• पर्यटन उद्योगलाई पुनर्जीवन दिन राहत प्याकेजको माग

    पर्यटन उद्योगलाई  पुनर्जीवन दिन राहत प्याकेजको माग

    काठमाडाैं (रासस ) – सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थान र दिगो पर्यटनको कार्यक्रमलाई विशेष प्राथमिकता दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते सङ्घीय संसद्को दुवै सदनमा संयुक्त रूपमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र बाह्य कारणले समेत पर्यटनमा पारेको प्रभावको अध्ययन गरी पर्यटन पुनरुत्थानलगायत दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ ।

    कोभिड नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीको अवस्थामा मुलुकको पर्यटन उद्योगमा नराम्ररी असर परेको छ । कोभिडले आक्रान्त पारेको पर्यटन उद्योगलाई प्रोत्साहन गर्न र त्यसमा आबद्ध लाखौँ श्रमिकको भविष्यलाई सम्बोधन हुने गरी सरकारले नीति तथा कार्यक्रममा विशेष राहत प्याकेज ल्याउने पर्यटन व्यवसायीको अपेक्षा थियो ।

    हवाई पूर्वाधार तथा ग्रामीण पर्यटन पूर्वाधारमा राम्रा कुरा आए पनि कोभिडपछिको आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नीति तथा कार्यक्रम नआएको व्यवसायीले प्रतिक्रिया दिएका छन् ।

    यद्यपी नीति तथा कार्यक्रममा छुटेका पर्यटन क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटमा समेटिने उनीहरुको विश्वास छ ।

    ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसायीको अपेक्षित विषय नीति तथा कार्यक्रममा प्रष्ट नभएको भन्दै आगामी बजेट कार्यक्रममा समेटिने विश्वास व्यक्त गरे ।

    “पर्यटन उद्योगी व्यवसायीलाई उत्साहित गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा प्रष्ट आएको छैन तर पनि अहिले नसमेटिएका विषय बजेटमा पर्ने अपेक्षा गरेका छौ”, उनले भने ।

    अध्यक्ष सुवेदीले कोभिडले थलिएको पर्यटनलाई उकास्न सरकारले कम्तीमा छ महिनादेखि एक वर्षको राहतका प्याकेज ल्याउनुपर्ने बताए । नेपालमा पदयात्रा र पर्वतारोहण गरी झण्डै एक हजार ८०० संस्था छन् ।

    यसमा रु. १५ अर्बभन्दा बढीको लगानी छ । सरकारले पर्यटन पुनरुत्थान र दिगो पर्यटनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य कोभिड–१९ का कारण स्थगन गर्न बाध्य भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    टानका पूर्वअध्यक्ष नवराज दाहालले नीति तथा कार्यक्रममा हवाई क्षेत्रमा बढी नै कार्यक्रम आए पनि पर्यटन क्षेत्रमा ठोस कार्यक्रम आउन नसकेको बताए ।

    कोभिडको विश्वव्यापी महामारी कहिलेसम्म नियन्त्रण हुन्छ अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । त्यसैले अबको एक वर्षसम्म विदेशी पर्यटकको चहलपहल हँदैन ।

    उक्त अवधिसम्म आन्तरिक पर्यटनलाई चलायमान बनाउन र धराशायी अवस्थामा पुगेको व्यवसायलाई लयमा फर्काई त्यहाँ आबद्ध मजदुर व्यवसायीलाई प्रोत्साहन हुने गरी सरकारले प्याकेज ल्याउनुपर्ने व्यवसायीको भनाइ छ ।

    त्यसो त कोभिड–१९ ले मुलुकको पर्यटन उद्योगको प्रमुख क्षेत्र होटल र वायुसेवा कम्पनी बढी मारमा परेको बताइन्छ । यो क्षेत्रमा गरिएको खर्बौँ लगानी जोखिममा पर्ने र उद्योगलाई बचाउन चुनौती हुने सरोकारवाला बताउँछन् ।

    होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले यसपटकको नीति तथा कार्यक्रमले अहिलेको विषम परिस्थितिमा कोभिडले आक्रान्त तुल्याएको पर्यटन क्षेत्रको पुनरुत्थानलाई प्राथमिकता दिनुपर्ने थियो भन्दै उद्योगलाई कसरी बचाउने भन्ने किटानका साथ नसमेटिएको उल्लेख गरे ।

    उनले पर्यटन पुनरुत्थानको विषय समेटिए पनि सरकारले नै भनेको पर्यटन दशकको कार्यक्रम बजेटमा सम्बोधन भएको खण्डमा पर्यटन क्षेत्रमा सकारात्मक सञ्चार छाउने बताए । हानले हालै गरेको एक सर्वेक्षणअनुसार होटल उद्योगमा रु १० खर्बभन्दा बढी लगानी रहेको छ । करिब सात लाख कर्मचारी आबद्ध छन् ।

    बन्दाबन्दीको अवस्थामा अर्बौँको क्षति भएको व्यवसायीले बताएका छन् । नेपाल पर्यटन बोर्डले बन्दाबन्दीबाट थलिएको पर्यटन उद्योग उकास्न रु २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको थियो । सरकारी तथ्याङ्कअनुसार मुलुकमा होटलका ४५ हजार श्यया छन् । हानमा आबद्ध पर्यटकस्तरीयदेखि पाँचतारेसम्म गरी तीन हजार होटल छन् ।

    त्यसैगरी लगानीका हिसाबले बढी जोखिममा रहेको क्षेत्र हवाई उद्योग हो । वायुसेवा सञ्चालक सङ्घका अनुसार सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्ससहित हवाई क्षेत्रमा रु ११ खर्बको लगानी छ ।

    हवाई पूर्वाधारमा नीति तथा कार्यक्रमले जोड दिए पनि कतिपय विषय व्यावहारिक कार्यान्वयनमा कठिनाइ हुने संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । देशभर १० हेलिकोप्टर कम्पनीका ३३ हेलिकोप्टर छन् ।नौ जहाज कम्पनीका ४५ वटा जहाज छन् ।

    पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा कृषि र स्वास्थ्यमा जस्तो पर्यटन क्षेत्रमा उत्साहबद्र्धक कार्यक्रम नआएको बताउछन् । कोभिडबाट थलिएको अहिलेको शून्य अवस्थाको पर्यटनलाई विशेष प्याकेज ल्याएर व्यवसायी र मजदुर बचाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनले बताए ।

    नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आर्थिक समृद्धिको दरिलो आधार र सम्भावनायुक्त पर्यटन क्षेत्रलाई विशेष सम्बोधन हुने गरी नीति तथा कार्यक्रममा नआएको भए पनि हवाई पूर्वाधारका हिसाबले उत्साहजनक रहेको बताए ।

    प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले नीति तथा कार्यक्रमले धराशायी अवस्थामा रहेको पर्यटन उद्योगको संरक्षण र प्रोत्साहनका निम्ति ठोस कार्यक्रम ल्याउन नसकेको बताए /

    २०७७ जेठ ४

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस