हिमालय एअरलाइन्स – हुवावे क्लाउडबीच सम्झौता , उडान यात्रा सुदृढ पार्न स्मार्ट सिल्क रोड सृजना गरिने
ट्राभल बिज न्युज —
काठमाण्डौं – हिमालय एअरलाइन्स र चिनीया बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउडबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
हिमालय एअरलायन्सका अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले एक समारोहमा सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
भर्चुअल माध्यम कार्यक्रममा नेपालका लागि चीनको दूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको उल्लेख गर्नु भयो /
उहाँले यी दुई कम्पनीका साथै नेपालमा चिनीयाँ लगानी रहेका अन्य कम्पनीहरुले परम्परागत मानसिकताबाट सृजित बाधाहरुलाई तोडेर अधिक नवीनतम विधिहरु अपनाउदै महामारी अवधि पश्चात उपयुक्त व्यावसायिक प्रारुपहरु सृजना गर्न तथा यसबाट नेपाल र चीनबीचको बी.आर.आई सहकार्यमा समेत सार्थक योगदान पुग्ने आशा गर्नुभयो ।
यस्तै तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्गले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पुरयाएको उल्लेख गर्दै तिब्बत क्षेत्रले बाह्य लगानी उद्यमका क्षेत्रहरुको विकासमा सहयोगलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो ।
समारोहमा हिमालय एअरलाइन्सका अध्यक्ष झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनले यस अवसरको उचित प्रयोग गरी हिमालय एअरलाइन्सको डिजीटल रुपान्तरणका साथ प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्वि गरी व्यवसायिक सम्भाव्यता वृद्वि गर्न सकिने उल्लेख गर्नु भयो /
सम्झौता अनुरुप हिमालय र हुवावेले आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ आइ.सी.टी प्रविधिहरु (हुवावे क्लाउड र ए.आई) मा सहकार्य गर्नेछन् ।
सूचना तथा संचार प्रविधि (आइ.सी.टी) का उपज र समाधानका उपायहरुबाट अधिकतम लाभ लिने क्रममा सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एअरलाइन्सलाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवा मार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्नेछ ।सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ ।
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।
हिमालय एअरलाइन्सले हाल तीन ए ३२०–२१४ सिरिज र एक ए३१९–११५ एयरक्राफ्टबाट विभिन्न गन्तव्यमा उडान संचालन गर्दै आएको छ ।
असार १५ , २०७७