अन्तराष्ट्रिय चार्टर उडान अन्त्य गरी नियमित हवाई उडान गर्न माग, चार्टर उडानमा अत्यधिक भाडा लिएकोमा विरोध
ट्राभल बिज न्यूज —
काठमाडौँ – नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कुनै पनि हवाई सेवा संचालकहरुलाई अन्तराष्ट्रिय गन्तव्यहरुको लागि चार्टर उडानको अनुमति प्रदान नगर्न तथा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर नेपाल एयरलाइन्सलाई प्राथमिकतामा राखी नेपालमा अन्तराष्ट्रिय उडान गरिरहेका अन्य हवाई सेवाहरुलाई गन्तव्य अनुसार हप्ताको २ – ३ वटा नियमित हवाई उडानका लागि अनुमति प्रदान गर्न माग गरेको छ /
नाट्टाले चार्टर उडानहरुमा अत्यधिक हवाई भाडा असूल गरिएको साथै अनुमति प्राप्त ट्राभल एजेन्सीहरुलाई टिकट जारी गर्ने अनुमति प्रदान नगरिएकोले चार्टर उडान बन्द गर्न माग गरेको हो /
संस्थाले नियमित उडानबाट आवत जावत गर्ने विदेशी तथा नेपाली नागरिकहरुको लागि कोरोना संक्रमणलाई दृष्टिगत गरी नेपाल सरकारद्वारा लागू गरिएको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराएर मे २५, २०२१ देखि अन्तराष्ट्रिय नियमित उडानको लागि अनुमति प्रदान गर्न सरकारसंग माग गरेको छ /
” नेपालमा व्यापक रुपले फैलिरहेको कोरोना भाईरसको दोश्रो लहरका कारण नेपाल सरकारद्वारा निषेधाज्ञा जारी गरिएको तथा निषेधाज्ञाको अवधिभर सम्पूर्ण आन्तरिक र अंतराष्टिय हवाई उडानहरुमा रोक लगाइएको कारणले विशेष गरी नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु आफ्नो भ्रमण समापन गरी गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकहरुको विवरण संकलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरेर कम्तिमा प्रत्येक साता २–३ वटा नियमित अन्तराष्ट्रिय हवाई उडानको व्यवस्था गर्न ” सो संस्थाले सरकारको ध्यानाकर्षण गराएको छ /
नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले विगतमा पनि उद्धार उडानका नाममा भएका अंतराष्ट्रिय चार्टड उडानहरु धेरै विवादास्पद भएकोले पर्यटनसंग सम्बन्धित संघ संस्थाहरुको विरोध पछि नेपाल सरकारले नियमित उडानको अनुमति दिएकोमा अहिलेको निषेधाज्ञा अवधिमा पनि त्यस्ता चार्टर उडानहरुको अनुमति खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ /
यसैबीच हिमालय एअरलाइन्सले भारतीय नागरिकहरुलाई काठमाडौँ बाट साउदी अरेबिया पुरयाउन मे १८ मा दामनको चार्टर उडान गर्ने जानकारी दिएको छ /
नेपाली नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय दूतावासको आग्रहमा सातामा १० उडान मार्फत भारतीयलाई साउदी अरेबिया जान अनुमति दिएको हो । नेपाल वायुसेवा निगमले हप्तामा ७ र हिमालय एयरलाइन्सले ३ उडान गर्न अनुमति पाएका छन् ।
नेपाल आएर १० दिन क्वारेन्टिन बसेको, पिसिआर परीक्षण गरेको र भारतीय दूतावासको पत्र लिएर आउनेले साउदी अरेबिया जान पाउने छन् /साउदी अरबले भारतसँग सीधा उडान बन्द गरेकोले भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी अरेबिया जाने क्रम बढेको छ /
यसैबीच नेपालको हवाई मार्ग भएर साउदी अरेबिया जान निषेधाज्ञा अघि काठमाडौं आइ अलपत्र परेका कम्तीमा २ हजार भारतीय नागरिकसँग चार्टर भाडा चर्को लिइएपछि भारतीय दूतावासले नेपाल सरकारलाई पत्र पठाउँदै ध्यानाकर्षण गराएको छ /
काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारलाई लेखेको पत्रमा टिकट बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का केही सदस्य ट्राभल एजेन्टले टिकटमा अत्यधिक कमिशन शुल्क लिइरहेकाले हस्तक्षेप गर्न अनुरोध गरेको छ ।
नेपाल सरकारले आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ भने जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ /
जेठ ४ , २०७८