• हिमालय एअरलाइन्स – हुवावे क्लाउडबीच सम्झौता , उडान यात्रा सुदृढ पार्न स्मार्ट सिल्क रोड सृजना गरिने

    हिमालय एअरलाइन्स – हुवावे क्लाउडबीच सम्झौता , उडान यात्रा सुदृढ पार्न स्मार्ट सिल्क रोड सृजना गरिने

    ट्राभल बिज न्युज —

    काठमाण्डौं –  हिमालय एअरलाइन्स  र  चिनीया बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउडबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    हिमालय एअरलायन्सका अध्यक्ष  झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले एक समारोहमा सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

    भर्चुअल माध्यम कार्यक्रममा नेपालका लागि चीनको दूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको उल्लेख गर्नु भयो /

    उहाँले  यी दुई कम्पनीका साथै नेपालमा चिनीयाँ लगानी रहेका अन्य कम्पनीहरुले परम्परागत मानसिकताबाट सृजित बाधाहरुलाई तोडेर अधिक नवीनतम विधिहरु अपनाउदै महामारी अवधि पश्चात उपयुक्त  व्यावसायिक प्रारुपहरु सृजना गर्न तथा यसबाट नेपाल र चीनबीचको बी.आर.आई सहकार्यमा समेत सार्थक योगदान पुग्ने आशा  गर्नुभयो ।

    यस्तै  तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक  वाङ्ग पिङ्गले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पुरयाएको उल्लेख गर्दै  तिब्बत क्षेत्रले बाह्य लगानी उद्यमका क्षेत्रहरुको विकासमा सहयोगलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो ।

    समारोहमा हिमालय एअरलाइन्सका  अध्यक्ष  झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पुग्ने  विश्वास व्यक्त गर्नुभयो ।

    यस्तै हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनले  यस अवसरको उचित प्रयोग गरी हिमालय एअरलाइन्सको  डिजीटल रुपान्तरणका साथ प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्वि गरी व्यवसायिक सम्भाव्यता वृद्वि गर्न सकिने उल्लेख गर्नु भयो /

    सम्झौता अनुरुप हिमालय र हुवावेले आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ आइ.सी.टी प्रविधिहरु (हुवावे क्लाउड र ए.आई) मा सहकार्य गर्नेछन्  ।

    सूचना तथा संचार प्रविधि (आइ.सी.टी) का उपज र समाधानका उपायहरुबाट अधिकतम लाभ लिने क्रममा सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एअरलाइन्सलाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवा मार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्नेछ ।सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाललाई प्रवर्धन  गर्ने अपेक्षा गरिएको छ ।

    नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

    हिमालय एअरलाइन्सले  हाल  तीन ए ३२०–२१४ सिरिज र एक ए३१९–११५ एयरक्राफ्टबाट विभिन्न गन्तव्यमा उडान संचालन गर्दै आएको छ ।

    असार १५ , २०७७

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन