• गोसाइँकुण्ड पुग्नुको बेग्लै आनन्द !

    गोसाइँकुण्ड पुग्नुको बेग्लै आनन्द !

    निर्मलकुमार आचार्य ——-

    गोसाइँकुण्ड पुग्नुको बेग्लै आनन्द ! दर्शन मात्रैले पनि सारा थकान, ग्लानी, चिन्ता यसरी छुमन्तर हुँदा रहेछन्, जोकोही भावातिरेक हुनु स्वाभाविक हो।

    धार्मिकजनका लागि अपरिहार्य तीर्थस्थल र पर्यटकका छाड्नै नहुने गन्तव्यका रूपमा परिचित गोसाइँकुण्डको विशेषता भन्नु, भावना अनुसार हरेकले सन्तुष्टि पाउनु हो।

    कहिले बादलको घुम्टोमुनि, कहिले कुहिरोको सिरकमा त कहिले सिमसिमे पानीको झल्लरीमा सुशोभित गोसाइँकुण्डको अधिक रमाइलोचाहिँ घमाइलोमै छ।

    लामटाङ हिमालको काखमा चट्टाने पहराबीच छ्याङ हुँदा गोसाइँकुण्डको कञ्चन जल र त्यसमा बेलाबखत लहरिने मन्द तरंगले चौपट्टै भरंगिएको मनलाई पनि उमंगित तुल्याउँछ, अनि तादात्म्यले त्यहाँ शिव दर्शन गराउँछ।

    आखिर भावना न हो। जल, थल, नभ जहाँसुकै कल्पे अनुसार स्वरूप देखिन पुग्छ। ‘छायादर्शन’को त परम्परै छ। चन्द्रमामा इष्टदेव देखिएका कथा पनि छन् भने कुण्डको बीच भागमा रहेको लामो शिलामा श्रद्धालुजनले साक्षात् शिव दर्शनको अनुभूति गर्नु के आश्चर्य ! फर्कनेहरू यसको लामै बयान गरी आफू धन्य भएको बखानिरहेका भेटिन्छन् भने घामको झलकै नपाई कुण्ड नुहाएर फर्कनेहरूले खल्लो मानेको पनि देखिन्छ। बेफ्वाँकमा यस्तो देखें र उस्तो देखें भन्नेको पनि कमी छैन। ‘शिवजीसँगै पार्वती र गणेशको समेत दर्शन भयो’ छाँटिरहेका बखत ‘अनि कुमारचाहिँ देखिएनन् ?’ सोद्धा अकमकिन पुग्दा रहेछन्।

    दामोदर कुण्ड, दूध कुण्डलगायत नेपालमा अनेक कुण्ड छन्। ‘गोसाइँ’ नामधारी कुण्ड रसुवा जिल्लामा मात्रै छ। शब्दकोश अनुसार गोसाइँको अर्थ गोस्वामी, गाईको मालिक, जितेन्द्रीय हुन्छ। गोस्वामीको अपभ्रंश रूप गोसाइँ तथा गुसाइँ हो।

    गाई पाल्ने ठाउँको कुण्ड भएको हुनाले गोसाइँकुण्ड भन्ने गरिएको एकथरी कथन छ भने शिव जितेन्द्रीय भएकाले उनकै नाममा गोसाइँकुण्ड भन्न थालिएको भनाइ पनि छ। गोसाइँ जोगीहरू प्रशस्त आउने भएकाले कुण्डको नाम नै गोसाइँकुण्ड बनेको पनि हुनसक्छ।

    सनातन धर्मावलम्बीमा शैव तथा वैष्णव दुवै सम्प्रदायले गोसाइँ उपाधि अँगालेका छन्। शैवतर्फ एउटा गोसाइँ सम्प्रदाय नै छ। नाथ सम्प्रदायमा पनि गोसाइँ भनिन्छ। वैष्णवतिर मध्वाचार्य, वल्लभाचार्य तथा निम्बार्काचार्यका सम्प्रदायमा आचार्य ‘गोसाइँ’ कहलाउँछन्। अद्वैतवादी शंकराचार्यका उत्तराधिकारीको नाम शैव गोस्वामी थियो। चैतन्य सम्प्रदायका गुरुलाई पनि गोसाइँ भन्छन्। श्रीरामचरितमानसका रचनाकारको नाम गोस्वामी तुलसीदास हो। ‘हनुमान चालीसा’मा हनुमानलाई गोसाइँ भनिएको छ– ‘जै जै जै हनुमान गोसाइँ’। गोस्वामी÷गोसाइँ पद वा उपाधि अथवा ईश्वरसूचक शब्द मात्र होइन, यही थर भएका गृहस्थीसमेत छन्।

    गोसाइँको अर्थ श्रेष्ठ, ईश्वर पनि हुने भएकाले ईश्वरको कुण्ड गोसाइँकुण्ड हुन नसक्ने होइन। पोखरी, तलाउ, कमण्डलु, अग्निकुण्ड, खप्पर, भिक्षापात्र, कचौरा कुण्डका अर्थ भए तापनि ‘कुण्ड’ शिवको एक नाम पनि हो। यस आधारमा गोसाइँकुण्ड भन्नाले ‘ईश्वर शिव’ हुनपुग्छ।

     कस्ता–कस्ता रोग यही जुकालाई रगत चुसाएर निको भएका छन्, देश–विदेशमा यसैका लागि मनग्ये खर्च भइरहेका छन्। यहाँ जुकाले निःशुल्क सेवा दिँदा केको पिरलो मान्नु !, जुकाबाट हत्तु भएकालाई यसरी ठट्टाको मसला पनि जुरेकै छ। धुन्चे छाडेदेखि पछ्याउने जुकाले चन्दनबारीसम्मै मुन्टो बटार्दैन, फर्कंदा पनि उही पिरति कायम रहन्छ।

    गोसाइँकुण्डसित पौराणिक साइनो छ। स्कन्दपुराण, हिमवत्खण्डमा यस कुण्डको वर्णन गरिएको छ। पुराण अनुसार यो कुण्डको उत्पत्ति महादेवबाट भएको हो। देव र दानव मिली मन्दराचल पर्वतलाई मदानी र बासुकि नागलाई नेती बनाएर समुद्र मन्थन गरिँदा त्यहाँबाट १४ रत्न– श्री, विष, रम्भा, वारुणी, अमृत, शङ्ख, ऐरावत, धन्वन्तरि, धेनु, चन्द्रमा, कल्पवृक्ष, मणि, बाज र धनुष निस्किएका थिए। देव र दानवले राम्रा रत्न बाँडेर लिए, कालकूट विष लिन कोही तम्सिएन। दुनियाभरि त्रास फैलियो। ब्रह्माको अनुरोधमा शिवले सो विष कण्ठमा धारण गरे। विषले कण्ठ नीलो भएकाले शिवको एक नाम नीलकण्ठ हुनपुग्यो। हलाहल विषले छटपटाउँदै कुदेका शिवले एउटा पहाडमा त्रिशूलले घोपी पानी निकालेर पीडा  शान्त पारे। त्रिशूलले प्वाल पारेको ठाउँबाट निस्किएको जल जम्मा भई गोसाइँकुण्ड (नीलकण्ठ ह्रद) बन्यो र त्यहाँबाट बग्ने जलप्रवाह त्रिशूली कहलायो।

    गोसाइँकुण्डनजिकै भैरवकुण्ड र सरस्वतीकुण्ड छ। सूर्यकुण्डचाहिँ गोसाइँकुण्डबाट झन्डै डेढ घन्टा पर छ। गोसाइँकुण्डको सेरोफेरोमा नजिक र टाढा गरी साना, ठूला १०८ जति कुण्ड छन्।

    गोसाइँकुण्ड धार्मिक सद्भावको केन्द्र पनि हो। हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गोसाइँकुण्ड धामी–झाँक्रीका लागि सिद्धि प्राप्तिको थलो बनेको छ। गोसाइँकुण्डलाई बोधिसत्व अवलोकितेश्वरका रूपमा पनि पुजिन्छ।

    तामाङ भाषामा गोसाइँकुण्डलाई ‘वे छो’ भन्छन्। वेको अर्थ कुण्ड हो भने छो माने आराम गर्ने हो। यसको आशय भगवान् विश्राम गर्ने कुण्ड हो– रसुवा मावि, धुन्चेका प्रधानाध्यापक टेम्पा रिसाङ घलेबाट प्राप्त थप जानकारी अनुसार तामाङ समुदाय पनि जनैपूर्णिमामा गोसाइँकुण्ड जान्छन्। त्यहाँ स्नान गरी ध्वजापताका झुन्ड्याइन्छ। चतुर्दशीमा रातभरि मन्दिरमा जाग्राम बसी पाठ गर्ने र माने (ॐ मणि पद्मे हुम्) गाउने चलन छ। लामा–झाँक्री गुरुबाट आशिक थापिन्छ।

    निःसन्तानले सन्तान, गरिबले धन, दुःखीले सुखको कामना गर्छन् भने त्यो पूरा भएपछि फेरि गोसाइँकुण्ड जाने प्रचलन छ। २० पटक गोसाइँकुण्ड पुगिसकेका घले भन्छन्–गोसाइँकुण्डमा जे माग्यो, पूरा हुन्छ।

    शिवजीको रिसाहा रूप भैरव हो। भैरव कुण्डमा गोले धामी जाँदैनन्। यसका पछाडि किम्वदन्ती छ– उहिले एउटा गोले धामी आफ्नी पत्नीसहित भैरवकुण्डमा पुगेछ। त्यहाँ खेलिरहेका नाग देखेर लोभिई कुण्डभित्र पसेछ, दुईवटा नाग ल्याएछ पनि, पत्नी डरले थुरथुर हुँदै भागिछे। केही बेरमै ती नागले झाँक्रीलाई कुण्डमै लीन गराइदिएछन्। त्यसैले गोले धामी त्यहाँ जाँदैनन्।

    लौरी बिनाको पारिपट्टि देखिने सरस्वती कुण्ड र नागकुण्ड समेत भनिने भैरव कुण्डमा खासै कोही जाँदैनन्। यार्साका झाँक्रीचाहिँ भैरवकुण्ड पुजेर मात्र गोसाइँकुण्ड पुग्दा रहेछन्।

    गोसाइँकुण्डसम्बद्ध केही ऐतिहासिक पाटा पनि छन्। ‘स्थाननाम कोश’ अनुसार ‘मल्लकालमा नाथ सम्प्रदायका गोसाइँ जोगी महन्तहरू यहाँ प्रशस्त आवतजावत गर्थे। अहिलेसम्म पनि भारतका जोगी–संन्यासीहरूको डफ्फा जनै पूर्णिमाताका गोसाइँकुण्ड यात्रामा आएका देखिँदै छन्। कान्तिपुरका मल्ल राजाहरूले राजगद्दीमा बसेको पहिलो अथवा दोस्रो वर्षमा गोसाइँकुण्ड स्नान गर्ने चलन’bout इतिहासमा उल्लेख गरिएको छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट वि.संं. १८०१ मा नुवाकोट विजय गरिएपछि गोसाइँकुण्डमा स्नान गरेका थिए।’

    सिलु तीर्थ मोल ल्हुय अति पुण्य लाइ

    सिलु तीर्थ वनेयात पासा माला वया

    पासा माले मते प्रभु छिव जिव वने

    निम्हतेपु सिलु वने अति पुण्य लाइ।।

    माथिका पंक्ति नेपाल भाषा (नेवारभाषा) को एक लोकगीतको अंश हो। यो लोकगीतबाट नेवार समुदाय निकै अघिदेखि गोसाइँकुण्डसँग सम्बद्ध रहेको थाहा पाइन्छ। सिलु अर्थात् गोसाइँकुण्ड, भनिन्छ– शिवलुयातीर्थ–शिवलुति हुँदै कालान्तरमा सिलु शब्द बनेको हो। श्रीमान्–श्रीमतीबीच संवादात्मक शैलीको लोकगीत हो यो। यसमा पुण्यप्राप्तिका लागि गोसाइँकुण्ड नुहाउन जान साथीको खोजी गरेको श्रीमान्को भनाइसँगै साथी नखोज तिमी र मसँगै जाऔं भनी श्रीमतीले आग्रह गरेको र पुण्यलाभका लागि दम्पत्ति गोसाइँकुण्ड गएको बयान छ।

    लोकगीतको पूर्णपाठ अनुसार श्रीमानले सँगै जाने भए ज्योतिषीसित परामर्श गर्नुपर्ने स्थिति दर्शाउँदै एक ज्योतिषीले श्रीमान्–श्रीमती सँगै गए छुट्टिनुपर्ने भनेको जनाउँछ। श्रीमतीको आग्रह टार्न नसकी दुवै गोसाइँकुण्ड पुग्छन्। त्यहाँका राजाको कुदृष्टि श्रीमतीमाथि पर्छ र जबर्जस्ती रानी बनाइन्छ। विरक्त श्रीमान् घर फर्किई जोगी बन्छ। केही वर्षपछि रानीले भएभरका जोगी त्यहाँ निम्त्याउन माग गर्छे । आएका जोगीमाझ श्रीमानलाई उसले सजिलै चिन्छे र साध्वीका रूपमा भेट्छे अनि दुवैको पुनः मिलन हुनपुग्छ।

    वि.सं. २०४५ सालताका ‘सिलु’ चलचित्र पनि बनेको छ। नेपाल भाषाको यो पहिलो चलचित्र हो। काठमाडौं उपत्यकाका बासिन्दा र गोसाइँकुण्डबीच प्राचीन सम्बन्ध रहेको अर्को उदाहरण कुम्भेश्वरको मेला हो। ललितपुर, बगलामुखी मन्दिरनजिकै कुम्भेश्वर मन्दिर हातामा अवस्थित कुण्डमा यस दिन गोसाइँकुण्डको जल आउने जनविश्वास छ। कुनै श्रद्धालु गोसाइँकुण्ड जाँदा पवित्र जल ल्याउन भनी लगिएको कुम्भ (घैंटो/अम्खोरा) हराउँदा दिक्क भएको तर त्यही अम्खोरा सोही दिन यहाँ निस्किएको जनश्रुति छ। यहाँ बर्सेनि जनैपूर्णिमामा भव्य मेला लाग्छ। गोसाइँकुण्ड जान नसक्नेहरू यहाँ स्नान गरेर हर्ष मान्छन्। 

    उकालो चढ्न नसक्नेहरू धुन्चे नजिकैको मिनी गोसाइँकुण्डमा नुहाउँछन्। गोसाइँकुण्ड जाने र फर्कनेहरू समेत यहाँ सके नुहाउने, नभए जीउमा जल छर्कंदा रहेछन्।

    काठमाडौंबाट गल्छी, त्रिशुली, वेत्रावती, राम्चे हुँदै धुन्चे (१९५० मिटर) पुगेपछि पैदल हिँड्नुपर्छ। घट्टेखोला (१९६० मि.), खेन्दी (२३०० मि.), देउराली (२६२५ मि.), ढिम्सा (३००७ मि.), सिंहगोम्पा, चन्दनबारी (३३०० मि.), चोलाङपाटी (३५८४ मि.), लौरीविना (३९०० मि.), बुद्ध मन्दिर (४२०० मि.), गणेश मन्दिर (लौरीविनायक) हुँदै गोसाइँकुण्ड (४३८० मि.) पुगिन्छ। कोही काठमाडौं, सुन्दरीजल, चिसापानी, कुटुमसाङ, छहरेपाटी, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जान्छन्। हेलम्बुबाट आवतजावत गर्ने पनि छन् । उही बाटो फर्कन नचाहनेलाई वैकल्पिक मार्ग थप उत्साहको विषय बनेको छ।

    धेरै हिँड्न नचाहनेका लागि धुन्चेकै बाटो श्रेयष्कर छ। साहसी पर्यटन रुचाउनेको चाह सुन्दरीजल वा हेलम्बुको बाटो रोजाइमा पर्दोरहेछ। धुन्चेबाट बिहान सबेरै हिँडी सकेसम्म चोलाङपाटी नभए चन्दनबारी रात बिताई भोलिपल्ट गोसाइँकुण्डको यात्रा तय गर्नु उचित हुने रहेछ। नसक्ने अवस्थामा ठाउँ–ठाउँमा बास बस्दै जानु उत्तम हो। हुन त घोडाको सुविधा पनि छ।

    मेलामा अति भीड हुने, बस्न, खानकै समस्या हुने भएकाले सुप्रबन्धका लागि ठूलै कसरत जरुरी छ। अन्य बेलामा पनि होटल जहाँसुकै नहुनु र भए पनि ताल्चा ठोकिएको स्थिति रहनु सुखद होइन। यही असार अन्तिम साता गरिएको गोसाइँकुण्डको भ्रमणमा देउराली, चोलाङपाटीका होटल बन्दै देखिए। गोसाइँकुण्डमा पनि भएका चार होटल/लजमध्ये एक मात्र खुला थियो। मेला र त्यसपछि केही महिना सबै होटल खुल्ने रहेछन्, अरु बेला पाँचदिनका हिसाबले आ–आफ्नो होटल खोल्ने पालो लगाइएको रहेछ।

    ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ यो उखानले नै कुण्डैपिच्छे पानीको महत्व फरक हुने जनाएको छ। यस अर्थमा कुण्डको सौन्दर्यपान गर्ने र अध्ययन, अनुसन्धान गर्नेलाई यो स्थान स्वर्गतुल्य हो। एकसय प्रजातिभन्दा बढी फूल फुल्ने वनस्पति, पदमचाल, जटामसी जस्ता उम्दा जडीबुटी, चखेवा–चखेवी, खोयाहाँस, कालीजुरे, मुनाल जस्ता पक्षी, चितुवा, मृग, भालु आदि वन्यजन्तु र विश्वमै दुर्लभ मानिने रेडपाण्डा (हाबे्र) ले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित, २०६४ असोज ६ गते रामसारमा सूचीकृत गोसाइँकुण्ड क्षेत्रलाई बढी मनमोहक बनाएका छन्।

    गोसाइँकुण्डको सन्दर्भमा लेक र जुका समेटिएन भने कुरो नितान्त अपुरो हुन पुग्छ। ठूलो कुम्लो बोक्ने, धापिएर जाने र बिरक्तिएर फर्कनेका कथा–व्यथा सुन्नेलाई आग्रहले पनि असर पार्नसक्छ। तर, हलुका झोला बोकी तातो, रसिलो खाँदै सुस्तरी पाइला चाल्नेका उत्साह अदम्य साबित हुनेरहेछन्।

    हो,  जुकाको सामुन्नेचाहिँ कसैको केही नलाग्दो रहेछ। जतिसुकै होसियार भएर हिँड्दा पनि काँध, कन्दनी र कुर्कुच्चा ’round कुन बेला जुकाले हमला गर्छन्, पत्तो हुँदैन। सानो धागो जत्रो जुकाले दाम्लो जस्तो हुनेगरी रगत चुस्दा पनि भेउ पाउन कठिन ! अघाइवरी जुका पस्रन जमिनतिर खसेपछि बल्ल चुसेको ठाउँमा बगेको रगतदेखि होश खुल्नुको अर्थ पनि के रह्यो र ! जुकाको सत्रु भनिए तापनि जीउभरि नुन वा सुर्ती दलेर जान पनि नसकिने रहेछ। बेला–बेलामा सिमसिम पानी पर्दा रुखबाट समेत जुका बर्सिनाले जस्तै शरीरढाकुवालाई पनि ‘रगतदान–महादान’ भन्नुको विकल्प छैन।

    कस्ताकस्ता रोग यही जुकालाई रगत चुसाएर निको भएका छन्, देश, विदेशमा यसैका लागि मनग्ये खर्च भइरहेका छन्। यहाँ जुकाले निःशुल्क सेवा दिँदा केको पिरलो मान्नु ! जुकाबाट हत्तु भएकालाई यसरी ठट्टाको मसला पनि जुरेकै छ। धुन्चे छाडेदेखि पछ्याउने जुकाले चन्दनबारीसम्मै मुन्टो बटार्दैन, फर्कंदा पनि उही पिरती कायम रहन्छ।

    साउन २०७६

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन