• आन्तरिक पर्यटकहरुको आकर्षण बन्दैछ – विश्व शान्ति स्तूप

    आन्तरिक पर्यटकहरुको आकर्षण बन्दैछ – विश्व शान्ति स्तूप

    पोखरा – कोभिड–१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा पुस १३ देखि खुला गरिएको छ ।

    स्तुपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भन्नुभयो, “कोभिड– १९ को कारण स्तूपा बन्द रहेको थियो, अहिले पर्यटन चलायमान हुन थालेपछि र पर्यटन सङ्घसंस्थाले पनि खोल्नुपर्छ भनेपछि स्वास्थ्य सकर्ततासहित विधिवत पूजा गरेर खुला गरेका हौँ”/

    उहाँले जापानको निप्पोजान मेहोजिल जापानी परम्परा अनुसार जापानी भिक्षुहरुबाट, ठेरवादी परम्परा अनुसार धर्मशिला बुद्ध विहारका भिक्षुबाट पूजा र महायानी परम्परानुसार बौद्धअर्घौं सदनका लामाहरुबाट पूजा सम्पन्न गरिएको जानकारी दिनुभयो ।  स्तूपाको विधिवत् रुपमा विशेष पूजा अर्चना गरेर खुला गरिएको हो ।   

    उहाँका अनुसार स्तुपा दर्शनार्थीको सुस्वास्थ निरोगिता र मंगलको कामना गरेर पूजा गरिएको हो । स्तूपा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुला रहने छ भने स्तूपामा आउने पर्यटकले अनिवार्य रुपमा मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ ।

    पोखरा महानगरपालिका–२२ स्थित अनदुडाँडामा रहेको सो स्तूपा पोखरादेखि करीब पाँच किलोमिटर दूरीमा रहेको छ भने करिब २१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।   

    बुद्धाचार्यका अनुसार बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मिकस्थलको रुपमा मानिने स्तुपा २०३० सालमा ३५ फिटसम्म निर्माण गरिए पनि पञ्चायतकालमा भत्काएर पुनः प्रजातन्त्रको पुनवर्हाली भएपछि निर्माण अनुमति पाएको थियो । पञ्चायत सरकारले भिक्षु र जग्गादातालाई जेल हालेको थियो । सो जग्गा तत्कालीन रक्षामन्त्री मीनबहादुर गुरुङ र कृष्णबहादुर गुरुङले जग्गा उपलब्ध गराउनु भएको थियो ।   

    पुनः २०४९ सालमा जापानको निप्पोजान मेहोजिल भन्ने जापानी संस्था र पोखरामा रहेको धर्मशिला बुद्धविहारकोे सक्रियतामा निर्माण कार्य थालेर २०५६ सालमा सम्पन्न गरिएको थियो । बुद्ध जन्मेको देशमा बुद्धको मन्दिर नै भत्काइयो भनेर भिक्षुहरुले सो घटनालाई धार्मिक मारको सङ्ज्ञा दिएका आलोचना गरेका थिए ।

    तत्पश्चात् विश्वका ठूला–ठूला भिक्षुले बुद्धको आठ अस्थी धातु ल्याएर सो स्थानमा विधिवत् निधान गरी धार्मिक विजयको कामना गरेका थिए । एक सय १५ फिट अग्लो स्तूपाको ३४४ फिट गोलाई भने स्तूपाको गजुरमा चाँदीको गजुरमा सुनको जलप लगाइएको छ ।   

    स्तूपामा दर्शनार्थीले एवं पर्यटकलाई निःशुल्क प्रवेश दिइन्छ । स्तूपा मर्मतसम्भार एवं नियमित आम्दानी नभएकाले स्थानीय सरकारले पर्यटकीय एवं धार्मिक गन्तव्यका लागि संरक्षण, सम्वद्र्धनका लागि बजेट छुट्टाउनुपर्ने बुद्धाचार्यको माग छ । स्तूपामा परिसरमा १० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएका स्थानीय राजु क्षेत्रीले स्तूपा बन्द रहेको समयमा आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो ।

    “यो बुद्ध धर्मावलम्बी र अन्य पर्यटकको लागि निकै आर्कषक स्थल हो, बन्दाबन्दीको समयमा केही आन्तरिक पर्यटक आउँथे, बन्द भएका कारण बाहिरबाट नै आसपासको दृश्यावलोकन गरेर फर्कने गरेका थिए, अब स्तूपा खुला भएको पर्यटकले स्तूपामै आएर दर्शन गर्न र सुन्दर दृश्यावलोकन गर्न सक्नेछन् ।” उहाँले अहिले पर्यटकको आगमन सुस्ताएको समयमा स्थानीय सरकारले पर्यटकीय गन्तव्यका बाटोघाटो र अन्य पूर्वाधार विकासमा जोड दिन सके पर्यटक आउन समयका लागि सहज हुने र सकारात्मक सन्देश जाने बताउनुभयो ।

    स्तूपाबाट फेवाताल, पोखरा बजार र आसपासका मनमोहक दृश्यको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखराका धार्मिक एवं पर्यटकीय गन्तव्य खुल्दै गएको बताउनुभयो । “अब पोखराका प्रायः धार्मिक एवं पर्यटकीय गन्तब्य विस्तारै खुल्दै गएका छन् । अब मुक्तिनाथ मन्दिर पनि खुला भयो भने यस क्षेत्रमा पर्यटन चलायमान हुनेछ ।”

    कोभिड–१९ सँगसँगै स्वास्थ्य सतर्कता अपनाएर पर्यटकीय गतिविधिमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उहाँले पोखरा आसापासका पर्यटकीय गन्तव्य र विभिन्न धार्मिक मठमन्दिर खुला गर्नका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय र पहल गरिरहेको जानकारी दिनुभयो । – जमुनावर्षा शर्मा / रासस 

    तस्विर – रासस पुष २०७७

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन