• हिन्दू तथा बौद्धहरूको प्रसिद्ध धार्मिक स्थल – पाथीभरा

    हिन्दू तथा  बौद्धहरूको प्रसिद्ध धार्मिक स्थल – पाथीभरा

    पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट एक दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्‍तु”को अर्थ शक्ति वा बल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

    नेपालको पहिलो घामको झुल्को पर्ने जिल्लाको रुपमा परिचित यो सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ। जिल्लाको सबैभन्दा प्रसिद्ध कञ्चनजंघा र धार्मिक आस्थाकी धरोहर पाथीभरा देवी साक्षत शक्तिपीठ हुन्। वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ। आफ्नो मनोकांक्षा हुने अभिप्रायले पाथीभरा मन्दिरमा पूजाआजा गर्न नेपालका सबै क्षेत्र तथा भारतको आसाम, दार्जीलिङ र तेस्रो देशका पर्यटकहरु यहाँ आउने गर्दछन ।

    उत्पति : किम्बदन्ती तथा जनश्रुति

    पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

    विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी

    पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । ूमनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला ९नछुने वा पर सरेकी० भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छू भन्ने जनधारणा रहिआएको छ ।

    पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि ९एक किसिमको अनिवार्य रूपमा चढाउने गर्दछन ।

    पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू हुन् – कञ्चनजंघा (सेवालुङ) ८५८६ मि. ,कञ्चनजंघा ८४८२ मि., कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि. काङबाचेन ७९०३ मि. ,कञ्चनजंघा ८४७६ मि., मकालु ८४६३ मि. , लोत्से ८५१६ मि., नोत्से ७८५५ मि.

    पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न र न्युनताप बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम-फिदिम- हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार – तल्लो फेदी – उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरान बाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुर बाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।

    जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ – हवाई मार्ग – काठमाण्डाैं— ताप्लेजुङ (सुकेटार) सडक मार्ग (२३७ कि.मी.) , बिर्तामोड — ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै (बस -साधारण र डिलक्स तथा जीप),पैदल यात्रा -(धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ (फुङ्गलिङ) २ दिन /

    यस मन्दिरको व्यवस्थापन कार्य पाथीभरा क्षेत्र विकास समिति अन्तरगत गठित एक समितिले गर्ने गरेको छ। व्यवस्थापन समितिले यात्रुहरूका लागि विश्रामस्थल, कम्बल र खानेपानी आदिको व्यवस्थापन लगायतका कार्य गर्दछ। मन्दिरमा बर्षेनी लाखौं भक्तजनहरूले दर्शन गर्न आउने र तिनले करोड भन्दा बढी रूपैयाँ भेटी चढाउने गरेका छन्। साभार : पाथीभरा क्षेत्र विकास समिति
    जेठ २०८१

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस