• पर्यटन क्षेत्रका वाधाहरु

    पर्यटन क्षेत्रका वाधाहरु

    शरद प्रधान

    एसियाका धेरै मुलुकमध्ये नेपालमा पर्यटन क्षेत्रको शुरूआत अरू देशमा भन्दा धेरै अगाडि भएको हो। सिंगापुरको जन्म हुनुभन्दा अगाडि नै नेपालमा ट्रेकिङ व्यावसायिकरूपमा शुरू भएको तथ्य फेलापरेको छ। ६० को दशकमा जंगल सफारी चितवनमा शुरू गर्दा एसियाका धेरै मुलुकमा पर्यटनको अवधारणाको शुरूआत भएको थिएन। तर नेपालको पर्यटन किन सधैं १० लाख र २० लाख पर्यटक भित्याउने लक्ष्यमा सीमित रहेको छ? जबकि नेपालभन्दा धेरै पछि व्यावसायिकरूपमा पर्यटन शुरू गरेका देशमा पर्यटक आगमनको वृद्धिदरले छोटो समयमा तीव्र गतिमा फड्को मारेको छ। नेपाल सुन्दर र मनमोहक हुँदा हुँदै पनि पर्यटकको आगमनको वृद्धिदर किन सीमित भइरहेको छ भन्ने विषयमा सबैको चासो हुनु स्वभाविक हो। यसो हुनुमा सरकारी तथा निजी क्षेत्र दुवै नै जिम्मेवार छन्।

    पञ्चायत कालमा पर्यटन व्यवसाय गर्न धेरै कठिन थियो। होटल र ट्राभल्स एजेन्सीलाई व्यवसाय सञ्चालनको अनुमति लिन झन्झटिलो प्रक्रियाको सामना गर्नुपथ्र्याे। दरबारसँग पहुँच भएकाहरूले मात्र सहज तरिकाले व्यवसाय गर्न पाउने वातावरण थियो। निजी क्षेत्रको प्रवेश कठिन भएका कारण पर्याप्तरूपमा पर्यटन क्षेत्रको विकास हुन सकेको थिएन। हवाइजहाजमा शाही नेपाल वायुसेवा निगमबाहेक अरू विकल्प थिएन र होटलहरू केवल काठमाडौं, चितवन, पोखरा र केही ठाउँहरूमा मात्रै सीमित थिए। जसले गर्दा पर्यटनको विकास र विस्तार अन्य मुलुकमा जस्तै हुन सक्ने स्थिति रहेन।

    पञ्चायतको अवसानपछि बहुदलीय प्रजातन्त्रको आगमनसहित पर्यटनको क्षेत्र पनि सर्वसाधारण र निजी क्षेत्रलाई खुला हुन गयो। यसले गर्दा होटल, ट्राभल्स एजेन्सी र हवाइ सेवाको विकास विस्तारमा बाटो फराकिलो हुन पुग्यो। पञ्चायती व्यवस्थाका बेलामा २ लाखमा सीमित पर्यटकको आगमन संख्या नेपाल भ्रमण वर्ष १९९८ सम्म पुग्दा ५ लाखको हाराहारीमा पुग्यो। नेपाल पर्यटन वर्ष २०११ मनाइसक्दा १० लाखको लक्ष्य राखे पनि पर्यटकको संख्या ८ लाखबाट उक्लन सकेन। नेपाल भ्रमण वर्ष २०२० मनाउने क्रममा सरकारले २० लाख पर्यटक भित्याउने लक्ष्य घोषणा गरेको थियो। राखेको छ। यस प्रकारका लक्ष्य भेटाउन विभिन्न कारणले गर्दा निकै कठिन छ।

    बाधाहरूः

    १. भौतिक संरचना – पर्यटन क्षेत्रमा पहिलो आवश्यकता यातायातको हो। तर काठमाडौंभित्रै र बाहिरका अधिकांश सडक पर्यटकस्तरीय नभएकाले समयमा गन्तव्य पुग्न निकै समय लाग्ने भएकाले यात्रा लामो र पट्यारलाग्दो छ। विकट पर्यटकीयस्थलमा जान निकै जोखिमपूर्ण मात्र होइन, गन्तव्यस्थानमा आवासको सुविधा न्यून छ।

    २. दक्ष कामदारको अभावः होटललगायत पर्यटन क्षेत्रमा रहेका जनशक्तिहरूको विदेश पलायन तीव्र गतिले भएकाले दक्ष जनशक्तिको अभाव देखिन्छ। जसले गर्दा पर्यटकलाई दिने सेवामा निकै चुनौती आएको छ। र्याफटिङ, ट्रेकिङ, पर्वतारोहण, होटलमा संलग्न जनशक्तिलाई पर्यटकहरूले नै आफ्नो देशमा लैजाने क्रम रहिरहेकाले दक्ष जनशक्तिको अभाव खट्किँदै गइरहेको छ।

    ३. प्रचारप्रसारको कमीः नेपालको पर्यटनको विकासमा पश्चिमी मुलुकहरूको योगदान रहेको विषय नकार्न सकिँदैन। यद्यपि पछिल्लो एक दशकमा चिनियाँ पर्यटकहरूको उल्लेखनीय आगमन भएको देखिएको छ। तर नेपालको प्रचारप्रसार गर्ने शैली अहिले पनि पश्चिमी मुलुक केन्द्रित भएको देखिन आएको छ। जति चीनमा प्रचारप्रसारको आवश्यकता छ त्यति गर्न सकिएको छैन। त्यसको तुलनामा पश्चिमी मुलुकहरूमा धेरै नै प्रचारप्रसार भए तापनि त्यही अनुपातमा पर्यटकको संख्यामा वृद्धि हुन सकेको छैन।

    चीनमा प्रचारप्रसार गर्ने शैली पश्चिमी मुलुकमा भन्दा पृथक छ। तर यस विषयमा सम्बन्धित निकाय त्यति जागरुक देखिँदैन। चीनमा सामाजिक संजालको ठूलो प्रभाव छ जसको उपयोग गर्न सके प्रचारप्रसारमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ। चीनले विदेश भ्रमणका लागि खुला गर्दै लगेका मुलुकहरूमध्ये सन् २००२ मै नेपाललाई आठौं पर्यटकीय गन्तव्य मुलुकका रूपमा सुविधा दिए पनि हालसम्म चीनमा सबैभन्दा प्रभावकारी प्रचारप्रसारको माध्यम मानिएको वीच्याट, वीबोलगायतका न्यु मिडियामा नेपालको प्रचारप्रसारको पहुँच नहुनु दुर्भाग्य हो। त्यसका साथै विश्वकै ठूलो पर्यटकीय बजारमा नेपालले आफ्नो पहुँच गुमाउँदै गइरहको छ।

    चीनका ठूला शहरहरूमा विभिन्न माध्यमबाट प्रचारप्रसार गर्नुपर्ने देखिए तापनि वर्षमा ४/५ वटा कार्यक्रमबाहेक अरू हुन सकेको छैन। चीनको तुलनामा भारतमा अलि बढी प्रचारप्रचार भए तापनि त्यहाँका सञ्चारमाध्यममा नेपालको पर्यटकीय गतिविधि समेटिएको पाइएको छैन।

    ४. हवाइ सेवाको कमीः करिब ३० वटा विमान कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडान गरे पनि करिब ६० प्रतिशतभन्दा बढी सिट नेपालीहरूले भरिने गरेको तथ्यांक छ। नेपाल वायुसेवा निगमको अस्पष्ट बजारनीतिले गर्दा वाइड बोडी विमान सेतो हात्तीका रूपमा छ। पर्यटकको स्रोत बजारको राम्ररी पहिचान नहुँदा यस्तो भएको हुन सक्छ। चीनमा नेपालको कुनै पनि विमान सेवा नहुनुले चीनका विमानहरूको नेपाली बजारमा मोनोपोली छ। यसले गर्दा चीनबाट नेपाल आउँदा विमान भाडा निकै महँगो पर्छ।

    ५. जथाभावी शुल्क उठाउनेः मुलुकमा संघीयता लागू भएपछि स्थानीय निकायले पर्यटकबाट मनपरी शुल्क उठाउने गरेका छन् जसले गर्दा पर्यटक तथा पर्यटन व्यवसयीलाई निकै मर्का परिरहेको छ। कतिपय निकायले पर्यटकलाई कुनै सुविधा नदिइकनै शुल्क उठाइरहेका छन्।

    ६. सम्पदाहरूको पुनःनिर्माणमा ढिलाइः विनाशकारी महाभूकम्प भएको कैयन वर्ष बिति सक्दा पनि पनि सम्पदाहरूको पुनर्निर्माणमा विभिन्न कारणले ढिलाइ भइरहेको छ। जसले गर्दा सम्पदा संरक्षणका नाममा सम्पदास्थलमा उठाउने गरिएको महँगो शुल्कमा प्रश्न उठाउन थालेको छ। ती शुल्क सम्पदा संरक्षणका निम्ति दिइएको भए तापनि तलब भत्तामा उपयोग गरिएको गुनासो छ।

    ७. व्यवस्थापनः नेपालमा पर्यटकको गतिविधिसम्बन्धी भरपर्दाे तथ्यांक कुनै निकायसँग पनि छैन। कुन ठाउँमा कति पर्यटक गए र कति खर्च गरे भन्ने जानकारी अध्यावधिक गरिएको छैन। जसले गर्दा पर्यटन विषयको अध्ययनमा कठिनाइ छ। विदेशी कम्पनी तथा कामदारहरूले गैरकानुनीरूपमा काम गरिरहदाँ समेत सरकारी तथा निजी क्षेत्र मौन देखिन्छ। होटल र रेस्टुरेन्टका रूपमा खुलेका विदेशी कम्पनीले टुर, ट्रेकिङ, विदेशी मुद्रालगायतका पर्यटकीय सेवा दिइरहेका छन्।

    महँगो शुल्क तिरेर विश्वसम्पदा क्षेत्रमा पर्यटकहरूले कुनै सुविधा र सुरक्षा नपाएको गुनासो सामान्य भइसकेको छ। सम्पदा क्षेत्रमा सरसफाइको कमी देखिन्छ। शौचालयको अभावले उनीहरू होटलमै गएर शौच गर्नुपर्ने बाध्यताले उनीहरूको सम्पदा क्षेत्रको घुमाइ अवधि छोटिने गरेको छ। पर्यटकीय सवारी साधनको व्यवस्थित पार्किङको अभाव मुलुककै लागि लाजमर्दाे विषय हो। सवारी साधनबाट झरेपछि सम्पदा क्षेत्रसम्म पुग्न एक किलोमिटरसम्मको बाटो तय गर्नुपर्ने बाध्यता छ।सम्पदा क्षेत्रमा हकर र मगन्तेको भीड तथा अनावश्यक प्रदर्शनका कार्यक्रमहरूले पर्यटकले सुरक्षित महसुस गर्न सक्दैनन्।

    अब के गर्ने?

    पर्यटकीय क्षेत्रका भौतिक संरचनाको आवश्यकतालाई प्राथमिकताका आधारमा यथाशीघ्र विकास गर्दै लैजानुपर्ने देखिन्छ। देशमा नै काम गरेर उचित पारिश्रमिक पाउने वातावरण सिर्जना गर्न सके दक्ष कामदारलाई विदेश पलायन हुनबाट रोक्न सकिनेछ।

    काम र कामदारको उचित सम्मान गर्न सके देशमा नै काम गर्न प्रेरणा मिल्ने थियो। युरोप र अमेरिकामा जस्तै चीन र भारतमा पनि नयाँ तरिकाले प्रवर्धन गर्न जरुरी देखिन्छ। नेपालमा अभाव भएको हवाइ सिटको कमी पूरा गर्न नेपाल एअरलाइन्सको वाइड बोडीले अहिले लामो दूरीको गन्तव्य नहेरी चीन र भारतका नयाँ शहरमा मात्रै सेवा दिए सहयोग पुग्न सक्छ। गौतम बुद्ध क्षेत्रीय विमानस्थलको समयमै निर्माण सम्पन्न गरी तुरुन्त सञ्चालन गर्न सके र बौद्ध धर्मावलम्बी मुलुकहरूलाई जोड्न सके देशमा पर्यटकको संख्या बढ्न सक्ने देखिन्छ।

    पर्यटकीय सेवा शुल्कलाई एकीकृत र व्यवस्थित गर्न आवश्यक छ। सम्पदाहरूको समयमा नै पुनर्निर्माण गरी पर्यटकलाई थप सुविधासहित अवलोकनको व्यवस्था मिलाउनुपर्ने देखिन्छ। सम्पदास्थलको पार्किङ र शौचालको यथाशीघ्र व्यवस्था गरी पर्यटकहरूलाई हकर र मगन्तेबाट सुरक्षित महसुस गराउन जरुरी छ। विदेशीहरूले सञ्चालन गरेका व्यवसायको अनुगमन गर्दै गैरकानुनीरूपमा सञ्चालन गरिएका पर्यटन व्यवसायीलाई कानुनी दायरामा ल्याउन र व्यवस्थित गर्न जरुरी देखिन्छ।

    २०७६ चैत्र तस्विर : अन्नपूर्ण पदयात्रा मार्ग / ट्राभल बिज न्यूज

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस