• कञ्चनजङ्घा आधार शिविरमा आन्तरिक पर्यटक बढ्दै

    कञ्चनजङ्घा आधार शिविरमा आन्तरिक पर्यटक बढ्दै

    फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन् ।

    “पहिले त हिमालमा विदेशी मात्रै जान्छन् जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ”, उनले भनिन्, “आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुशी लागेको छ ।” कञ्चनजङ्घा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्य आफूले सुनेभन्दा निकै राम्रो लागेको उनको अनुभव छ ।

    मनिषा मात्रै होइन पछिल्लो एक महिनामा ७० भन्दा धेरै जिल्लावासी कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएका छन् । सय हाराहारी यात्रामा छन् । कोहिले भने जाने योजना बनाउँदै गरेको आधार शिविर प्रवेशद्वार घुन्साका व्यवसायी धार्के शेर्पाले बताउनुभयो ।

    “अघिल्लो वर्षहरुमा नेपाली खासै आउँदैनथे । त्यसमा पनि घुम्नैका लागि भनेर ताप्लेजुङ्गे आएको मलाइ थाहा थिएन”, उहाँले भन्नुभयो, “अहिले जिल्लाकै मानिस धेरै आइरहेका छन् ।” विदेशी पर्यटक नआएको समयमा आन्तरिक पर्यटकले भए पनि आफूहरुलाई केही राहत भएको उहाँको भनाइ छ । विदेशी भने एक जना अमेरिकी र एक जना चिनियाँ मात्रै गएको उहाँले सुनाउनुभयो ।

    कोरोना माहामारीका कारण सरकारले लकडाउन गरेपछि विदेशी र स्वदेशी पर्यटकले घुम्न पाएनन् । पर्यटकीय क्षेत्रका होटल पसल पनि बन्द भए । चैत यता पर्यटकीय गतिविधि ठप्प नै भयो । अहिले माहामारीकै अवस्था रहे पनि जिल्लाका पर्यटकीयस्थलमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकले भए पनि केही आशा जगाएको कञ्चनजङ्घा आधार शिविरमा पर्ने ग्याब्लाका पासाङ शेर्पाले बताउनुभयो ।

    फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन लिम्बू गत हप्ता आधार शिविर (पाङ्पेमा) पुगेर फर्किनुभयो । छ जनाको टोलीसहित जानुभएका उहाँको पनि जाने रहर भने पहिल्यैदेखिको थियो । “बाहिरका साथीले कञ्चनजङ्घाको बारेमा सोध्थे । त्यसबेला बताउन आफैँलाई अप्ठ्यारो लाग्थ्यो”, लिम्बूले भन्नुभयो, “एक पटक पुग्नै पर्ने ठाउँ रहेछ ।” पछिल्लो समय नेपालीमा घुम्ने बानीको विकास भइरहेको र त्यसलाई राज्यले थप प्रवद्र्धन गर्नुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वकार्यालय सचिव तेञ्जिङ वालुङ बताउनुहुन्छ । “आफ्नो देश÷जिल्ला÷गाउँ घुम्न चाहनेलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, विभिन्न छुट र बिदा दिने योजना ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

    भदौ–कात्तिक र फागुन–वैशाख यहाँ पर्यटक आउने ‘सिजन’ हो । अघिल्लो वर्ष एक हजार ३०० ले आधार शिविर घुमेको परिषद्को तथ्याङ्क छ । कञ्चनजङ्घा पदमार्गमा ६२ वटा होटल सञ्चालनमा छन् । नेपालमा कोरोना फैलिएपछि ती सबै बन्द थिए । अहिले आन्तरिक पर्यटक गएपछि अधिकांश होटल खुलेका छन् भने केही बन्द नै छन् ।

    पदमार्गमा पर्ने सेकाथुम, जापानटार, आम्जिलेसा, ढाङ्ग्याम, ग्याब्ला, फले, घुन्सा, खम्वाचेन, लोनाक, चेइराम, सेलेले, ओक्तान र तोरोङ्देनका स्थानीयवासी हिमाल घुम्न आउने पर्यटकमै आश्रित छन् । पर्यटक नआएपछि आफूहरु मारमा परेको फलेका नोर्बु शेर्पाले बताउनुभयो । सिरिजङ्घा गाउँपालिकामा पर्ने आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालका दुई आधार शिविर छन् । पाङ्पेमा रहेको उत्तरी आधार शिविर हो । यहाँबाट हिमाल हेर्न मात्रै सकिन्छ । हिमाल चढ्ने दक्षिणी आधार शिविर ओक्तानबाट हो ।

    आधार शिविर जाने पदमार्ग पनि दुई वटै छन् । सदरमुकाम फुङ्लिङबाट सिरिजङ्घा गाउँपालिकाको हप्पुखोला–याम्फुदिन हुँदै एउटा र फक्ताङलुङ गाउँपालिकाको तापेथोक–घुन्सा हुँदै जाने अर्को । एउटा आधार शिविर मात्रै गए फुङ्लिङबाट ८–१० दिन र दुवै गए १५–२० दिन लाग्छ । फुङ्लिङबाट पदमार्गमा होटल र टि हाउस प्रशस्तै रहेकाले दुवै आधार शिविर पुग्न सहज रहेको तापेथोकका व्यवसायी सुसन लिम्बूले बताउनुभयो । – दिलकुमार लिम्बू / रासस

    तस्विर – रासस पुष २०७७

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस