• पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड

    पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड

    ट्राभल बिज न्यूज —-
    नेपालका पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल सार्वजनिक गरिएको छ ।

    टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल)ले बुधवार भर्चुअल रुपमा आयोजित कार्यक्रमबीच जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा तयार पारिएको स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड म्यानुअल सार्वजनिक गरेको हो /

    कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेकले कोभिड–१८ विश्वव्यापी स्वास्थ्य संकटमात्र नभइ आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रको पुनर्बहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने बताउनु भयो ।

    डा. रसेकले जर्मन सहयोग संस्था जीआईजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको र पर्यटनको विकासमा पनि जर्मन सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्नका यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपालको आशालाग्दो पर्यटन गन्तव्यका रुपमा रहेको लुम्बिनी र त्यहाँ निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी प्रदेशमा पर्यटनका अन्य परियोजनाहरूमा स्वास्थ्य र स्वच्छतासम्बन्धी परियोजना सहायक सिद्ध हुने उहाँको विश्वास थियो ।

    टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीले कोभिड–१९ महामारीको फलस्वरूप नेपालको पर्यटन क्षेत्रमा असर परे पछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाहरूबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीहरूले तालिम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औंल्याएको उल्लेख गर्दै त्यही सर्वेक्षणका आधारमा पहिलो चरणमा स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डसम्बन्धी तालिम सञ्चालन गर्न लागिएको जानकारी दिनु भयो /

    यस परियोजनाले कोभिड–१९ महामारीपछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकहरूका लागि महामारी र महामारीपछिका अवस्थामा पर्यटनसम्बन्धित सेवा तथा व्यवसाय सुचारु राख्नका लागि सरकारद्वारा स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल बनाउने लक्ष्य राखेको छ ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ नगरपालिकाहरूमा प्रशिक्षकहरू (स्थानीय चैम्पियन्स) विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार परिएको हो ।

    पाटा नेपाल चेप्टरका कोषाध्यक्ष खेम लकाईले स्थानीय तहमा स्थानीय प्रशिक्षक निर्माण गर्दा स्थानीय स्तरमा चाहिएको परिवर्तनलाई सहयोग र पैरवी गर्ने अवसर सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।

    म्यानुअलकी सम्पादक अन्जना खड्काले परियोजनाको अपेक्षित नतीजाहरूको ’boutमा विस्तृत जानकारी दिनुभएको थियो भने परियोजना संयोजक विवेक पौडेलले कार्यक्रमको पहिलो चरणपछि, प्रशिक्षित व्यावसायीले प्रत्येक नगरपालिकामा २५० सेवा प्रदायकहरूलाई थप प्रशिक्षण प्रदान गर्ने जानकारी दिनुभयो ।

    पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायकहरू स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशिक्षित मानव संसाधन हुने छन् /
    पुस २९ , २०७७

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन