• बहुचर्चित पर्यटकीय गाउँ ‘सिरुबारी’

    बहुचर्चित  पर्यटकीय गाउँ ‘सिरुबारी’

    सिरुबारी (स्याङ्जा) – ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् ।

    क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा वि.सं.२०५४ मा सिरुबारी घरबास सञ्चालनमा आएको थियो । सत्ताइस वर्ष अगाडि स्थापना भएर सञ्चालनमा आएको सिरुबारी घरबास पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ । सडक सञ्जालको सहज पहुँच र प्रचारप्रसारले गर्दा दिन प्रतिदिन यहाँ आउने पर्यटक बढिरहेका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहनसँगै यहाँको बाक्लो बस्तीले धेरैलाई आकर्षित गर्ने गरेको छ । हाल २१ वटा घरमा घरबास सञ्चालनमा छन् । दैनिक एक सय ६० जना पाहुन राख्नसक्ने क्षमता यहाँका घरबासको छ ।

    पाहुनाको आगमन बढ्न थालेपछि घरबास सञ्चालकले धान्न नसक्ने स्थिति आएको घरबास सञ्चालक बताउँछन् । यहाँ आउने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयले स्वागत गर्छन् । बाजागाजाका साथ फूलमाला पहिर्याएर स्वागत गरी स्थानीयले पाहुनालाई गाउँ बीचमा रहेको गुम्बामा पुर्याउँछन् । गुम्बामा सगुन खुवाई बास बस्नका लागि घर तोकिन्छन् । पाहुनाहरु तोकिएकै घरमा गएर बस्ने गर्छन् । राति ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाएर करिब ११ बजेसम्म मौलिक संस्कृतिमा मनोरञ्जन प्रदान गरिन्छ । सिरुबारीमा पुग्ने पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन् ।

    पछिल्लो पाँच वर्षमा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको सिरुबारी सामुदायिक घरबासकी संयोजक उर्मिला गुरुङले बताउनुभयो । उहाँका अनुसार पहिले विदेशी पर्यटक मात्रै आउने गरेकामा अहिले धेरै आन्तरिक पर्यटक पनि आउन थालेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण पर्यटन भन्ने विषय धेरैलाई जानकारी नहुँदा विदेशी पर्यटक मात्रै आउने गरेको भन्दै पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालन भएसँगै प्रचारप्रसार र सरकारका पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न नीतिका कारण आन्तरिक पर्यटकको पनि घुइँचो लाग्न थालेको गुरुङले बताउनुभयो । पछिल्लो समय आन्तरिक तथा बाह्य गरी महिनामा झण्डै तीन हजारसम्म पर्यटक आउने गरेका उहाँको भनाइ छ ।

    असार र साउनमा पर्यटक आगमन निकै कम हुने गरेको भन्दै असोजदेखि यहाँ सञ्चालित सबै घरबास दैनिकजसो भरिभराउ हुने संयोजक गुरुङले जानकारी दिनुभयो । पर्यटकको आगमनमा वृद्धि भएसँगै यहाँ आउनु एक÷दुई दिन अगाडि नै ‘बुकिङ’ गर्नुपर्ने स्थिति आएको उहाँको भनाइ छ ।

    पर्यटकले यहाँका घर, बाटो र स्वागत सत्कारलाई बढी मन पराउने प्रतिक्रिया दिने गरेका गुरुङले बताउनुभयो । “अहिले धेरै पर्यटक आउन थाल्नुभएको छ । कहिलेकाहीँ त यहाँका घरबासले धान्नै मुस्किल हुन्छ”, उहाँले भन्नुभयो, “सुरुमा विदेशी पर्यटकमात्रै आउने गरेकामा पछिल्लो समय ग्रामीण पर्यटनका बारेमा प्रचारप्रसारका साथै सरकारका विविध नीतिले आन्तरिक पर्यटक पनि बढ्न थालेका छन् ।”

    सरकारले वि.सं.२०६७ मा होमस्टे सञ्चालनसम्बन्धी कार्यविधि बनाएसँगै विस्तारै धेरै पर्यटकीय गन्तव्यमा होमस्टे सञ्चालनमा आउन थालेका गुरुङको भनाइ छ । “अहिले यहाँ हरेक महिना दुई हजार पाँच सयदेखि तीन हजारसम्म पाउना आउने गरेका छन् । यो वर्ष १५ हजार पाहुन आएनुभएको छ । यो सङ्ख्या बर्सेनि बढिरहेको छ”, उहाँले भन्नुभयो । सिरुबारी सामुदायिक घरबासका अध्यक्ष जीतेन्द्र गुरुङले संस्कृतिक कार्यक्रम तथा सरसफाइका कारण धेरै पर्यटक यहाँ आउने गरेका बताउनुभयो । देश तथा विदेशबाट आउने हरेक पर्यटकले आफूहरुले गर्ने सत्कार, परम्परागत घर तथा वेषभूषाको प्रशंसा गर्ने गरेका उहाँको भनाइ छ ।

    घरबासमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिने र पाहुनाले माग गरेअनुसारका परिकार उपलब्ध गराउने हुँदा धेरैको रोजाइमा सिरुबारी परेको अध्यक्ष गुरुङले बताउनुभयो । “पाहुना आउनेबित्तिकै परम्परागत पोशाकमा बाजागाजासहित प्रवेशद्वारमा स्वागत गर्न पुग्छौँ । यसले पाहुनालाई बढी आकर्षित गरेको पाएका छौँ । यहाँको खाना, हाम्रो जनजीवन र मिलेको बस्ती उहाँहरुलाई बढी मन पर्दोरहेछ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष गुरुङले सडक सञ्जालको सहज पहुँच र विस्तारले पनि पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको बताउनुभयो । “अहिले धेरैतिरबाट यहाँ आउने सडकको सुविधा भएको छ । यसले गर्दा आन्तरिक पर्यटकको आगमन बढेको हो”, उहाँले भन्नुभयो, “दिनदिनै पर्यटकको सङ्ख्या बढ्दा उत्साहित भएका छौँ । सङ्ख्या व्यवस्थापनमा केही समस्या भने हुने गरेको छ ।” सिरुबारी पुग्ने जोकोही पाहुना यहाँको आतिथ्यता, खानाको परिकार र कलासंस्कृतिले लोभिने गर्छन् । एक पटक पुगेका पाहुनाले पुनः अर्को पटक आउने इच्छा राख्छन् । धेरैजसो पाहुनाहरु पारिवारिक घुमघाम र अध्ययन÷अवलोकनका लागि यहाँ आउने गरेका अध्यक्ष गुरुङको भनाइ छ ।

    उहाँका अनुसार सरुबारी आउनेले वास्तविक ग्रामीण जनजीवन बुझेर जाने गर्छन् । चितवनबाट घुम्न आउनुभएकी देवी शर्माले सिरुबारीमा वास्तविक ग्रामीण जीवनशैली देख्न पाइने बताउनुभयो । खास गरी सहर बजारमा बस्नेले गाउँका परिवेश थाहा नहुने भन्दै बालबालिका लिएर यहाँको अध्ययन-अवलोकनमा आएको उहाँको भनाइ छ । सिरुबारी गाउँले कला, संस्कृति र परम्परा मात्र नभई एउटा इतिहास सिकाउने थलो रहेको शर्माले बताउनुभयो । “यो गाउँले साँच्चिकै संस्कार सिकाउँदो रहेछ, म पहिलो पटक आएको यहाँका घर, बाटो र मानिसको व्यवहार देख्दा निकै खुसी लाग्यो”, उहाँले भन्नुभयो, “सफा ठाउँ, रमणीय दृश्य, अतिथिको स्वागत र सत्कार गर्ने फरक शैली, खानपान र बास स्थानलगायत कुराले यहाँ आउनेलाई आकर्षित गर्दछ । अहिलेको परिवेशमा पनि यो गाउँको कला, संस्कृति र संस्कारले ठूलो पाठ सिकाउछ ।”

    भैरहवाबाट सिरुबारी अवलोनका लागि आउनुभएको हरिप्रसाद ज्ञवालीले स्थानीयले प्रदर्शन गर्ने मौलिक गीत र नृत्यले आफू प्रभावित बनेको बताउनुभयो । पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालनमा आए पनि पुराना कला, संस्कृति भने कमैमात्रामा देखाउने गरेको उहाँको भनाइ छ । ज्ञवालीले गाउँमा रहेका सबै घरबासमा पुगेर व्यवस्थापनको अवलोकन गरेको सुनाउँदै यहाँको सुत्ने, खाना खाने ठाउँ र घरहरु बीचमा रहेको गल्लीले बजारकोसमेत झल्को दिने बताउनुभयो । रासस जेठ २०८१

    • मनाङमा विदेशी पर्यटकको आकर्षण

      घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

      विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्याङ्क रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

      यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उहाँका अनुसार तीन वर्षको वार्षिक तथ्याङ्कअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ ।

      हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताउनुभयो । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उहाँले जानकारी दिनुभयो ।

      दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताउनुभयो । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ ।

      सन् २०२३ मा २१ हजार दुई सय ४७ पर्यटक भित्रिएको तथ्याङ्कमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङ्रा भञ्ज्याङ, तिलिचो ताल, गङ्गापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन्, भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको इकाईका प्रमुख भुजेलले जानकारी दिनुभयो ।

      सन् २०२२ मा १५ हजार आठ सय ५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए । यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौंँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम विस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । यसका साथै अमेरिका, अष्टे«लिया, चीन, रसिया, नेदरल्याण्ड, पोल्याण्डलगायत एक सय २५ देशका नागरिक यहाँ आउने गरेका इकाईका प्रमुख भुजेलले उल्लेख गर्नुभयो ।

      कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

      अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएका छन् ।

      काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस

      लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटक सङ्ख्या २५ हजार 

      रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिनुभयो ।

      यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको बहालबाट दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व सङ्कलन गरेको जनाएको छ ।

      निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताउनुभयो । निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाका लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ ।

      यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवम् जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ । गोसाईकुण्ड जादाँ काठे-लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गर्नुभयो ।

      धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेतको लठ्ठी प्रयोग गर्नुभएकाले  भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताउनुभयो । यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिस्ट्रेसन पारित गरेको जनाएको छ ।

      मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन् । रजिस्टेसन, नामसारी, जरिवाना, पूँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५  राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला-पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि  टेलिभिजनको व्यवस्था गरिएको छ । रासस

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा