विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ३५५
काठमाडौँ । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।
उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ ।
नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।
वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) चार सय हाराहारी रहेको बताएका छन् ।
नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पु¥याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।
पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।
नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो ।
विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ ।
नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार २०० मा सीमित भएको थियो ।
विश्ववन्यजन्तु कोषको तथ्याङ्कअनुसार त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर सन् २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको थियो । सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इण्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा एक सय ८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२ चीनमा २० भियतनाममा पाँच र लाओसमा दुई वटा बाघ रहेका छन् ।
बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।
हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक/एक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनी सरकारको ठूलो रकम खर्च हुँदै आएको छ ।
बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त यस्ता बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई वन्यजन्तु कूटनीतिमार्फत उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गरी आयआर्जन गर्न सकिने, केही उपाय नलागे मार्नुपर्नेलगायत विकल्पमाथिसमेत बहस सुरु भएको छ । रासस
१४ साउन २०८२


