• पर्यटन – द्वन्द र युद्धका कारण अनेकन चुनौती

    पर्यटन – द्वन्द र युद्धका कारण अनेकन चुनौती

    रमेश तिवारी ——-

    विश्वका विभिन्न राष्ट्रका विमानस्थलहरूबाट एक अर्का देशमा आवागमन गर्ने यात्रुहरूको सङ्ख्या सन् २०२३ मा ४ अर्ब २० करोड पुग्यो। सन् २०२२ मा ३ अर्ब २० करोड यात्रुहरुले हवाई मार्ग प्रयोग गरेकामा एकै वर्षमा एक अर्ब बढ्नु तथा हवाई उडान संख्या बढेर ३ करोड ५० लाख पुग्नु पर्यटन पुनरुत्थानका दृष्टिले सुखद पक्ष रहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार विमानस्थल प्रयोग गर्ने यात्रुको सङ्ख्या बढ्ने क्रमसँगै हवाई दुर्घटनामा पनि उल्लेख्य कमी आएको छ अर्थात् सन् २०२३ मा प्रति १० लाख उडानमा दुर्घटनाको संख्या १. ८७ मात्र रहेको छ।

    एशिया – प्रशान्त क्षेत्रका राष्ट्रहरूको प्रसंगमा करिव २० करोड ८० लाख भन्दा बढी अन्तर्राष्ट्रिय यात्रुहरूले एसिया -प्रशान्त क्षेत्रका विमानसेवाबाट यस वर्षको सात महिनामा एकअर्का देशका यात्रा गरे । कोभिड महामारीले विश्व पर्यटन थला परेको पृष्ठभूमिमा २०१९ को तुलनामा यस क्षेत्रमा हवाई यात्राबाट आवागमन गर्ने यात्रुहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको छ।

    पर्यटनसँग सम्वद्ध अन्तर्राष्ट्रिय निकायहरुले गरेको अध्ययन अनुसन्धान अनुसार कोभिड १९ महामारीबाट उत्पन्न संकट अन्त्य भएपछि विश्व पर्यटक आगमन सन् २०२४ मा कोरोना महामारी पूर्वकै स्थितिमा फर्कने निश्चित देखिन्छ। वर्ल्ड इकोनोमिक फोरमको हालैको अध्ययनमा कोभिड १९ सँग सम्बन्धित यात्रा प्रतिबन्ध विश्वव्यापी रुपमा हटाइएपछि अन्तर्राष्ट्रिय पर्यटक आगमन तथा विश्व कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान कोभिड महामारी पूर्वको स्थितिमा पुग्ने अपेक्षा गरिएको छ। पर्यटक आगमन वृद्धिमा सफलता प्राप्त गर्ने प्रमुख राष्ट्रहरुमा संयुक्त राज्य अमेरिका, स्पेन, जापान ,फ्रान्स, अस्ट्रेलिया र चीन लगायत पर्दछन् । अन्तर्राष्ट्रिय पर्यटक आगमनतर्फ मध्यपूर्वमा सबैभन्दा उच्च सफलता हासिल भएको छ भने एसिया ,युरोप, अफ्रिका र अमेरिकी महाद्वीपका अन्य राष्ट्रहरुमा यो वर्ष अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने भएको छ ।

    अन्तर्राष्ट्रिय पर्यटन जगतले हाल भूराजनीतिक घटना , आर्थिक मन्दी , मुद्रास्फिति, कतिपय ठाउँमा द्वन्द र युद्धका कारण अनेकन खतरा र चुनौती सामना गर्नुपरे पनि विश्वका अधिकांश राष्ट्रहरुमा हवाई सन्जाल विस्तार, अन्तर्राष्ट्रिय सीमा खुला , प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूमा पर्यटकहरूको बढ्दो अभिरुचि, पर्यटन उद्योगमा बढ्दो लगानी, पूर्वाधारको विकास विस्तार तथा भिसा प्रक्रियामा सरलीकरण जस्ता कतिपय कारणले गर्दा पर्यटन आगमनमा यो वर्ष उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको हो।

    विश्व पर्यटन क्षितिजमा आशा र प्रगतिका सम्भावना बढ्दै गएको परिपेक्षमा यस वर्ष सेप्टेम्बर २७ मा अन्तर्राष्ट्रिय जगतले विश्व पर्यटन दिवस मनाएर पुन: एकपल्ट पर्यटनको गुणात्मक विकास र विस्तारमा सरकार तथा गैरसरकारी क्षेत्रको प्रतिबद्धता पुनर्पुष्टि गर्नेछ / सन् १९ ७९ मा स्पेनमा सम्पन्न एक राष्ट्रसङ्घीय सम्मेलनको निर्णय अनुरुप सन् १९८० देखि विभिन्न विषय र नारा सहित विश्व पर्यटन दिवस मनाइने क्रम जारी छ / विश्व पर्यटन दिवसको उद्देश्य संसारभरि पर्यटन क्षेत्रलाई गतिशील पार्न विद्यमान समस्या तथा चुनौतीहरूको समाधानका लागि एक्यबद्ध प्रयास गर्नतर्फ परिलक्षित रहँदै आएको छ। विश्व पर्यटन दिवस मनाउने क्रममा राष्ट्रसङ्घीय विश्व पर्यटन संगठनले यस वर्षको मूल विषय पर्यटन र शान्ति निर्धारण गरेको छ / प्रत्येक वर्ष पर्यटनसँग सम्बद्ध जल्दाबल्दा विषयलाई मूल विषयवस्तु बनाउने गरिएको छ सन् १९८० देखि नै /

    विश्व पर्यटन दिवस २०२४ को मूल समारोह आतिथ्यको जिम्मेवारी यो पल्ट सन् १९९१ मा तत्कालीन सोभियत संघबाट पृथक भएको पूर्वी युरोपको राष्ट्र जर्जियाले पाएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुतरेसद्वारा विश्व पर्यटन दिवसले पर्यटन र शान्ति बीचको अन्तरसम्बन्धलाई प्राथमिकता दिएको हुनाले यस वर्ष विश्वका तनावग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्न विश्वव्यापी प्रयास जारी राख्नुपर्ने आवश्यकता औल्याइएको छ / दिगो पर्यटन विकासले विश्वभरिका समुदायको आर्थिक सामाजिक रुपान्तरण गर्ने, नयाँ रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रको विस्तार हुनेछ। पर्यटन क्षेत्रको विकास विस्तारले विभिन्न राष्ट्रहरूबीच अन्तरसम्बन्धको विस्तारका साथै सहयोग अभिवृद्धि, शान्तिपूर्ण विकासमा टेवा पुग्नुका अतिरिक्त जनता र राष्ट्रबीच पारस्परिक विश्वास र समझदारी वृद्धि हुने हुनाले यस वर्षको पर्यटन र शान्तिको नारा सामयिक र महत्वपूर्ण रहेको छ / हालका अवधिमा पर्यटकहरूमा लामो समयपछि विभिन्न राष्ट्रहरूको भ्रमण गर्ने उत्सुकता बढ्दै गएको तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा व्यापक सफलता हासिल भएकोले यस वर्ष तनावग्रस्त क्षेत्रहरूमा शान्ति स्थापना गर्न सकिएमा अझै उच्चतम सफलता हासिल हुनेमा सन्देह छैन /

    यस वर्ष सेप्टेम्बर १० मा न्युयोर्कमा सुरु भएको संयुक्त राष्ट्रसङ्घको ७९औ महासभाले कसैलाई पनि पछाडि नछोडौँ , वर्तमान र भावी पुस्ताका लागि शान्ति दिगो विकास र मानव मर्यादाको विकासको लागि मिलेर काम गरौ' मूल विषय अन्तर्गत विश्वका विभिन्न भूभागमा विद्यमान द्वन्द्वको स्थिति समाधान गर्न उच्च प्राथमिकता दिने अठोट गरेको छ। राष्ट्रसङ्घको महासभामा १९३ सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता भएकोले विश्वका विभिन्न भागमा विद्यमान संघर्षको स्थिति अन्त्य गर्न महासभाको प्रयास हुने भएपनि अपेक्षित उपलब्धि हासिल हुने सम्भावना छैन।

    विगत तीन दशकमा सबैभन्दा बढी हिंसात्मक संघर्ष गतवर्ष विश्वले अनुभव गर्यो । शीत युद्धको अन्त्यपछि सबैभन्दा हिंसात्मक वर्ष ठानिएको सन् २०२३ मा विश्वमा ५९ वटा सङ्घर्ष रेकर्ड गरिएको र त्यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ३४ राष्ट्र सामेल भएको नर्वे स्थित पिस रिसर्च इन्स्टिच्युटको अद्ध्ययनले देखाएको छ। दशकौंदेखि विश्वका विभिन्न भूभागमा राष्ट्रिय तथा क्षेत्रीय रूपमा भएका सङ्घर्ष अन्त्यका लागि लामो समयदेखि प्रयास जारी राखिएता पनि हालसम्मका उपलब्धि त्यति अर्थपूर्ण हुन सकेका छैनन् , यद्यपि अन्तर्राष्ट्रिय सम्बन्धमा केही सकारात्मक उपलब्धि हासिल भएका छन्।

    मध्यपूर्व, एशिया र अफ्रिकाका कतिपय राष्ट्रहरूमा विद्यमान संघर्ष विश्व शान्तिका लागि मुख्य चुनौतीको रुपमा रहिआएको छ। सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकुहरूले २५० व्यक्तिहरूलाई बन्धक बनाएपछि इजरायलद्वारा गाजामा शुरु गरिएको बर्बर आक्रमण विश्व राजनीतिमा अहिले सर्वाधिक चिन्ताको विषय बनेको छ। इजरायलले गाजामा आक्रमण शुरूगरेपछि अहिलेसम्म त्यहाँ ३९ हजार व्यक्तिको मृत्यु भइसकेको छ, ९० हजार भन्दा बढी घाइते हुनुका साथै १९ लाख प्यालेस्टिनीहरू आफ्नो भूमि छोडेर अन्यत्र भाग्न विवश भएका छन्।गाजा क्षेत्र र मध्यपूर्वका अन्य राष्ट्रहरुमा रहेका लाखौं लाख प्यालेस्टिनीहरूले दशकौंदेखिको पीडा र यातना गाजा क्षेत्रमा इजरायली आक्रमणपछि अझ बढी सहनु परेको छ।

    संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् , अन्तर्राष्ट्रिय समुदाय तथा इजरायलको मूल समर्थक अमेरिकी राष्ट्रपतिले बारम्बार युद्ध रोक्न इजरायल माथि दबाब सिर्जना गरे पनि अझै त्यस क्षेत्रमा युद्ध अन्त्य हुने सम्भावना छैन ।गाजा क्षेत्रका लाखौं लाख व्यक्तिहरू अद्यापि खानेपानी, खाद्यान्न , स्वास्थ्योपचार जस्ता जीवनका आधारभूत आवश्यकताबाट विमुख पारिएका छन्। सन् २००८ पछि इजरायल र हमासबीचको यो पाँचौं भीषण युद्धको आगो अहिले मध्यपूर्वका अन्य क्षेत्रहरू- लेबनान, सिरिया लगायतका राष्ट्रहरुमा सल्किँदै गएको छ र तत्काल मध्यपूर्वको युद्ध अन्त्य हुने स्थिति छैन / मध्यपूर्वमा सल्किएको युद्धले विश्व अर्थतन्त्रमा अत्यन्त प्रतिकुल असर पारेकोले पर्यटन क्षेत्र पनि निकै प्रभावित भएको देखिन्छ।

    रुसले सन् २०१४ मा युक्रेनमाथि गरेको आक्रमण पूर्ण रुपमा अन्त्य नहुँदै २४ फेब्रुअरी २०२२ मा पुनः भीषण आक्रमण गरेपछि रुस -युक्रेन युद्ध विश्व युद्धपछि युरोपको सबैभन्दा ठूलो संघर्ष प्रमाणित भएको छ। रुसी आक्रमण पछि युक्रेनका ८० लाख बासिन्दा आन्तरिक रुपमा विस्थापित भएका छन्। ४२ लाख देश छोडेर अन्यत्र शरणार्थीको जीवन बिताउन विवश छन् भने रुस र युक्रेन दुवैतर्फ ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको महत्वाकांक्षाको कारण युक्रेन माथिको रुसी आक्रमण पनि तत्काल अन्त्य हुने सम्भावना देखिँदैन।

    एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार हाल मध्यपूर्व र उत्तर अफ्रिकाका राष्ट्रहरूमा ४५ सशस्त्र संघर्ष , अफ्रिकाका विभिन्न राष्ट्रहरूमा ३५ सशस्त्र संघर्ष, एसियामा अफगानिस्तान म्यानमा ,फिलिपिन्स समेत विभिन्न देशमा २१ सशस्त्र संघर्ष , युरोपमा सात सशस्त्र संघर्ष तथा ल्याटिन अमेरिकामा ६ सशस्त्र संघर्षको कारण विश्व शान्तिको आकांक्षा अधुरो रहेको छ। कतिपय राष्ट्रहरुले बेलाबखत आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई युद्धग्रस्त र आन्तरिक संघर्ष भएका राष्ट्रहरूको भ्रमण नगर्न यात्रा सूचना जारी गर्ने गरेकाले यसको प्रत्यक्ष परोक्ष असर विश्व पर्यटन उद्योगमा परेको जगजाहेर छ /

    यस अर्थमा राष्ट्रसंघीय निकाय विश्व पर्यटन संघले सन् २०२४ को विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति छनोट गरेर शान्ति स्थापनामा सबैको सहयोगको आग्रह गरेको छ। विश्व पर्यटन अब यस वर्ष सन् २०१९ अघिको स्थितिमा पुनरावृत्त हुने दिशातर्फ उन्मुख छ। सन् २०२४ को सात महिनामा ७९ करोड पर्यटकहरुले एकअर्का मुलुकको भ्रमण गरिसकेका छन् र यो प्रवृत्ति निरन्तर बढ्दै छ। पर्यटन क्षेत्रको योगदान विश्वको कुल गार्हस्थ्य उत्पादनको करिब ३. ५ प्रतिशत अर्थात् अमेरिकी डलर ३ खर्ब ४ अर्ब नाघेको छ र झन्डै सन् २०१९ को हाराहारीमा पुगेको देखिन्छ। एसिया – प्रशान्त क्षेत्रका कतिपय राष्ट्रहरूले पर्यटक आगमन वृद्धि गर्न आकर्षक रणनीति अवलम्बन गरेका कारण समेत उल्लेख्य सफलता हासिल गरेका छन् पछिल्ला केही महिनाहरूमा।

    यस पृष्ठभूमिमा विश्वव्यापी रूपमा सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसले पर्यटन र शान्ति विषयलाई मूल विषय बनाएर विश्व समुदायमा यसप्रति जनचेतना जागृत गर्न अग्रसरता चालेको छ। विश्वका अधिकांश भूभागमा शान्ति स्थापना भएमा दिगो पर्यटन विकासले नयाँ रोजगारीको सिर्जना ,स्थानीय अर्थतन्त्रको सुदृढीकरण , प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा एकआपसमा सहयोग र शान्तिपूर्ण विकासको भावना अभिवृद्धि गर्न सघाउ पुग्नेछ।

    विभिन्न भूभागका सरकार , समुदाय तथा पर्यटन उद्यमीहरू सबैले दिगो विकासका लक्ष्य प्राप्तिका लागि एकीकृत कार्यक्रम कार्यान्वयन गरी शान्ति स्थापना एवं जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानमा सामूहिक प्रयास गर्न सकेमा शान्ति र पर्यटनका लागि राष्ट्रसङ्घको मूलभूत उद्देश्यमा आंशिक रुपमा भएपनि योगदान पुग्नेछ र यो औपचारिकतामा सीमित हुने छैन। दिगो पर्यटन विकासका लागि शान्ति अपरिहार्य छ र यसले मात्र विकसित देखि विकासशील र अल्पविकसित राष्ट्रहरूमा आर्थिक समृद्धिको यात्रा सहज पार्न सक्नेछ /

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस