रसिलो खाँदै सुस्तरी पाइला चाल्नेका उत्साह अदम्य साबित हुनेरहेछन्।

    हो,  जुकाको सामुन्नेचाहिँ कसैको केही नलाग्दो रहेछ। जतिसुकै होसियार भएर हिँड्दा पनि काँध, कन्दनी र कुर्कुच्चा वरपर कुन बेला जुकाले हमला गर्छन्, पत्तो हुँदैन। सानो धागो जत्रो जुकाले दाम्लो जस्तो हुनेगरी रगत चुस्दा पनि भेउ पाउन कठिन ! अघाइवरी जुका पस्रन जमिनतिर खसेपछि बल्ल चुसेको ठाउँमा बगेको रगतदेखि होश खुल्नुको अर्थ पनि के रह्यो र ! जुकाको सत्रु भनिए तापनि जीउभरि नुन वा सुर्ती दलेर जान पनि नसकिने रहेछ। बेला–बेलामा सिमसिम पानी पर्दा रुखबाट समेत जुका बर्सिनाले जस्तै शरीरढाकुवालाई पनि ‘रगतदान–महादान’ भन्नुको विकल्प छैन।

    कस्ताकस्ता रोग यही जुकालाई रगत चुसाएर निको भएका छन्, देश, विदेशमा यसैका लागि मनग्ये खर्च भइरहेका छन्। यहाँ जुकाले निःशुल्क सेवा दिँदा केको पिरलो मान्नु ! जुकाबाट हत्तु भएकालाई यसरी ठट्टाको मसला पनि जुरेकै छ। धुन्चे छाडेदेखि पछ्याउने जुकाले चन्दनबारीसम्मै मुन्टो बटार्दैन, फर्कंदा पनि उही पिरती कायम रहन्छ।

    साउन २०७६

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस