• गण्डकी प्रदेशका प्रमुख पर्यटकीय आकर्षण

    गण्डकी प्रदेशका प्रमुख पर्यटकीय आकर्षण

    गण्डकी- यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ ।

    कुनैबेला विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । तपाई पनि यो शरद्याममा घुमफिरको योजनामा हुनहुन्छ भने गण्डकी प्रदेशमा रहेका पर्यटकीयस्थल यहाँका लागि उपयुक्त हुनसक्छन् ।

    प्रकृति, संस्कृति र साहस (नेचर, कल्चर र एडभेन्चर) लाई गण्डकी प्रदेशको पर्यटनको मूल आधार मानिन्छ । पोखरालाई पर्यटकीय राजधानीसमेत घोषणा भइसकेको स्थितिमा यहाँ हुने पर्यटकीय गतिविधिले मुलुककै पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्छन् । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै बामे सरेको यस क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ ।

    नेपाल भित्रने विदेशी पर्यटकमध्ये झन्डै ५० प्रतिशत पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्ने गरेको सरकारी तथ्याङ्क छ । यहाँ भित्रिने आन्तरिक पर्यटकको कुनै लेखाजोखा नभए पनि पर्यटकीय सहर पोखरा अधिकांश नेपालीको पहिलो रोजाइ बन्ने गरेको छ । विश्वविख्यात अन्नपूर्ण चक्रीय पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्ष, मनास्लुलगायत गन्तव्यस्थल गण्डकीका पर्यटकीय वैभव हुन् ।

    नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गरेका यी गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन् । समुन्द्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ ।

    प्राचीन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मवालम्बीहरुको बसोबास रहेको यो प्रदेश सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका सांस्कृतिक धरोहर हुन् । यहाँ रहेका माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनाश्लु जस्ता हिमशृङ्खला, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

    संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकी प्रदेशको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणी, त्रिवेणीधामलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् ।

    मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचीन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ । साहसिक पर्यटन गतिविधिमा पनि गण्डकीको नाम अघि आउँछ । पर्वत र बागलुङमा पर्ने विश्वकै दोस्रो अग्लो बन्जी, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक खेलले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यही प्रदेशमा पर्छ ।

    स्याङ्जाका रुद्रमान गुरुङले २०५४ मा पहिलोपटक ग्रामीण पर्यटनको अवधारणा नेपाल भित्राउनुभएको थियो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लामा विस्तारित घरबास (होमस्टे) कार्यक्रमले ग्रामीण पर्यटनको उत्थानमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ । जनजाति बाहुल्य समुदायमा घरबास सञ्चालित छन् । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् ।

    कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्वशान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङलगायतका पर्यटकीय गाउँ लोभलाग्दा छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै, कोरी आदि क्षेत्र पदयात्राका लागि प्रसिद्ध मानिन्छन् ।

    बागलुङका पर्यटकीय गन्तव्यहरूमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष,  विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुन्डे, गाजाको दहलगायत पर्छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष भएको क्षेत्र हो । बर्सेनि दुई याममा उक्त आरक्षमा वन्यजन्तुको वैधानिक सिकार गरिन्छ । साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि विदेशी सिकारीहरू ढोरपाटन पुग्नछन् । ढोरपाटन उपत्यका, बुकी, भुटानी शरणार्थी बस्तीलगायतले पनि त्यस क्षेत्रको आकर्षण बढाएका छन् ।

    तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाजी जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकीय रोजाइमा पर्ने गर्छ । मनाङ हुँदै थोरङ भञ्ज्याङ पार गरेर पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, कोरला नाका, प्राचीन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । मुक्तिनाथ विश्वभरका हिन्दु धर्मवालम्बीहरुमाझ प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङ पदयात्राका लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ ।

    म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् । पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बन्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ ।

    पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छाया क्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् । लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् ।

    व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । प्रदेश सरकारले पाँच वर्षअघि प्रदेशका ११ वटै जिल्लाका दश÷दश गरी एक सय १० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो । गत वर्ष चैतमा गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । रासस

    कत्तिक २० , २०८१
    तस्विर – पोखरा फेवातालमा पर्यटक ( ट्राभल बिज न्यूज )

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस