• बहुचर्चित पर्यटकीय गाउँ ‘सिरुबारी’

    बहुचर्चित  पर्यटकीय गाउँ ‘सिरुबारी’

    सिरुबारी (स्याङ्जा) – ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् ।

    क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा वि.सं.२०५४ मा सिरुबारी घरबास सञ्चालनमा आएको थियो । सत्ताइस वर्ष अगाडि स्थापना भएर सञ्चालनमा आएको सिरुबारी घरबास पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ । सडक सञ्जालको सहज पहुँच र प्रचारप्रसारले गर्दा दिन प्रतिदिन यहाँ आउने पर्यटक बढिरहेका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहनसँगै यहाँको बाक्लो बस्तीले धेरैलाई आकर्षित गर्ने गरेको छ । हाल २१ वटा घरमा घरबास सञ्चालनमा छन् । दैनिक एक सय ६० जना पाहुन राख्नसक्ने क्षमता यहाँका घरबासको छ ।

    पाहुनाको आगमन बढ्न थालेपछि घरबास सञ्चालकले धान्न नसक्ने स्थिति आएको घरबास सञ्चालक बताउँछन् । यहाँ आउने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयले स्वागत गर्छन् । बाजागाजाका साथ फूलमाला पहिर्याएर स्वागत गरी स्थानीयले पाहुनालाई गाउँ बीचमा रहेको गुम्बामा पुर्याउँछन् । गुम्बामा सगुन खुवाई बास बस्नका लागि घर तोकिन्छन् । पाहुनाहरु तोकिएकै घरमा गएर बस्ने गर्छन् । राति ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाएर करिब ११ बजेसम्म मौलिक संस्कृतिमा मनोरञ्जन प्रदान गरिन्छ । सिरुबारीमा पुग्ने पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन् ।

    पछिल्लो पाँच वर्षमा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको सिरुबारी सामुदायिक घरबासकी संयोजक उर्मिला गुरुङले बताउनुभयो । उहाँका अनुसार पहिले विदेशी पर्यटक मात्रै आउने गरेकामा अहिले धेरै आन्तरिक पर्यटक पनि आउन थालेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण पर्यटन भन्ने विषय धेरैलाई जानकारी नहुँदा विदेशी पर्यटक मात्रै आउने गरेको भन्दै पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालन भएसँगै प्रचारप्रसार र सरकारका पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न नीतिका कारण आन्तरिक पर्यटकको पनि घुइँचो लाग्न थालेको गुरुङले बताउनुभयो । पछिल्लो समय आन्तरिक तथा बाह्य गरी महिनामा झण्डै तीन हजारसम्म पर्यटक आउने गरेका उहाँको भनाइ छ ।

    असार र साउनमा पर्यटक आगमन निकै कम हुने गरेको भन्दै असोजदेखि यहाँ सञ्चालित सबै घरबास दैनिकजसो भरिभराउ हुने संयोजक गुरुङले जानकारी दिनुभयो । पर्यटकको आगमनमा वृद्धि भएसँगै यहाँ आउनु एक÷दुई दिन अगाडि नै ‘बुकिङ’ गर्नुपर्ने स्थिति आएको उहाँको भनाइ छ ।

    पर्यटकले यहाँका घर, बाटो र स्वागत सत्कारलाई बढी मन पराउने प्रतिक्रिया दिने गरेका गुरुङले बताउनुभयो । “अहिले धेरै पर्यटक आउन थाल्नुभएको छ । कहिलेकाहीँ त यहाँका घरबासले धान्नै मुस्किल हुन्छ”, उहाँले भन्नुभयो, “सुरुमा विदेशी पर्यटकमात्रै आउने गरेकामा पछिल्लो समय ग्रामीण पर्यटनका बारेमा प्रचारप्रसारका साथै सरकारका विविध नीतिले आन्तरिक पर्यटक पनि बढ्न थालेका छन् ।”

    सरकारले वि.सं.२०६७ मा होमस्टे सञ्चालनसम्बन्धी कार्यविधि बनाएसँगै विस्तारै धेरै पर्यटकीय गन्तव्यमा होमस्टे सञ्चालनमा आउन थालेका गुरुङको भनाइ छ । “अहिले यहाँ हरेक महिना दुई हजार पाँच सयदेखि तीन हजारसम्म पाउना आउने गरेका छन् । यो वर्ष १५ हजार पाहुन आएनुभएको छ । यो सङ्ख्या बर्सेनि बढिरहेको छ”, उहाँले भन्नुभयो । सिरुबारी सामुदायिक घरबासका अध्यक्ष जीतेन्द्र गुरुङले संस्कृतिक कार्यक्रम तथा सरसफाइका कारण धेरै पर्यटक यहाँ आउने गरेका बताउनुभयो । देश तथा विदेशबाट आउने हरेक पर्यटकले आफूहरुले गर्ने सत्कार, परम्परागत घर तथा वेषभूषाको प्रशंसा गर्ने गरेका उहाँको भनाइ छ ।

    घरबासमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिने र पाहुनाले माग गरेअनुसारका परिकार उपलब्ध गराउने हुँदा धेरैको रोजाइमा सिरुबारी परेको अध्यक्ष गुरुङले बताउनुभयो । “पाहुना आउनेबित्तिकै परम्परागत पोशाकमा बाजागाजासहित प्रवेशद्वारमा स्वागत गर्न पुग्छौँ । यसले पाहुनालाई बढी आकर्षित गरेको पाएका छौँ । यहाँको खाना, हाम्रो जनजीवन र मिलेको बस्ती उहाँहरुलाई बढी मन पर्दोरहेछ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष गुरुङले सडक सञ्जालको सहज पहुँच र विस्तारले पनि पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको बताउनुभयो । “अहिले धेरैतिरबाट यहाँ आउने सडकको सुविधा भएको छ । यसले गर्दा आन्तरिक पर्यटकको आगमन बढेको हो”, उहाँले भन्नुभयो, “दिनदिनै पर्यटकको सङ्ख्या बढ्दा उत्साहित भएका छौँ । सङ्ख्या व्यवस्थापनमा केही समस्या भने हुने गरेको छ ।” सिरुबारी पुग्ने जोकोही पाहुना यहाँको आतिथ्यता, खानाको परिकार र कलासंस्कृतिले लोभिने गर्छन् । एक पटक पुगेका पाहुनाले पुनः अर्को पटक आउने इच्छा राख्छन् । धेरैजसो पाहुनाहरु पारिवारिक घुमघाम र अध्ययन÷अवलोकनका लागि यहाँ आउने गरेका अध्यक्ष गुरुङको भनाइ छ ।

    उहाँका अनुसार सरुबारी आउनेले वास्तविक ग्रामीण जनजीवन बुझेर जाने गर्छन् । चितवनबाट घुम्न आउनुभएकी देवी शर्माले सिरुबारीमा वास्तविक ग्रामीण जीवनशैली देख्न पाइने बताउनुभयो । खास गरी सहर बजारमा बस्नेले गाउँका परिवेश थाहा नहुने भन्दै बालबालिका लिएर यहाँको अध्ययन-अवलोकनमा आएको उहाँको भनाइ छ । सिरुबारी गाउँले कला, संस्कृति र परम्परा मात्र नभई एउटा इतिहास सिकाउने थलो रहेको शर्माले बताउनुभयो । “यो गाउँले साँच्चिकै संस्कार सिकाउँदो रहेछ, म पहिलो पटक आएको यहाँका घर, बाटो र मानिसको व्यवहार देख्दा निकै खुसी लाग्यो”, उहाँले भन्नुभयो, “सफा ठाउँ, रमणीय दृश्य, अतिथिको स्वागत र सत्कार गर्ने फरक शैली, खानपान र बास स्थानलगायत कुराले यहाँ आउनेलाई आकर्षित गर्दछ । अहिलेको परिवेशमा पनि यो गाउँको कला, संस्कृति र संस्कारले ठूलो पाठ सिकाउछ ।”

    भैरहवाबाट सिरुबारी अवलोनका लागि आउनुभएको हरिप्रसाद ज्ञवालीले स्थानीयले प्रदर्शन गर्ने मौलिक गीत र नृत्यले आफू प्रभावित बनेको बताउनुभयो । पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालनमा आए पनि पुराना कला, संस्कृति भने कमैमात्रामा देखाउने गरेको उहाँको भनाइ छ । ज्ञवालीले गाउँमा रहेका सबै घरबासमा पुगेर व्यवस्थापनको अवलोकन गरेको सुनाउँदै यहाँको सुत्ने, खाना खाने ठाउँ र घरहरु बीचमा रहेको गल्लीले बजारकोसमेत झल्को दिने बताउनुभयो । रासस जेठ २०८१

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस