• कोभिड नेपालः सगरमाथा आधार शिविरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको आशङ्का

    कोभिड नेपालः सगरमाथा आधार शिविरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको आशङ्का

    नवीनसिं खड्का (पर्यावरण संवाददाता, बीबीसी विश्व सेवा )

    सगरमाथाको आधार शिविरमा भएका पर्वतारोही र नेपाल सरकारले खटाएका अधिकारीहरूले कोभिड-१९ को लक्षण भएका आरोहीको सङ्ख्या तथा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको बीबीसीलाई बताएका छन्। उनीहरू सगरमाथा क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण प्रकोपका रूपमा फैलिने त्रासमा देखिन्छन्।

    आधार शिविरमा भएका अधिकारीहरूका अनुसार सगरमाथाबाट उपचारका लागि काठमाण्डू पठाइएका आरोहीमध्ये १७ जनामा कोभिड पुष्टि भएको विवरण प्राप्त भएको छ।

    काठमाण्डूस्थित एउटा निजी अस्पतालकी एक कर्मचारीले सगरमाथा आधार शिविरबाट फर्किएका बिरामीमा कोभिड-१९ देखिएको बीबीसीसँग पुष्टि गरिन्।

    नेपाल सरकारले यो विवरण तयार पार्दासम्म आधार शिविरमा कोभिड देखिएकोबारे आफूलाई जानकारी नभएको दाबी गरेको छ। पर्वतारोहण अभियान बन्द गर्न धेरै दबाव पर्न सक्ने डरले अधिकारीहरूले त्यहाँको यथास्थितिबारे सूचना नदिएको हो कि भन्ने आशङ्का उत्पन्न भएको हो।

    नेपाल सरकारका लागि पर्वतारोहणका आउने विदेशी पर्यटकले अनुमति लिँदा बुझाउने शुल्क राजस्व सङ्कलनको एउटा ठूलो स्रोत हो।

    गत वर्ष कोभिड-१९ महामारीका कारण सगरमाथामा पर्वतारोहण भएको थिएन।

    यसपालि सगरमाथा चढ्न नेपाल आएका आरोहीहरूलाई आधार शिविरतिर जानुअघि क्वारन्टीनमा बस्न भनिएको थियो। सगरमाथामा कोभिड नराम्रो फैलिए त्यसले ठूलो क्षति पुर्‍याउने हो कि भन्ने चिन्ता पर्वतारोहीहरूको समुदायमा देखिएको छ।

    केही सातायता नेपालमा कोभिडका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको हो। नेपालको सङ्क्रमण दर उच्चतम भएको तथ्याङ्कहरूले सङ्केत गर्छन्।

    पर्वतारोहण अभियानसँग सम्बन्धित विषय हेर्ने नेपालको पर्यटन विभागसँग सम्पर्क हुन सकेन। तर संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका उपसचिव प्रेम सुवेदीले आधार शिविरमा कोरोनाभाइरस फैलिएको विषयमा मन्त्रालय अनभिज्ञ भएको बीबीसीलाई बताए।

    “अहिलेसम्म पर्यटन मन्त्रालयमा सगरमाथा आधार शिविरका कोभिडको कुनै मामिलाबारे जानकारी दिइएको छैन,” उनले भने।

    सगरमाथा आधार शिविरमा मेडिकल क्लिनिक सञ्चालन गर्ने हिमालयन रेस्क्यू असोसीएशनले त्यहाँबाट हेलिकप्टरबाट काठमाण्डू लगिएका केही आरोहीहरूमा कोभिड पुष्टि भएको सूचना आफूले पाएको बीबीसीलाई बताएको छ।

    “हामीले भर्खरै सत्र जनामा सङ्क्रमण पुष्टि भएको सूचना काठमाण्डूबाट पाएका छौँ,” उक्त संस्थाका ल्हाक्पा नुरु शेर्पाले भने।

    “अहिले हामीले पर्वतारोहण टोलीलाई बिरामी परेका आफ्ना सदस्यलाई [काठमाण्डू] पठाउनुअघि हामीलाई भन्न आग्रह गरेका छौँ,” उनले भने, “त्यसो गर्दा हामीलाई के हुँदैछ भन्ने थाहा हुन्छ।”

    आधार शिविरमा अवस्थित क्लिनिकमा कार्यरत डा. प्रकाश खरेलका अनुसार निरन्तर लाग्ने खोकी र ज्वरोजस्ता कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखा पर्ने लक्षण भएका मानिसको सङ्ख्या बढिरहेको छ।

    “लगभग सबै पर्वतारोहीलाई यहाँ खोकी लाग्छ। तर हामीले अरू लक्षण भएका मानिस पनि फेला पारेका छौँ अनि उनीहरूलाई अलग्गै राख्न प्रयास गरेका छौँ,” डा. खरेलले भने।

    काठमाण्डूस्थित सिवेक क्लिनिकले पनि सगरमाथाबाट आफूकहाँ आएका बिरामीमा कोभिड भएको पुष्टि गर्‍यो।

    “हामीकहाँ सगरमाथा क्षेत्रबाट आएका बिरामी थिए जो परीक्षण गर्दा दुई साताअघि हाम्रै अस्पतालमा सङ्क्रित देखिए,” सिवेककी कर्मचारी आस्था पन्तले भनिन्। “तर अहिले हामी कति जना भन्ने वा अन्य सूचना दिन सक्दैनौँ।”

    कोरोनाभाइरस महामारीका कारण पोहोर सगरमाथामा पर्वतारोहण रोकिएको थियो /

    एउटा ठूलो आरोहण टोलीले आफ्ना केही सदस्यमा कोरोनाभाइरस देखिएको तर अहिले उनीहरू निको भइसकेको बतायो। तर उसले आफ्नो टोलीको नाम उल्लेख नगरिदिन आग्रह गरेको छ।

    नर्वेका आरोही एर्लेन्ड नेसले बीबीसीलाई गत महिना आफूलाई काठमाण्डूका दुई अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण भएको देखिएको बताए।

    पहिला उनलाई लेक लागेको भन्ठानिएको थियो। तर हवाई उद्धार गरेर काठमाण्डू लगेपछि कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भयो। कोरोनाभाइरस सङ्क्रमण हुँदा लेक लागेको समस्या भनेर झुक्किने डर पर्वातारोहीहरूको छ।

    “तपाईँ मानिसहरू खोकिरहेको जहाँ पनि सुन्नुहुन्छ,” फुर्टेन्बाक एन्ड्भेन्चर्सका टोली नेता लुकास फुर्टेन्बाकले बीबीसीलाई सगरमाथा आधार शिविरबाट भने। “तर यो पर्वतारोहीहरूलाई यहाँ सामान्यतया लाग्ने खोकी हैन। मानिसहरू पीडित भएको र उनीहरूलाई ज्वरो तथा जीउ दुख्ने लक्षण भएको तपाईँ बुझ्न सक्नुहुन्छ।”

    पर्यटन विभागको वेबसाइटका अनुसार यसपालि एप्रिल २६ सम्म नेपाल सरकारले पर्वतारोहणका लागि ३९४ वटा अनुमति दिएको छ। ती सबै अभियानका लागि सगरमाथा क्षेत्रमा पुग्ने मानिसको सङ्ख्या १,५०० पुग्छ। तीमध्ये अधिकांश सहयोगीहरू हुन्छन्।

    आधार शिविरमा भएका अधिकारीहरूले काठमाण्डूबाट कोभिडको उपचार गरेर वा अनुकूलनका लागि गएर फर्किने आरोहीहरूबारे चिन्ता भएको बताएका छन्।

    “उनीहरू आफू निको भएका हुन सक्छन् तर काठमाण्डूमा अवस्था गम्भीर भएकाले आफूसँग भाइरस ल्याएका हुन सक्छन्,” नेपाली सेनाका एक अधिकारीले भने। “तसर्थ हामीले आरोहीहरूलाई पर्यनुकूलनको चक्रका लागि काठमाण्डू नभएर आधार शिविरभन्दा तल जान सुझाव दिएका छौँ।”

    सगरमाथा आधार शिविरमा भएका पर्वतारोही र अधिकारीहरूले त्यहाँ कोरोनाभाइरस परीक्षण गर्ने सुविधा नहुँदा अप्ठेरो भएको बताएका छन्।

    “हामीले परीक्षणको सुविधा व्यवस्था गरियोस् भनेर सरकारसँग अनुरोध गरेका थियौँ। तर उनीहरूले अनुमति दिएनन्,” डा. खरेलले भने।

    केही ठूला टोलीहरूले आफूसँगै परीक्षणका लागि आवश्यक किट ल्याएको बताएका छन्। त्यसबाट सङ्क्रमणको सङ्केत देखिए सदस्यहरूलाई समयमै अलग्गै राख्न तथा उद्धार गरेर काठमाण्डू पठाउन सजिलो भएको छ।

    हिमालयन रेस्क्यू असोसीएशनका अधिकारीहरूले आफूले सगरमाथा आधार शिविरमा भएका १७ पर्वतारोहीहरूमा सङ्क्रमण पुष्टि भएको प्रतिवेदन भर्खरै पाएको बतायो।

    “पुष्टि भएका सङ्क्रमित र आरोहीको परिचयसम्बन्धी विवरण यसअघि नपाउनु दुःखको कुरा हो,” आधार शिविरमा खटिएका एक सैन्य अधिकृतले बीबीसीलाई भने।

    “त्यसले हामीलाई संसर्गमा आएका मानिसको पहिचान गर्न तथा कोरोनाभाइरस थप फैलिन नदिन काम गर्न सघाउँथ्यो,” उनले भने,”सङ्क्रमण पुष्टि भएकाहरूसँग सम्पर्कमा आएका आरोहीहरूलाई हामी धेरै अघि नै अलग्ग राख्न सक्थ्यौँ ।

    साभार – बीबीसी नेपाली बैशाख २२ , २०७८

    तस्विर – सगरमाथा आधार सिविर / लुकास फ़ुर्तन्बक

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस