• ‘नेवानिले प्रभावकारी योजना ल्याउनुका साथै नया गन्तव्यको खोजी गर्नुपर्छ’

    ‘नेवानिले प्रभावकारी योजना ल्याउनुका साथै नया गन्तव्यको खोजी गर्नुपर्छ’

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रको पहिचान र गौरवसँग जोडिएको ध्वजाबाहकको कुशल व्यवस्थापनका साथ अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको कार्यलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।    

    निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सार्थक तुल्याउन नेपाल एयरलाइन्सको महत्वपूर्ण भूमिका रहने भन्दै सम्पूर्ण जहाजलाई पूर्ण क्षमताका साथ उडाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुयभो ।    

    “निगमलाई काम गर्न पूर्ण अधिकार छ, जहाज बढाउनुस्, गन्तव्य बढाउनुस् तर बिनायोजना जहाज थुपारेर ‘ग्राउण्डेड’ भइरहने अवस्था आउनु राम्रो होइन । म व्यवस्थापनलाई आग्रह गर्छु, निगम सुधार्ने उचित उपाय ल्याउनुस् अनि कस्तो कदम चाल्नुपर्छ त्यो सरकारले निर्णय गर्छ, ऋण तिर्नेमात्र होइन कमाउने उपायसहितको योजना र गन्तव्यको खोजी गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।    

    “व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन सञ्चालनको सुव्यवस्थाविनै पैसा दिन मिल्छ भन्नेमा मलाई विश्वास छैन ,”  उहाँले भन्नुभयो,    

    प्रधानमन्त्रीले अन्य निजी वायु सेवा प्रदायक कम्पनी नाफामा रहने तर निगम चाहिँ सधैँ घाटामै रहिरहनुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्दै आर्थिक अवस्था सुधार्न सरकारले आवश्यक परे हस्तक्षेप गरेर भएपनि निगमको साख जोगाउने विश्वास दिलाउनुभयो ।    

    आर्थिकरूपमा कमजोर बनेको निगमले सञ्चित पूँजी वृद्धिका लागि सरकारसँग रु २० अर्ब माग गरेको छ । निगमले अहिले रु ३७ अर्ब घाटामा रहेको जनाएको छ । भएका जहाज पनि सञ्चालन नभइरहेको अवस्थामा निगमका कर्मचारी सङ्गठनका प्रतिनिधिले भने आगामी पाँच वर्षमा २५ वटा जहाज खरीदका लागि सरकारसमक्ष आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले निगमको प्रभावकारी व्यवस्थापन नभएसम्म जहाज मात्र किनेर थन्क्याउने पक्षमा सरकार बिलकुल नभएको प्रष्ट पार्नुभयो ।    

    “निगममा रु ३७ अर्ब घाटा के कारणले, कसरी हुनपुग्यो, गम्भीर समीक्षा हुन जरुरी छ, कतै निगमकै कमजोरीका कारण यो अवस्था आएको हो कि ? अहिलेको सरकार चर्चापरिचर्चाबाट प्रेरित हुँदैन, जहाज किनेर त्यसै लडाउन ? मैदानभरि जहाज छन् तर आकासमा उड्दैनन् यस्तो अवस्था सधैँ रहिरहनु उचित हुन्न”, उहाँले भन्नुभयो ।    

    गम्भीर चुनौतीको सङ्घारमा रहेको निगमलाई सफल बनाउन सरकारको पनि दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ‘निगमलाई सहयोग गर्ने मात्र नभई काँधै थाप्छ, यो आफ्नै वायु सेवा निगम हो, तर, उपयुक्त ढङ्गले सञ्चालन हुनुपर्छ’ भन्नुभयो ।    

    उहाँले वाइडबडी जहाज लामा गन्तव्यमा उड्न नसक्नु तथा गन्तव्य विस्तारको प्रभावकारी योजना अभावले निगम आर्थिक सङ्कटमा पर्न गएको उल्लेख गर्दै लामा गन्तव्यमा उडानका लागि पहल थाल्न आग्रह गर्नुभयो ।    

    निगमलाई सुधार्नु निकै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले थप्नुभयो– “निगमको ६१ वर्षको उपलव्धि ३७ अर्ब ऋण छ, यो क्षेत्र ‘दान, पुण्य, समाज सेवाको’ क्षेत्र मात्र होइन, यो त व्यापार व्यवसाय पनि हो, निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो वायु सेवा निगम होइन, यसले आफूलाई टिकाउन र भविष्यलाई सुदृढ तुल्याउन व्यापार बढाउन जरुरी छ ।”   

    पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भ्रमण वर्षको सन्दर्भमा निमगको सञ्चालन क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गन्तव्य विस्तार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ काम अघि बढाइने जानकारी दिनुभयो ।    

    निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनेकन चुनौतीका बीच पनि निगमलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनीको रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।    

    निगमका जहाज पूर्णरूपमा सञ्चालन तथा लामा गन्तव्यमा उडान विस्तार गर्न नसकिएकै कारण अपेक्षित नाफा आर्जन गर्न नसकेको भन्दै उहाँले वाइडबडी जहाजबाट भदौ पहिलो साता जापानको ओसाका तथा क्रमशः चीनको ग्वोञ्जाओ र साउदी अरेबियाको रियाद गन्तव्यमा उडान विस्तारका लागि प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो । निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्दले निगमको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा नयाँ गन्तव्य विस्तारका लागि धमाधम काम भइरहेको उल्लेख गर्नुभयो ।    

    निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगी र निगम कर्मचारी सङ्घका अध्यक्ष तारिणिराज दाहालले निगम सुधारका लागि जहाजको सङ्ख्या वृद्धि र गन्तव्य विस्तारमा जोड दिनुभयो ।    

    निगमको सात अर्ब आम्दानी, यात्रु ६३ प्रतिशतले बढे    

    निगमको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय उडानबाट निगमले चालू आवको चैतसम्ममा रु सात अर्ब ५४ करोड १० लाख ३८ हजार सञ्चालन नाफा कमाएको छ । निगमले गत आवको सोही अवधिमा रु तीन अर्ब ८४ करोड ७१ लाख १५ हजार आम्दानी गरेको थियो । यात्रु सङ्ख्याको आँकडा हेर्दा गत वर्ष २०७४ साउनदेखि २०७५ जेठसम्म तीन लाख ४८ हजार ५२८ यात्रुले निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेका छन् । यस वर्ष सोही अवधिमा पाँच लाख ६९ हजार ३४ यात्रुले यात्रा गरका छन् । यो आँकडा अघिल्लो वर्षको तुलनामा ६३.५ प्रतिशतले बढी हो ।    

    सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवामा निगम पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७३ यात्रुलाई सेवा पु¥याई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत पु¥याउन सफल भएको छ ।    

    निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रियतर्फ छ देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ दुई एम–६०, चार वाई–१२ र तीन डिएचसी–६ गरी जम्मा नौ जहाजमार्फत २२ विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको छ । निगमले नेपाल आउने ३० विदेशी वायु सेवा प्रदायक कम्पनीलाई भूमिस्थ प्रबन्ध सेवा प्रदान गर्दै आएको छ ।  रासस 

    असार १६ , २०७६   

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस