हवाई यात्राका दृष्टिले नेपाल एसियाको महँगो गन्तव्य
ट्राभल बिज न्यूज अनलाइन ——
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रतर्फ हवाई टिकटमा लगाइने भ्याट र अन्य अनावश्यक कर हटाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेपाल एसाेसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को ५७ औँ वार्षिक साधारणसभामा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रका विभिन्न कर हटाउने विषयमा छिट्टै निष्कर्षमा पुगिने उल्लेख गर्दै बढी विदेशी पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधारसहित नयाँ योजना अघि बढाइएको , आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ‘इको हिल स्टेसन’ बनाउने योजना रहेको ,काठमाडौँ उपयत्यकासँग जोडिएको महाभारतको शृङ्खलामा सरकारले पूर्वाधार तयार पार्ने र सरकार तथा निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँले जनकपुर, पशुपति, लुम्बिनीजस्ता स्थललाई भारत, चीनजस्ता ठूलो जनसङ्ख्या भएका देशबाट पर्यटक भित्र्याउने।, सेवालाई थप गुणस्तरीय बनाउने तथा पर्यटकको बसाइँ लम्ब्याउने हिसाबले पनि सोच्नुपर्ने उल्लेख गर्दै पर्यटन क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी पूर्वाधार विस्तार, गन्तव्यको खोजी र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच नाट्टाले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने ,
चालु आवको बजेटमा व्यवस्था भएको विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको भ्याट परिमार्जित नभए सरकारको महत्वाकाङ्क्षी लक्ष्य पूरा नहुने स्पष्ट पारेको छ /
नाट्टाका अध्यक्ष रमेश थापाको धारणा छ – “हवाई यात्राका हिसाबले त्यसै पनि नेपाल एसियाको महँगो गन्तव्यको सूचीमा पर्दै आएको छ । यात्रुले यात्रा गर्नुपूर्व सबैभन्दा पहिले टिकट नै हेर्ने भएकाले महँगो हवाई शुल्कका कारण नेपाल आउन चाहेका यात्रुले गन्तव्य परिवर्तन गरिरहेका छन् ।”
उहाले सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुनुमा गैरआवासीय नेपालीको आगमन सङ्ख्याले बढावा दिएको विचार व्यक्त गर्दै उल्लेख्य रूपमा पर्यटक भित्र्याउन भ्याट परिमार्जन गरेर व्यवसायी र यात्रुमैत्री बनाइनुपर्ने , विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्थाले पर्यटन व्यवसायी र हवाई यात्रु मर्कामा परेकाले नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यासमेत उल्लेख्य मात्रामा बढ्न नसकेको तथा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा भ्याटकै कारण पर्यटक भित्र्याउनका लागि सरकारले राखेको लक्ष्य पूरा हुन नसक्ने उल्लेख गर्नुभयो ।
त्यस्तै होटल एसोसिएसन अफ नेपाल (हान) ले चालु आवको बजेटमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हवाई भाडामा लगाइएको १३ प्रतिशत भ्याटले नेपाल गन्तव्य झन् महँगो भइरहेको र पर्यटक आगमनमा समेत असर परिरसहेको अवस्थामा आगामी आवको बजेटले समेत उक्त विषयलाई निरन्तरता दिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
हानले सरकारको नीति तथा कार्यक्रममा प्रमुखताका साथ उल्लिखित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक उडान बढाउने कुनै पनि कुरा बजेट वक्तव्यमा नसमेटिएकामा चिन्ता व्यक्त गरेको छ ।
हानले सरकारले घोषणा गरेको पर्यटन विकास दशक सन् २०२३–२०३२ र सन् २०२५ मा आयोजना गर्ने भनिएको विशेष पर्यटन वर्षबारे केही उल्लेख नभएकोप्रति निराशा व्यक्त गरेको छ ।
२५ जेठ २०८१