• कोभिड–१९ : पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु

    कोभिड–१९ : पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु

    काठमाडौं (रासस) । । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।

    नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् । विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुबैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरु भए । त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि सञ्चालन गरियो । बन्दाबन्दीको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएका थिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन् । नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् । कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ । यो चैत ११ देखि भदौ १४ गतेसम्मको विवरण हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।

    पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन पाइनेछ । यस्तै पिसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर्ड उडान मात्र सञ्चालन हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

    निगमको पहिलो उडान नारितामा

    नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाजले आज राति १ः०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् ।

    नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।

    उडान थोरै जनशक्ति र संरचना उत्तिकै

    विमानस्थललाई कोभिड–१९ सङ्क्रमणबाट बचेर सुरक्षित उडान गर्नुपर्ने एकातिर छ भने अर्कोतिर थोरै उडान सञ्चालन भएपनि जनशक्ति र संरचना उत्तिकै खर्चनुपर्छ । यसले विमानस्थलको खर्च, समय र जनशक्ति पनि बढी व्यवस्थापन गर्नुपर्ने भएकाले केही असहज हुने जनाएको छ । नियमिततर्फ दैनिक दुई देखि तीन र चार्टर्डका केही उडान सञ्चालन हुनेछन् ।

    नेपालबाट उडान दिउँसो वा राति १० बजेसम्म मात्र सञ्चालन गर्न सरोकारवालासँग छलफल भएपनि विदेशी स्टेशनबाट उडान तालिका नमिल्ने भएकाले मध्यरातिमा पनि उडान गर्नुपर्ने विमानस्थललाई वाध्यता परेको छ । त्यसैले आज निगमको जहाज राति १ बजे नारिता उड्ने तालिका छ । विभिन्न मुलुकबाट आउने कनेक्टिङ फ्लाइटलाई पनि समस्या हुनेछ । मध्यरातमा विमानस्थल आउनुपर्दा व्यवस्थापनमा पनि कठिनाइ हुनेछ ।

    विमानस्थलका महाप्रवन्धक केसीले थोरै उडान भएपनि सामान्य अवस्थामा जस्तै जनशक्ति र संरचना व्यवस्थापन गर्नुपर्ने भएकाले यसले विमानस्थलको खर्च बढाउनुका साथै जनशक्ति व्यवस्थापनमा पनि असहज हुने बताए । उनका अनुसार अहिले महामारीलाई मध्यनजर गर्दै विमानस्थललाई जुनसुकै अवस्थामा पनि सञ्चालन गर्नुपर्ने भएकाले एक तिहाई कर्मचारीबाट मात्रै सेवा सञ्चालन गरिरहेको छ ।

    अर्को टोली जगेडामा राखिएको छ । “विमानस्थलमा रात्रिकालीन समयमा उडान नभइदिए हुन्थ्यो भनेर हामीले बारम्बार सरोकारवालासँग छलफल पनि ग¥यौँ तर विदेशतर्फको तालिका नमिल्ने भएकाले मध्यरातमा पनि उडान गर्नुपर्ने बाध्यता छ । जतिसुकै उडान भएपनि सम्पूर्ण संरचना तयार हुनुपर्छ यसले विमानस्थलको खर्च र समय पनि बढाउँछ ।”

    विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ । प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पिसीआर विवरण तथा होटल बस्नुपर्ने हो वा घर जान पाउने हो टुङ्गो लाग्छ । पिसीआर रिपोर्ट नेगेटिभ भएकाले घरमा गएर होम क्वारेन्टिनमा बस्नुपर्छ । पिसीआर रिपोर्ट नभएकाले होटलमा सात दिन बसेर स्वास्थ्य परीक्षण गराएर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै घर जान पाउनेछन् ।

    भाद्र १६

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन