• पोखरा महानगरको पर्यटन पुनरुत्थान गर्न रणनीतिक योजना तय

    पोखरा महानगरको पर्यटन पुनरुत्थान गर्न रणनीतिक योजना तय

    पोखरा (रासस)- पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तरराष्ट्रिय बजारसम्म प्रवद्र्धन गर्ने उद्देश्य राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पर्यटकीय नगरी पोखरा क्षेत्र भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश दिने गरी आन्तरिक तथा बाह्य बजारमा यसको पर्यटनलाई ब्रान्डिङ गर्ने उल्लेख गरिएको छ ।

    स्थानीय अर्थतन्त्रमा कोभिड सिर्जित महामारीका कारण परेको प्रतिकूल असरका सम्बन्धमा गरिएको प्रारम्भिक अध्ययनबाट पोखराको प्रमुख आर्थिक संवाहक पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुने र अन्य व्यावसायिक क्षेत्रमा व्यापक सङ्कुचन आउन सक्ने आकलन गरेर रणनीतिक योजना बनाइएको पोखरा महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले जानकारी दिए ।

    उनका अनुसार नवीनतम सामान्यावस्थामा यहाँका समग्र पर्यटकीय उपजलाई विकास, विस्तार तथा विविधीकरण गर्नका लागि तत्काल आवश्यक रणनीतिक कार्यक्रम तय गर्न महानगरको पर्यटन पुनरुत्थान रणनीतिक योजना २०७८ प्रस्ताव गरिएको छ । पर्यटन उद्योगलाई चलायमान बनाउन विभिन्न तहका सरकारबाट चाल्नुपर्ने उपयुक्त नीतिगत विषयमा सुझाव प्रस्तुत गर्दै यसलाई पर्यटकीय केन्द्रका रूपमा दिगो विकास एवं व्यवस्थापन गर्ने विषयलाई समेटिएको छ ।

    योजनामा सुरक्षित पर्यटकीय सेवा, गुणस्तरीय सुविधा एवं क्षमता अभिवृद्धिबारे आवश्यक रणनीतिक कार्यक्रम तथा योजनामा प्रभाव पार्ने तत्त्व पर्यटन पुनरुत्थान र प्रवद्र्धनसँग सम्बन्धित रहेकाले यहाँक पर्यटकीय आकर्षणयुक्त ताल, नदी, खोला, गुफा, वन, वातावरण र धार्मिक एवम् सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

    योजना तयार गर्ने क्रममा स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन विकाससँग सम्बन्धित प्रचलित नेपाल कानुन, ऐन, नियमावली, नीतिनियम तथा राज्यका सम्बन्धित निकायबाट जारी गरिएका मार्गनिर्देशिका र रणनीति अनुसरण गरिएको हुंँदा योजना कार्यान्वयनका क्रममा पनि यथोचित ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

    नेपालको चालु आवधिक विकास योजना, गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना, नेपालको राष्ट्रिय पर्यटन रणनीति, पर्यटन नीति, प्राकृतिक एवम् सांस्कृतिक स्रोतसम्पदाको संरक्षण तथा विकाससम्बन्धी नीतिनियम, ग्रामीण एवं सामुदायिक कृषि पर्यटन विकाससँग सम्बन्धित निर्देशिकालाई समेत ध्यानमा राखेर योजना बनाइएको लामिछानेले जानकारी दिए । समावेशी र उत्थानशील आर्थिक वृद्धिका लागि महानगरको अनौपचारिक क्षेत्र र घरपरिवारलाई समेत समेटेर समग्र अर्थतन्त्रमा महामारीले पारेको असरबारे सूक्ष्म जानकारी हासिल गर्न २०७७ असोज—कात्तिकमा बृहत् प्रभाव मूल्याङ्कनका लागि स्थलगत अध्ययन गरिएको थियो ।

    अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा परिमार्जन गरिएको समावेशी स्थानीय आर्थिक विकास रणनीतिक योजनाको मस्यौदामाथि २०७७ फागुनमा कार्यशाला आयोजना गरेर पुनः छलफल गरी महानगरको सहरी योजना आयोगका साथै अन्य सरोकार पक्षबाट पृष्ठपोषणसमेत प्राप्त भएको थियो ।

    पोखरा महानगरपालिकाले ‘समुन्नत पर्यटकीय पोखरा’ नारासहित त्रिवर्षीय आवधिक योजनामा पनि पर्यटनलाई प्राथमिकतामा राखेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । ‘महानगरले नेपालको दीर्घकालीन सोचसँग समायोजन हुने गरी ‘समुन्नत पर्यटकीय पोखरा दूरदृष्टि २१००’ तय गरेको छ । यसमा पर्यटनलाई नै प्राथमिकतामा राखिएको छ’ , महानगर योजना सहजीकरण समितिका संयोजक गुरुङले बताए । महानगरको सो लक्ष्य प्राप्तिका लागि मानव पुँजी निर्माण, ज्ञानमा आधारित अर्थतन्त्र, समावेशी पूर्वाधार, उत्पादकत्व वृद्धि तथा व्यवसायमैत्री वातारण एवं पर्यावरणीय सन्तुलनसहितको विकासको अवधारणा सारिएको उनले बताए ।

    विस्तृत पर्यटन परियोजना तयार गरी यसलाई एसियाकै विशेष पर्यटकीयस्थलका रूपमा विकास गर्ने, घरबस्तीको सौन्दर्य अभिवृद्धि गर्ने, बाटाको दायाँबायाँ बिरुवा रोपण, खोलाका किनारामा बाँस एवं अन्य वृक्षरोपण, सार्वजनिक शौचालय आदिको व्यवस्थापन गर्ने, उद्यम तथा उद्यमशीलता विकासका लागि आवश्यक नीति तथा स्रोतको व्यवस्था गर्न वातावरण निर्माण गरिने, महानगरपालिकाका कला, साहित्य तथा संस्कृतिको प्रवद्र्धन गरेर व्यावसायिक विकासका लागि समूह गठन गरी परिचालन गर्नेलगायत विषय त्यसमा समेटिएको गुरुङले बताए ।

    उनका अनुसार महानगरपालिकालाई पर्यटन केन्द्रका रूपमा विकास गर्न पर्यटन नीति तथा आचारसंहिता तर्जुमा गरी कार्यान्वयन गरिनेमा जोड दिइएको छ । विकासका प्राथमिकताका क्षेत्र तथा नीतिमा साहित्य, कला संस्कृति, पर्यटन प्रवद्र्धन तथा उद्यम विकासलाई राखिएको छ । पोखरालाई ज्ञान, विज्ञान, ध्यान, संस्कृति, मनोरञ्जनसहितको आधुनिक पर्यटनको गन्तव्यस्थलका रूपमा विकास गरेर विश्व मानचित्रमा पर्यटन केन्द्रका रूपमा विकास गर्ने गरी योजना तय गरिएको छ ।

    त्रिवर्षीय योजनामा पर्यटन शक्तिको विकास गर्न र पर्यटन व्यवसायका लागि आवश्यक पर्ने जनशक्तिको नियमित रुपमा सीप, क्षमता तथा दक्षता विकास गर्न संयन्त्र तयार गर्ने, महानगरपालिका र विदेशी तथा स्वदेशी महानगरपालिका तथा नगरपालिकाहरूसँग भागिनी सम्बन्ध स्थापना गर्ने ,पोखरामा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नका लागि विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्ने रणनीति समेटिएका गुरुङले बताए ।

    त्यसैगरी महानगरपालिकामा पर्यटन महाशाखा र पर्यटन परिषद् स्थापना गर्ने, पर्यटन गुरुयोजना तयार गर्ने, पर्यटन व्यवसायीलाई सङ्गठित गरी पर्यटन व्यवसायी, महानगरपालिका, सहकारी र नागरिकका सहभागितामा वित्तीय संस्थाको स्थापना गरी पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने, नयाँनयाँ पर्यटन गन्तव्य र पर्यटन उत्पादनको विकास गर्न सम्भावित सूची तयार गरी विस्तृत परियोजना तयार गर्ने, सङ्घ– प्रदेश– गैसस– निजी क्षेत्र– अन्तरराष्ट्रिय सङ्घ–संस्थासँग साझेदारी गरी सम्भावित पर्यटन गन्तव्य र उत्पादनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचना तयार गर्ने विषयलाई जोड दिइएको छ ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले महानगरको पर्यटन पुनरुत्थान रणनीतिक योजना र त्रिवर्षीय योजनामा पोखराको पर्यटन प्रवद्र्धनका लागि समेटिएका विषय महत्वपूर्ण रहेको जनाउँदै यसको कार्यान्वयनसँगै नतिजाको अपेक्षा पर्यटन व्यवसायीले गरेको बताए । उनले भने, ‘हामीकहाँ कागजमा निकै राम्रा कुरा लेखिन्छन् तर व्यवहारमा देखिँदैन । महानगरको पर्यटन पुनरुत्थान रणनीतिक योजना पनि योजनामा मात्र सीमत नहोस् भन्न चाहन्छौँ ।’

    उनका अनुसार नेपालको पोखरालाई औपचारिक रुपमा नै पर्यटक राजधानी घोषणा गरेर नीति तथा कार्यक्रम तर्जुमा गरी सङ्घीय सरकारले निर्णय गरोस् भन्ने पोखरेली व्यवसायीको इच्छा रहेको पनि बताए । गण्डकी प्रदेशको राजधानी पोखरा विश्वभरका पर्यटकको आकर्षक गन्तव्यका रुपमा स्थापित भएकाले पनि प्रदेश र महानगरले यसको विकासका लागि पर्यटनमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्नेमा उनले जोड दिए । उनले आफैँमा सुन्दर शहर पोखराको पूर्वाधार विकास र व्यवस्थापन मात्र गर्न सके पनि पर्यटकको आगमन र बसाइ बढाउन सकिने धारणा राखे ।

    महानगरभित्र दिगो पर्यटन विकास गर्ने लक्ष्यसहितको एकीकृत विकास अवधारणानुसार सहरी सुविधाको गुणस्तर बढाएर लैजानुपर्ने, स्वच्छ एवम् सफा राख्न दीर्घकालीन फोहर व्यवस्थापन प्रणाली चुस्तदुरुस्त बनाउनुपर्ने, प्रमुख गन्तव्यस्थल सूचीकृत गर्दै प्रवद्र्धनका लागि नगर पथप्रदर्शकलाई तालिम दिनुपर्ने,े प्रभावकारी सेवा प्रवाहका लागि प्रविधिमैत्री विकासको ढाँचाबाट अघि बढ्नुपर्ने उनको सुझाव छ । सँगसँगै महानगरभित्र एउटा पर्यटन विषय हेर्ने सहायता कक्ष पनि आवश्यक रहेको उनको भनाइ छ । महानगरले पर्यटन प्रवद्र्धनका लागि ल्याएका कार्यक्रममा परिषद् सहकार्य गरेर अघि बढ्न तयार रहेको जनाउँदै उनले ‘फुट ट्रयाक’, ‘साइकल ट्रयाक’, ढल निकास, फोहोरमैला व्यवस्थापन, ‘लेक टु लेक कनेक्ट’, ‘चिल्डे«न पार्क’, सार्वजनिक शौचालय जस्ता कुरालाई भने तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो । पोखरामा ‘माइस टुरिज्म’ मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स एण्ड एक्जिबिजन बढाउन पनि महानगरको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

    गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष उदय सुवेदीले महानगरले पर्यटन विकासको योजना बनाउँदा ग्रामीण पर्यटनलाई पनि जोड्नुपर्ने बताए । पोखराको प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै डाँडाकाँडामा दृश्यावलोकनस्तम्भ राख्नुभन्दा अन्य कुराले सजाउन सके पर्यटक आकर्षण गर्न सकिने जनाउँदै उनले ग्रामीण उत्पादनलाई बजारीकरण व्यवस्थासँगै ‘भिलेज टु भिलेज कनेक्टिभिटी’मा जोड दिएर स्वस्थ र उत्कृष्ट बासस्थानको सहर बनाउन सकिने बताए ।

    कोभिड–१९ महामारी र यसको प्रभाव विषयमा गरिएको महानगरको प्रारम्भिक अध्ययनानुसार लकडाउनका समयमा पोखराको पर्यटन उद्योगले मासिक करिब रु पाँच अर्बका दरले नोक्सान बेहोरेको अनुमान छ । पोखरा क्षेत्रमा २३ तारेस्तरका र ६५० पर्यटकीय होटल, ८० पर्यटकस्तरीय रेस्टुरेन्ट र अन्य आतिथ्य सेवाका व्यवसायमार्फत स्तरीय आवास, मनोरञ्जन तथा खानाको सुविधा उपलब्ध छ । पर्यटन प्रवद्र्धन गर्न सन् २०२२ मा ‘पोखरा पर्यटन वर्ष’ का रूपमा मनाउने कार्यक्रम पनि तय भएको छ ।

    पोखरा भौगोगिक तथा प्राकृतिक रूपमा मात्र नभएर जैविक विविधतामा पनि उत्तिकै धनी छ । प्राकृतिक रूपमा बनेका गुफा, ताल, नदी, खोला र खोल्सीले भरिएको पोखराका नौ ताल तथा जलाधार क्षेत्र रामसार क्षेत्रमा सूचीकृत छन् । पोखरा उपत्यकाका गुफा, ताल, नदीसँगै रहेका सिमसार एवं जलाधार क्षेत्रका प्राकृतिक वनजङ्गल जैविक विविधताले भरिपूर्ण छन् । यसको उचित व्यवस्थापन गर्न सकेमा वन, वनस्पति, पुतली, चरा, वन्यजन्तुको अवलोकन एवं अध्ययन–अनुसन्धान जस्ता पर्यापर्यटनका गतिविधि सञ्चालन गर्न सकिने प्रचूर सम्भावना छ । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको तथ्याङ्कले पोखरा उपत्यकामा रहेका ताल, सिमसार र जलाधार क्षेत्रमा १७ प्रजातिका माछा, १४ प्रजातिका सरिसृप, ९० प्रजातिका चरा, १४ प्रजातिका बसाइँ सरेर आउने चरा, ३४ प्रजातिका स्तनधारी जनावर र १४९ प्रजातिका वोटवृक्ष पाइने देखाएको छ ।

    पोखराकाको रुपान्तरणकारी परियोजनाका रुपमा विशेष गरी नौ क्षेत्रलाई अगाडि बढाइएको छ । लेकसाइड वाटरफ्रन्ट विकास, रत्नमन्दिर बगँैंचा, फेवाताल संगीत फोहरा, फेवाताल वरिपरि पैदल मार्ग फेवा फेरो र सराङकोट डाँडामा पर्यटकीय संरचना, सेती खोँचमा आकाशे पैदलमार्ग स्काई वाक, अन्नपूर्ण प्राकृतिक सङ्ग्रहालयमा जीवित पुतली प्रदर्शनी कक्ष थप गरी स्तरोन्नति गर्ने, ढुङ्गेसाँघु डाँडामा नाटक प्रदर्शनी, वेगनास तालमा वन्यजन्तु तथा अवलोकनका लागि पर्यावरणीय प्रदर्शन भवनलगायत छन् ।

    माघ २०७८

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस