• नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण राेक्न पर्यटन मन्त्रालयको निर्देशन

    नारायणहिटी दरबार संग्रहालयभित्र  रेस्टुरेन्ट निर्माण राेक्न पर्यटन मन्त्रालयको निर्देशन

    ट्राभल बिज न्यूज —

    काठमाडौं – राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्न पल्केकाहरुले एक ब्यापारिक समूहसंगको मिलेमितोमा नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट सन्चालन गर्न दिने निर्णय गरेपछि बतास समूहले विना स्वीकृति रेस्टुरेन्ट सरचना निर्माण गरेको सम्वन्धमा सामाजिक संजालमा ब्यापक विरोध भए फलस्वरूप सरकार तत्कालका लागि सो निर्णय रद्द गर्न वाध्य भएको छ /

    नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट सन्चालन गर्न विगत वर्षमा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र पर्यटन सचिव यादव कोइराला टोलीले स्वीकृति दिएका थिए , यद्द्यपि अहिले त्यस निर्णयको सर्वत्र आलोचना भएपछि भट्टराईले यस प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् /

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पर्यटन मन्त्रालयको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको छ /

    नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्ट प्रा.लिलाई दिएको पत्रमा उल्लेख गरिएको छ – ” सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’” /

    नारायणहिटी परिसरमा रेस्टुरेन्ट सन्चालन गर्न लागेको सम्वन्धमा पहिलो जानकारी दिदै गोरखापत्र दैनिकमा समाचारदाता देवबहादुर कुँवरले पुस १९, २०७८ मा लेखेका थिए —

    ” ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास नगरिएको पाइएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार निजी तथा सरकारी जग्गामा कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास अनिवार्य गरिएको छ तर नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणाधीन रेस्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य जारी छ । महानगरपालिका वडा नम्बर १ का प्रशासकीय अधिकृत सर्वज्ञराज पौडेलले सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दैछ भन्ने जानकारीसमेत कतैबाट नदिएको बताउनुभयो ।

    नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिले एक वर्षअघि सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको जग्गा भाडामा दिएको हो । त्यसैअनुसार अहिले संरचना बन्दै गरेका हुन् । नारायणहिटी दरबार क्षेत्र करिब ७५४ रोपनीमा फैलिएको छ ।

    तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामको कम्पनीलाई भाडामा दिइएको सङ्ग्रहालयकै कर्मचारी बताउँछन् । उक्त कम्पनी बतास समूहअन्तर्गतको हो ।

    सो जग्गा भाडामा लगाउन समितिले २०७७ साउनमा कोभिड–१९ निषेधाज्ञाको समयमा बोलपत्र आह्वान गरेको थियो । सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले बोलपत्रअनुसार सम्झौता गरिएको बीपीएसले मासिक दुई लाख २० हजार रुपियाँ बुझाउने र हरेक तीन वर्षमा सम्झौता थप्ने गरी सो जग्गा भाडामा लिएको जानकारी दिनुभयो तर दरबारमार्ग क्षेत्रमा प्रतिसटर भाडा प्रतिमहिना पाँच लाखदेखि १५ लाख रुपियाँसम्म रहेको व्यवसायीले बताएका छन् ।

    असारबाट भाडा शुल्क लिने सहमति भए पनि निर्माण अवधिभर भाडा नलिने, विपत् तथा महामारीको अवस्थामा छुट दिने, प्रतिवर्ष १० प्रतिशत वृद्धि गरी नयाँ निर्मित संरचनाको प्रतिवर्गमिटर थप ३५ रुपियाँ भाडा लिने जस्ता सर्त राखिएका छन् ।

    यसबाहेक रेस्टुरेन्टले सङ्ग्रहालयको मुख्य प्रवेशद्वार मात्र नभई पार्किङ क्षेत्रसमेत प्रयोग गर्न पाउने सहमति गरिएको छ । हाल पार्किङको भाडा सङ्ग्रहालयले नै उठाउँदै आएको छ । रेस्टुरेन्ट सञ्चालनमा आएपछि ठेक्कामा दिने विषयमा छलफल भइरहेको बताइएको छ ।

    उक्त रेस्टुरेन्ट सञ्चालन नगर्दै उक्त समूहले बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टको नाम परिवर्तनको प्रक्रिया सुरु गरेको पाइएको छ । बी म्यानेजमेन्टका नाममा परिवर्तनको प्रक्रिया सुरु गरेको र आफूहरूले निर्माणको काम सुरु गरेको बी म्यानेजमेन्टकै सञ्चालक शिवहरि पुडासैनीले बताउनुभयो । बी म्यानेजमेन्टले नै गत असारबाट रेस्टुरेन्टका लागि आवश्यक नयाँ भवन, लाइभ म्युजिक तथा डान्स स्टेजलगायत धमाधम निर्माण कार्य गरिरहेको छ ।

    जग्गा भाडामा लिन सम्झौता गर्ने कम्पनीले एकाएक नाम परिवर्तन गर्नुमा गलत मनसाय रहेको आशङ्का सङ्ग्रहालयका कर्मचारीले गरेका छन् । कौडीको मूल्यमा जग्गा भाडामा दिने सहमति भएको भन्दै कर्मचारीबीच चर्को असन्तुष्टि बढेको छ ।

    सङ्ग्रहालयका प्रमुख एवं समितिका सदस्य सचिव भेषनारायण दाहालले समितिको कोष बढाउन भाडामा खाली जग्गा भाडामा लगाइएको दाबी गर्नुभयो ।

    कति क्षेत्रफल भाडामा दिएको हो ? भन्ने प्रश्नमा उहाँले ‘फिल्डमा गएर नापजाँच गरेको छैन, रेस्टुरेन्ट बनिसकेपछि हेरौँला’ भन्नुभयो । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री एवं तत्कालीन संरक्षक योगेश भट्टराईले सङ्ग्रहालयको जग्गा भाडामा दिने निर्णय धेरै अघिको भएको भन्दै अहिले आफू स्पष्ट हुन नसकेको प्रतिक्रिया दिनभयो । राति १२ बजेसम्म खोल्न पाउने सम्झौतामा रेस्टुरेन्ट बिहान ७ देखि राति १२ बजेसम्म खोल्न पाउने सर्त राखिएका छन् तर ऐतिहासिक महत्त्व बोकेको सम्पदालाई प्रत्यक्ष असर पुग्ने गरी भाडामा लगाउने र रातभर रेस्टुरेन्ट चलाउन दिने निर्णय सम्पदा बिक्री गरेर पैसा कमाउने धन्दा भएको सुरक्षा अधिकारी बताउँछन् ।

    पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले ‘दरबार मासेर पैसा कमाउने कार्य खेदजनक’ रहेको बताउनुुभयो । जोगाउनुपर्ने सम्पदा मासेर व्यवसाय गर्ने, फोहोर गर्ने र मनमौजी प्रयोग गर्ने निर्णयले त्यस क्षेत्रको सुरक्षामा पनि असर पर्ने बताउनुभयो ।

    दुई पक्षबीच भएका सर्त सङ्ग्रहालयको फाइदाका लागि भन्दा घातक बन्ने देखिन्छन् । मुख्य प्रवेशद्वारबाट प्रहरीलाई समेत विस्थापित गर्दा सम्भावित सुरक्षा चुनौतीप्रति सम्बद्ध अधिकारी जिम्मेवार नदेखिएको सुरक्षा स्रोतले जनायो ।

    संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवं नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिका अध्यक्ष यादवप्रसाद कोइरालाले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नै खाली जग्गा भाडामा दिने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो निर्णय राम्रो कामका लागि हो । राम्रो काम गर्दा पनि विरोध गर्ने त हाम्रो कल्चर नै हो नि !” उहाँको भनाइमा यसबाट सङ्ग्रहालयको आयआर्जनमा वृद्धि हुनेछ । नारायणहिटी दरबारको सरसफाइ, रङरोगन, चुहिने भवन तथा बत्तीको मर्मत सम्भारका लागि आवश्यक बजेटको व्यवस्था गर्न सङ्ग्रहालयको जग्गा व्यापार व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएको दाबी कोइरालाको छ ।

    जग्गा भाडामा लिने मुख्य सम्झौताकर्ता बीपीएस भए पनि आफूहरूले निर्माणको जिम्मा लिएको बी म्यानेजमेन्टका सञ्चालक पुडासैनीले बताउँदै यही बीचमा बीपीएसको नाम परिवर्तन गरी बी म्यानेजमेन्ट राखिएको खुलासा गर्नुभयो ।

    यस भाडा प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सचिवालयले छानबिन गरिरहेको छ । तत्कालीन मन्त्री भट्टराईको कार्यकालका तीनवटा निर्णयमध्ये नारायणहिटी सङ्ग्रहालयको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न छानबिन भइरहेको मन्त्रालयले जनाएको हो ।”
    पुस २० , २०७८

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस