• आन्तरिक ,अन्तर्राष्ट्रिय हवाई उडान , लामो दूरीका यातायात भदौ १६ गते देखि खुला गरिने

    आन्तरिक ,अन्तर्राष्ट्रिय हवाई उडान , लामो दूरीका यातायात भदौ १६ गते देखि खुला गरिने

    ट्राभल बिज न्यूज अनलाइन —-

    नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान तथा मध्यम तथा लामो दूरीका यातायात भदौ १६ गते देखि खुला गर्ने निर्णय गरेको छ /

    यस्तै भारतबाट नेपाल आउनै पर्नेका लागि १० वटा सीमा नाका खुला गरिएको छ तथा यो प्रयोजनका लागि बाहेक अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ सम्म बन्द गरिएको छ , तर दुवानीका साधन सञ्चालनमा भने बाधा पर्नेछैन ।

    मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार भदौ १ गतेबाट खुला गर्ने भनिएका क्षेत्र भदौ १५ गते सम्म खुला नगर्ने निर्णय गरेको हो ।सरकारले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा हालै जारी भएको आदेशमा हेरफेर गरेको छ ।

    सरकारका प्रवक्ता डा युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय मंगलबार सार्वजनिक गर्दै सङ्क्रमणको जोखिम बढ्दै गएको हुँदा धार्मिक स्थलहरूमा दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्‍चालन नगर्ने , शैक्षिक संस्थाहरू , सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्‍जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्‍चालन निषेधकै अवस्थामा रहेको हुँदा सम्बन्धित मन्त्रालयबाट यसको नियमित अनुगमन गरी कडाइका साथ पालना गर्ने गराउने एवं उल्लङ्‌घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय भएको प्रष्ट पार्नु भयो /

    निर्णयहरुको विस्तृत विवरण –

    नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/१२ को निर्णयबमोजिम जारी भएको कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, 20७७ को दफा २. प्रवेश विन्दुसम्बन्धी व्यवस्थाः मा रहेको उपदफा (१) को सट्टा देहायको उपदफा (१ ) राख्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।
    (१) भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीको लागि नेपाल-भारत सीमाका देहायका प्रवेश विन्दु तोकिएको छः-
    (क) काकडभिट्टा (झापा)
    (ख) रानी (मोरङ्ग)
    (ग) माडर (सिराहा)
    (घ) गौर (रौतहट)
    (ङ) वीरगञ्ज (पर्सा)
    (च) वेलहिया (रूपन्देही)
    (छ) कृष्णनगर (कपिलवस्तु)
    (ज) जमुनाह (बाँके)
    (झ) गौरीफन्टा (कैलाली)
    (ञ) गड्डाचौकी (कञ्चनपुर) ।
    १ . विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्‍ट्रहरू लगायत अन्य मित्रराष्‍ट्रहरूले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्‍न नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन 207७ साउन 32 गते आइतबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ भदौ ३१ गते बुधबार (तदनुसार २०२० सेप्टेम्बर १६) मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने ।
    तर, नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/१२ को निर्णयबमोजिम जारी भएको “कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ (मिति २०७७/४/२६ को संशोधनसमेत)” बमोजिम स्थल मार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम राख्‍ने। यो आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने ।
    २. विश्‍वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, 2020 को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो। हालसम्म यो आदेशको पालना गरी साथ दिनुभएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै, संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराई सहयोग पुर्‍याउनु हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछ ।”
    विश्‍वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा संक्रामक रोग ऐन, 2020 को दफा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति 2077/4/5 को निर्णयअनुसार जारी भएको आदेशमा देहायबमोजिम हेरफेर तथा थपघट गर्ने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।
    १. आदेशको दफा २ को खण्ड (क) को सट्टा देहायको खण्ड (क) राख्ने-
    (क) होटल तथा रेष्टुरेण्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र।
    २. आदेशको दफा ३ मा रहेको “मिति २०७७ भदौ १ गतेदेखि” भन्ने व्यहोराको सट्टा “मिति २०७७ भदौ १६ गतेदेखि” भन्ने व्यहोरा राख्ने ।
    ३. आदेशको दफा ४ पछि देहायको दफा ४क. देखि ४ढ सम्म थप गर्ने-
    ४क. कोभिड-19 सङ्क्रमणको सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ-संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघ-संस्थाहरूले विद्युतीय माध्यमबाटसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने। यी निकायहरूको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा 50 प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरूलाई सुरक्षित रूपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने (Work from Home) व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने। अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने, सेवा प्रवाह र जनशक्ति व्यवस्थापनको जिम्मेवारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) को समन्वयमा सम्बन्धित कार्यालय प्रमुखको हुने।
    ४ख. मानिसहरूको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड-19 को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरू नगर्ने/नगराउने।
    ४ग. स्वास्थ्य र सुरक्षालगायतका आधारभूत सेवा प्रवाहलाई निरन्तरता दिन जनशक्ति, जनशक्तिलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री, आवश्यक सुरक्षा प्रबन्ध र अनुकूल कार्य वातावरण बनाउन सम्बन्धित मन्त्रालयका सचिवले आवश्यक कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्य सञ्‍चालन गर्ने गराउने।
    ४घ. कोभिड-19 को सङ्क्रमणको जोखिम बढ्दै गएको देखिएको हुँदा जनस्वास्थ्यको रक्षालाई सर्वोच्च प्राथमिकतामा राख्‍नुपर्ने आवश्‍यकता भएकोले धार्मिकस्थलहरूमा दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्‍चालन नगर्ने नगराउने । चाडपर्वहरू आ-आफ्‍नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर आ-आफ्‍नो परिवारका सदस्यहरूले मात्र मनाउने ।
    ४ङ. दैनिक उपभोग्य वस्तुलगायत पूर्वाधार निर्माणमा आवश्यक सामग्रीहरू आपूर्ति गर्दा सो कार्यमा संलग्न चालक, सहचालक तथा अन्य व्यक्तिले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालनामा कमी भएको देखिएकोले सम्बन्धित व्यवसायी, उद्योगी एवं सामाजिक संघ-संस्था, सामुदायिक संस्था र सहकारीहरूले अनिवार्य रूपमा सामाजिक दुरी कायम गर्नुका साथै मास्क, स्यानिटाइजरजस्ता न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्ने । तोकिएका प्रवेश विन्दु र सुरक्षा जाँच गर्ने स्थानहरूमा मापदण्ड पालना भए नभएको जाँच गर्ने, पालना नभएमा तत्काल कारबाही गर्ने। जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरूको पालना गर्ने गराउने जिम्मेवारी विषयगत मन्त्रालयका सचिवको हुने, विषयगत मन्त्रालयका सचिवले मातहतको विभाग, कार्यालय र स्थानीय प्रशासनको समन्वयमा नियमित अनुगमन गर्ने गराउने।
    ४च. शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर,, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्‍जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्‍चालन निषेधकै अवस्थामा रहेको हुँदा सम्बन्धित मन्त्रालयबाट यसको नियमित अनुगमन गरी कडाइका साथ पालना गर्ने गराउने एवं उल्लङ्‌घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने।
    ४छ. काठमाडौं उपत्यकाका तीनवटा जिल्लाभित्र आवतजावत गर्नेबाहेक कोभिड-19 को सक्रिय संक्रमित सङ्ख्या दुई सयभन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) तथा स्थानीय प्रशासनको अनुमतिमा बाहेक आवतजावत नगर्ने नगराउने। अत्यावश्यक कार्यका लागि मात्र अनुमति प्रदान गर्ने। अनुमति प्रदान गर्दा प्रयोजनसमेत खुलाई यात्रा गर्ने व्यक्तिको नामसमेत समावेश गरी अनुमतिपत्र जारी गर्ने।
    ४ज. फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा/साइकलमा सञ्‍चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ता कपडालगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी सङ्कलनजस्ता कार्य जथाभावी रूपमा सञ्‍चालन हुँदा भीडभाड बढ्ने र कोभिड-19 को सङ्क्रमण समुदाय स्तरसम्म विस्तार हुने जोखिम बढेकोले यस्ता कार्यलाई सम्बन्धित स्थानीय प्रशासन/स्थानीय तहले निषेध गर्ने।
    ४झ. उद्योग, कलकारखानालगायतका व्यवसाय सञ्‍चालन गर्ने व्यवसायीहरूले हाल उद्योग व्यवसाय सञ्‍चालन गर्न तथा निजी तथा सार्वजनिक निर्माणको काममा लगाइएका श्रमिकलगायतका जनशक्तिलाई अनिवार्य रूपमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवलम्बन गर्न लगाई उद्योग/कलकारखाना/सार्वजनिक तथा निजी निर्माणको परिसरभित्रै सुरक्षित रूपमा खाने बस्ने व्यवस्था गर्ने। हाललाई अन्यत्र स्थानबाट कामदारहरू नल्याउने। कोभिड-19 को सङ्क्रमणको कारण भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न सम्बन्धित उद्योग व्यवसायले आफ्नो क्षेत्रभित्र आवश्यक क्वारेन्टिन तथा आइसोलेसनलगायतका पूर्वाधारको प्रबन्धसमेत गर्ने।
    ४ञ. नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम अनुमति भएका व्यक्तिहरूलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० (तीन सय) जना र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने 200 (दुई सय) जना नेपाली नागरिकसमेत दैनिक कुल ५०० (पाँच सय) जनाको सङ्ख्यामा नबढ्ने गरी उडान अनुमति दिने। यस्ता उडानबाट आउने व्यक्तिहरूलाई काठमाडौं उपत्यकामा नै तोकिएका स्थानमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाई सङ्क्रमणमुक्त भएको यकिन भएपछि मात्र सम्बन्धित गन्तव्यमा पठाउने व्यवस्था गर्ने। यसरी आउने व्यक्तिहरूलाई आवश्यक क्वारेन्टिनको व्यवस्थापन काठमाडौं उपत्यकाका स्थानीय तहको समन्वयमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) ले गर्ने। यसरी आउने यात्रुको 5 देखि 7 दिनभित्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले RT-PCR परीक्षण गर्ने व्यवस्था मिलाउने।
    ४ट. कोभिड-१९ को विश्‍वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ मा तोकिएका प्रवेश विन्दुहरूबाट आवतजावत गर्ने व्यक्तिहरूको अभिलेख राख्‍ने। प्रवेश विन्दु रहेकै जिल्लामा सम्बन्धित प्रदेश सरकारको समन्वय र नेपाली सेनाको सहयोगमा सम्बन्धित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) ले आवश्यक बेड सङ्ख्याका क्वारेन्टिनको व्यवस्था गर्ने।
    ४ठ. भारततर्फको सीमावर्ती क्षेत्रमा रहेका वस्ती एवं बजारमा कोभिड-19 को सङ्क्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल-भारत सीमाबाट नेपाल प्रवेश गर्न तोकिएका उल्लिखित निश्चित प्रवेश विन्दुहरू (नाका) बाहेक अन्यत्र कुनै पनि स्थानबाट दैनिक रूपमा किनमेलका लागि आवतजावत गर्न, उद्योगका लागि कुनैपनि प्रकारको जनशक्ति/कामदार ल्याउन एवं कुनै पनि प्रकारको आवतजावत हुन नदिने व्यवस्था सम्बन्धित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) ले मिलाउने।
    ४ड. कोभिड-19 को सङ्क्रमणको दर वृद्धि भइरहेको सन्दर्भमा संक्रमितहरूको विश्‍लेषण गरी लक्षण नदेखिएका संक्रमितहरूलाई राख्‍न आवश्यक बेड सङ्ख्याका आइसोलेसन सेन्टर तयार गर्ने। सङ्क्रमणको दर बढिरहेको स्थानमा रहेका अस्पतालको हालको क्षमता अध्ययन गरी लक्षण भएका सङ्क्रमितहरूलाई उपचार गर्ने प्रयोजनको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्रोतसाधनको आवश्यक प्रबन्धसहित निजी अस्पताल तथा शिक्षण अस्पतालहरूलाई प्रयोग गर्नसक्ने गरी वैकल्पिक व्यवस्था मिलाउने।
    ४ढ. हाल सङ्क्रमणको दर बढेका, सङ्क्रमणको उच्च जोखिममा रहेका एवं आवश्यक मात्रामा स्वास्थ्यकर्मीको अभाव देखिएका स्थानहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट तत्काल आवश्यक जनशक्ति खटाई स्वास्थ्य सेवालाई सुदृढ र प्रभावकारी गराउने।”

    साउन २७ ,२०७७
    तस्विर : मन्त्रिपरिषद बैठक /

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस