• कोरोना भाइरसः विश्वभरि यौनकर्मीहरू भविष्यप्रति चिन्तित

    कोरोना भाइरसः विश्वभरि यौनकर्मीहरू भविष्यप्रति चिन्तित

    भिभिएन नुनिस —

    कोरोनाभाइरस महामारीबीच सामाजिक दूरीसम्बन्धी नियमका कारण स्ट्रिप क्लब अर्थात्‌ वयस्कहरूलाई मात्रै अनुमति दिइने मनोरञ्जन स्थल र वेश्यालयहरू बन्द भएसँगै विश्वभरिका यौनकर्मीहरूको आम्दानीको स्रोत बन्द भएको छ।

    जीविकोपार्जनका साथै स्वास्थ्यप्रति चिन्तित कतिपय यौनकर्मीले अनलाइनमार्फत् व्यवसायलाई जारी राख्न चाहिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको मुख ताक्नु परेको छ।

    इस्टल ल्युकासले अस्ट्रेलियाको मेल्बर्नमा १० वर्षदेखि काम गरिरहेकी छन् र आफ्ना ग्राहकहरूसँग सावधानीपूर्वक सम्बन्ध बनाएकी छन्। तर कोभिड-१९ सङ्क्रमण र सामाजिक दूरी कायम राख्नुपर्ने नियमका कारण यौन व्यवसायमा रोक लागिसकेको छ। “स्पष्ट रूपमा भन्नुपर्दा यदि मैले छ महिनासम्म काम गरिनँ भने धेरै मानिसले मलाई बिर्सने छन्,” उनी भन्छिन्।

    “म आफ्ना ग्राहकहरूसँग कुरा मात्र गर्न सक्छु। यसले यो व्यवसायमा काम गर्दैन। हामीले अन्तरङ्ग सम्बन्ध कायम गर्नुपर्छ जुन अहिलेको अवस्थामा सम्भव छैन।”

    कोरोनाभाइरस महामारी सुरु हुनुअघि इस्टलले औसतभन्दा बढी आम्दानी गर्थिन् र मेल्बर्नको बाहिरी भेगमा रहेको घरको बन्धकी बापतको रकम छिट्टै तिरिसक्ने उनको आशा थियो।

    तर अहिले उनको आम्दानीका लगभग सबै स्रोत मरिसकेका छन्। उनले अनलाइनमार्फत्‌ व्यवसायलाई अगाडि बढाउने प्रयत्न गरेकी छन्, तर भन्छिन्- शारीरिक सम्पर्कलाई त्यसले विस्थापित गर्न सक्दैन।”दुर्भाग्यवश कतिपय कुराले मूर्तरूप लिन सक्दैन,” उनी भन्छिन्।

    “मैले अनलाइनमार्फत्‌ प्रयास गरेकी छु तर सबैलाई प्राविधिक ज्ञान हुँदैन। मेरा कतिपय ग्राहकलाई स्मार्टफोन कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा छैन।”

    क्षेत्रीय सरकारले रेष्टुराँ र क्याफेहरू खोल्ने प्रति योजना ल्याए पनि यौन उद्योग प्रति कुनै योजना छैन। त्यो अनिश्चितता र भाइरस लगायत कारणले यौनकर्मीहरू गम्भीर तनाव परेका छन्।

    कोभिड-१९ का कारण रोजगारी गुमाउनेका लागि अस्ट्रेलिया सरकार आर्थिक सहायता उपलब्ध गराउन सक्छ तर त्यसका लागि सम्बन्धित पक्षले कर तिर्दै आएको प्रमाणित गर्नुपर्छ जुन कुरा दर्ता नभएका कतिपय यौनकर्मी र आप्रवासीले गर्न कठिन छ।

    विश्वका दर्जनौँ देशका यौनकर्मीहरूले सामना गरिरहेको यो एउटा समस्या रहेको लेस्टर विश्वविद्यालयस्थित अपराधशास्त्रकी प्राध्यापक टीला स्यान्डर्स बताउँछिन्।

    “सरकारहरूले अधिकांश मानिसहरूलाई खासगरी आफ्नै उद्यममा लागेकाहरूलाई राम्रोसँग सामाजिक सुरक्षा प्रदान गरिरहेका छन्, तर त्यसभित्र यौनकर्मीहरू समावेश छैनन्,” उनी भन्छिन्।

    यसबीच आपत्‌कालीन सहायताका लागि रकम सहयोग गर्न अनलाइनमार्फत् अपील गरिँदैछ।

    गत हप्तासम्म लास भेगस सेक्स वर्कर्स कलेक्टिभ नामक समूहले १९,३०० डलर जुटाइसकेको छ भने इटलीमा एउटा सहयोगी गठबन्धनले २१,७०० युरो सङ्कलन गरेको छ।  कतिपय यौनकर्मीलाई ठूलो जरिवाना तिर्नुपर्ने र सङ्क्रमण हुन सक्ने जोखिमबीच काम गर्न बाध्य पारिएको छ।

    “विकासशील देशहरूमा प्रायशः यौनकर्मीहरू आफ्ना भाइबहिनी, बालबच्चा र हजुरबाआमाका प्रमुख सहारा छन्। अतः यसले पूरै परिवारमा प्रभाव पारेको छ।,” प्राध्यापक स्यान्डर्स भन्छिन्।    इङ्ग्लिश कलेक्टिभ अफ प्रोस्टिट्युट्सकी निकी एडम्स त्यस्तै धारणा राख्छिन्।

    यूकेका अधिकांश यौनकर्मीहरू आमा रहेको र अझै काम जारी राख्नेहरू पैसाका लागि त्यसो गरेको उनले बीबीसीलाई बताइन्। तर चाहेको खण्डमा पनि कतिपय यौनकर्मीहरू त्यसलाई निरन्तरता दिने अवस्थामा छैनन्।

    बाङ्ग्लादेशस्थित दौलतदिआ वेश्यालयमा ग्राहकहरू छिर्न नपाऊन् भनेर प्रहरीले सुरक्षा दिइरहेका छन्। त्यो संसारका ठूलामध्येका वेश्यालय हो। टिनले छाएका ससाना घर र साँघुरा बाटा भएका एउटा नगर जहाँ १,३०० महिला र उनीहरूका ४०० बालबच्चा बस्छन्।

    उक्त वेश्यालय मार्चदेखि बन्द छ जसकारण ती महिलाहरू अत्यावश्यक सामान किन्न सङ्घर्षरत छन् र दानमा निर्भर हुनु परेको छ।   “हामीले अहिले काम गर्न सक्दैनौँ। अतः हामीसँग कुनै आम्दनी छैन जुन डरलाग्दो कुरा हो,” वास्तविक नाम नबताउने नम्जाले भनिन्।नज्माले तीनजना बालबच्चालाई हेर्नुपर्छ जो गाउँमा उनकी बहिनीसँग बस्छन्।

    नज्मा ३० वर्ष अगाडि सात वर्षकै उमेरमा वेश्यालय पुगेकी थिइन्। हुन त अहिले उनलाई पैसाको खाँचो छ तर यो महामारीमा काम गर्न उनमा डर छ।

    वेश्यालयमा काम गर्ने धेरै महिला तथा बालिकाहरू मानवतस्करीका शिकार हुन्। “उनीहरूमध्ये थुप्रै चाहिँ बाल्यकालमा अपहरण गरी ल्याएर बेचिएका हुन्,” ढाकास्थित वकिल तथा मानव अधिकारकर्मी सर्बन्ती हुदा भन्छिन्। मेको शुरूतिर उनले १,३०० महिलाको परिवारलाई अत्यावश्क सामान उपलब्ध गराएकी थिइन्।

    प्राध्यापक स्यान्डर्सका अनुसार विश्वभरि यौनकर्मीहरूले सामना गर्नु परेको अर्को समस्या भनेको स्वास्थ्य सेवामा उनीहरूको कम पहुँच हो।

    नाम नबताउने शर्तमा बाङ्ग्लादेशकी एक यौनकर्मीले वेश्यालयहरू तत्काल खुलिहाले पनि यौन व्यवसाय फेरि तङ्ग्रिन लामो समय लाग्न सक्ने बताइन्।

    “हामीकहाँ आएमा सङ्क्रमण हुन सक्ने भनेर मानिसहरूमा डर छ। हामीलाई पनि डर छ। हामी पनि उनीहरूबाट सङ्क्रमित हुन सक्छौँ। सङ्क्रमित हुन सक्ने यो डर सधैँ भइरहने छ।”

    अतिरिक्त रिपोर्टिङ्ग सलमान सईदले गरेका हुन्।

    साभार : बीबीसी नेपाली , जुन २०२०  तस्विरमा इस्टल ल्युकास

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस