कोभिडपछि आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्दै नेपाली पर्यटन उद्योग
डेढ वर्षभन्दा बढी समय ठप्प बनेको पर्यटन क्षेत्र आन्तरिक पर्यटकको भरमा तङ्ग्रन खोजिरहेको छ। पर्यटन अधिकारीले त्यसको माहौल बनाउनका लागि कर्मचारीहरूलाई पर्यटन काज दिने एउटा सरकारी कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्।
नेपालको कुल ग्रार्हस्थ उत्पादनमा १० प्रतिशत हाराहारीको योगदान र विदेशी मुद्रा आर्जनको दोस्रो प्रमुख स्रोतको रूपमा रहेको पर्यटनलाई अहिलेसम्म विदेशीमा मात्र धेरै भर पर्ने गरिएको बताइन्छ।
बीस लाख विदेशी पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी योजना बोकेको भ्रमण वर्ष २०२० ले सुरुमै कोभिडको झट्का व्यहोरेपछि त्यो वर्ष दुई लाख हाराहारीमा मात्र विदेशी नेपाल आए। सन् २०२१ सकिन लाग्दा समेत पर्यटकहरू आउने प्रवृत्ति उस्तै हुने देखिएको छ।
देशहरूका आआफ्नै नियम र यात्रासम्बन्धी त्रासको कारण कायम अन्यौलता कहिलेसम्म रहने हो भन्ने प्रस्ट देखिँदैन। तर पर्यटन व्यवसायीहरूले अब आन्तरिक पर्यटनको सम्भावना खोज्नेमा देखिने गरी नेपाली पर्यटकलक्षित प्याकेजहरू देखिएका छन्।
सरकारी कर्मचारीहरूलाई नै घुम्न प्रोत्साहन गरेर त्यसको लागि एउटा माहौल बनाउने प्रयास भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डे बताउँछन्।
उनी भन्छन्, “कर्मचारीहरूलाई पर्यटन काज दिने हाम्रो सोचले आन्तरिक पर्यटनलाई बढवा दिन्छ भन्ने हाम्रो विश्वास छ। त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि मन्त्रालयले एउटा कार्यविधि अन्तिम चरणमा पुर्याएको छ।”
निजामती कर्मचारी, सेना-प्रहरी, सरकारी विद्यालयका शिक्षक र सार्वजनिक संस्थानका कर्मचारीहरूलाई मात्र घुम्न प्रोत्साहन गरिँदा समेत त्यो झन्डै पाँच लाख बढी हुने बताइन्छ। र तिनका परिवारहरू समेत जोडिँदा आन्तरिक पर्यटनमा उल्लेख्य माहौल बन्ने पर्यटनकर्मीहरूको मत पाइन्छ। तर त्यसको लागि केही वर्षअघिदेखि नै व्यवस्थित लामो बिदाहरू र सातामा दुई दिने बिदा चाहिने मत उठ्न थालेको पाइन्छ। त्यस’bout समेत आफूहरूको छलफल सकारात्मक दिशामा रहेको प्रवक्ता पाण्डे बताउँछन्।
कोभिड अघिका केही वर्षमा नेपालीहरू समेत वार्षिक १० लाखको सङ्ख्यामा देशबाहिर घुम्न गएका विवरण सार्वजनिक भएका थिए।
आन्तरिक पर्यटनको सम्भावना देखाउन त्यही सन्दर्भ पनि महत्त्वपूर्ण रहेको एक जना पर्यटन विज्ञ खेम लकाई बताउँछन्।उनी भन्छन्, “घुम्ने नेपालीहरू विदेशीभन्दा धेरै वा कम्तीमा उनीहरूकै हाराहारीमा खर्च गर्ने देखिन थालेका छन्। उनीहरूले नेपालभित्रै मात्र नभएर नेपालबाहिर खर्च गर्ने प्रवृत्तिले समेत त्यही देखिन्छ।”
जानकारहरूले आन्तरिक पर्यटनको योगदान उक्त क्षेत्रका लागि आधाभन्दा बढी हुन सकेको खण्डमा जुनसुकै सङ्कटको अवस्थामा समेत त्यो कमजोर नहुने बताउँछन्। तर ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानकी महासचिव सरिता लामा चाहिँ आन्तरिक पर्यटक बढे पनि नेपालको पर्यटन चक्र अझै पथप्रदर्शकहरूसाथ घुम्ने विदेशीमा निर्भर रहेकाले अझै केही समय त्यो नै प्रधान हुने बताउँछिन्।
उनी भन्छिन्, “यसले नेपालका होमस्टेदेखि विमानहरूलाई राम्रै गर्छ। तर हाम्रो पर्यटन भनेको अझै पनि विमानस्थलमा पर्यटकलाई स्वागत गरेर विमानस्थलसम्म उनीहरूलाई छोड्ने सेवामा आधारित छ।”
पर्यटन पुनरुत्थान कार्यदल-नेपालका संयोजक दीपकराज जोशी समेत आन्तरिक पर्यटनलाई जोड दिनु भन्नुको अर्थ त्यो विदेशी पर्यटक आउनका लागि समेत थप आधार बन्ने रूपमा बुझ्नुपर्ने बताउँछन्। “आजका दिनमा रारादेखि इलामसम्म, बर्दियादेखि खप्तडसम्मका नयाँ गन्तव्यमा आन्तरिक पर्यटकहरू गइरहेकै भरमा पूर्वाधारहरू खडा भइरहेका छन्। ती अन्ततः विदेशी आउने ठाउँ हुन्।”
कोभिडपछिका दिनमा यस्तै कुनाकाप्चाका शान्त गन्तव्यमा पर्यटकहरू बढ्ने ठानिएकाले अहिले आन्तरिक पर्यटक मा गरेको लगानीले पछि विदेशी नै आकर्षित हुने नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख समेत भइसकेका जोशी बताउँछन्।
विदेशी पर्यटकहरू नेपालमा खासगरी वसन्त र शरद याममा आउने भएकाले आन्तरिक पर्यटनमा जोड दिँदा त्यो बाह्रै महिना चलायमान हुने बताइन्छ। तर अहिलेसम्म उनीहरूलाई मुनाफा कमाउने उद्देश्यले कमै हेरिएकोमा कोभिड महामारीले अब त्यो परिदृश्य देखाइदिएको व्यवसायीहरू ठान्छन्। – बीबीसी