• जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री

    जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री

    काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको छ ।

    विश्वभरका हिन्दूको आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ, मुक्तिनाथलाई आराध्यदेव महादेवको पावन भूमिको रुपमा लिइने गरिन्छ । नेपाल र भारतका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रलाई नै प्रमुख प्राथमिकतामा राखेर भारतीय प्रधानमन्त्रीले यस पटकको नेपाल भ्रमणलाई केन्द्रीत गर्नुभएकाले धार्मिक पर्यटन क्षेत्रको प्रचारप्रसारमा समेत सकारात्मक प्रभाव पारेको छ ।

    सरकारले आर्थिक समृद्धिको आधारको रुपमा पर्यटन क्षेत्रलाई राखेका कारण पनि यस्ता भ्रमणले महत्वपूर्ण योगदान मात्रै नभई सकारात्मक रुपमा विश्वव्यापाी रुपमा समेत प्रचारप्रसार गर्न सहयोग पु¥याउछ । सरकारले सन् २०२० सम्म १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा धार्मिक पर्यटन पनि एउटा महत्वपूर्ण आधार बन्नसक्छ ।

    भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको समाचार संकलनका देश विदेशका सञ्चार माध्यम जनकपुर, पशुपतिनाथ, मुक्तिनाथमा केन्द्रीत भएका छन् । उनीहरुले सम्प्रेषण गर्ने समाचार सामग्रीले समेत नेपाल घुम्न चाहने विदेशी नागरिकलाई नेपाल बारे जान्न सहयोग पु¥याउनेछ ।

    राजर्षी जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि हो जनकपुर । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले प्रचारप्रसारमा सहयोग पु¥याएको छ ।

    जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रूपमा परिचित ‘जानकी मन्दिर’, राजा जनकले शिव धनुष पूजा गर्ने स्थानमा निर्मित ‘जनक मन्दिर’, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रंगभूमि मैदान नजिकैको हनुमानको ‘सङ्टमोचन मन्दिर’, स्वर्गद्वारीलगायतका धार्मिक स्थल एवं ताल तलैया सरोवर र दैनिक रूपमा हुने गंगा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थलका रूपमा जनकपुर रहेको छ ।

    यस्तै अग्नि कुण्ड, विहार कुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पिपरा कुटी पनि आकर्षणका केन्द्र बन्न सक्ने देखिन्छ । गंगा सागर, धनुष सागर, राम सागर, रत्न सागर, ज्ञानकुप, अग्नि कुण्ड, अरगजा, दशरथ सर, गोडधोई, पापमोचनिसर, लक्ष्मण सागर पनि धार्मिक पर्यटकका लागि निकै उपयुक्त छन् ।

    धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरमा यसको प्रशस्त सम्भावना छ । जनकपुरका मठमन्दिर र मूर्तिबारे प्रचारप्रसार गर्न समेत मोदीको भ्रमणले सहयोग पु¥याएको छ ।

    जनकपुरमा अवस्थित जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर सहित ५२ कुटी र ७२ कुण्डको प्रचारप्रसार गर्न सके पर्यटन विकासमा निकै टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।

    रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा सावित हुने थप विश्वास गरिएको छ । समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ ।

    अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवद्र्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप सो परियोजनाको शुभारम्भ गरिएको हो ।

    भारतको पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो । यो परियोजनाभित्र अयोध्या, शृङ्पुर, चित्रकुट, सीतामढी, दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम्, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिएको छ । यस्तै, नेपालतर्फ जनकपुरधामलगायत भगवान राम र सीताको जीवन गाथासँग जोडिएको धार्मिक स्थलको विकास गर्ने लक्ष्य राखिएको छ ।

    संस्कृतिविद् रामभरोस कापडीका अनुसार रामायण सर्किट परियोजना वृहत् रामायण कालको विस्तार नेपाल, भारत र श्रीलंकासम्म भएको पृष्ठभूमिमा आधारित परियोजना हो । यसमा राम र सीताको पाइलाले जहाँ–जहाँ स्पर्श गरेको छ ती क्षेत्रसँग जोड्ने प्रयास हो ।

    जनकपुरधाम र अयोध्यालाई तीर्थाटनको सूत्रका रूपमा विस्तार गरिने सो परियोजनाभित्र प्राचीन पोखरी, मन्दिर, मिथिलाको विरासतको संरक्षण, रामायणकालीन तीर्थस्थललाई जोड्न लागिएको छ ।

    जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेका कारण पनि रामायण सर्किटले थप पर्यटकलाई आकर्षण गर्ने विश्वास गरिएको छ ।

    प्रा डा महेन्द्रनारायण मिश्र रामायण सर्किटको पूर्ण विवरण सार्वजनिक नभइसकेको भए पनि यसको परिकल्पनाले रामायणकालीन सभ्यता र संस्कृति जीवन्त राख्न मद्दत पुग्ने विश्वास गर्नुहुन्छ ।

    रामायण सर्किट परियोजना सम्पन्न भएपछि जनकपुरधाम र अयोध्याबीचको ६५० किलोमिटर भू–खण्डमा कृषि, औद्योगिक, परिवहन र पर्यटन क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ । जनकपुर धार्मिक दृष्टिले महत्वपूर्ण भएका कारण वर्षभर नै श्रद्धालुको ओइरो लाग्ने गर्छ ।

    त्रेता युगमा भगवान् राम र सीताको वैवाहिकस्थल भएकाले जनकपुरमा धार्मिक पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेको छ । सन् २०१७ मा नेपाल आएका दश लाख पर्यटकमध्ये एक लाख ६१ हजार पर्यटक भारतीय रहेका थिए । सन् २०१८ को पहिलो तीन महिनाको अवधिमा भारतबाट ३४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

    सरकारले अगाडि सारेको पर्यटन रणनीतिमा समेत पूर्वी तराई र मध्य तराईको पर्यटन समेत प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले नेपालको पर्यटनलाई विश्व बजारमा फैलाउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुहुन्छ ।

    धार्मिक पर्यटनमा काम गर्दै आउनुभएका अभियन्ता विक्रम पाण्डे काजी भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र रामायण सर्किटले नेपालको पर्यटन प्रवद्र्धनमा बहुआयामिक प्रभाव पर्ने बताउनुहुन्छ ।

    स्रोत :  रासस , वैशाख २८ , २०७५

     

    • मनाङमा विदेशी पर्यटकको आकर्षण

      घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

      विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्याङ्क रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

      यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उहाँका अनुसार तीन वर्षको वार्षिक तथ्याङ्कअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ ।

      हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताउनुभयो । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उहाँले जानकारी दिनुभयो ।

      दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताउनुभयो । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ ।

      सन् २०२३ मा २१ हजार दुई सय ४७ पर्यटक भित्रिएको तथ्याङ्कमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङ्रा भञ्ज्याङ, तिलिचो ताल, गङ्गापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन्, भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको इकाईका प्रमुख भुजेलले जानकारी दिनुभयो ।

      सन् २०२२ मा १५ हजार आठ सय ५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए । यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौंँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम विस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । यसका साथै अमेरिका, अष्टे«लिया, चीन, रसिया, नेदरल्याण्ड, पोल्याण्डलगायत एक सय २५ देशका नागरिक यहाँ आउने गरेका इकाईका प्रमुख भुजेलले उल्लेख गर्नुभयो ।

      कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

      अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएका छन् ।

      काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस

      लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटक सङ्ख्या २५ हजार 

      रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिनुभयो ।

      यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको बहालबाट दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व सङ्कलन गरेको जनाएको छ ।

      निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताउनुभयो । निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाका लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ ।

      यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवम् जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ । गोसाईकुण्ड जादाँ काठे-लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गर्नुभयो ।

      धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेतको लठ्ठी प्रयोग गर्नुभएकाले  भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताउनुभयो । यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिस्ट्रेसन पारित गरेको जनाएको छ ।

      मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन् । रजिस्टेसन, नामसारी, जरिवाना, पूँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५  राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला-पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि  टेलिभिजनको व्यवस्था गरिएको छ । रासस

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा