• पर्यटन क्षेत्रको विकासका लागि “ नाट्टा “ के भन्छ ?

    पर्यटन क्षेत्रको विकासका लागि “ नाट्टा “ के भन्छ ?

    नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) द्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री समक्ष प्रस्तुत गरिएका तत्काल तथा दीर्घकालीन रुपमा गरिनु पर्ने कार्यहरुको सुझाव –

    १.राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता – पूर्वाधार सहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन लगाएत सीमित पर्यटन उद्योगहरुलाई मात्र औद्योगिक व्यवसाय ऐन २०७३ ले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएको हुंदा यी बाहेक अन्य पर्यटन उद्योगहरुले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सरहको सेवा सुविधा नपाउने भएकाले सबै पर्यटन उद्योगहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिइनु पर्दछ ।  

    २.अत्यावश्यक सेवा संचालनको मान्यता – पर्यटन उद्योगलाई अत्यावश्यक सेवा संचालन ऐन अन्तर्गत राखी अन्य आकस्मिक सेवाहरु सरह सुविधा प्रदान गरी बन्द, हडताल र चक्का जामको स्थितिमा पनि पर्यटक बोकेका सवारीहरु निर्वाध रुपले संचालन गर्न गराउन पाउने व्यवस्था कडाईका साथ लागू गरिनु पर्दछ । 

    ३.त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल –

    क.हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप ज्यादै बढी भई अवतरणका लागि आएका हवाई जहाजहरु आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ भने उडान ( टेक अफ ) गर्नुपर्ने जहाजहरु समयमा उडान गर्न नपाइरहेको अवस्थालाई न्यूनिकरण गर्न त्रिभुवन अंतराष्ट्रिय विमानस्थललाई २४ घण्टा खुल्ला गर्ने व्यवस्था गरिनु पर्छ / 

    ख.त्रिभुवन अंतराष्ट्रिय विमानस्थलको भौतिक संरचनाहरुको (पार्किङ्ग, ट्रली, शौचालय, टेलिफोन, नियमित सरसफाई आदि) सुधार र सुदृढीकरण अत्यन्तै आवश्यक छ । त्रि.अ.वि सेवा प्रदायक संस्था हुनुका साथै व्यवसायीक संस्था पनि भएकाले यसले आप्नो सेवा स्तरलाई बढाउदै बजार बिस्तारमा पनि ध्यान दिनु पर्दछ । त्रि.अ.वि पर्यटकका निम्ति पहिलो प्रवेशद्वार भएकोले मुलुकबारेको पहिलो प्रभाव हवाई यात्रुले विमानस्थलमा अवतरण गर्ना साथ बनाउछ । तसर्थ विमानस्थल भित्र उपलब्ध गराइनु पर्ने सेवाहरुलाई सुविधामूलक, छिटो छरितो, सरल र सहज तुल्याउन पर्यटन मन्त्रालय तथा संबंधित निकायले ध्यान दिन अत्यन्त जरुरी छ ।  

    ४. बैकल्पिक अंतराष्ट्रिय विमानस्थल –

    क.पर्यटन क्षेत्रलाई अझ सबल बनाउन दोश्रो अंतराष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता ज्यादै टड्कारो रुपमा देखिएकाले बाराको निजगढ विमनस्थलको निर्माण कार्य तदारुकतासाथ सम्पन्न गरि संचालनमा ल्याउने व्यवस्था मिलाइनु पर्छ / 

    ख.निर्माणाधिन पोखरा र भैरहवा विमानस्थललाई पनि बैकल्पिक अंतराष्ट्रिय विमानस्थलका रुपमा यथाशिघ्र निर्माण सम्पन्न गरिनु पर्छ /  

    ग.विराटनगर तथा धनगढी विमानस्थलहरुको स्तरोन्नति गरिनु पर्छ / 

    ५.टुरिष्ट बस टर्मिनल -काठमाण्डौंबाट लामो दुरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुंदा यस क्षेत्रले बारम्बार विभिन्न समस्याहरु झेल्नु परेको र पर्यटकहरुमा पनि मुलुकको छवि प्रति नकारात्मकता बढ्दै गएको अनुभव गरिएको छ । तसर्थ, काठमाण्डौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरी टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्ने व्यवस्था गरिनु पर्छ /

     ६.नेपाल आउन चाहने पर्यटकहरुका लागि ‘अनलाईन भिसा’ उपलब्ध गराउने प्रावधान तुरुन्त शुरु गरिनु पर्दछ ।  

    ७.राष्ट्रिय ध्वजावाहक – राष्ट्रिय ध्वजावाहकको कार्य क्षमतासंग  प्रत्यक्षरुपमा पर्यटक आगमनको सम्बन्ध रहेको र २०२० मा १५ लाख पर्यटक भित्र्याउन कम्तीमा यसै बर्ष भित्र नेपाल वायूसेवा निगमसंग ६ वटा न्यारो बडी तथा ४ वटा वाइड बडी भित्र्याउनु पर्नेमा २ वटा न्यारो बडी अपरेसनमा आईसक्नुको साथै २ वटा वाइड बडी आउने क्रममा रहेको हुंदा थप ४ वटा न्यारो बडी र २ वटा वाइड बडी गरि जम्मा १० वटा विमान खरिद गर्ने आवश्यक व्यवस्था मिलाई राष्ट्रिय ध्वजावाहकलाई सबल बनाइनु पर्छ ।

    यस्तै  राष्ट्रिय ध्वजाबाहकको क्षमता अभिबृद्धि गर्न विदेशी विमान सेवाहरुसंग साझेदारीका लागि पहल गरिनु पर्र्छ । 

    ८ हवाई सेवालाई सहज बनाउन – अंतराष्ट्रिय हवाई सेवा संचालनमा इन्धन , ल्यान्डिङ , पार्किंग अत्यन्तै महंगो रहेकोले छिमेकी मुलुक सरह उपलब्ध गराउने व्यवस्था गरिनु पर्ने । साथै चार्टड उडानहरुलाई उत्प्रेरित गर्न अवतरण र उडानमा लाग्ने शुल्कमा विशेष छुट गरिनु जरुरी छ । अंतराष्ट्रिय विमानबाट पर्यटकहरुको आवागमन हुने भएकाले हालको अवस्थामा ग्राउनड ह्यांडलीग लगाएत आन्तरिक हवाई सेवाहरुमा लाग्ने इन्धनमा सरकारी छूट उपलब्ध गराइनु पर्छ । विमान स्थलको ‘ अफ आवर्स’मा अवतरण गर्ने÷उडान भर्ने वायूसेवाहरुलाई पनि निश्चित छूटको व्यवस्था गरिनु पर्दछ । 

    ९.हाल त्रिभुवन विमानस्थलमा संचालनमा रहेका इन्डीयन एअरलाइन्सको बसहरु ज्यादै पुरानो भएकाले तिनिहरुको स्थानमा नयां बसहरुको व्यवस्था गर्न व्यवस्थापनलाई निर्देशन दिइनु पर्छ/ । 

    १० -अध्यागमनमा एक्सप्रेस काउन्टर -अध्यागमन सेवामा कार्यरत अध्यागमन अधिकृतहरु तालिम प्राप्त र उपयुक्त व्यवहार भएको हुनु जरुरी छ । त्यस्तै, काउन्टरहरुमा पनि सबै काउन्टर खोली छिटो सेवा उपलब्ध गराइनु पर्छ । विमानबाट घण्टौं यात्रा गरी, आगमन कक्षमा थकित भै आई पुग्ने पर्यटकहरुलाई अध्यागमनको लामो लाइनमा उभिएर पालो कुनु पर्ने, अध्यागमनमा कार्यरत तालिम प्राप्त नभएका कर्मचारीको व्यवहार, विमानस्थल वरिपरिको फोहोर, निर्दिष्ट पोशाकको अभावमा को के हो भनेर चिन्न नसकिने स्थिति, शौचालयको दुर्गन्ध, टेलिफोनको कमी, ट्याक्सीको भीड, बर्षामा भिजेर कार पार्क सम्म पुग्नु पर्ने स्थिति आदि अनेक पुर्वाधारमुलक कमि कमजोरीहरुमा सुधार गरिनु पर्छ । साथै, फर्स्ट क्लास , विजिनेस क्लास    तथा अन्य विशिष्ट पर्यटकहरुका लागि एउटा छूट्टै एक्सप्रेस काउन्टर खोलिनु वांछनीय छ । 

    ११ -पर्यटन विश्वविद्यालयको स्थापना – पर्यटन क्षेत्र देशको एकमात्र विदेशी मुद्रा आर्जनका साथै रोजगारी श्रृजना एंव समग्र अर्थतन्त्रको विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षेत्र भएको र हाल हस्पिटालिटी, टूरिजम म्याजमेन्ट, होटल म्याजमेन्ट लगायतका पर्यटनसंग सम्बन्धित बिषयहरु अध्यापन समेत भै रहेको तर हालसम्म पनि पर्यटन विश्वविद्यालय स्थापना नभएको हुंदा यथाशिघ्र पर्यटन विश्वविद्यालयको स्थापना गरि ७ वटै प्रदेशमा पर्यटन कलेज तथा स्कूलहरुको स्थापना गरिनु पर्छ /

    १२.बाझिएका ऐनको संशोधन – विद्यमान पर्यटन ऐन तथा यातायात व्यवस्था ऐनमा पर्यटक शब्दको परिभाषा बाझिएको संदर्भमा आन्तरिक पर्यटकहरुले पर्यटन सवारीमा यात्रा गर्न नपाएको तथा पटक पटक बस व्यवसायीहरु बीच तनाव सृजना भै विदेशी यात्रुहरुले समेत जोखिम उठाउनु परेको दृष्टान्तलाई ध्यानमा राखि उपरोक्त दुवै ऐनमा आवश्यक संशोधन गरिनु जरुरी छ । आन्तरिक पर्यटनको विकास विना मुलुकमा आर्थिक क्रान्तिको कुनै सम्भावना नरहने तथ्यलाई स्वीकार्दै आन्तरिक पर्यटन विकासका लागि उपरोक्त दुवै ऐनमा संशोधन गरिनु अत्यावश्यक छ । 

    १३.पर्यटन श्रम ऐन –  उपयुक्त पर्यटन श्रम ऐनको अभावले गर्दा पर्यटन उद्योगमा नकारात्मक प्रभावहरु बढी रहेको संन्दर्भमा दीगो पर्यटन श्रम ऐनको टड्कारो आवश्यकता रहेको छ । 

    १४ नेपाली प्लेटका सवारी भारतीय सरह -भारतीय नम्बर प्लेटका पर्यटन सवारी साधनलाई जस्तै नेपाली पर्यटक सवारी साधनलाई पनि भारतमा निर्वाध रुपले चल्न पाउने व्यवस्था गरिनु पर्छ । 

    १५. सवारी साधनको आयात –   ट्राभल एजेन्ट्स तथा टूर अपरेटरहरुलाई पर्यटकहरुको सेवा सुविधाका लागि विदेशबाट पैठारी गरिने सवारी साधनमा भन्सार छूटको व्यवस्था गरिनु पर्छ । अंतर्राष्ट्रिय स्तरका सवारी साधनहरु प्रचलनमा नभएका तथा ती अत्यन्तै महंगा पनि हुने भएकाले ट्राभल व्यवसायीहरुलाई यस्ता सवारी साधन पैठारी गर्न भन्सार तथा अन्य करहरुको छुटको आवश्यकता छ । छिमेकी मुलुकहरुमा यस्ता सवारी साधन स्थानीय स्तरमै निर्मित हुने भएकोले त्यहां सवारी साधनहरु तुलनात्मक रुपले अत्यन्तै सस्ता भएका कारण नेपाली एजेन्टहरुको भाडा दर प्रतिस्पर्धि हुन सकेको छैन ।

    १६ .कैलाश–मानसरोवर – नेपाल हुंदै कैलाश–मानसरोवर जाने भारतीय तीर्थालुहरुका लागि नेपाल हुंदै प्रवेश गर्ने नाकाहरु जस्तै, कोदारी, हिलिसा, लोमानथाङ र रसुवागढी नाका खुल्ला गरिनु पर्ने आवश्यकता छ / 

    १७ पर्यटन प्रवद्र्धनमा राजदूतावासहरुको भूमिका -झण्डै आधा शताब्दी भन्दा अघि देखि प्रारंभ भएको मुलुकको पर्यटन व्यवसायले परिवर्तनका अनेकौं संघारहरु पार गरी आज विश्व पर्यटन बजारमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमता हासिल गरेको छ , सकारात्मक चेतना जागेको छ र मेची देखि महाकाली र हिमाल देखि तराई सम्मका हाम्रा डांडा–कांडा, नदी–नाला, बन जंगल र हरिया फांटहरुले गर्दा नेपाललाई एसियाको स्वीटजरलैण्ड भनी विदेशी आगन्तुकहरुले नेपालको पर्यटकीय सम्पदाको मुक्त कण्ठले प्रशंसा गरेका छन् । संभवतः नेपाली पर्यटन बारे जति पुस्तकहरु लेखिएका छन् त्यति अन्य कुनै मुलुकको पर्यटन बारे लेखिएका छैनन् । तर, यस्ता पुस्तकहरु एंव अन्य प्रवद्र्धनात्मक सामाग्रीहरु विदेश स्थित हाम्रा राजदुतावासहरु र कूटनीतिक नियोगहरुमा विरलै देख्न पाईएको आम गुनासो प्रति नेपाल सरकारको ध्यान जान जरुरी छ ।

    १८-भुकम्पले क्षति भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुलाई यथाशिघ्र निर्माण सम्पन्न गर्नु पर्ने, पर्यटकीय दृस्टीकोणले महत्वपूर्ण कतिपय स्थलहरु पनि सवारी साधनहरुको प्रदूषण बाट ग्रसित पाइएकोले प्रदूषण फैलाउने खालका कारखानाहरुलाई पर्यटकिय स्थल नरहेका क्षेत्रहरुमा स्थापना गर्न प्रोत्साहन गरिनुपर्छ /

     १९.’ माइस टुरिज्म’ प्रवद्र्धन गर्नको लागि ७ वटै प्रदेशमा सुविधा सम्पन्न कम्तीमा पाँच हजार व्यक्ति सम्म अट्ने ट्रेड सेन्टरको निर्माण गरिनु पर्छ / 

    २०.   संघ–संस्थाहरुमा प्रत्यक्ष प्रतिनिधित्व -पर्यटन सम्बद्ध विभिन्न बोर्ड तथा प्राधिकरणहरुमा पर्यटन सम्बद्ध संघ–संस्थाहरुको प्रत्यक्ष प्रतिनिधित्व हुनु पर्छ ।

    २१.अशोक स्तम्भको संरक्षण एंव मायादेवी मन्दिरको पुनर्निमाण -लुम्बिनीमा रहेको अशोक स्तम्भ अत्यन्तै प्राचीन हुन गै विभिन्न पर्यावरणीय कारणले गर्दा जिर्ण हुन जाने खतराबाट जोगाउन अशोक स्तम्भलाई शिशाको आवरण बनाई संरक्षण प्रदान गरिनु पर्छ । साथै, मायादेविको मन्दिरलाई त्यसै स्थलमा नेपाली भावना र कला प्रतिबिम्बित हुने गरि आकर्षक रुपले  पुनः निर्माण गरिनु पर्दछ ।

    २२.पूर्वाधार निर्माणमा प्रोत्साहन -नयां पर्यटकीय स्थलहरुमा पर्यटन सेवाका लागि स्थापना गरिने पूर्वाधार निर्माण गर्ने संबंधित उद्यमी÷व्यवसायीहरुलाई सरकारबाट समूचित प्रोत्साहन हुनु जरुरी छ ।

    २३.राजमार्ग व्यवस्थापन -प्रमुख गन्तव्यस्थलहरुसित जोडिएका राजमार्गहरु दुरावस्थामा छन् । ती राजमार्गहरुलाई अल्पकालिन, मध्यकालिन, र दीर्घ कालीन योजना तर्जुमा गरिचार लेन को बनाइनु पर्दछ र त्यस्ता मार्गहरुमा यथेष्ट पर्यटकीय सेवा सुविधा उपलब्ध गराइनुका साथै ती मार्गहरुको सुव्यवस्थाका लागि नियमित रुपले आवश्यक बजेट विनियोजित गरिनु पर्दछ ।

    चैत ९ , २०७४

     

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस