मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन वृद्धि
मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या ५० दशमलव २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या सन् २०२४ मा एक लाख ३५ हजार सात सय १९ जना पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।
सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका र अनलाइन मार्फत रुट परमिट लिने प्रणाली शुरु भएका कारण मुस्ताङमा पर्यटक आगमन बढेको उहाँले बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिकहरू मुस्ताङ भ्रमणमा आउने क्रम बढेको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेम प्रसाद पौडेलले बताउनुभयो ।
सन् २०२३ मा ९० हजार तीन सय ५६, सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा दुई हजार ३०० र २०२० मा दुई हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका तथ्याङ्क छ ।
सन २०२४ मा मुस्ताङ भ्रमणमा आएका मध्य एक लाख नौ हजार पाँच सय ४९ जना सार्क राष्ट्रका र २६ हजार एक सय ७० जना तेस्रो मुलुकका छन् । जनवरीमा दुई हजार एक सय २६, फेब्रअरीमा तीन हजार छ सय ९९, मार्चमा १४ हजार आठ सय २९, अप्रिलमा १७ हजार तीन सय २०, मेमा २९ हजार सात सय ७३, जुनमा १६ हजार तीन सय ४२, जुलाईमा तीन हजार चार सय ४०, अगस्टमा तीन हजार पाँच सय ८०, सेप्टेम्बरमा ११ हजार सात सय ८५, अक्टोबरमा १४ हजार ३५, नोबेम्बरमा १२ हजार ३५ र डिसेम्बरमा छ हजार सात सय पाँच जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।
कागबेनी देखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शूल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु. एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु. तीन हजार शूल्क तोकिएको छ ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०८०/०८१ मा चार लाख २७ हजार जना पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न गएका थिए ।
म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।
मुस्ताङस्थित मुक्तिनाथ क्षेत्र विश्वभरका हिन्दुमाझ पवित्र धार्मिकस्थल मानिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ ।
उपल्लो मुस्ताङमा पर्यटक बढे
सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार सडक सञ्जाल विस्तार, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दस गन्तव्यमा समेटिनु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल सञ्चालन, अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरुलगायत कारणले यहाँ पर्यटक आगमन बढेको हो ।
सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका एक्याप कार्यालयले जनाएको छ । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ विदेशी नागरिक यहाँ पुगेका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।
कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमा अवस्थित छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को साविक छुसाङ गाउँ विकास समिति र वारागुङ मुक्तिक्षेत्र–५ को साङ्तालाई सुरक्षा संवेदनशिलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको छ । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।
उपल्लो मुस्ताङ भ्रमण गर्न नेपालीबाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दस दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन थप ५० डलरका दरले शुल्क तिर्नुपर्ने एक्यापका प्रमुख पौडेलले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिका-१ मा पर्ने नेचुङ भन्दामाथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमतिसहित निर्धारित शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।
निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताउनुभयो । निषेधित क्षेत्रमा शुल्कमा केही छुटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको भन्दै पर्यटकको आगमन बढे स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने उहाँले उल्लेख गर्नुभयो । रासस