• हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था छैन – नेनाउ प्राधिकरण

    हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था छैन – नेनाउ प्राधिकरण

    काठमाडौं – स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन् । त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को विश्वव्यापी मापदण्डलाई नेपालले परिपालना गर्नै पर्ने हुन्छ । हुन त सार्वभौम मुलुक नेपालका लागि यो बाध्यकारी व्यवस्था भने हैन । नेपालले आफ्नो आवश्यकताका आधारमा निर्णय लिन सक्छ तर पनि मानवीय संवेदनशीलता र विश्वव्यापी परिस्थतिलाई मध्यनजर गरी हतारमा उडान रोक्न पनि उपयुक्त नहुने नियामक निकायको भनाइ छ ।

    नेपालको सन्दर्भमा सर्वोच्च अदालतले पनि आवश्यकता परेको खण्डमा अन्तरराष्ट्रिय उडान रोक्न अन्तरिम आदेश दिइसकेको छ । यो विषयमा सरकारले निर्णय गरेपछि मात्र नियामक प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसो भए कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी प्राधिकरण अन्तरराष्ट्रिय उडान रोक्ने अवस्थामा पुगेको हो त भनी सोधिएको रासससँगको जिज्ञासामा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था नरहेको बताए ।

    “राज्यले अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिसकेको छ, यो नै काफी हुन्छ, उडान रोकिरहन पर्दैन यात्रु नपाएपछि एयरलाइन्सले उडान गर्नै सक्दैनन् फेरि अहिले डब्लुएजओ र आइकाओले पनि उडान रोक्नु भनेको छैन त्यसैले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था छैन”, महानिर्देशक पोखरेलले भने । नेपालजस्तै अन्य मुलुकले पनि ट्राभल एडभाइजरी जारी गरी आफ्ना नागरिकलाई अन्तरराष्ट्रिय उडानमा नजान भनिसकेकाले स्वभाविकरुपमा अन्तरराष्ट्रिय उडानमा कटौती हुने उनको भनाइ छ ।

    अहिले नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायकले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । हिमालय एयरलाइन्सले चीनमा हुने १५ वटा उडान कटौती गरिसकेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले भने आफ्ना सबै गन्तव्यमा नियमित उडान गरिरहेको छ । हिमालयले यात्रुको माग र बजारको आवश्यकताका आधारमा चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ ।

    विदेशबाट नेपाल उडान भर्ने एयरलाइन्सले पनि यात्रु घटेपछि उडानमा भारी कटौती गरेको विमानस्थलले जनाएको छ । अहिलेसम्म साउदी अरब, कुबेत, अष्ट्रेलिया, मङ्गोलिया, इजरायललगायत मुलुकले भने अन्तरराष्ट्रिय उडानमा रोक लगाएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए । तथापी पश्चिमी मुलुकले भने उडान रोकेका छैनन् ।

    डिसेम्बर महिनाको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरमा देखापरेको कोरोना भाइरस इरान, दक्षिण, कोरिया, जापान, इटाली, अमेरिकालगायत मुलुकमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार शुक्रबारसम्म विश्वभर कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ । कोरोना भाइरस सङ्क्रमणबाट तीन हजार बढीको मृत्यु भएको जनाइएको छ ।

    प्राधिकरणले हालै कोरोना अतिप्रभावित मुलुकमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन सरकारलाई सिफारिस गरेको थियो । ट्राभल एडभाइजरी जारी गरिसकेको सरकारले अति प्रभावित मुलुकका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने यसअघि नै निर्णय गरिसकेको छ । अहिले मुलुकभित्र कोरोना भाइरसको सङ्क्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान अवतरण रोक्नपर्ने अवस्था नरहेको तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणले उल्लेख गरेको छ ।

    अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थमा आउने र जाने दुवै कक्षमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ । अन्तरराष्ट्रिय विमानस्थलको मापदण्डअनुरुप विमानस्थलमा नियमित स्वास्थ्य कक्षबाहेक अहिले स्वास्थ्य मन्त्रालयले छुट्टै विमानस्थलमा ‘हेल्थ डेस्क’ सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थको नियमित अन्तरराष्ट्रियतर्फ यात्रुको प्रस्थान र आगमन कक्षको नियमित हेल्थ डेस्क अलावा मन्त्रालयले पनि यात्रुको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरेको छ । कम्तीमा पाँच जना चिकित्सकले तीन सिफ्टमा काम गरिरहेको विमानस्थलले जनाएको छ । 

    स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले मन्त्रालयको समन्वयमा विमानस्थलमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरी प्रभावकारीरुपमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए । विमानस्थलमा यात्रुको ज्वरो नापिन्छ । कुनै यात्रुमा कुनै पनि किसिमको सङ्क्रमणको सङ्केत देखिएमा तत्कालै आपत्कालीन उद्धारका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । विमानस्थलको आन्तरिक उडानमा पनि यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ । रासस

    फागुन २४,२०७६

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन