• पर्यटकीय सम्पदाले समृद्ध प्रदेश – ४

    पर्यटकीय सम्पदाले समृद्ध प्रदेश – ४

    रमेश तिवारी  ——

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपाल २०७२ अशोज ३ गते नयाँ संबिधान लागू गरी नयाँ राजनीतिक युगमा प्रवेश गरेको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक बिशेषतायुक्त राष्ट्र नेपालले हालका बर्षहरुमा आर्थिक–सामाजिक रुपान्तरणको संकल्प गरेपनि देश अल्पबिकसित राष्ट्रहरुको पंक्तिबाट माथि उठन सकेको छैन् । एशियाका दुई उदाउँदा आर्थिक शक्तिराष्ट्रहरु भारत र चीनको बिचमा अवस्थित नेपाल राजनीतिक स्थिरताको अभावमा आर्थिक बिकासको दृष्टिले अत्यन्त पछाडि परेको छ ।

    राज्य व्यवस्थामा सुशासनको अभाव, संस्कृतिको रुपमा झांगिएको भ्रष्टाचार, अराजकता, लाखौं युवा जनशक्तिको बिदेश पलायन, बढ्दो वेरोजगारी, बिदेशी सहयोग र अनुदानमा आधारित अर्थतन्त्र समेत कतिपय कारणले देश आक्रान्त छ । फलस्वरुप अर्थतन्त्रका अन्य क्षेत्र जस्तै राष्ट्रको आर्थिक काँचुली फेर्न टेवा पु¥याउने पर्यटन उद्योग कछुवा गतिबाट माथि उठन सकेको छैन ।

    बिश्वको सर्वोच्च शिखर सगरमाथा, संसारका आठ हजार मिटर भन्दा उच्च १४ हिमश्रृंखलामध्ये आठ हिमश्रृंखलाले युक्त, शान्तिका अग्रदूत गौतमवुद्धको जन्मस्थल, अनुपम प्राकृतिक सौन्दर्य, साहसिक पर्यटनको आकर्षक गन्तव्य नेपालले अपेक्षा अनुरुप पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन ।  नेपाल सन १९५० दशकको शुरुमा बिदेशीहरुका लागि खुला गरिएकोमा दशक बित्दा पनि वर्षेनि छ लाख पर्यटकहरुलाई मात्र आतिथ्य प्रदान गर्न सक्नु बिडम्वनाको बिषय वनेको छ ।

    नेपालको छिमेकी राष्ट्रमध्ये चीनले सन २०१६ मा १३ करोड ७० लाख पर्यटक र अर्को छिमेकी भारतले ८० लाख पर्यटक स्वागत गर्ने सफलता हासिल गरेका सन्दर्भमा सन २०१५ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ५३८९७० मात्र रहनुवाट प्रष्ट हुन्छ – हामी बिश्व पर्यटन मानचित्रमा कहाँ छौं ? बिनाशकारी भूकम्प र भारतीय नाकाबन्दिको अघिल्लो वर्ष सन २०१४ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ७९०,११८ थियो । एशियाका अधिकांश राष्ट्रहरु पर्यटन क्षेत्रमा कङ्गारु जस्तो फड्को मार्न सफल रहेकोमा बिश्वकै अनुपम राष्ट्र नेपालमा प्रत्येक वर्ष आठ लाख भन्दा बढि पर्यटक स्वागत गर्न नसकिनुको अध्ययन र बिश्लेषण गरी तदनुरुपको कार्यनीति कार्यान्वयन गर्नु आवश्यक छ ।

    मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरण हुनुका साथै राजकीय शक्तिको पुनर्संरचना गरिए अनुरुप क्षेत्रफलको दृष्टिले सानो नेपाललाई सात प्रदेशमा बिभाजन गरिएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका बिभिन्न जिल्लाहरुलाई समेटिएको यी प्रदेशहरुका आ–आप्mनै बिशेषताहरु छन् । सवै प्रदेश पर्यटकीय सम्पदाका दृष्टिले अत्यन्त सुन्दर र समृद्ध मानिदैं आएको छ । यस आलेखमा पर्यटकीय दृष्टिले चर्चा गर्न खोजिएको प्रदेश ४ का ११ जिल्लाहरु – गोरखा, लमजुङ, तनहुँ, कास्की,  मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ्ग र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) पर्दछन् ।

    नवलपरासी जिल्लाको केही भाग छाडेर हेर्दा हालको गण्डकी र धौलागिरी अञ्चलका जिल्लाहरु समेटिएको प्रदेश ४ आर्थिक–सामाजिक बिकासको सन्दर्भमा अन्य केही प्रदेशको तुलनामा अगाडि नै देखापर्दछ । देशको कुल क्षेत्रफलको १४ प्रतिशत भूभाग अर्थात २१,१०२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस प्रदेशको जनसंख्यामध्ये ४१.९६ प्रतिशत जनजाति, ३७.६४ प्रतिशत वाहुन क्षेत्री, १८.१९ प्रतिशत पहाडे दलित, ०.७४ प्रतिशत मुसलमान, ०.४६ प्रतिशत मधेसी जनजाति, ०.१५ प्रतिशत मधेसी दलित र बाँकी ०.५७ प्रतिशत अन्य पर्दछन् । बिश्वप्रसिद्ध हिमाली श्रृंखला, सुन्दर तालहरु, सडक सञ्जाल तथा जलबिद्युत आयोजनाका भण्डारका रुपमा सुपरिचित छ – यो प्रदेश ।

    नेपाललाई हिमाली श्रृंखलाको देशको रुपमा बिश्वसामु चिनाउने पर्वतारोहण क्षेत्रको औपचारिक शुभारम्भ यही प्रदेशका हिमालबाट भएको थियो । फ्रान्सको आरोहण दलका पर्वतारोही मौरुपमा रस हर्जोग तथा लुई लाचेनलले सन १९५० को जुन ३ मा अन्नपुर्ण प्रथम (२६,२०० फिट) को सफल आरोहण गरी कीर्तिमान स्थापित गरेका थिए भने त्यसको तीन वर्ष पछि सन १९५३ को मे २९ मा तेञ्जिंग नोर्गे शेर्पा तथा न्यूजिल्याण्डका एडमण्ड हिलारीले ८८४८ मिटर सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए ।

    बिश्वको सवैभन्दा उच्च आठौं हिमाल मनास्लु हिमाल (गोरखा जिल्ला÷८११५ मिटर उच्च) सन १९५६ को मे ९ मा जापानका पर्वतारोही  तोसिओ इमानिसी तथा ग्याल्जेन नोर्वुले पहिलो पटक सफल आरोहण गरेका थिए । त्यस पछिका ६ दशकमा मनास्लु क्षेत्र बिश्वका पर्वतारोही तथा पदयात्रीहरुको आकर्षक गन्तव्य बन्दै आएको छ ।

    अन्नपुर्ण, धौलागिरी र मनास्लुका अतिरिक्त सातहजार मिटर भन्दा माथिका ११ वटा हिमश्रृंखला र ६९९३ मिटर उच्च माछापुच्छ्र्रे हिमालले समृद्ध यो प्रदेशले बर्षेनि सयौंको संख्यामा पर्वतारोहीलाई मोहनी लगाएको जगजाहेर छ ।

    अधिकांश हिमाली र पहाडी भूभागलाई समेटेको यो प्रदेश बिश्वव्यापी रुपमा पदयात्रा (ट्रेकिङ्ग) को एक प्रमुख गन्तव्य रहदै आएको छ । पृथ्वी राजमार्गको डुम्रे हुँदै बेशिशहर तथा मनाङ्गको पदयात्रा, मनाङ्ग हुँदै अन्नपुर्ण क्षेत्रको रोमाञ्चक पदयात्रा होस वा मनास्लु र अन्य हिमाली भेगका पदयात्रा आआप्mनै बिशिष्ट महत्व राख्दछन् । कास्की, म्याग्दी, मुस्ताङ्ग, मनाङ्ग र लममुङ जिल्लाका बिभिन्न ५७ गाऊँ बिकास समिति भएर गरिने अन्नपुर्ण क्षेत्रको पदयात्रा मार्गमा साना ठूला समेत ६ हजार होटलहरु मात्र छैनन्, प्रत्येक बर्ष बिश्वका बिभिन्न राष्ट्रका करिव एक लाख तीस हजार पदयात्रीले अन्नपुर्ण क्षेत्रको पदयात्रा गर्ने भएकोले यसवाट त्यस क्षेत्रको सामाजिक–अर्थिक बिकास र गरिवी निवारणमा सहयोग पुगेको छ ।

    पदयात्राको प्रसङ्गमा धौलागिरी हिमाल तथा त्यस क्षेत्रका पदयात्रा मार्गको प्राकृतिक सौन्दर्यले असंख्य बिदेशी पर्यटकहरुको मन छोएको छ । हिमाली दृष्यावलोकन, पर्यापर्यटन, गुरुङ्ग समुदायको बसोवास रहेको स्थलको योजनावद्ध प्रचार प्रसार र प्रवद्र्धन गर्न सकिए पर्यटक आगमनको दृष्टिले यो प्रदेश अन्य क्षेत्रको तुलनामा फड्को मार्न सक्ने स्पष्ट छ । तनहुँ जिल्लामा बिद्यमान पदयात्रा मार्ग र नयाँ बिकसित पदयात्रा मार्ग, लमजुङका ग्रामिण वस्ति, मनाङ्गका पदयात्रा मार्ग, म्याग्दीको तातोपानी, मुस्ताङ्ग क्षेत्रका पदयात्रा, अन्नपुर्ण क्षेत्रका घान्द्रुक, लान्द्रुक, पुनहिल र अन्नपुर्ण आधार शिविर लगायतमा रहेका पदयात्रा मार्गमा परिवर्तित आवश्यकता अनुसार पुर्वाधार बिकास गर्नेतर्फ स्थानीय निकाय र केन्द्रीय स्तरमा सोचिनु आवश्यक छ, ताकि प्रदेशका यी क्षेत्र बिश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा पर्न सकुन् ।

    पश्चिमाञ्चल क्षेत्रको यो प्रदेश प्राकृतिक जस्तै सांस्कृतिक सम्पदाले पनि अत्यन्त समृद्ध रहिआएको छ । प्रसिद्ध धार्मिक स्थलहरु मुक्तिनाथ, मनकामना, बिन्ध्यवासिनी, देवघाट त्रिवेणीधाम, दामोदर कुण्ड, दूधपोखरी, छाव्दी वराह लगायतका अनेकन धार्मिक स्थलहरुमा प्रत्येक वर्ष स्वदेशीका साथै मित्रराष्ट्र भारतवाट हजारौं पर्यटकहरु आउने गर्दछन् । अन्नपुर्ण, धौलागिरी मनास्लु, र लाङटाङ हिमालका दृष्यावलोकन गर्न सकिने बन्दिपुर, आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा, घाँसीकुवा सहित ऐतिहासिक, पुरातात्विक महत्वका बिभिन्न कोटहरुले समृद्ध तनहूँ जिल्लाको अपार पर्यटकीय संभावनाको व्यापक सदुपयोग गर्न सकिएको छैन् । नेपालको दोश्रो प्रमुख पर्यटकीय गन्तव्य पुग्न काठमाण्डौ – पोखरालाई जोडने दुई सय किलोमिटर पृथ्वी राजमार्गको ७२ किलोमिटर क्षेत्र राजमार्ग क्षेत्रमै पर्ने भएकोले त्यस भेगमा पर्यटन गतिबिधि तीव्र पार्न अध्ययन अनुसन्धान गरिनु अत्यावश्यक छ , प्रदेशका अन्य जिल्लाहरुमा जस्तै ।

    उत्तरी भूभागमा माथिल्लो मुस्ताङ्ग हुँदै चीनको कोरला नाकादेखि दक्षिणमा नवलपरासी क्षेत्रवाट भारत जोडने यातायात सञ्जाल भएको प्रदेश ४ को तीव्र आधसनिकीकरणका संभावना रहेकोले पर्यटनका साथै जलविद्युतको बिकासलाई उच्च प्राथमिकता दिनु पर्दछ । मनाङ्गदेखि मुग्लिङसम्म १५० किलोमिटर मार्गवाट वग्ने मस्याङ्गदी नदी, कालीगण्डकी तथा सेती, मादी लगायतका नदीवाट मात्र हजारौ मेगावाट बिद्युत उत्पादन गर्न सकिने पृष्ठभूमिमा जलबिद्युतको अधिकतम  परिचालन गर्न सकिएमा समग्रमा यसवाट नेपालको आर्थिक समृद्धिमा योगदान पुग्ने सर्वबिदितै छ ।

    हिमाल पारीका जिल्ला मनाङ्ग र मुस्ताङ्गका प्राकृतिक सम्पदा र पर्यटकीय स्थल, म्याग्दी जिल्लामा रहेको बिश्वकै सवैभन्दा गहिरो कालीगण्डकीको खोच, बिश्वकै अग्लो स्थानमा अवस्थित मनाङ्गको तिलिचो ताल, ५४१६ मिटर उचाईको मनाङ्गको थोराङपास, पोखराको फेवाताल तथा लेखनाथ नगरपालिका क्षेत्रमा रहेका सात तालहरु लगायतका पर्यटकीय आकर्षणहरु देश भीत्र र बाहिर प्रवद्र्धन गर्नेतर्फ ध्यान दिइएमा आगामी वर्षहरुमा त्यस क्षेत्रमा पर्यटक आगमनमा तीव्र बृद्धि हुन सक्नेछ ।

    पश्चिमाञ्चल बिकास क्षेत्रको पाँच जिल्ला – कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ्ग र मनाङ्गमा ७६२९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको तथा २०४९ सालमा स्थापित अन्नपुर्ण संरक्षण क्षेत्र विविध वनस्पति, वन्यजन्तु र जैविक विविधताले पुर्ण रही आएको छ । बिश्वकै उत्कृष्ट मानिएका मध्ये अन्नपुर्ण पदमार्गमा गुरुङ्ग, थकाली सहित जनजातिका संस्कृति रहनसहन र भेषभुषाले बिदेशी पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।

    पोखरा उपत्यकाका फेवाताल, महेन्द्रगुफा, चमेरो गुफा, डेभिज फल, बिश्वशान्ति स्तुपा र साराङ्गकोट क्षेत्र, पोखरामा संचालित प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट जिपप्mलाई, स्काइडाइभिङ्ग जस्ता साहासिक  गतिविधिहरुले काठमाण्डौं पछि बढि पर्यटकहरुलाई आकर्षित गर्दै आएको छ । चीनको आर्थिक व्यवस्थापन र प्राबिधिक सहयोगमा निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि समष्टिमा क्षेत्रका जिल्लाहरु प्रत्यक्ष वा परोक्ष रुपमा लाभान्वित हुने तथा नेपालको पर्यटन उद्योगले अर्को फड्को मार्ने निश्चित छ ।

    प्रदेशमा अवस्थित प्रायः सवै जिल्लाहरुमा ग्रामिण पर्यटनको अपार संभावना वोकेका जिल्लाहरु मानिन्छन् । लमजुङका घलेगाऊँ, भुजुङ, पसगाऊँ, रागिनासकोट, गाऊँशहर, काउलेपानी र दूधपोखरी समेत कतिपय क्षेत्रहरुमा घरवास (होमस्टे) को व्यवस्थापनमा क्रमिक सुधार गरिएकोले बिभिन्न गाऊँहरुमा आन्तरिक पर्यटकहरुको भ्रमण अभिरुचि बढ्दै गएको छ । घलेगाऊँ र काउलेपानी ग्रामीण क्षेत्रका घरवास (होमस्टे) पर्यटन व्यवस्थापन त दक्षिण एसियाका उत्कृष्ट कार्यक्रमको सूचिमा देखा परेको छ । तनहूँ, लमजुङ, गोरखा, मनाङ्ग लगायतका जिल्लाहरुमा पदयात्रा मार्गमा संचालित “टी हाउस”, “होमस्टे” कार्यक्रम कृषि–पर्यटनका गतिविधिले स्थानीय जनताको स्वरोजगारी, स्थानीय उत्पादनको वजार प्रवद्र्धन, जनताको आर्थिक स्थितिमा सुधार एवम गरिवी निवारणमा टेवा पुगेको यथार्थलाई बिर्षन मिल्दैन ।

    नयाँ संबिधानले संरचना गरेको प्रदेश – ४ मा उल्लेखित पर्यटन, जलबिद्युत तथा आर्थिक बिकासका  संभावनाहरुका अतिरिक्त त्यस क्षेत्रको रुपान्तरणमा आशावादी हुन सकिने थप आधारहरु सार्वजनिक भएका छन् । मुस्ताङ्ग पारी चीनको कोरलासम्म यातायात प्रणाली सुव्यवस्थित पारिएको सन्दर्भमा नेपाल र चीन दुवैले कोरलालाई पोखरासम्म जोडने अझै पर्साको ठोरीसम्म यातायात सम्पर्कले जोडने दिशामा  हालका अवधिमा चिन्तन  व्यापक पारेका छन् । म्याग्दीवाट मुस्ताङ्गसम्म सवारी साधन चलिसकेको स्थितिमा जोमसोमवाट कोरला जोडने सडक निर्माण गरिएमा पोखरा भ्रमणमा आउने पर्यटक उच्च हिमाली श्रृंखलाको अवलोकन गर्न मुक्तिनाथ, जोमसोम, कागवेनी, लोमान्थाङ हुँदै कोरलासम्म जाने मात्र होइन, द्विपक्षीय व्यापार बिस्तार भई राष्ट्रिय अर्थतन्त्रमा समेत सघाउ पुग्नेछ । नेपालको दीर्घकालीन हितका लागि रसुवागढी – केरुङ्ग एवं मुस्ताङ्ग – कोरलालाई यातायात प्रणालीमा समाहित गर्नु अनिवार्य छ ।

    चीनले सन २०२० सम्म तिव्वतको सिगात्सेबाट केरुङ्गसम्म रेलसेवा बिस्तार गर्ने योजना तीव्र पारेको तथा चीनले नेपाली पक्षलाई केरुङ्गसम्म जोड्न वारम्वार आग्रह गर्दै आएको पृष्ठभूमिमा नेपाल सरकारले रसुवगढीलाई  केरुङ्गसम्म जोड्ने कार्यलाई उच्च प्राथमिकता दिनु पर्दछ । नेपाल भित्र रेल्वे यातायात निर्माणमा चिनिया सरकारले सहयोग गर्ने सहमति जनाएको सन्दर्भमा हालै बिभिन्न चिनीया कम्पनीले रसवागढी – काठमाण्डौं पोखरा रेल्वे लाइनको संभाव्यता अध्ययन शुरु गरेका छन् । चिनीया कम्पनीहरुले रसुवगढी – काठमाण्डौ – पोखरा रेल्वे निर्माणमा लाग्ने अपार धनराशि आफै जुटाउने प्रस्ताव पेश गरेकोले त्यसको कार्यान्वयन तीव्र पार्न चिनिया पक्षलाई सहयोग गर्नु पर्दछ । काठमाण्डौ –पोखरा रेल्वे लाइन निर्माण भएमा तनहूँको आँवु खैरेनी, डुम्रे, दमौली लगायतका क्षेत्रहरु रेल्वे केन्द्रका रुपमा स्थापित गरिने चिनीया पक्षको प्रस्ताव छ ।

    प्रदेशको आर्थिक–सामाजिक रुपान्तरणमा आशावादी हुने अर्को पक्ष छ – केही क्षेत्रहरुमा नयाँ सहरहरुको निर्माण । प्रदेशका बिभिन्न क्षेत्रहरुमा नयाँ नगरपालिकाहरु थपिएका छन् भने १७४६ किलोमिटर लम्वाई रहेको मध्य पहाडी लोकमार्गका क्षेत्रमा नयाँ सहरहरु निर्माण गरिदैंछ । मध्य पहाडी लोकमार्ग छेउछाउमा १० नयाँ सहरको भौतिक संरचनाको निर्माण कार्य शुरु गरिएको र त्यस मध्ये तनहूँको डुम्रेलाई नयाँ सहरको रुपमा बिकास गरिने तथा गोरखाको पालुङटारलाई “स्मार्ट सिटि” को रुपमा अघि वढाइने योजना भएकोले यी नयाँ सहरको निर्माणको फलतः ती क्षेत्रहरुमा पर्यटन बिकासका साथै आर्थिक–सामाजिक बिकासमा उल्लेख्य योगदान पुग्नेछ । यी योजनाहरुको कार्यान्वयन हुन सकेमा क्रमिक रुपमा युवाहरुको बिदेश पलायन क्रम र पहाडबाट तराई र सहरी क्षेत्रमा वसाइ सराई  क्रमिक रुपमा कम भई स्थानीय बिकास गति तीव्र हुनुमा सन्देह छैन् ।

    नेपालले यस वर्ष (वि.सं. २०७३) लाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप “घुमफिर वर्ष” का साथै सन २०१७ मा दशलाख पर्यटक भित्राउने लक्ष्यका साथ त्यस वर्षलाई “नेपाल भ्रमण वर्ष” को रुपमा मनाउने घोषणा गरीसकेको छ , तर यी गतिबिधि राष्ट्रिय योजना आयोगका आवधिक योजना जस्तै कागजी योजनामा सीमित छन् । यी योजनाहरुको सन्देशले आम जनाताको मन छुन सकेको छैन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना अनुरुप नयाँ संविधानको कार्यान्वयन पछि संघ, प्रदेश र स्थानीय तह समेत रहने तथा स्थानीय तह अन्तर्गत गाऊँपालिका, नगरपालिका, र जिल्ला सभा रहने व्यवस्था गरिएको छ । यस परिवेशमा पर्यटकीय सम्पदाले समृद्ध प्रदेश – ४ का संभाव्य सवै क्षेत्रलाई पर्यटक आगमनका दृष्टिले उत्कृष्ट गन्तव्यका रुपमा बिकास बिस्तार गर्न प्रादेशिक र स्थानीय सरकारको राजनीतिक प्रतिवद्धताका साथै ठोस योजनाको प्रभावकारी कार्यान्वयन अपेक्षित छ ।

    तस्विर : माछापुछ्रे , पोखरा / नेपाल ट्रावेल बिजन्यूज

    • मनाङमा विदेशी पर्यटकको आकर्षण

      घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

      विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्याङ्क रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

      यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उहाँका अनुसार तीन वर्षको वार्षिक तथ्याङ्कअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ ।

      हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताउनुभयो । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उहाँले जानकारी दिनुभयो ।

      दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताउनुभयो । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ ।

      सन् २०२३ मा २१ हजार दुई सय ४७ पर्यटक भित्रिएको तथ्याङ्कमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङ्रा भञ्ज्याङ, तिलिचो ताल, गङ्गापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन्, भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको इकाईका प्रमुख भुजेलले जानकारी दिनुभयो ।

      सन् २०२२ मा १५ हजार आठ सय ५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए । यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौंँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम विस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । यसका साथै अमेरिका, अष्टे«लिया, चीन, रसिया, नेदरल्याण्ड, पोल्याण्डलगायत एक सय २५ देशका नागरिक यहाँ आउने गरेका इकाईका प्रमुख भुजेलले उल्लेख गर्नुभयो ।

      कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

      अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएका छन् ।

      काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस

      लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटक सङ्ख्या २५ हजार 

      रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिनुभयो ।

      यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको बहालबाट दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व सङ्कलन गरेको जनाएको छ ।

      निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताउनुभयो । निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाका लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ ।

      यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवम् जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ । गोसाईकुण्ड जादाँ काठे-लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गर्नुभयो ।

      धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेतको लठ्ठी प्रयोग गर्नुभएकाले  भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताउनुभयो । यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिस्ट्रेसन पारित गरेको जनाएको छ ।

      मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन् । रजिस्टेसन, नामसारी, जरिवाना, पूँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५  राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला-पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि  टेलिभिजनको व्यवस्था गरिएको छ । रासस

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा