• राष्ट्रिय अभिवादनको भावना पुनर्जागरण आवश्यक

    राष्ट्रिय अभिवादनको भावना पुनर्जागरण आवश्यक

    – भेषजंग बादल

                    हिन्दू संस्कृतिमा नमस्कार एउटा अति प्रभावकारी, शक्तिशाली तथा उपयोगी परम्परा हो । हाम्रो समाजमा धेरै आध्यात्मिक, सामाजिक तथा राजनीतिक नेताहरूले यसलाई सच्चा भावनाको रूपमा प्राप्त गरेका छन् । तिनीहरू सबै पूर्ण रूपले परिवर्तित भएको पाइएका छन् र तिनीहरूले कर्तव्यनिष्ठ, भक्ति तथा आत्मसर्पणको भावनाले वृद्ध मानवताप्रति नै ठूलो सेवा गरेका छन् । यसरी नमस्ते अहिले हामीकहाँ अवतरण भएको छ ।

    अतः नमस्ते दर्शनमा निहित जड तथा जीवरूपी जिन्दगीका दुई पक्षको सम्यक् बोध विकसित गर्न प्रत्येक बालकलाई प्रेरित गर्नु समयोचित भएको छ । यदि यसको अभ्यास जीवनको प्रारम्भिककालमै गरिएमा यसले मानवताको सेवा गर्नमा उत्तम परिणाम अवश्य दिनेछ । यो अभ्यास सबैको पहुँचभित्र छ र उदाहरणद्वारा यसलाई सजिलैसँग बालकहरूको समक्ष पुरयाउन सकिन्छ ।

    दिनानुदिन जीवनमा यसको दर्शन र अर्थ राम्ररी बुझेर यसको अभ्यास बालकहरूले गरेमा यसले तिनीहरूको प्राकृतिक अभिवृद्धिअनुसार तिनीहरूका व्यक्तित्वको राम्रोपनाको लागि एउटा क्रान्ति उब्जाउन मद्दत गर्नेछ । नमस्तेको भावना प्रत्येक मानिसको रक्तनलीबाट प्रवाहित भइरहेकै हुँदा हाम्रो सांस्कृतिक सम्पदाको एउटा अंश रहिआउको नमस्तेको सच्चा भावनाको पुनर्जागरण हाम्रो लागि सजिलै हुन्छ ।

                    नमस्तेमा अन्तर्निहित सरल सत्यलाई बुभ्ने र प्रचार गर्ने प्रयासले राष्ट्रिय एकीकरणको क्षेत्रमा राम्रो प्रगति अवश्यमेव पैदा गर्दछ र जातपात, मतमतान्तर, कुल समुदायको उपेक्षा गरेर परस्परमा आदरको भाव तथा भ्रातृत्वको भावना हुर्काउन हामीलाई मद्दत गर्नेछ ।

                    यसले सम्यक् समझदारी तथा पारस्परिक सञ्चारको पुनर्जागरण गराएर सबैको लागि प्राप्त हुने सम्पन्नता, समृद्धि, सुख तथा शान्तितिर हामीलाई लग्छ । हामी जस्तोसुकै अभिमानी तथा स्वार्थी भए पनि नमस्तेमा हाम्रो लागि तय गरिएको लक्ष्य यही हो । आदान–प्रदानको आधारमा नमस्तेको सरल अभ्यासमा हामीले आन्तरिक चेतना, स्वसम्मान, सुख तथा मनको शान्तिको चावी पाउन सक्छौँ ।

                    हाम्रो समाजमा विशाल संख्यक जनताको जीवनमा ताल वा सामञ्जस्य नभएको हामी पाउँछौँ । नमस्तेको सच्चा भाव झण्डै, झण्डै बिलाएको पनि हामी देख्छौँ । स्थायी काम पाउने मानिसहरू आफ्नो कर्तव्य गर्न चाहँदैनन् र त्यतिखेरै बेरोजगारहरू स्वभावतः येनकेन प्रकारेण आफुलाई रोजगारयुक्त पार्न भरमग्दूर प्रयत्न गर्दैछन् । समाजमा यस्ता मानिसहरू पनि छन् जो पैसा लिन्छन्, तर काम गर्न चाहँदैनन् ।

                    धनी मानिस आफ्नो धनबाट अलग्गिन चाहँदैनन् र गरिब मानिस धनी बन्न मेहनत गर्न चाहँदैन अरुको कमाईको धन कसरी लिने भन्ने तृष्णामा । नेपालको ग्रामीण इलाकाको करिब ५० प्रतिशत जनता शुद्ध पिउने पानीसम्मम पाउँदैनन् ।

                    तर ऐयासी भवनहरूमा बस्ने कोही कोही मानिसहरू व्यावहारिक कठिनाइको विचारै नगरी निरन्तर बग्ने पानीको आपूर्तिको लागि आन्दोलन गर्छन् । यी सारा तनावको बाबजुद नमस्ते संस्कृति प्रत्येक जनताको रगतमा पाइन्छ । त्यसकारण हामी हात हल्लाइसकेपछि पनि बरोबर नमस्ते गर्छौं । धेरैजसो हात जोडेर आफ्ना सहजीवीहरू समक्ष नमस्ते भावना सञ्चार गर्दछन् । यसको अभ्यासमा संलग्न कुनै भावना नलिईकनै मानिसहरू यन्त्रवत् यो गर्दछन् । अन्तमा मानिसहरू त्यहाँ पाउँछन् जो तिनीहरूलाई सुहाउँछ । यदि कोही मानिसले कुनै काम आधा मनले गर्छ भने त्यसले उत्तम नतिजा पाउने आशा गर्न सत्तैmन । यही प्राकृतिक कानुनको नियम हो र यो अहिले नमस्ते संस्कृति उपर पनि लागू हुन्छ । मानिसहरू यसलाई ठीक भावनाले गर्दैनन् । सच्चाइ र नम्रताले मानिसलाई जिन्दगीको हरेक क्षेत्रको समुन्नति र समृद्धिमा पुग्न मद्दत गर्छ । यसलाई एउटा मानिसले शंकाको छायासम्म पनि नपर्ने गरी प्रमाणित गरिदिएका छन् । उनको नाम महात्मा गान्धी हो । त्यसबखत पनि उनको बारेमा देशबासीलाई थाहा थिएन । अकस्मात् उनी आफु काम गरिरहेको ठाउँ अफ्रिकाबाट फर्के, तर जब उनले अति विनम्र तथा सहृदयी भएर आफ्ना देशवासीलाई नमस्ते गरे । सम्पूर्ण राष्ट्र नै उनको पछि लाग्यो । यो हाम्रो नमस्ते संस्कृतिको गौरवमय उदाहरण हो । तर यस्तो गौरवमय सेवाको लागि उनलाई के दिइयो ? भन्दा मृत्यु अर्थात् मृत्यु दिएर समाप्त गरियो । तर उनको आत्माले “हे राम” मात्र भनेर यही नमस्तेको उद्गमस्थल देवत्वको आधारमा धाममा पुग्न सच्चाइ तथा नम्रताको पखेटा हालेर उड्यो । तर नमस्ते भावनालाई परित्याग गरेर मानिसहरू राम्रो अवस्थामा छन् वा छैनन् भन्ने कुरो हामी आपैmँलाई जाँच्न सक्छौँ ।

                    यो सरल तर अति महत्वपूर्ण अभिवादनले जात, धर्म, वर्ण तथा राष्ट्रियताको वास्ता नराखी मानिसको प्रगति गराउने र सो प्रगतिको लागि योगदान दिने भएकोले सबैले यसलाई एउटा राम्रो चलनको रूपमा लिनु योग्य कुरो हो । यसलाई भावनासहित सजिलैसित यसको पुनर्जागरण गर्न सकिन्छ । यो एउटा सम्भाव्य अन्तर्राष्ट्रिय अभिवादन पनि हो, किनभने प्रत्येक कुरामा एकत्वको सच्चा भावनाले हेरी विस्तारित चेतना प्राप्त गर्ने यसको लक्ष्य हो ।

                    यस अभिवादनले सधैँ सम्बन्धित मानिसलाई प्रत्यक्ष सम्बोधन गर्ने हुँदा यस प्रकारके अभिवादन अन्य प्रकारको दाँजोमा स्वयम् पूर्ण हुन्छ भन्ने कुरो पनि यसको पक्षको अर्को बुँदा हो । अतः यसलाई हाम्रो देशमा राष्ट्रिय अभिवादनको रूपमा पुनरस्थापना गर्न सकिन्छ । हाम्रा राष्ट्रिय विभूतिहरू राष्ट्रिय गीत, राष्ट्रिय पन्छी र राष्ट्रिय संस्कृति भएजस्तै हाम्रो राष्ट्रिय अभिवादनको रूपमा नमस्ते पनि हुन सक्छ ।

     ( लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ )

    तस्विर : इबे जीओभी युके

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस