मङ्गल ग्रह: अमेरिकी अन्तरिक्ष यान सात महिनाको ४७ करोड किलोमिटर यात्रा गरेर अवतरण
अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार फेब्रुअरी १९ बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए।”हामीले गर्यौँ। हामी त्यहाँ पुग्यौँ,” उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो।
सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ/छैन भनेर हेरिने छ।
यो सन् १९७०को दशकको भाइकीङ् मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ।
छवटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो।मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो।
आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मङ्गल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने ठानिएको छ।एउटा ग्रहमा बसेर अर्कोमा उडान गरिने यो पहिलो फ्लाइट हो।
अर्बौँ वर्ष अघि मङ्गल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको हो।
हालसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्।अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको छ।
अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले मङ्गल ग्रहबाट उसको पर्सिभिअरन्स रोभरले पठाएको एउटा अद्भुत तस्बिर सार्वजनिक गरेको छ।उक्त तस्बिरमा मोटर गाडीझैँ देखिने रोबट अवतरणका लागि मङ्गल सतहमा झर्दै गरेको देखिन्छ।उक्त तस्बिर रोबटलाई झुलाउँदै सतहमा राख्ने रकेट क्रेडलले पठाएको हो।
पर्सिभिअरन्सले आफूसँग ठूलो परिमाणमा विवरणहरू सङ्कलन गरेको छ जुन उसले क्रमैसँग पृथ्वीमा पठाउनेछ।यसले प्रविधिको अद्भुत सफलता देखाउँछ किनकि ‘द मार्स रिकनेसन्स अर्बिटर’ नामको भूउपग्रह तस्बिर खिच्ने बेला पर्सिभिअरन्सभन्दा झण्डै ७ सय किलोमिटर पर थियो। त्यो प्रतिसेकेन्ड ३ किलोमिटरका दरले मङ्गल ग्रहलाई घुमिरहेको थियो।
इञ्जिनियरहरूले पर्सिभिअरन्सको अवस्था राम्रो रहेको विवरण आफूहरूले पाएको बताएका छन्। पर्सिभिअरन्स रोभर जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो।
जेजेरो क्रेटरको विस्तृत तस्बिरहरू भने अर्को साता आउनेछ जतिखेर पर्सिभिअरन्सले आफ्नो बाटो पहिल्याउने उपकरण ठड्याउने छ जसमा मुख्य वैज्ञानिक क्यामेराहरू राखिएका छन्। नासाले आउँदा केही दिनमा थप विवरणहरू सार्वजनिक गर्ने वाचा गरेको छ। – स्रोत : बीबीसी नेपाली
फेब्रुअरी २० , २०२१