• सगरमाथालाई आराम दिऔं -हिमाल प्रदूषित हुनबाट जोगिन्छ

    सगरमाथालाई आराम दिऔं -हिमाल प्रदूषित हुनबाट जोगिन्छ
    • बुद्धिनारायण श्रेष्ठ

    १९५३ मे २९ का दिन न्युजिल्यान्डका एडमन्ड हिलारी र तत्कालीन नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले सर्वप्रथम सगरमाथाको थाप्लोमा टेकेका थिए । उनीहरूभन्दा अघि र पछि सगरमाथा आरोहणका लागि होडबाजी चलेको पाइन्छ । तेन्जिङ–हिलारीले सफलता प्राप्त गरेको तीन वर्षपछि दोस्रो टोलीको रूपमा १९५६ मे २३ मा स्वीट्जरल्यान्डका अर्नस्ट स्केमाइड र जुएर्ग मार्मेट, त्यसको भोलिपल्ट तेस्रो टोली स्वीट्जरल्यान्डकै एडल्फ रिस्टका साथ हान्सु डोल्फियन थाप्लोमा पुगे ।

    तेन्जिङ–हिलारी सफल हुनुअघि १९२१ जुन ५ देखि १९५२ अक्टोबर ३१ सम्ममा असफल आरोहीमध्ये १५ जनाको ज्यान गएको थियो । तीमध्ये ब्रिटिस–अमेरिकी चर्चित आरोहीद्वय जर्ज म्यालोरी र एन्ड्र्यु इर्भिनको चौथो क्याम्पमा १९२४ जुन ९ मा मृत्यु भएको सय वर्ष पुग्दैछ ।

    तेन्जिङ–हिलारीपछि ७१ वर्षको समयावधिभित्र सन् २०२३ सम्ममा ८,२७२ आरोहीले सगरमाथाको थाप्लोमा टेकिसकेका छन् । यसमध्ये ५८० महिला आरोही छन् । आरोहण पर्मिट लिएर सफलता हासिल गर्न नसकेका आरोही सन् २०२३ सम्ममा १,३१० जना रहेको बुझिन्छ । यस्तै, हिमालयन डाटाबेसअनुसार आरोहणपछि र अघि १९२१ जुन ५ देखि २०२३ जुन ३ सम्ममा आरोहण बाटोमा, डेथ जोन, क्रिभासस, खोंच, आइसफलमा ज्यान गुमाउनेको संख्या ३३२ जना पुगेको छ । मृत्यु हुनेको करिब २०० शव अझै हिमालमै यत्रतत्र अलपत्र छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुष्मलता माथेमाको इजलासले ‘प्रदूषण हुन नदिन हिमालमा रहेका शव तल ल्याई आधारशिविरभन्दा टाढा लगी अन्त्येष्टि गर्नु र आरोहीको अधिकतम संख्या तोक्नू’ भनी यही वैशाख १८ गते सरकारका नाममा परमादेश जारी गरेको छ । डिभिजन बेन्चले नेपाली सेनाको प्रतिवेदन उद्धृत गर्दै उल्लेख गरेको छ– ‘सगरमाथामा मात्रै २०० भन्दा बढी लास र आरोहीले विसर्जन गरेको मानव मलसमेत गरी १४ हजार टनभन्दा बढी फोहोर रहेको छ । यत्तिका आरोहीको ज्यान गइसके पनि सगरमाथा आरोहण गर्ने लोभ र संख्या वर्षैपिच्छे बढ्दै गएको छ । १९२३ मार्च १८ मा म्यालोरीलाई न्युयोर्क टाइम्सका पत्रकारले ‘तपाईं किन एभरेस्ट चढ्न चाहनुहुन्छ ?’ भनी सोधेको प्रश्नमा उनले जवाफ दिएका थिए– ‘किन कि त्यो त्यहाँ छ ।’ सगरमाथा नेपालमा रहेकाले सगरमाथा चढ्न नेपालमै आउनुपर्छ भन्ने विश्व सन्देश पुगेको थियो । यसले सगरमाथालाई आरोहणमय बनाइराखेको छ । यस वर्ष मे २९ मा सरकारले ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ सर्वोच्च शिखर सगरमाथाको फेदी (बेसक्याम्प) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा मनाउने भएको छ । जसको मुख्य उद्देश्य विश्वका पर्वतारोहीको ध्यान सगरमाथाप्रति आकर्षण गर्नु नै हो ।

    सगरमाथाको थाप्लोमा टेक्ने मात्र होइन, को धेरै पटक पुग्छ भन्ने पनि होडबाजी चल्ने गरेको पाइन्छ । यसै सिलसिलामा सर्वाधिक पटक थाप्लोमा टेक्ने ५४ वर्षीय कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोडी यस वर्ष मे १२ का दिन २९ औं पटक र मे २२ मा ३० औं पटक चढी पुनः विश्व रेकर्ड बनाउन सफल भए । ४६ वर्षीय पासाङदावा शेर्पाले कामीरितालाई पछ्याउँदै गत वर्ष मे २२ का दिन २७ औं पटक सफल आरोहण गरेका थिए । पासाङले ढिलो चाँडो दाउ हेर्दैछन्– सके कामीरितालाई उछिन्ने, नसके उनी जत्तिकैमा पुग्ने । उनीहरूका लागि सगरमाथाको थाप्लोमा पुग्नु त ‘पानी पँधेरा’ जानुजस्तै भएको छ । यो स्वस्थ होडबाजी हो या अस्वस्थ सगरमाथा थाप्लोमा पुग्नु भनेको मृत्युलाई जितेर फर्कनु हो । यस सिजनमा फुन्जोझाङ्मु लामाले सबभन्दा छोटो समय (१४ घण्टा ३१ मिनेट) मा सगरमाथा चुचुरोमा टेक्ने महिलाको कीर्तिमान बनाइन् । ‘हिमचितुवा’ उपनामले प्रख्यात आङरिता शेर्पाले बिनाअक्सिजन १० पटक सफल आरोहण गरेका थिए ।

    सगरमाथा आधारशिविरबाट उकालो लाग्न आइसफल डक्टरहरूले यस वर्ष अप्रिल १७ मा पहिलो क्याम्पसम्म र सेभेन समिट ट्रेक्सका ल्हाक्पा शेर्पासमेत १० जनाले मे १० सम्ममा चुचुरोसम्म डोरी टाँगिदिए । यसबाट आरोहीका लागि आरोहण मार्ग खुल्न गयो । फलस्वरूप मे १२ मा यस वसन्त ऋतुको पहिलो टोलीका रूपमा कामीरिताको अगुवाइमा विदेशीसमेत ७१ जनाले सफल आरोहण गरे । यो लेख लेख्दै गर्दासम्म सरकारी प्रमुख सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार २६८ जनाले थाप्लोमा टेकिसकेका छन् ।

    सगरमाथा सफल आरोहणको प्लाटिनम जुबली मनाउने वर्षसम्ममा विभिन्न आरोहीले अनेक प्रकारका कीर्तिमान राखेका छन् । यस्ता कीर्तिमानीमध्ये जापानकी जुन्को ताबेई १६ मे १९७५ मा सगरमाथा चुचुरो टेक्न पुगी विश्वको पहिलो महिला बनिन् भने पासाङल्हामु शेर्पाले २३ अप्रिल १९९३ मा पहिलो नेपाली महिलाका रूपमा सगरमाथा थाप्लोमा टेक्न सफलता पाइन् । दुर्भाग्यवश, फर्किने क्रममा हिमचट्टानमा चिप्लेर उनको मृत्यु भयो । उनका पति ल्हाक्पा सोनाम शेर्पाले चाहिँ २०२३ मे १७ मा सगरमाथा आरोहण गरेका छन् । २०२३ मे २५ का दिन १७ वर्षका निमारिन्जी शेर्पाले १० घण्टाभित्र सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाए । २००४ मे २१ मा पेम्बा दोर्जी शेर्पाले आधारशिविरबाट ८ घण्टा १० मिनेटमा चुचुरोमा पुग्न भ्याई सबभन्दा छोटो समयमा आरोहण गर्ने व्यक्तिको कीर्तिमान कायम गरे । जबकि तेन्जिङ–हिलारीलाई आधारशिविरबाट चुचुरोमा पुग्न ५ हप्ता लागेको थियो । विकसित र छरितो आरोहण सामग्री, अनुभवी शेर्पा पथप्रदर्शक र मौसम भविष्यवाणी गरिने प्रविधिका कारण पेम्बा चाँडो थाप्लोमा पुग्न सकेका हुन् ।

    नेपालका सर्भेयर प्रमुख नापी अधिकृत खिमलाल गौतमले निजामती कर्मचारीको टोलीमा पहिलो पटक २०११ मे १८ मा सगरमाथा आरोहण गरी सर्भेयरको रेकर्ड कायम गर्न सफल भए । दोस्रो पटक सगरमाथाको थाप्लोमा टेक्न अर्का सर्भेयर नापी अधिकृत रविन कार्कीलाई साथमा लगे । र, २०१९ मे २२ मा थाप्लोमा एक घण्टा १६ मिनेट जीपीएस यन्त्रद्वारा सेटेलाइट अब्जर्भेसन गरी सगरमाथाको उचाइ तथ्यांक रेकर्ड गरे । चीनतर्फबाट पनि २७ मे २०२० मा चोमोलुङ्मा (सगरमाथा) मापन गरिएको थियो । यसपछि सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर हो भनी नेपाल र चीन सरकारले संयुक्त रूपमा २०२० डिसेम्बर ८ मा नयाँ उचाइ घोषणा गरेका थिए ।

    कृत्रिम खुट्टाको सहायताले पूर्वगोर्खा सैनिक हरि बुढामगरले २०२२ मे १९ मा सगरमाथा चुमे । कीर्तिमान कायम राख्ने होडमा दुवै गोडा नभएका ६९ वर्षीय चिनियाँ नागरिक सिया बोयुले सन् २०१८ मेमा सगरमाथामा सफलता प्राप्त गरेका थिए । अमेरिकी दृष्टिविहीन एरिक विहेनमायर २५ मे २००१ मा सगरमाथा थाप्लोमाथि उक्ले । आजन्म बहिरा अमेरिकी दम्पती स्कट लेहम्यान र उनकी श्रीमती सायना अंगर (दुवैले दुईवटै कानले नसुन्ने) ले २०२३ मे २२ का दिन सगरमाथा सफल आरोहण गरेर कीर्तिमान कायम गरे ।

    मोनी मुलेपाती र प्रेम दोर्जीले ३० मे २००५ मा सगरमाथा शिखरमा बिहे गरेर नयाँ रेकर्ड बनाए ।सामान्य आरोहीलाई सगरमाथा थाप्लोमा आधा घण्टा बस्न हम्मे पर्छ । तर बाबुछिरी शेर्पाले अक्सिजन प्रयोग नगरी २१ घण्टा थाप्लोमै बास बसे । होडबाजीकै लहडमा होला २५ वर्षे लाक्पा थार्के शेर्पाले २४ मे २००६ मा सगरमाथा थाप्लोमा अर्धनग्न (शरीरको माथिल्लो भाग) अवस्थामा ३ मिनेट बिताए । फुर्वातासी शेर्पा र सुश्री छुदिन शेर्पा १ हप्तामा दुई–दुई पटक सगरमाथा थाप्लोमाथि टेक्न पुगेका थिए । सामान्यतः आधारशिविरबाट माथि लागेको अक्सर चौथो वा पाँचौं दिनमा सगरमाथा आरोहण हुने गर्छ ।

    आरोहीको बढ्दो संख्या

    आरोहण गर्ने दल र आरोहीको संख्या वर्षैपिच्छे बढिरहेको पाइन्छ । सन् २०२३ को वसन्त ऋतुमा ४३ देशका ६५ समूहमा ४७९ आरोहीले पर्मिट लिएका थिए । यसमध्ये १०३ जना महिला र ३७६ पुरुष रहेका थिए । सबभन्दा बढी अमेरिकी १६३ जना, चिनियाँ ११३, भारतीय ४०, अस्ट्रेलियन ३१, क्यानडेली २१, रुसी २०, यूएईका १८, अस्ट्रियाली १६, नेपाली १६ तथा बाँकी विभिन्न देशका थिए । त्यो वर्ष ४७९ ले पर्मिट लिएकामध्ये ४०२ जना चुचुरोमा पुगेका थिए । २०२२ मा ४४ समूहका ३२३ जनाले पर्मिट लिएका थिए ।

    पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यस वर्ष ६० देशका ४१ टोली सम्मिलित ४१४ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यसमध्ये ५३ महिला छन् । यस वर्ष पासाङल्हापु गाउँपालिकाले २०२४ मे १ देखि सगरमाथा बेसक्याम्प जानका लागि बास बस्ने अन्तिम स्टेसन गोरक्क्षेपमा पदयात्री र पर्वतारोहीलाई लक्षित गरी हाइअल्टिच्युड स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ ।

    नेपाली आइसफल डक्टरले बाटो नबनाइदिए, लजिस्टिक सहयोगी तथा गाइडका रूपमा शेर्पाले काम नगरिदिए विदेशी आरोहीले कुनै पनि हालतमा सगरमाथा थाप्लोमा टेक्न नसक्ने तथ्य छर्लंगै छ । यद्यपि, उनीहरूले आफ्नो पेसाको पारिश्रमिकका लागि काम गरेको भन्ने भनाइ पनि छ । विदेशी आरोही नआए नेपाली शेर्पा समुदायको रोजीरोटी चल्दैन भन्ने अर्को पाटो रहेको छ ।

    सगरमाथाबाट सरकारलाई सबैभन्दा धेरै रोयल्टी रकम सन् २०२३ मा ६३ करोड २० लाख प्राप्त भएको थियो । यस वर्षचाहिँ ५७ करोड प्राप्त भएको छ । प्राप्त राजस्व रोयल्टीमध्ये स्थानीय निकाय तथा प्रदेश सरकारलाई २५/२५ प्रतिशत र संघीय सरकारलाई बाँकी ५० प्रतिशत राख्ने व्यवस्था रहेको छ । सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ भने नेपालीको हकमा बढीमा ७५ हजार रुपैयाँ तिर्नुपर्छ । आरोहण अनुमति दिने पर्यटन विभागले आरोहणपछि फोहोर ल्याउन ५ सयदेखि ४ हजार अमेरिकी डलरसम्म धरौटी लिने गरेको छ । उक्त रकम फोहोर व्यवस्थापनको कागजात देखाएपछि फिर्ता दिइन्छ । तर धेरै आरोही उक्त रकम फिर्ता लिन आउने गरेका छैनन् ।

    ट्राफिक जाम

    सगरमाथाको अवस्थिति स्थिर छ, तर बाह्रैमास चढ्न सकिँदैन । त्यसको आफ्नै विज्ञान र चक्र छ । विगतमा निकै कम पटक भए पनि हिउँद र शरदयाममा समेत चढिएका थिए । पछिल्ला वर्ष त्यो क्रम रोकिएको छ । वसन्तयाम सगरमाथा चढिने निर्विकल्प उपयुक्त मौसमी समय हो । तर यस याममा समेत मे महिनाका सीमित केही दिनमा मात्र चुचुरो आसपासमा हिमपात र वायुको गतिजस्ता चरम चुनौती केही सहज बन्छन् । त्यही दिनलाई व्यग्रतासाथ कुरेर मौसमी विश्लेषण र हिसाब–किताब गर्दै आरोहीहरू चुचुरोसम्म पुग्छन् ।

    अरूबेला प्रतिघण्टा २०० किलोमिटरको वेगमा बहने चुचुरोको जेटस्ट्रिम वायुले उत्तरतर्फ मार्ग फेरेका बेला ‘समिट विन्डो’ (छोटो समय) मा प्रतिघण्टा ३० किलोमिटरभन्दा कम रफ्तारमा हावा चल्छ । त्यस्तो विन्डो कुनै बेला दिनभर वा एक–दुई दिन खुल्छ । कुनै बेला दिनमा दुई–चार घण्टा मात्र कायम रहेर मौसम फेरिन्छ । मे महिनामा सामान्यतया पाँच–छ पटकभन्दा बढी त्यस्ता विन्डो खुल्ने गर्छन् । त्यसैले अलि फराकिलो विन्डो भएका बेला मौका छोपेर धेरैजसो उकालो लाग्न थाल्छन् । ढिलो गर्दा कहिलेकाहीं पछिल्लो अवधिमा विन्डो देखा नपर्न सक्ने जोखिम भएकाले आरोहीहरू सकेसम्म अघिल्ला विन्डो अवधिमा जान खोज्छन् । यस्तो परिस्थितिमाझ ट्राफिक जाम सिर्जना हुन्छ । २०२३ मे १७ मा एकैदिन १७५ आरोही चुचुरोमा पुगेका थिए । २०१५ मे २३ मा एकैदिन ३५४ आरोहीले सगरमाथा थाप्लोमा टेकेको रेकर्ड रहेको छ ।

    तेन्जिङ–हिलारीले सफलता प्राप्त गरेको ३५ सदस्यीय टोलीका जीवित ९१ वर्षीय कान्छा शेर्पाले २०२४ मार्च ३ मा सञ्चारकर्मीलाई दिएको अन्तर्वार्तामा भनेका छन्– विश्वको सर्वोच्च शिखरमा फोहोर थुप्रेको र भीडभाड बढेकोले आरोहीहरूको संख्या घटाउनु राम्रो हुन्छ । अहिले शिखरमा प्रत्येक वर्ष आरोहण सिजनमा जहिल्यै पनि भीड हुने गरेको छ । यसले गर्दा हिमालमा कसिंगर र आरोहीले विसर्जन

    गरेको फोहोर सामग्री थुप्रेको छ । कुनै आरोहीले आफूले गरेको दिसा खोंचमा हालेर आउने गरेका छन् । त्यो त आखिर बेसक्याम्प नजिकै भएर तलतिर खोलामा बग्छ । त्यसले तल्लो तटीय क्षेत्रको खोलाको पानी दूषित बनाउँछ । यस्ता कार्यको रोकथामका लागि एक वर्ष बिराएर सगरमाथालाई आराम गर्न दिने र त्यस समयमा फोहोर संकलन गर्ने काम गर्नुपर्छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुर्बु शेर्पा भन्छन्– ‘यस सम्बन्धमा अध्ययन गरी सरोकारवालासँग छलफल र सरसल्लाह गर्नुपर्छ ।’

    २००४ मे २१ मा सगरमाथाको सबैभन्दा छिटो ८ घण्टा १० मिनेटमा आरोहण गरेका चार कीर्तिमानी पेम्बा दोर्जे शेर्पा भन्छन्– ‘ब्यानर र झन्डा बोकेर जाने आरोहीले फोटो खिचेर झन्डा तथा ब्यानर त्यहीं फालेर आउने प्रचलन छ । उनीहरूलाई त्यस्ता सामग्री बेसक्याम्पमा ल्याउने बाध्यता बनाउनुपर्छ । नमाने कारबाही गर्नुपर्छ । आधारशिविरदेखि क्याम्प ४ सम्म सफा राख्नुपर्छ । सबैभन्दा बढी फोहोर क्याम्प २ देखि ४ सम्म छ । त्यहाँ रहेको सबै फोहोर संकलन गर्ने हो भने १०–१२ हजार टन होला । आधारशिविरमा त फोहोर नै छैन, किनकि त्यहाँ सफा गरिन्छ ।’ हिमालमा थुप्रेको फोहोरले हिमचुलीको तापक्रम बढाई हिउँ पग्लेर हिमाल नांगो चट्टानमा परिणत हुने क्रम बढेको छ । हिमालको फोहोर सफा गर्ने सम्बन्धमा सरकार बेलैमा सजग भई आवश्यक कदम चाल्नुपर्छ ।

    अहिले सगरमाथा चढ्ने र फोहोर टिप्ने एकै सिजनमा हुने गरेको छ । चढ्नेहरू अगाडि जान्छन् र फोहोर टिप्ने पछाडि पछाडि जान्छन् । एक वर्ष आरोहण बिराएर नेपाली सेनाको टोलीसमेतले फोहोर टिप्ने काम गरेमा हिमालमा यत्रतत्र छरिएको शव पनि तल झार्न सकिने हुन्छ । यो भनाइ कतिपय पर्यटन व्यवसायी, आरोही स्वयम् र सरकारलाई पनि मन नपर्न सक्छ । व्यवसायीको रोजीरोटी हरण गरियो, स्थानीय निकाय र सरकारको आम्दानी घट्यो भनिएला । तर, यस्तो प्रबन्ध गरिएमा सगरमाथाको महत्त्व पनि बढ्छ र हिमाली पर्यावरण पनि कायम हुन सक्छ ।

    उपसंहार

    १. सगरमाथा आरोहण गर्ने अनुमति एक वर्ष दिने र अर्को वर्ष रोकेर हिमाल सफाइ गर्ने प्रबन्ध गरिए हिमालको हिउँ पग्लने क्रम केही मात्रामा घट्न सक्छ, यद्यपि ‘ग्लोबल वार्मिङ’ को भूमिका पनि छ । यसो गरिए हिमाल प्रदूषित हुनबाट बच्न सक्छ ।

    २. एकै वर्ष दुई पटक सगरमाथामा उक्लने एउटै आरोहीले दुईपल्ट पर्मिट लिनुपर्ने व्यवस्था हुनुपर्छ । अहिले तुरुन्तै दोस्रो पटक आरोहण गर्ने आरोहीबारे पर्यटन विभाग तथा बेसक्याम्पका सम्पर्क अधिकृतलाई पनि थाहा नहुन सक्छ । यस्ता आरोहीले सफलता हासिल गरेपछि अधिकृतको सिफारिस माग्न आउँदा मात्र विधिवत् जानकारी मिल्ने गरेको पाइन्छ ।

    ३. आरोहण यामको रूपमा रहेको वसन्त मासमा मौसमअनुकूल भए अहिलेको भन्दा कम्तीमा १५ दिनअगावैदेखि आरोहण सुरु गर्दा धेरै समस्याको समाधान निस्कन्छ । त्यसले कम्तीमा दुई–चारवटा समिट विन्डो थपिन सक्छ र सगरमाथामा ट्राफिक जाम समस्याको केही हदसम्म समाधान हुन सक्छ ।

    ४. कतिपय आरोहीले पैसाका भरमा धेरै शेर्पाहरूलाई गाइड बनाएर धकेलिइएर वा तानिइएरै चुचुरो पुग्न सकिन्छ भन्ठान्छन् । यसैले हिमाली गाइडको सीप–तालिम, अनुभव, आधारभूत सदाचार र आचारसंहिता अनुसरण गर्नेलाई मात्र गाइड बन्ने लाइसेन्स दिँदा यस्ता अनियमित तरिकाबाट आरोहण गर्ने मनसाय मत्थर हुन सक्छ ।

    ५. जोसुकैलाई अठ्यारो पर्दा सहायता पुग्ने गरी चौथो आधारशिविरमा एउटा उद्धार टोली तैनाथ गर्ने व्यवस्था हुनुपर्छ । त्यस क्रममा पर्यटन विभाग, आधारशिविर र हिमाल आरोहीबीचमा सञ्चार सम्पर्कको प्रभावकारी संयन्त्र आवश्यक हुन्छ ।

    ६. आरोहीको पोसाकमा विद्युतीय चिप्स जडान भए तापनि आरोहण गर्ने प्रत्येक आरोहीलाई जीपीएस प्रविधिद्वारा ट्र्याकिङ गर्ने व्यवस्था गरिनुपर्छ । यसबाट सफल आरोहण गरेको हो होइन भन्ने कुरा यकिन गर्न मद्दत पुग्छ । दुर्घटनामा परी मृत्यु भएमा पनि तत्काल थाहा पाउन सजिलो हुन्छ ।

    – श्रेष्ठ सीमा अन्वेषक तथा पर्वतारोहण संघका सल्लाहकार हुनुहुन्छ  ।

    जेष्ठ १६, २०८१

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस