• तीन राजदूतको रारा भ्रमण – हिमाली क्षेत्रमा जलवायु परिवर्तन असर प्रति चिन्ता व्यक्त

    तीन राजदूतको रारा भ्रमण – हिमाली क्षेत्रमा जलवायु परिवर्तन असर प्रति चिन्ता व्यक्त

    ट्राभल बिज न्युज —

    नेपाल स्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरी, बेलायतकी राजदूत निकोला पोलिट र अस्ट्रेलियाकी राजदूत फिलिसिटी भोल्कले यसै साता सम्पन्न गरेका रारा तालको भ्रमण निकै चर्चित प्रसंग बनेको छ /

    नेपालका लागि अमेरिकी राजदूत बेरी, बेलायती राजदूत पोलिट, तथा अस्ट्रेलियाली राजदूत भल्कले रारा भ्रमणमा निस्कनु अघि जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरू र वातावरणमा पारेको असर लगायत जलवायु सम्बन्धी तुरून्तै गर्नुपर्ने कामहरू बारे जनचेतना जगाउन संयुक्त भ्रमणमा निस्कने योजना सार्वजनिक गरेका थिए /

    रारा भ्रमणको क्रममा अमेरिकी राजदूत बेरीको कथन छ – नेपाल प्राकृतिक सम्पदाहरूले अत्यन्तै सम्पन्न छ। नेपाल सरकारले ” कोप २६” मा पेश गरेका महत्वाकांक्षी प्रतिवद्धताले देखाउँछ कि नेपालले प्रकृतिमा आधारित समाधान मार्फत नेतृत्वदायी भूमिका खेल्नसक्छ।

    “तपाईंहरूका केही जिज्ञासाहरू लिन्छु। म किन यो यात्रामा निस्कें? रारा ताल नै किन? किनभने जलवायु परिवर्तन विनाशकारी छ। यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ। यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो। यो खतराको घण्टी हो।

    रारा ताल नेपालको सवैभन्दा ठुलो र हिमाली क्षेत्रमा अवस्थित ताल हो। यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि हो। जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ। अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूस सम्म पनि पर्ने गर्दछ। त्यसैले म किन यो यात्रा गर्दैछु त। स्पष्ट छ, म तपाईंहरू सवैलाई यी सवै विषयका बारे अवगत होस् भन्ने चाहन्छु।”

    “विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाऊने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ।

    मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौं। कहिलेकाहीं म झसङ्ग भएर सोच्ने गर्छु — हामीले साँच्चै केही गर्न सकिएला त? सँगै के एउटा मात्रै देशको ग्रीनहाउस ग्याँस घटाऊने प्रतिवद्धताले खासै ठुलो फरक पर्ला त? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिंदैन हुन्छ होला। कम्तीमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला। तर हामी सवै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयासहरू पनि दुवै तहमा हुनुपर्‍यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिको रूपमा तथा विश्वस्तरमा देशको रूपमा।

    त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेय पदार्थहरू प्रयोग गर्नेछैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्वपूर्ण छ।”

    राजदूत बेरीले रारा भ्रमणको तेश्रो दिन डायरीमा लेखेका छन् –

    “मैले आफ्नै देशबाहेक सवैभन्दा धेरै समय बिताएको ठाउँ नेपाल हो। यहाँको परिदृश्यहरू संसारमा अन्यात्र नपाईने किसिमका छन्। साथै यहाँको भाषा, संस्कृति , तथा जनजीवनको विविधता उल्लेख्य छन्। यो कुनै अचम्म होइन कि यति धेरै पर्यटकहरू यहाँ आउन चाहन्छन्। पर्यावरणीय पर्यटनले पर्यटन क्षेत्रका नकारात्मक प्रभावहरूलाई कम गर्ने उद्देश्य राख्दछ: फोहोरमैला, पानीका बोतल, एकदमै खेर फालिने खानेकुरा आदि।

    आज बेलायती राजदूत पोलिट, अस्ट्रेलियाली राजदूत भल्क र मैले मिलेर रारा राष्ट्रिय निकुन्जलाई ३ वटा सोलार प्यानल हस्तान्तरण गर्यौं। कोप २६ सम्मेलनमा प्रम देउवाले भन्नुभएजस्तै जलवायु परिवर्तनका असरहरूको सामना गर्न तथा दीर्घकालीन उर्जाको विकासका लागि सौर्य उर्जा लगायत महत्वपूर्ण साधन हुनसक्छन्।

    रारा ताल मैले घुमेका ठाउँहरू मध्ये अत्यन्तै सुन्दर परिदृष्य, जनजीवन, तथा सौन्दर्यको हिसाबले अतुलनीय स्थान हो। तैपनि यसले मलाई संसारमा सवैतिर देखिन स्थानहरूको सम्झना गराउँछ – त्यस्तो ठाउँ जसले जलवायु परिवर्तनको चुनौती सामना गरिरहेको छ र समाधानको खोजी अत्यन्तै जरूरी। म मेरा साथीहरूलाई यात्रामा साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। अब काममा लाग्ने बेला भयो।”

    अमेरिकी राजदूत र्‍यान्डी बेरी
    बेलायतकी राजदूत निकोला पोलिट
    अस्ट्रेलियाकी राजदूत फिलिसिटी भोल्क

    (साभार : नेपालस्थित अमेरिकी दूतावासको फेसबुक पेज)
    १६ नोभेम्बर २०२१

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस