• चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ,दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर

    अक्टोबर 13, 2019
    चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ,दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर

    रमेश तिवारी ——

    काठमाडौँ – चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल-चीनबीच दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमण सकिएपछि परराष्ट्र मन्त्रालयले आइतबार संयुक्त विज्ञप्ति जारी गरेको छ ।

    संयुक्त प्रेस विज्ञप्तिका बुँदा –

    दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्ने।

    नेपाली पक्षले एक चीन नीतिमा अडान दोहोर्‍याउँदै ताइवान चीनको अभिन्न अंग रहेको र तिब्बत चीनको आन्तरिक मामला भएको धारणा स्पष्ट पारेको छ। नेपाली भूमीबाट चीन विरुद्धको कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता नेपालले दोहोर्‍याएको छ।

    राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुत आर्थिक विकासका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई चीन सरकारको सहयोग कायम रहने।

    द्विपक्षीय उच्चस्तरीय भ्रमण र आदानप्रदानलाई निरन्तर रुपमा अघि बढाउने। सरकारका मन्त्रालयहरु, विभाग, कानुनी निकाय र राजनीतिक दलबीचको आदानप्रदान निरन्तर राख्ने।

    बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत बन्दरगाह, सडक, रेल्वे, हवाइ सेवा आदि माध्यमबाट हिमालय वारपार सम्पर्क सञ्जाल विस्तार गर्ने। क्रस बोर्डर रेल्वे निर्माणबारे विस्तृत तहको अध्यन गर्ने र यसलाई काठमाडौं-पोखरा-लुम्बिनी रेल्वे परियोजनाका रुपमा अघि बढाउने। झाङमु/खासा बन्दरगाहलाई पुन:सञ्चालन, जिलोङ/केरुङ नाकालाई अद्यावधिक गर्ने र लिजी/नेचुङ नाका जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने। अरनिको राजमार्गको स्तर उन्नति गर्ने र स्याफ्रुबेंसी-रसुवागढी सडक समेत पुनर्निर्माण गर्ने। जिलोङ/केरुङ हुँदै काठमाडौं जोड्न सुरुङहरु निर्माण गर्ने। कोशी, गण्डकी र कर्णाली कोरिडर निर्माणमा प्रतिबद्धता दोहोर्‍याउने।

    चीनको सिचुवान प्रान्तको छेङ्दूमा नेपालको कन्सुलेट जेनेरल स्थापना गर्न समझदारी भएको छ।

    दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुद बनाउँदै विभिन्न क्षेत्रहरुमा दुवै मुलुकको हित हुने गरी सहकार्य गरेर अगाडि बढ्ने।

    संयुक्त राष्ट्रसंघमा नेपाल र चीनले आपसी सहकार्यलाई थप मजबुद बनाउने। दुई मुलुकबीचको हित हुने क्षेत्रीय मुद्दामा सहकार्य गर्दै अघि बढ्ने।

    चनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयम थपिएको।

    दुई मुलुकबीच शिक्षा, पर्यटन, आयुर्वेदिक, मिडिया, थिंक ट्यांक लगायतमा प्रवर्द्धन गर्ने। चिनियाँ सरकारको तर्फबाट सय वटा कनफ्युसयिस इन्स्टिच्युट छात्रवृत्ति प्रदान गर्ने। नेपालको पर्यटन प्रवर्द्धनमा चीनको पक्षबाट सक्दो सहयोग गर्ने र भ्रमण वर्षमा पनि सहयोग रहने।

    दुई मुलुकबीच सीमा व्यवस्थापन सम्बन्धी समझदारीमा भएको हस्ताक्षारमा सहमति जनाइएको।

    सगरमाथा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको द्योतक रहेको उल्लेख गर्दै चिनियाँ पक्षले जलवायु परविर्तन र वातावरण संरक्षणमा जोड दिने। चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाइको घोषणा गर्ने सहमति। र विभिन्न वैज्ञानिक अनुसन्धानहरु गर्ने।

    राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणमा नेपाल र चीनबीच विविध २० वटा क्षेत्रमा समझदारी एवम् सहमति भएको छ । प्रधानमन्त्री के पी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा दुवै देशका मन्त्री तथा अधिकारीहरुले सहमति एवम् समझदारी पत्रहरू आदान प्रदान गर्नुभयो । दुई देशबीच भएका समझदारीका बुँदाहरू –

    १. सीमा व्यवस्थापन सुदृढीकरण–सहमति

    २. सुशासन सशक्तिकरणका लागि सहयोग आदानप्रदान समझदारी

    ३.आपराधिक घटनामा साझा कानुनी सहायता सम्बन्धमा सन्धी

    ४.सगरमाथा÷झुमुलोङमा संरक्षणका लागि समझदारी

    ५.महत्वपूर्ण आयोजनाहरूको लगानी प्रोत्साहन गर्न राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र पुर्नसंरचना आयोगबीच समझदारी

    ६.चेङ्दुमा नेपालको वाणिज्य दूतावास स्थापना गर्न टिप्पणी आदानप्रदान

    ७.चीन र नेपालको सीमापार रेल्वे आयोजनाको सम्भाव्यता अध्ययन गर्न समझदारी

    ८.काठमाडौं महानगरपालिका र चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न सहमति

    ९.बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न सहमति

    १०.परम्परागत् उपचार पद्धतीमा सहयोग आदानप्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिनियाँ निकायबीच समझदारी

    ११.प्रकोप जोखिम न्यूनिकरण र आकस्मिक उद्धार सम्बन्धमा सहयोग आदानप्रदान गर्न समझदारी

    १२.दुई देशको महान्यायधिवक्ताको कार्यालयबीच सहयोग आदानप्रदानमा समझदारी

    १३.त्रिभुवन विश्वविद्यालय र कन्फ्युसिस इन्स्टिच्युटबीच त्रिविमा कन्फ्युसिस इन्स्टिच्युट स्थापना गर्न सहमति

    १४.मौसमी र सुन्तला जस्ता फलफूल निर्यातका लागि लागि आवश्यक प्रोटोकलमा कृषि विभाग र चीनको भन्सार प्रशासनबीच सहमति

    १५.व्यापारका लागि संयुक्त कार्यदल निर्माण गर्न समझदारी

    १६.चिनियाँ सहयोग अनुगमन सञ्जाल आयोजनाका लागि स्वीकृती प्रमाणपत्र

    १७.लगानी सहयोगका लागि संयुक्त कार्यदल स्थापना गर्न–समझदारी

    १८.सुरुङ निर्माणका लागि समझदारी

    १९.सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका लागि पत्र आदानप्रदान

    २०.चिनियाँ सहयोगको सम्भाव्यता अध्ययन /

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस