• पर्यटन क्षेत्रको पूर्वाधार र उत्साहप्रद लगानी

    पर्यटन क्षेत्रको पूर्वाधार र उत्साहप्रद  लगानी
    • बसन्त मिश्र

    कोभिड महामारीपछि औद्योगिक क्षेत्रमा लगानी सुस्त छ । कतिपय उद्योग व्यापार मन्दीकै कारण बन्द पनि भए । तर, पर्यटन क्षेत्रमा भने नयाँ–नयाँ लगानी आइरहेको छ । स्वदेशवासी र गैरआवासीय नेपालीको लगानीमा देशैभर ठुल्ठूला होटेल खुलिरहेका छन् । सन् २०२३ मा एकै वर्ष करिब १० अर्ब लगानीमा पाँचवटा पाँचतारे होटेल खुले । एक–डेढ वर्षभित्र सञ्चालनमा आउने गरी दर्जनभन्दा बढी थप पाँचतारे निर्माण भइरहेका छन्, जसमा ३५ अर्ब लगानी हुँदै छ । निर्माण सुरु भइसकेका र लगानीको घोषणा गरी उपयुक्त वातावरणको पर्खाइमा रहेका साना–ठूला होटेल तथा रिसोर्ट कैयौँ छन् । गैरआवासीय नेपाली शेष घलेले कान्तिपथमा आइकोनिक टावरसहितको अल्ट्रा लक्जरी होटेल चाँडै खोल्दै छन् ।

    अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्डहरूको नेपाल प्रवेश पनि उत्साहप्रद छ । विदेशी चेनले प्रत्यक्ष लगानी नभिœयाए पनि प्रविधि र सीप भिœयाएका छन् । एक समय सोल्टी होटेलमा ओबरायको २५ प्रतिशत सेयरसहित साझेदारी थियो । म्यारियट, हिल्टन, ¥याडिसन, आइएचजी, हायात, ताज, शिन्तामणि, दुसित नेपाल आइसके । सन् २०२५ सम्ममा अन्तर्राष्ट्रिय चेनको संख्या दुई दर्जनभन्दा बढी पुगिसकेको हुनेछ । केवलकारसहितको हिल स्टेसन, बन्जी, प्याराग्लाइडिङ, जिपलाइनलगायत साहसिक गतिविधिमा पनि लगानी बढेकै छ । पर्यटक आगमन पनि बढ्दो छ । मार्चमा एक लाख २८ हजार पर्यटक भित्रिएको तथ्यांक छ । आन्तरिक पर्यटन पनि भाइब्रेन्ट बनेको छ । गत वर्ष भैरहवा र पोखरामा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिए । अब वार्षिक २५ लाखभन्दा बढी पर्यटक धान्ने पूर्वाधार तयार भइसकेको छ ।

    तर, यतिमै चित्त बुझाएर बस्नुहुँदैन । पर्यटन पूर्वाधारमा भएको सरकारी र निजी लगानीअनुसार कम्तीमा पनि ५० लाख पर्यटक ल्याउनुपर्छ । जसले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा १५ देखि २० प्रतिशत योगदान पु¥याओस् । र, त्यहीअनुरूपमा रोजगारी सिर्जना हुँदा युवाहरू पलायन हुने क्रम पनि कम हुनेछ । अहिले लगानी होटेल, रिसोर्ट र केवलकारमा केन्द्रित छ । अरू पर्यटकीय प्रडक्ट पनि विकास गर्नुपर्छ । हामीले पर्यटनका भिजन बनायौँ, तर कार्यान्वयन गर्न सकेनौँ । भिजनका लक्ष्यहरू पछ्याउन सक्नुपर्छ । पर्यटनमा ‘रिसर्चबेस्ड इफेक्टिक मार्केटिङ’ अत्यन्तै जरुरी छ । सानो मुलुक भईकन पनि नेपाल प्राकृतिक र मानव निर्मित सम्पदाहरूमा अरूभन्दा कम छैन ।

    स्वदेशवासी र गैरआवासीय नेपालीको लगानीमा देशैभर ठुल्ठूला होटेल खुलिरहेका छन् । सन् २०२३ मा एकै वर्ष करिब १० अर्ब लगानीमा पाँचवटा पाँचतारे होटेल खुले । एक–डेढ वर्षभित्र सञ्चालनमा आउने गरी दर्जनभन्दा बढी थप पाँचतारे होटेल निर्माण भइरहेका छन्, जसमा ३५ अर्ब लगानी हुँदै छ ।

    कुनै पनि विदेशी लगानीकर्ता आउँदा पुँजी मात्र आउँदैन् । सँगसँगै उन्नत टेक्नोलोजी र सीप पनि भित्रिन्छ । उसले टेक्नोलोजी र नलेज ट्रान्सफर गर्छ । पर्यटन, उद्योग, बैंकिङ, टेलिकम, आइटी, स्वास्थ्य क्षेत्रमा भित्रेको एफडिआईले प्रमाणित गरिसकेका छन् ।

    उदारीकरण र एफडिआई

    ०४६ मा देशमा राजनीतिक परिवर्तन भयो । ०४८ मा लिइएको खुला बजार नीति (आर्थिक उदारीकरण)ले लाइसेन्स खुला ग¥यो । डाबर, हिन्दुस्तान लिभर, कोकाकोला, कोलगेट, टेलिकमजस्ता बहुराष्ट्रिय कम्पनी आए । नेपालको बैंकिङ क्षेत्रमा स्ट्यान्डर्ड चार्टर्ड, इन्डोस्वेज, हबिब, पन्जाब नेसनल बैंक, एसबिआईलगायत प्रवेश गरे । तीमध्ये धेरै नेपालमै छन्, केही फर्किए । यी कम्पनीले राम्रो मुनाफा गरिरहेका छन् । यी कम्पनीको सफलताको कथाले अरू लगानीकर्तालाई आकर्षित गर्न सक्छ । पछि केएफसी, पिज्जा हट, हार्ड रक क्याफेजस्ता चर्चित रेस्टुरेन्ट पनि भित्रिए । स्वदेशकै निजी क्षेत्रले पनि उदारीकरणमै फस्टाउने मौका पाए । जागिर छाडेरै उद्यमी बन्ने क्रम पनि त्यहीँदेखि सुरु भएको हो ।

    यहीबीचमा टेलिकम कम्पनी टेलियासोनेरा र आजियाटा फिर्ता भए । कोलगेट, रोयल स्ट्याग, टाइगर प्यालेसबाट सिल्भर हेरिटेज, सोल्टीबाट ओबरायसहित केही विदेशी चेन होटेलले सेयर बिक्री गरेर बाहिरिए । यीमध्ये धेरैजसो राज्यको अस्थिर र अव्यावहारिक नीति, राजनीतिक र श्रम समस्या, प्रशासनिक असहजतालगायतका समस्या झेल्न नसकेर फिर्ता भएका हुन् ।

    पछिल्ला वर्षहरूमा बहुराष्ट्रिय कम्पनीलाई खासै भिœयाउन सकिएको छैन । अर्थात्, क्वालिटी एफडिआई धेरै भित्रिएन । हामीलाई एफडिआई धेरै आवश्यक छ । एफडिआई भिœयाउन हरेक देशबीच प्रतिस्पर्धा भइहाल्छ । जुन देशमा लगानीका अवसर, वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी छ, लगानीकर्ता त्यतै जाने हुन् । हाम्रो स्ट्रेन्थ केमा हो ? हाम्रो देशमा किन लगानी गर्ने ? नेपाल अरू देशभन्दा केमा अब्बल छ ? भन्नेमा स्पष्ट हुनुपर्छ । लगानीको वातावरण भएन भने स्वदेशीले त लगानी गर्दैनन्, विदेशी लगानीकर्ता किन आउँथ्यो । हालको समयमा स्वदेशी लगानीकर्ता नै ‘पर्ख र हेर’को अवस्थाको विभिन्न अध्ययनले देखाएका छन् ।

    नेपाल लगानीका लागि भर्जिन देश हो । पर्यटन, हाइड्रो, पूर्वाधार, कृषि, आइटीलगायत क्षेत्रमा लगानीको अवसर छ । हाम्रो मौसम पनि उत्कृष्ट छ । काम गर्ने वातावरण पनि राम्रो छ । काम गर्ने मान्छे पनि छन्, भलै दक्ष कम होलान् । नेपालीले संसारभर पुगेर आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । सीप सिकेर फर्किने पनि उत्तिकै छन् । इमानदारिता पनि नेपालीमा अझै जीवितै छ । हार्डकोर कम्युनिस्ट मुलुक चीनले संसारभरका ठूला बहुराष्ट्रिय कम्पनीलाई आफ्नो देशमा तानिरहेको छ । इन्डिया डेमोक्रेटिक मुलुक हुँदा पनि एफडिआईमा पछाडि छ । जब कि इन्डियामा ब्रिटिसको पालामै विश्वकै लोकप्रिय उत्पादनमूलक कम्पनी भित्रिएका थिए । तैपनि लगानीकर्ताको रोजाइ भारतभन्दा कम्युनिस्ट मुलुक चीन नै भयो । यसको मतलब लगानीकर्ताले शासनतन्त्र हेरेनन्, स्थिर र लगानीमैत्री नीति एवं सरकारको विदेशी लगानीमाथिको प्रतिबद्धता हेरे ।

    एउटा इन्टरभ्युमा उद्योगपति रतन टाटाले इन्डिया पछाडि पर्नुका तीन कारण औँल्याएका थिए– ‘पोलिटिकल इनस्टाबिलिटी, अनस्टेबल पोलिसी एन्ड रेगुलेसन र ब्युरोक्रेटिक हडल्स ।’ भारतले विकासको रफ्तार समातिसक्यो । तर, नेपालको अवस्था ठ्याक्कै उस्तै छ । हरेक प्रधानमन्त्री, मन्त्रीदेखि सचिवसम्मले लगानीमैत्री वातावरण बनाउँछौँ भन्छन् । तर, ऐन, कानुन संशोधनमा त्यति दिलचस्पी देखाउँदैनन् । सम्मेलनअगाडि करिब एक दर्जन कानुन र नियमावली संशोधन गर्नुपर्ने ठहर गरेको सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्ला भन्ने आशा गरौँ ।

    पर्यटनमा विदेशी लगानीको इतिहास

    सम्भवतः पहिलो एफडिआई होटेलमै आएको थियो । सन् १९५० कै दशकमा लाजिम्पाटमा स्नो भ्यु होटेल खुलेको थियो । लगत्तै कान्तिपथको बहादुर भवन (अहिले निर्वाचन आयोग)मा बोरिस लिसानोभिचले ‘रोयल होटेल’ खोले । यो नेपालकै पहिलो लक्जरी होटेल थियो । १९५० मा अन्नपूर्ण र १९५३ मा सगरमाथाको सफल आरोहण भयो । अन्नपूर्ण आरोहणबाट पोखराले चर्चा बटुल्यो भने सगरमाथाले काठमाडौं र खुम्बु क्षेत्रको । नेपालमा व्यावसायिक पर्यटनको सुरुवात नै १९५० को दशकबाट भएको मानिन्छ ।

    रसियन नागरिक बोरिस लिसानोभिचले १९५० को दशकको सुरुवाततिरै रोयल होटेल खोलेका थिए । उनैले हिमालयन एभियसन स्थापना गरेर कोलकाता आइपुगेका पर्यटकलाई चार्टर्ड प्लेन चढाएर काठमाडौं ल्याउँथे । त्यही वेलादेखि नेपालले अनअराइभल भिसा दिन थाल्यो । बोरिसले साझेदारीमा दरबारमार्गमा याक एन्ड यती नामको बार चलाए । जुन पछि याक एन्ड यती होटेल बन्यो । बोरिसको नामले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)ले याक एन्ड यती होटेलमा लगानी ग¥यो । नेपालमा टुर प्याकेज बिक्री गर्न सुरु गर्ने पनि उनी नै हुन् ।

    सन् १९६४ मा चितवन राष्ट्रिय निकुञ्जमा टाइगर टप्स खुल्यो । अमेरिकी नागरिकले सुरु गरेको टाइगर टप्समा पछि बोलायती नागरिक जिम एडबार्डस् जोडिए । जापानिज नागरिक ताकासी मियाहाराले सन् १९७१ मा स्याङबोचेको ३,८८० मिटर उचाइमा होटेल एभरेस्ट भ्यु खोले । जसले विश्वकै अग्लो ठाउँको रिसोर्टको वल्र्ड रेकर्ड पनि राख्यो । उनैले स्थानीयको सहयोगमा सानो पिलाटस पोर्टर अवतरण गर्न सक्ने स्याङबोचे एयरपोर्ट बनाए । ललितपुरको होटेल हिमालयमा पनि जापानी लगानीकर्ता ल्याए । त्यसवेला सबैभन्दा ठूलो एफडिआई मियाहाराकै थियो ।

    झोँछेका होटेल÷लजहरूमा पनि विदेशी लगानी थियो भन्ने सुनिन्थ्यो । सन् १९६५÷६६ मा नेपाली लगानीमा दुईवटा पाँचतारे होटेल सञ्चालनमा आए । नेपालमा बन्जी जम्पको सुरुवात गराउने पनि विदेशी नै हुन् । सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट र भोटेकोशी बन्जीमा विदेशीको लगानी रहेको छ ।

    हामीले पर्यटनमा ठूलो एफडिआई ल्याउन सकेका छैनौँ । हालै खुलेको धुलिखेलको दुसित थानी रिसोर्टमा विदेशीको मुख्य लगानी रहेको बताइन्छ । यही नै पछिल्लो समय भित्रिएको ठूलो वैदेशिक लगानी होला । अहिले साना होटेल र रेस्टुरेन्टमा स–सानो लगानी आइरहेको छ । यस्तो लगानीले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउँदैन । क्यासिनोमा ठूलो वैदेशिक लगानी भिœयाउन सकिन्छ । नेपालका सीमावर्ती सहरहरूमा क्यासिनो हब बनाउन सकिने सम्भावना धेरै छ । अन्तर्राष्ट्रिय स्तरको क्यासिनो हब बनाउन पनि लगानीकर्ता आकर्षित गर्न सकिन्छ ।

    पछिल्लो समय म्यानेजमेन्ट कन्ट्र्याक्टमा फटाफट अन्तर्राष्ट्रिय चेन आइरहेका छन् । नेपालमा सम्भावना नदेखेको भए सायद उनीहरू आउँदैनथे । विदेशी प्रख्यात ब्रान्डहरूको नेपाल प्रवेशमा भएको प्रतिस्पर्धाले पनि लगानीको सम्भावना दर्साउँछ ।

    पर्यटन पूर्वाधार केन्द्रित लगानी सम्मेलन

    वैशाख मध्यतिर सरकारले लगानी सम्मेलन गर्दै छ । लगानी सम्मेलन आयोजना गर्दा हामीलाई नोक्सानी हुँदैन । यसले अर्थतन्त्रमा पक्कै पनि फाइदा पु¥याउँछ । अघिल्ला दुई सम्मेलनकै कुरा गर्दा सरकारले गरेको खर्चभन्दा धेरै बढी एफडिआई भित्रिएको छ । सम्मेलनमा पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा दिइनुपर्छ । कतिपय ठाउँमा अनुभवी विदेशी साझेदार कम्पनी नै भिœयाउनुपर्ने अवस्था छ । सरकारले पर्यटनका परियोजना लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्तामाझ जोडतोडले प्रवद्र्धन गर्नुपर्ने देख्छु ।

    १. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात दशकपछि भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । भैरहवा विमानस्थललाई साँघुरो बन्दै गएको त्रिभुवन विमानस्थलको विकल्पका रूपमा हेरिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक ओइरिने अनुमान लगाउँदै निजी क्षेत्रले होटेलमा ठूलो लगानी ग¥यो । तर, लगानीकर्ताले सोचेअनुरूप भएन । २ जेठ ०७९ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । भैरहवा विमानस्थल सञ्चालनमा आएको साढे आठ महिनापछि १७ पुस ०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । यो विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पनि पर्यटक खचाखच आउने अनुमान थियो । तर, विमानस्थल सञ्चालनमा आएको १६ महिना पुग्दासमेत पोखरामा एउटै नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन, एकाध चार्टर्ड उडानबाहेक ।

    दुई अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ६० अर्ब लगानी भएको छ । यी दुवै विमानस्थल चलाउन सकेनौँ, यो हाम्रो कमजोरी हो । यसैले विमानस्थल सञ्चालनमा राम्रो अनुवभ भएको, वित्तीय रूपमा सक्षम र अन्तर्राष्ट्रिय एक्सेस राम्रो भएको सक्षम विदेशी कम्पनी खोजेर एयरपोर्ट सञ्चालनको जिम्मेवारी दिन जरुरी भइसकेको छ । हामीले आफ्ना सर्त राखौँ, जो तयार हुन्छ ऊसँग सहकार्य गरौँ ।

    २. नेपालका लागि अन्तर्राष्ट्रिय गेटवे भनेकै एयरपोर्ट हो । यसैले हामीसँग ठूला कार्गो विमान र एयरबस ३८० जहाज उडान अवतरण गर्ने विमानस्थल आवश्यक छ । अहिले भएका तीनवटै विमानस्थलमा यी विमान अवतरण गर्न सक्दैनन् । हामीले निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु जरुरी छ । काठमाडौं–तराई द्रुतमार्ग प्रस्तावित निजगढ एयरपोर्टलाई आधार बनाएरै निर्माण सुरु गरिएको थियो । लगानी सम्मेलनमा पूर्ण क्षमताको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता खोज्नुपर्छ ।

    ३. राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम फ्रेन्चहरूले स्थापित गरिदिएका हुन् । कैयौँ वर्ष राम्रो पनि चलायौँ । नेपालबाट लन्डन, फ्र्यांकफर्ट, पेरिससम्म सीधा उडान हुन्थ्यो । विदेशी मुद्रा जोगाउन र पर्यटन उद्योगको व्यापार बढाउन विश्वका अरू सहरहरूमा सेवा विस्तार गर्दै जानुको साटो निगमले पहिल्यै उडान गरिरहेका ठाउँमा पनि सेवा बन्द गर्दै गयो । लामो दूरीमा उडान गर्न भनेर ल्याइएका वाइडबडी जहाज यत्तिकै अलपत्र छन् । निगमले न सेड्युल मेन्टेन गर्न सकेको छ, न आफ्नो गुडविल बनाउन नै सक्यो । पहिला प्रख्याति कमाएको ध्वजावाहक कमजोर बन्दै आफ्नो साख गुमाउने क्रममा छ । अहिलेकै अवस्थामा निगमले साख फर्काउन नसक्ने भयो । अब इक्विटी लगानीसहित वा म्यानेजेमन्ट कन्ट्र्याक्टमा भए पनि विश्वकै बेस्ट कम्पनी ल्याउनुपर्छ । सक्षम साझेदार नभिœयाई निगम सुध्रिनेवाला छैन ।

    ४. अहिले चन्द्रागिरिमा हिउँ प¥यो भने कति मान्छे पुग्छन् । गरम देशमा बस्ने मान्छेहरू हिमालयको छेउमा पुगेर हिउँ हेर्न र खेल्न पाए कति रमाउलान् ? कति खुसी होलान् ? हिल स्टेसन, हिमाली भेगमा स्की, डिज्नी ल्यान्ड, वाटर स्पोर्टस्, हवाई खेलकुद, रारा, फोक्सुन्डो, डोल्पोजस्ता क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाउन जरुरी छ । यसका लागि ठूलो लगानी आवश्यक हुन्छ । दुर्गम क्षेत्रका रूपमा रहेको कर्णाली भेगमा ठूला लगानीकर्ता ल्याउन सकेको खण्डमा यो लगानी सम्मेलन सार्थक हुने थियो ।

    पर्यटन पूर्वाधारमा लगानीको अवस्था

    हस्पिटालिटीमा निजी क्षेत्रको लगानी उत्साहप्रद छ । अहिले नै वार्षिक २५ लाख पर्यटक धान्ने होटेल तथा रिसोर्ट तयार भइसकेका छन् । केवलकार, बन्जी, जिपलाइन, प्याराग्लाइडिङमा पनि निजी क्षेत्रको राम्रो लगानी भएको छ । पूर्वको पाथीभरादेखि पश्चिमको कैलाली लम्कीचुहासम्म होटेल, फनपार्कसहितको केवलकार परियोजना सञ्चालनमा आउँदै छन् । अझ कास्कीको बिरेठाँटीदेखि मुक्तिनाथसम्म करिब ५५ अर्ब रुपैयाँ खर्चिएर ८० किलोमिटर लामो केवलकार बनाउने भनिएको छ । यी परियोजनामा करिब एक खर्ब लगानी हुँदै छ ।

    हवाई पूर्वाधारमा राम्रै सफलता मिलेको छ । तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि ५४ वटा विमानस्थल पुगिसके । विराटनगर, भरतपुर, नेपालगन्जलगायत विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी गरेर धावनमार्ग विस्तारदेखि आधुनिक टर्मिनल भवन निर्माण भइरहेको छ । ट्रंक उडान राम्रो भइरहेको छ । अब स्टल उडान कसरी बढाउने भन्नेतिर सोच्नुपर्छ । हवाई पूर्वाधारमा भएको लगानीलाई आर्थिक समृद्धिको कोसेढुंगा बनाउन सक्नुपर्छ ।

    हाम्रो सडक पूर्वाधार भने दयनीय छ । दुई सय किमि काठमाडौं–पोखरा यात्रा गर्न १० घण्टाभन्दा बढी समय लाग्छ । चितवन वा बुटवल पुग्न पनि उस्तै सकस छ । स्तरोन्नतिका नाममा सबै राजमार्ग भत्काइएको छ, तर निर्माण कार्य सुस्त छ । नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ हुँदा पर्यटक र यात्रु सबैले दुःख पाइरहेका छन् । बुटवल–पाल्पा–पोखरा, मुग्लिन–पोखरा, पोखरा–म्याग्दी–मुस्ताङ, सुर्खेतलाई जुम्ला र रारासँग जोड्ने कर्णाली राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, काठमाडौं–निजगढ फास्ट ट्रयाकलगायत प्रमुख राजमार्ग विस्तार गर्न सकेमा ठूलो संख्यामा पर्यटक भिœयाउन सकिने सम्भावना छ ।

    नेपालका सबै राष्ट्रिय राजमार्गको अवस्था बिजोग छ । लगानी सम्मेलनअगाडि हाम्रा सडक निर्माण सम्पन्न भइसकेका हुन्थे भने लगानीकर्ता थप उत्साहित हुने थिए कि ? कुनै पनि प्रोजेक्ट निर्माणमा वर्षौँ ढिलाइ गरिएका उदाहरणले लगानीकर्तालाई उत्साहित बनाउँदैन ।

    नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्तालाई उत्साहित बनाउने हरेक किसिमका सम्भावना भए पनि जबसम्म देशको उड्डयन क्षेत्र युरोपेली युनियन (इयू)को कालोसूचीबाट हट्दैन, तबसम्म हामीले अपेक्षा गरेजति विदेशी लगानी आउन सक्दैन । इयूको कालोसूचीबाट हट्नु देशको पर्यटन विकास र समग्र अर्थतन्त्रकै लागि अत्यावश्यक छ ।

    बैशाख, २०८१

    (वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्र विश्व पर्यटनसंग सम्बन्धित अन्तराष्ट्रिय संस्थाहरुका सल्लाहकार हुनुहुन्छ / }

    • मनाङमा विदेशी पर्यटकको आकर्षण

      घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

      विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्याङ्क रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

      यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उहाँका अनुसार तीन वर्षको वार्षिक तथ्याङ्कअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ ।

      हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताउनुभयो । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उहाँले जानकारी दिनुभयो ।

      दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताउनुभयो । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ ।

      सन् २०२३ मा २१ हजार दुई सय ४७ पर्यटक भित्रिएको तथ्याङ्कमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङ्रा भञ्ज्याङ, तिलिचो ताल, गङ्गापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन्, भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको इकाईका प्रमुख भुजेलले जानकारी दिनुभयो ।

      सन् २०२२ मा १५ हजार आठ सय ५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए । यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौंँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम विस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । यसका साथै अमेरिका, अष्टे«लिया, चीन, रसिया, नेदरल्याण्ड, पोल्याण्डलगायत एक सय २५ देशका नागरिक यहाँ आउने गरेका इकाईका प्रमुख भुजेलले उल्लेख गर्नुभयो ।

      कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

      अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएका छन् ।

      काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस

      लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटक सङ्ख्या २५ हजार 

      रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिनुभयो ।

      यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको बहालबाट दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व सङ्कलन गरेको जनाएको छ ।

      निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताउनुभयो । निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाका लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ ।

      यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवम् जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ । गोसाईकुण्ड जादाँ काठे-लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गर्नुभयो ।

      धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेतको लठ्ठी प्रयोग गर्नुभएकाले  भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताउनुभयो । यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिस्ट्रेसन पारित गरेको जनाएको छ ।

      मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन् । रजिस्टेसन, नामसारी, जरिवाना, पूँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५  राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला-पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि  टेलिभिजनको व्यवस्था गरिएको छ । रासस

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा