विश्वका विभिन्न दूतावासहरुसंग सहकार्य गर्न पर्यटन बोर्ड प्रतिवद्ध
ट्राभल बिज न्यूज —
काठमाडौँ – कोरोना महामारीबाट क्षत विक्षत पर्यटन उद्द्योगलाई पुनर्जीवित पार्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्धनका विषयमा विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ /
विभिन्न देशका राजदूतहरुसँग छलफल क्रम जारी राखेको बोर्डले मंगलवार दक्षिण एसियाली मुलुकहरु – भारत,बंगलादेश,पाकिस्तान र श्रीलँकाका राजदूत तथा अन्य अधिकारीसँग भर्चुअल अन्तरक्रिया गरेको थियो ।
बोर्डले यस अघि कोभिड महामारी बीच नेपालको पर्यटन प्रवर्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका, मध्यपूर्व ,उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतहरुसँग पनि अन्तरक्रिया गरेको थियो /
कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिले देखि नै तयारी आवश्यक रहेको उल्लेख गर्दै खोपको विकास र विस्तारसँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान हुन थालेकोले नेपालको लागि ठूलो स्रोत बजार छिमेकी देशहरुमा प्रवद्र्धनात्मक कार्य गर्नु पर्ने तथा नेपालको हवाई भाडा अति महँगो भएकोले समायोजन गर्न आवश्यक रहेको बताए /
कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा वशिधर मिश्रले बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुदिष्ट जनसंख्या भएकोले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बंगलादेशबाट ठूलो सँख्यामा पर्यटक नेपाल लैजान सकिने बताउनु भयो ।
यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको र अंग्रेजी अन्तरराष्ट्रिय भाषा भएपनि विश्वमा अंग्रेजी नबुझुनेको संख्या ठूलो रहेकोले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न सुझाव दिनुभयो ।
यस्तै भारतस्थित नेपाली दुतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार एबं भारतीयहरुलाई नेपाल सहज गन्तब्य भएकोले प्याकेज सहितको बजारीकरणमा जोड दिनु पर्ने बताउनु भयो ।
श्रीलँकास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलँकाको लागि प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकाका पर्यटकलाई नेपाल लैजान सकिने तथा एअर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहको बताउनु भयो ।
कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति,प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी दिदै रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समुहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको तथा दुतावासहरुसंग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने बताउनु भयो ।
बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकिय छविलाई अन्तराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका मार्केटिङ म्यानेजर लक्ष्मण गौतमले जानकारी दिनुभयो ।
साउन १३ , २०७८
फाइल फोटो: श्रीलंकामा आयोजित पर्यटन मेलामा नेपाल सहभागी / तस्विर: नेपाल पर्यटन बोर्ड