• नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण राेक्न पर्यटन मन्त्रालयको निर्देशन

    नारायणहिटी दरबार संग्रहालयभित्र  रेस्टुरेन्ट निर्माण राेक्न पर्यटन मन्त्रालयको निर्देशन

    ट्राभल बिज न्यूज —

    काठमाडौं – राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्न पल्केकाहरुले एक ब्यापारिक समूहसंगको मिलेमितोमा नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट सन्चालन गर्न दिने निर्णय गरेपछि बतास समूहले विना स्वीकृति रेस्टुरेन्ट सरचना निर्माण गरेको सम्वन्धमा सामाजिक संजालमा ब्यापक विरोध भए फलस्वरूप सरकार तत्कालका लागि सो निर्णय रद्द गर्न वाध्य भएको छ /

    नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट सन्चालन गर्न विगत वर्षमा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र पर्यटन सचिव यादव कोइराला टोलीले स्वीकृति दिएका थिए , यद्द्यपि अहिले त्यस निर्णयको सर्वत्र आलोचना भएपछि भट्टराईले यस प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् /

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पर्यटन मन्त्रालयको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको छ /

    नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्ट प्रा.लिलाई दिएको पत्रमा उल्लेख गरिएको छ – ” सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’” /

    नारायणहिटी परिसरमा रेस्टुरेन्ट सन्चालन गर्न लागेको सम्वन्धमा पहिलो जानकारी दिदै गोरखापत्र दैनिकमा समाचारदाता देवबहादुर कुँवरले पुस १९, २०७८ मा लेखेका थिए —

    ” ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास नगरिएको पाइएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार निजी तथा सरकारी जग्गामा कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास अनिवार्य गरिएको छ तर नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणाधीन रेस्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य जारी छ । महानगरपालिका वडा नम्बर १ का प्रशासकीय अधिकृत सर्वज्ञराज पौडेलले सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दैछ भन्ने जानकारीसमेत कतैबाट नदिएको बताउनुभयो ।

    नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिले एक वर्षअघि सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको जग्गा भाडामा दिएको हो । त्यसैअनुसार अहिले संरचना बन्दै गरेका हुन् । नारायणहिटी दरबार क्षेत्र करिब ७५४ रोपनीमा फैलिएको छ ।

    तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामको कम्पनीलाई भाडामा दिइएको सङ्ग्रहालयकै कर्मचारी बताउँछन् । उक्त कम्पनी बतास समूहअन्तर्गतको हो ।

    सो जग्गा भाडामा लगाउन समितिले २०७७ साउनमा कोभिड–१९ निषेधाज्ञाको समयमा बोलपत्र आह्वान गरेको थियो । सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले बोलपत्रअनुसार सम्झौता गरिएको बीपीएसले मासिक दुई लाख २० हजार रुपियाँ बुझाउने र हरेक तीन वर्षमा सम्झौता थप्ने गरी सो जग्गा भाडामा लिएको जानकारी दिनुभयो तर दरबारमार्ग क्षेत्रमा प्रतिसटर भाडा प्रतिमहिना पाँच लाखदेखि १५ लाख रुपियाँसम्म रहेको व्यवसायीले बताएका छन् ।

    असारबाट भाडा शुल्क लिने सहमति भए पनि निर्माण अवधिभर भाडा नलिने, विपत् तथा महामारीको अवस्थामा छुट दिने, प्रतिवर्ष १० प्रतिशत वृद्धि गरी नयाँ निर्मित संरचनाको प्रतिवर्गमिटर थप ३५ रुपियाँ भाडा लिने जस्ता सर्त राखिएका छन् ।

    यसबाहेक रेस्टुरेन्टले सङ्ग्रहालयको मुख्य प्रवेशद्वार मात्र नभई पार्किङ क्षेत्रसमेत प्रयोग गर्न पाउने सहमति गरिएको छ । हाल पार्किङको भाडा सङ्ग्रहालयले नै उठाउँदै आएको छ । रेस्टुरेन्ट सञ्चालनमा आएपछि ठेक्कामा दिने विषयमा छलफल भइरहेको बताइएको छ ।

    उक्त रेस्टुरेन्ट सञ्चालन नगर्दै उक्त समूहले बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टको नाम परिवर्तनको प्रक्रिया सुरु गरेको पाइएको छ । बी म्यानेजमेन्टका नाममा परिवर्तनको प्रक्रिया सुरु गरेको र आफूहरूले निर्माणको काम सुरु गरेको बी म्यानेजमेन्टकै सञ्चालक शिवहरि पुडासैनीले बताउनुभयो । बी म्यानेजमेन्टले नै गत असारबाट रेस्टुरेन्टका लागि आवश्यक नयाँ भवन, लाइभ म्युजिक तथा डान्स स्टेजलगायत धमाधम निर्माण कार्य गरिरहेको छ ।

    जग्गा भाडामा लिन सम्झौता गर्ने कम्पनीले एकाएक नाम परिवर्तन गर्नुमा गलत मनसाय रहेको आशङ्का सङ्ग्रहालयका कर्मचारीले गरेका छन् । कौडीको मूल्यमा जग्गा भाडामा दिने सहमति भएको भन्दै कर्मचारीबीच चर्को असन्तुष्टि बढेको छ ।

    सङ्ग्रहालयका प्रमुख एवं समितिका सदस्य सचिव भेषनारायण दाहालले समितिको कोष बढाउन भाडामा खाली जग्गा भाडामा लगाइएको दाबी गर्नुभयो ।

    कति क्षेत्रफल भाडामा दिएको हो ? भन्ने प्रश्नमा उहाँले ‘फिल्डमा गएर नापजाँच गरेको छैन, रेस्टुरेन्ट बनिसकेपछि हेरौँला’ भन्नुभयो । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री एवं तत्कालीन संरक्षक योगेश भट्टराईले सङ्ग्रहालयको जग्गा भाडामा दिने निर्णय धेरै अघिको भएको भन्दै अहिले आफू स्पष्ट हुन नसकेको प्रतिक्रिया दिनभयो । राति १२ बजेसम्म खोल्न पाउने सम्झौतामा रेस्टुरेन्ट बिहान ७ देखि राति १२ बजेसम्म खोल्न पाउने सर्त राखिएका छन् तर ऐतिहासिक महत्त्व बोकेको सम्पदालाई प्रत्यक्ष असर पुग्ने गरी भाडामा लगाउने र रातभर रेस्टुरेन्ट चलाउन दिने निर्णय सम्पदा बिक्री गरेर पैसा कमाउने धन्दा भएको सुरक्षा अधिकारी बताउँछन् ।

    पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले ‘दरबार मासेर पैसा कमाउने कार्य खेदजनक’ रहेको बताउनुुभयो । जोगाउनुपर्ने सम्पदा मासेर व्यवसाय गर्ने, फोहोर गर्ने र मनमौजी प्रयोग गर्ने निर्णयले त्यस क्षेत्रको सुरक्षामा पनि असर पर्ने बताउनुभयो ।

    दुई पक्षबीच भएका सर्त सङ्ग्रहालयको फाइदाका लागि भन्दा घातक बन्ने देखिन्छन् । मुख्य प्रवेशद्वारबाट प्रहरीलाई समेत विस्थापित गर्दा सम्भावित सुरक्षा चुनौतीप्रति सम्बद्ध अधिकारी जिम्मेवार नदेखिएको सुरक्षा स्रोतले जनायो ।

    संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवं नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिका अध्यक्ष यादवप्रसाद कोइरालाले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नै खाली जग्गा भाडामा दिने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो निर्णय राम्रो कामका लागि हो । राम्रो काम गर्दा पनि विरोध गर्ने त हाम्रो कल्चर नै हो नि !” उहाँको भनाइमा यसबाट सङ्ग्रहालयको आयआर्जनमा वृद्धि हुनेछ । नारायणहिटी दरबारको सरसफाइ, रङरोगन, चुहिने भवन तथा बत्तीको मर्मत सम्भारका लागि आवश्यक बजेटको व्यवस्था गर्न सङ्ग्रहालयको जग्गा व्यापार व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएको दाबी कोइरालाको छ ।

    जग्गा भाडामा लिने मुख्य सम्झौताकर्ता बीपीएस भए पनि आफूहरूले निर्माणको जिम्मा लिएको बी म्यानेजमेन्टका सञ्चालक पुडासैनीले बताउँदै यही बीचमा बीपीएसको नाम परिवर्तन गरी बी म्यानेजमेन्ट राखिएको खुलासा गर्नुभयो ।

    यस भाडा प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सचिवालयले छानबिन गरिरहेको छ । तत्कालीन मन्त्री भट्टराईको कार्यकालका तीनवटा निर्णयमध्ये नारायणहिटी सङ्ग्रहालयको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न छानबिन भइरहेको मन्त्रालयले जनाएको हो ।”
    पुस २० , २०७८

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन