नेपालमा सन् २०२० मा २३० हजार पर्यटक , पर्यटनलाई पुनर्जीवित पार्न अझै दुई वर्ष लाग्ने अन्तर्राष्ट्रिय निचोड
ट्राभल बिज न्यूज —
काठमाडौँ – नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाएर देशमा कम्तिमा २० लाख पर्यटकहरुलाई स्वागत गर्ने लक्ष्य निर्धारण गरेको बेला विश्वमा कोरोना भाइरस महामारीको प्रकोप फैलदै जाँदा नेपालपनि प्रभावित भएकोले सन् २०२० मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या अत्यन्त न्यून रहेको छ /
कोरोना महामारीको कारण नेपालले आगामी केही वर्षसम्म पर्यटन व्यवसायलाई सन् २०१९ को स्थितिमा फर्काउन अनेकन चुनौती सामना गर्नु पर्नेछ भने पर्यटनलाई पुरानै स्थितिमा फर्काउन दुई तीन वर्ष लाग्ने पर्यटन व्यवसायीहरुको अभिमत छ /
संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सन् २०२० को पर्यटन स्थिति प्रतिवेदन अनुसार सन् २०२० मा नेपालमा हवाईमार्गबाट १८३,१३० ,स्थलमार्गबाट ४६,९५५ समेत गरी कुल २३०,०८५ पर्यटकहरु नेपाल भित्रिएका थिए , जबकि अघिल्लो वर्ष सन् २०१९ मा हवाइमार्गबाट ९९५,८८४ तथा स्थलमार्गबाट २०१,३०७ समेत कुल ११ लाख ९७ हजार १९१ पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए / सन् २०२० मा पर्यटक आगमनमा अघिल्लो वर्ष भन्दा ८० प्रतिशत कमी भएको सरकारी तथ्यांक छ /
सन् २०२० मा सबैभन्दा बढी भारतबाट पर्यटकहरु नेपाल आएका थिए भने त्यसपछि म्यान्मा , थाइल्यान्ड चीन र संयुक्त राज्य अमेरिकाबाट पर्यटकले नेपाल भ्रमण गरेका थिए /नेपालको पर्यटन जगतमा सबैभन्दा बढी पर्यटक भारत ,चीन ,संयुक्त राज्य अमेरिका , बेलायत तथा श्रीलंकाबाट आउने गर्दछन् /
सन् २०२० मा सबैभन्दा बढी १३९,२०२ पर्यटक बिदा मनाउन , २८,५३० तीर्थयात्रा तथा ३५,८९३ पदयात्रा र पर्वतारोहणका लागि नेपाल आएका थिए / सन् २०२० मा १५३ टोलीका ४४७ आरोहीले नेपालका विभिन्न हिम श्रृंखलाका आरोहण प्रयास गरेका थिए भने सन् २०१९ मा पर्वतारोहणका लागि नेपाल आउने आरोहीमा विभिन्न १९२१ टोलीका ८२०२ पर्वतारोही थिए /
पर्वतारोहण बाट सन् २०१९ मा करिब ५७ करोड रुपिया राजस्व उठेकोमा सन् २०२० मा करिब १५ करोड राजस्व पर्वतारोहण क्षेत्रबाट प्राप्त भएको थियो /
नेपालमा हाल १४२ स्टार होटल , ११७१ नन स्टार होटल , ३७४३ ट्राभल एजेन्सी तथा २७९७ ट्रेकिंग एजेन्सी रहेको मन्त्रालयले जनाएको छ /
कोरोना भाईस महामारीको कारण विश्व पर्यटनलाई पूर्ववत स्थितिमा फर्काउन अझै तीन वर्ष लाग्ने विश्व पर्यटन संघकाे एक अनुसन्धानले देखाएको छ /अन्तर्राष्ट्रिय पर्यटनको वर्तमान स्थितिको अध्ययन अनुसन्धान गर्ने विश्वभरिका अन्तर्राष्ट्रिय संस्थाहरूले सन् २०२१ को अन्त्यसम्म विश्वका विभिन्न राष्ट्रहरुमा आन्तरिक पर्यटन प्रवचनको सुरुवात हुने बताए पनि अधिकांश राष्ट्रहरुको सीमा बन्द रहेकोले अन्तर्राष्ट्रिय पर्यटन पहिलेको स्थितिमा फर्काउन सन् २०२४ को प्रारम्भ सम्म प्रतीक्षा गर्नुपर्ने स्थिति छ /
हालका अवधिमा नेपालले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि जोड दिए तापनि यसमा उल्लेख्य सुधार हुन सकेको छैन भने देशका विभिन्न भागमा संचालित घरबास( होमस्टे ) अहिले आन्तरिक र बाह्य पर्यटकको अभावमा विभिन्न समस्याबाट पीडित भएको सम्बद्ध व्यक्तिहरुको गुनासो छ /
नेपालको पर्यटन व्यवसायमा परेको प्रतिकुल असरको कारण हजारौं हजार व्यक्तिले रोजगारी गुमाउनुपरेको छ भने निजीक्षेत्रको अर्बौ रुपियाँ लगानी भएका होटल लगायतका व्यवसायीहरु पर्यटकको अभावमा अहिले आर्थिक समस्याको भूमरीमा फसेका छन् /
विभिन्न देशमा कोरोना महामारीको कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न सरकारहरुले विभिन्न राहत कार्यक्रम सार्वजनिक गरेपनि नेपालमा आश्वासन बाहेक सरकारी स्तरबाट पर्यटन व्यवसायीहरुलाई कुनै पनि राहात उपलब्ध हुन सकेको छैन /
साउन १७, २०७८
तस्विर: पर्यटन मन्त्रालय